Blog

अन्यथा नलिनु मलाई

Blog Image

अन्यथा नलिनु मलाई

 मनीषा दाहाल

 रौता, असम 

नमस्ते आदिकवि !
सादर अभिवादन !
आशा छ हजुर वहाँ कुशलै हुनुहुन्छ।
लेखन कार्य, साहित्य सिर्जना
चल्दै छ होला नित्य नैमित्तिक।
चल्ने भयो....
गर्नै पर्यो.....
हजुर त हाम्रा आदि कवि हुनुहुन्छ !
हजुरले नगरे कसले गर्ला ?
अत्युक्ति भन्दिन म,
अन्यथा नलिनु मलाई !
हजुरले देखाएको गोरेटोलाई अपनाएर
यहाँ हामी पनि धेरै अग्रसर हुँदै जाँदैछौँ।
केही त्रुटी छाडेका छैनौँ
हजुरले रोपेको बिरुवालाई मल जल गर्न।
त्यो दुई पाते बिरुवा अहिले
झाङिएको छ,
फिँजारिएको छ,
हाँगाबाट हाँगा पलाएर
त्यी हाँगले पनि अझ हाँगा हाल्दै जाँदैछन।
हो !
विज्ञानको विकास साथ साथै
बिघा बिघा ढाक्ने बटवृक्ष समेटिएर
सानो 'टब' मा सजिए झै
विकासको पथमा अग्रसर हामीहरूले
हजुरको काव्य विधालाई
अलि अलि नयाँपन दिने गरेका छौँ।
आख्यान र व्याख्यानले परिपूर्ण
लामा लामा हरफहरूलाई छोट्याएर
'बोनसाई' जस्तै चिटिक्क बनाएका छौँ।
अत्युक्ति होइन यो,
अन्यथा नलिनु मलाई !
साँच्चो साँच्चो भन्दैछु म !
त्यो नयाँपनले
नयाँ आकार र
नयाँ आयामले
अति सुहाएको छ उसलाई !
त्यो नौलो ढाँचामा कोर्ने
कवि त कवि
पाठक पनि साह्रै खुसी देखिन्छन !
समयको माँग हो यो भन्छन !
शायद अति मात्रा व्यस्तताले होला,
लामा व्याख्यान पढ्नु भन्दा
अणु कविता पढ्न रुचाउछन।
त्यसैले.....
त्यसैले आजभोलि
क्षुद्र भन्दा क्षुद्र कविता बनाउँछौँ !
गन्तीका केही अक्षरले सजाउँछौ !
अत्युक्ति भनिन मैले,
अन्यथा नलिनु मलाई !

*********************


Share this post
Comments

Please login or register to comment.

No comments yet.

Facebook Comments