Guest Column

असमेली नेपाली नाटक र दसैँ पर्वः केही प्रसङ्ग

Blog Image

असमेली नेपाली नाटक र दसैँ पर्वः केही प्रसङ्ग

---- अञ्जन बासकोटा

असम एउटा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राज्य हो। सदियौँदेशि यहाँ विभिन्न जाति, जनजाति र भाषाभाषी जनसमुदायले आ-आफ्नो मौलिक संस्कृति, परम्परा, साहित्य, कला र सामाजिक मूल्य एवम् मान्यतालाई संरक्षण गर्दै आएका छन्। यसै विविधताभित्र असमेली नेपाली भाषी गोर्खा समाजको पनि आफ्नै विशिष्ट सांस्कृतिक पहिचान छ। गीत, सङ्गीत, लोकनृत्य, साहित्य, भजन–कीर्तन, चाड़पर्व र नाटकमार्फत् असमका नेपालीभाषी गोर्खा समुदायले आफ्नो सामाजिक तथा सांस्कृतिक जीवनलाई अभिव्यक्त गर्दै आएका छन्।

असमेली नेपाली समाजमा नाटकको इतिहास पनि पुरानो छ। विभिन्न स्थानमा नेपाली नाटक मञ्चन हुँदै आएको पाइन्छ। विशेषगरी दसैँ पर्वको अवसरमा गोर्खा जनबहुल क्षेत्रहरूमा नाटक मञ्चन गर्ने परम्परा निकै लोकप्रिय छ। दसैँ आयो कि गाउँ–बस्तीमा नाटकको तयारी सुरु हुन्छ। कलाकार छनोट, संवाद निक्षेपणको  अभ्यास, मञ्च निर्माण, पोसाक तथा मेकअपको तयारी र प्रचार–प्रसारमा युवादेखि वृद्धसम्मको सहभागिता देखिन्छ। यसले दसैँलाई केवल धार्मिक तथा पारिवारिक पर्वका रूपमा सीमित नराखी सामाजिक तथा सांस्कृतिक उत्सवका रूपमा पनि स्थापित गरेको छ।

असमेली गोर्खा गाउँहरूमा पहिले पौराणिक नाटकहरू मञ्चन हुन्थ्यिए। प्रारम्भिक समयमा महिलाहरू नाटकमा अघि बढ़ेर नआएको खण्डमा पुरुष पात्रले महिलाको भूमिका खेलेको देखिन्थ्यो। बिस्तारै एकाङ्की नाटक मञ्चन हुन थालेपछि महिलाहरू र समाजका प्रायः सबै वर्गको सहभागिता रहेको देखिन्छ। यो पौराणिक नाटक गर्ने चलनले गोर्खा समाजमा एउटा व्याप्ति पाएको थियो। यसको मुख्यतः कारण यी नाटकहरूले धेरै पात्र-पात्रालाई ठाउँ दिएको अथवा अटाएको हुन्थ्यो। त्यसैले गर्दा हर घर, हर आँगनिमा नाटक र त्यस सम्बन्धित चर्चाहरूले ठाउँ पाउथ्ये।

दार्जिलिङमा सन १९०९ मा पहिलो नेपाली नाटक मञ्चन भएको थियो भने सन १९१९ मा असमको वर्तमान विश्वनाथ जिल्ला अन्तर्गत बिहालीको बटियामारीमा पण्डित हरिनारायण विद्याभूषण दाहालको नेतृत्वमा उनकै अनुवाद नाटक ‘प्रवोध चन्द्रोदय’ मञ्चन गरिएको थियो । समग्रमा भन्नुपर्दा भारतीय नेपाली नाटकको विकासमा असमेली नेपाली नाटकको योगदान थोरै र कमजोर छैन ।यता आज पच्चीस वर्ष देखि असममा ‘असम नेपाली नाट्य सम्मेलन’ गठन भएको र राज्य व्यापी यसको नाटक सम्बन्धित गतिविधि पनि आज राष्ट्रिय स्तरमा चर्चाको विषय बनेको देखिन्छ। असमेली नेपाली नाटकमा स्थबिरताका दुई एक कारण चर्चाका लागि तल उल्लेख गरिएको छ-

१) असमको नेपाली रङ्गमञ्च अथवा नाटकीय गतिविधि विशेष गरी दसैँ तिहार पर्वको अवसरमा मात्रै बाक्लै चर्चामा आउँछ, अरू समयमा विभिन्न उदेश्य र अन्य प्रसङ्गमा नाटकको चर्चा नगन्य देखिन्छ ।

