Blog

वनस्पति कथा यात्रा-६ : बेसारको आत्मकथा

Blog Image

वनस्पति कथा यात्रा-६ : बेसारको आत्मकथा

 

रेवतीरमण सापकोटा,     ओदालगढी, असम

     म बेसार हुँ। मलाई विश्वको प्रायः सबै ठाउँमा पाए पनि भारतीय उपमहादेशमा भने मेरो पुरानो बसोवास छ। मलाई आयुर्वेदले मसला मात्रै होइन, अपितु जीवन रक्षक जडीबुटी रूपले उच्चस्थानमा राखेको छ। म नभए तरकारीको सौन्दर्य र स्वादमा ठुलो आँच आउँछ भन्छन् हाम्रा चेलीबेटीहरू। तर तरकारी मात्रै होइन, मैले जीवकुलको दैनन्दिन जीवनयात्रामा अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गरेको छु।

   मेरो नाम वनस्पति विज्ञानीहरूले अदूवा परिवारमा(zingiberaceae) राखेर Curcuma Longa (Latin) राखेका छन् भने अङ्ग्रेजीमा मलाई टर्मरिक भनिन्छ।  मलाई भारतमा स्थानीय प्रभावमा हलुद, हल्दी,हर्दी, हरिद्रा, कुमकुम, वरवर्णिनी, गौरी, क्रिमिघ्ना योशितप्रिया,हट्ट विलासनी, हरदल आदि पनि भनिन्छ। धर्म-कर्ममा पनि  म अति पवित्र मानिएको छु। नेपालीभाषी बेहुला बेहुलीलाई बिवाह पूर्व सजाउँदा मलाई मिसाएर बुकुवा बनाएर नुहाउन लगाइन्छ। यो बुकुवाले उनीहरूको छालामा कोमलता र उज्ज्वलता ल्याउँछ भन्ने परम्परागत वैधानिक मान्यता छ।

     मलाई वनस्पतिविद् हरूले 'एन्टि'शब्दसित जोडेर जीवनरक्षाका धेरै औषधीय गुण सम्पन्न तुल्याएका छन्। एन्टिअक्सिडेन्ट, एन्टिबायोटिक,एन्टिवाइरल,एन्टिफङ्गल,एन्टिबेक्टेरियल,एन्टि इन्फ्लेमेटरी र एन्टिसेप्टिक। यी सबै मेरा जीवन रक्षण प्रणालीका गुण हुन्।

   म हुन त मसला जातीय ५-६ फीटसम्म बढ्ने सानो उद्भिद हुँ तर मेरा जरामा भएको फल भने धेरैजसो औषधीय र पोषक तत्व सम्पन्न हुनाले मलाई जडीबूटीको रूपमा आयुर्वेदाचार्यहरूले स्वीकारेका छन्।  मभित्र भिटामिन-बी६, भिटामिन-सी, भिटामिन-ई, भिटामिन-के, मेग्नेसियम,रेशा(फाइवर), लौह(आइरन), पोटासियम, जिङ्क,कपर, प्रोटिन आदि यथेष्ट पाइन्छ। चर्वीलो खाद्यमा मेरो प्रयोगले चर्वीको नराम्रो गुण निष्क्रिय हुन्छ।मानव शरीरमा प्रवेश गर्ने अणुजीव वा कीटाणुलाई मेरो प्रयोगले निर्बल तुल्याएर शरीरलाई पुष्ट बनाउँछ। म ज्वलन प्रतिरोधी हुँ। मेरो प्रयोगले  मानव शरीरमा प्रवेश गर्ने क्षतिकारक NF-kBभन्ने अणुजीवलाई प्रतिरोध गरी सुरक्षा दिन्छ।

   मस्तिष्क सम्बन्धी, मुटु, हृदयघात, कर्कट रोग(क्यान्सर), खुन, अर्थराइटिस,अल्झैमर र डिप्रेसन आदि रोगमा मेरो प्रभाव सर्वविदितै छ। वृद्धावस्था रोकथाम, कोलेस्टेरोललाई नियन्त्रण, अनुहारको उज्ज्वलता, छालाको सतेजताको निम्ति पनि म प्रसिद्ध छु भने म अन्यतम प्रभावी लिवर टोनिक र चर्वीनाशक, किड्नी परिशोधक रूपमा पनि चिनिएको छु।

    अहिलेको विश्व महामारी कोरोनाको बिरूद्ध त म अति प्रभावकारी सिद्ध भएको छु। मलाई एक चम्मच तातो दूधमा एक चुटकि कालो मरिचको धूलोसित मिलाएर घरका सबै सदस्यले दैनिक पिउने अभ्यास गर्नुभयो भने कोरोनाको ठाँगेले पनि छुँदैन भनेर म किटेरै भन्न सक्छु।  दूध छैन भने तातोपानीमा पनि म सन्तोक मान्छु। सर्दी-खोकिको त म परम शत्रु नै हुँ। मेरो आधा चम्मचमा एक चम्मच मह मिसाएर चाट्ने गरे तुरुन्तै आराम अनुभव हुन्छ भने कतै हलो-कोदालो गर्दा हात-खुट्टा फालि वा दाउ-खुकुरीले काटे मेरो मलम बनाएर लगाउँदा घाउ चाँडै सुक्छ।

   म सबैको परिचित उद्भिद हुँ र इच्छा गरे ठाउँको अभाव भए मलाई घर बाहिर कुनामा टबमै रोपे पनि म खुसीसाथ सरेर तपाईंको काम लाग्न सक्छु किनभने मेरो काँचो रूपको प्रयोग अधिक लाभकारी हुन्छ।

                           ०००


Share this post
Comments

Please login or register to comment.

No comments yet.

Facebook Comments