• theoxygentimes@gmail.com

Blog


वनस्पति कथायात्रा-३ :  निगुराको आत्मकथा

रेवतीरमण सापकोटा

      ओदालगढी, असम

       म निगुरो हुँ। म विश्वको वर्षारण्य अञ्चलमा चिसो,ओसिलो माटोमा जन्मिन्छु।  मलाई अङ्ग्रेजीमा Fiddlehead fern भनिन्छ। म उन्यू प्रजातिको घाँस हुँ। म वनस्पति जगतमा पाइने साग जातिमा अन्यतम उत्कृष्ट तरकारी हुँ र मलाई मन नपराउने सायदै कोही होलान्। मेरा धेरै दाज्यू-भाई छन्। अहिलेसम्म वनस्पति विज्ञानीहरूले  फेला पारेका मेरा यी दाज्यू-भाईहरूको पनि छोटो परिचय दिंदैछु :

१. Western Sword fern (polystichum munitum)

२. Bracken (pteridum aquilinum)

३. Ostrich fern (matteuccia struthiopteris)

४. Lady fern ( athyrium filix- femina)

५. Cinnamon fern /buckhorn fern (osmunda cinnamomea)

६. Royal fern ( osmunda regalis)

७. Midin (stenochlaena palntris)

८. Vegetable fern (athyrium esculentum) आदि। यी भित्र एसियाली राष्ट्रहरूका वर्षारण्यमा प्रशस्त मात्रामा पाइने मेरा दुई मुख्य प्रजाति हुन् रायल फर्न् र वेजिटेवल फर्न्।

मेरा कतिपय प्रजाति खाइनसक्नु प्रकारका विषालु पनि हुन्छन्।

      म भित्र पाइने पोषक तत्व हुन् ओमेगा-३, ओमेगा-६, चर्विलो एसिड, आइरन र फाइवर(रेशा) , निम्नमात्रामा सोडियम, उच्च मात्रामा शरीरलाई चाहिने पोटाशियम, प्रोटिन, क्याल्सियम, विटामिन '' आदि। बाल-बालिका र गर्भवती महिलालाई चाहिने आइरन‌, पोटाशियम, क्याल्सियम आदि प्रशस्त मात्रामा म भित्र पाइन्छ।

     म भित्र केही कीटाणु  पनि वास गरेका हुन्छन् र पकाउनु अघि मलाई राम्रो गरी धुनु पर्छ। मलाई आलुसित थपथपे वा भुटुवा बनाएर खाए म स्वादिलो हुन्छु। नेपालीभाषीहरूले मलाई दहीमा मिसेर अझ स्वादिष्ट बनाएर खाने गर्छन्। तर साउन महिनामा भने नेपालीभाषीहरूले मलाई  खानपानमा एकप्रकारको हटकै गरेका हुन्छन्। उनीहरू के विश्वास गर्छन् भने यो साउने याममा सर्प म भए ठाउँ आएर लुक्ने गर्छन् अनि कतिपयले विष छाडेर जान्छन्। यो कुरो केहीमात्रामा सही नै हो भन्नुहुन्छ  मान्छेका आमा-बुबाहरू।

    मेरो खेती गरिरहनु पर्दैन। चिस्यान,ओसिलो माटो भेटें भने सबैलाई सधैं छाक टर्ने गरी म उम्रिन्छु। वर्तमानको समयमा मैले धेरै गरीबहरूलाई आत्मनिर्भर हुने मौका पनि दिएको छु। स-साना बाल-बालिकाहरूले पनि मलाई टिपेर पाँच वा दस रूपियाँ पर्ने मुठा बनाएर बाटा-घाटामा बेचेर आफ्नो परिवारलाई निकै आर्थिक सहयोग गरेको देख्न पाइन्छ। म सस्तो र स्वादिलो हुनाले सबैले मलाई तरकारी भित्र  रुचाउँछन्।

     म जताततै उम्रिए पनि तराईतिरको भन्दा पनि पहाडीभेकतिर हुने मेरो प्रजाति धेर स्वादिलो हुन्छ भनेका छन् खानेहरूले। तराईमा पाइने मेरो रङ्ग पातलो हरियो हुन्छ भने पहाडतिर मेरो रङ्ग गहिरो हरियो हुन्छ। तर, वनस्पति तरकारी भित्र मेरो लोकप्रियता भने सँधैं बढेको नै देखेको छु।  त्यही कारणले म तपाईंहरूदेखि औधि खुसी छु।

 

                                                                            _______________________

Post a Comment