२) राष्ट्रिय स्तरमा असमेली नेपाली नाटकले धेरै ढ़िलो प्रवेश गरेको छ । सन २०००मा, नाट्यभूषण पूर्णकुमार शर्माको ‘तीन पोयाको डोरी’, उदयन कला परिषद समारदलनीलेउडिसामा प्रदर्शन गरेको थियो। यही नाटक नै असमबाट भारतीय परिप्रेक्षमा प्रदर्शित भएको पहिलो नाटक थियो। जसले गर्दा असमेली नेपाली भाषाको नाटकले राष्ट्रिय नाटक क्षेत्रमा हरदम उच्च स्तरीय नाटकको चर्चामा मुछिन ढ़िलो भयो, जसको प्रभाव वर्तमान यस विषयमा पछाड़िनुमा परेको देखिन्छ।

३) नेपाल, दार्जिलिङ, खरसाङ, कालिम्पोङ जस्तो ठाउँमा नेपाली मानिसहरूको बसोबास एकै ठाउँमा भेला हुने सुविधा उपलब्ध अघि देखि यसबेलासम्म छ, तर आसाममा नेपाली जन बसाईं उसबेला एकदमै छरपस्ट थियो, जो नाटक मञ्चनको निम्ति सुविधाजनक थिएन। असमको शोणितपुर, विश्वनाथ र केही जिल्ला बाहेक अन्यत्र आज पनि भने जस्तो जनसमागमको अभाव नै देखिन्छ।

दार्जिलिङ, खरसाङ कालिम्पोङ तिरको नेपाली नाट्य गतिविधिले, असममा नेपाली नाटकको चर्चा भएको कुरा कँही कतै उल्लेख गर्न रूचाउदैनन, वास्तविक क्षेत्रमा हेर्दा दार्जिलिङ, खरसाङ भेक र असममा नेपाली नाटकको चर्चा समसामयिक थियो, मात्रै दशवर्षको अघि पछि मात्र हो । तर यहीँ एउटा गम्भीर प्रश्न उठ्छ—के दसैँको अवसरमा वर्षमा एकपटक नाटक मञ्चन गर्दैमा असमेली नेपाली नाटकको विकास सम्भव हुन्छ त? निश्चय नै, दसैँमा नाटक मञ्चन गर्ने परम्परा आफैँमा अत्यन्त सुन्दर र प्रशंसनीय हो। यसले कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिन्छ। गाउँ–समाजमा मनोरञ्जनसँगै सामाजिक चेतना फैलाउन मद्दत गर्छ। नाटकका माध्यमबाट परिवार, समाज, शिक्षा, बेरोजगारी, अन्धविश्वास, जातीय सद्भाव, नारी–अधिकार, सामाजिक विकृति-विसङ्गति, वेरोजगारी आदि विविधविषय उठाउन सकिन्छ। धेरै युवाहरूले पहिलोपटक अभिनय, निर्देशन, सङ्गीत, मञ्च व्यवस्थापन, प्रकाश, ध्वनि तथा मेकअपको अनुभव पनि यिनै दसैँका नाटकबाट प्राप्त गर्छन्।तर समस्या त्यतिबेला सुरु हुन्छ, जब नाटकलाई दसैँ पर्वसँग मात्र जोड़ेर हेरिन्छ।

असमका धेरै गोर्खा जनबहुल क्षेत्रमा नेपाली नाटकको गतिविधि दसैँ आउँदा मात्र अचानक सक्रिय हुन्छ। दसैँ सकिएपछि मञ्च सुनसान हुन्छ, कलाकार आ–आफ्नो दैनिक जीवनमा फर्कन्छन् र अर्को दसैँ नआउन्जेलसम्म नाटकका बारेमा खासै चर्चा हुँदैन। यस्तो प्रवृत्तिले नाटकलाई नियमित सिर्जनात्मक गतिविधि बन्न दिँदैन। फलतः नेपाली नाटकको विकास निरन्तर प्रक्रियाका रूपमा अगाड़ि बढ्न सकिरहेको छैन। नेपाली नाटक ठिँगुरिनुको कारण पनि मुख्यतः यही नै हो।

नाटक कुनै एक दिन अथवा एउटा पर्व विशेषको मनोरञ्जनको साधन मात्र होइन। यो साहित्य, अभिनय, सङ्गीत, नृत्य, दृश्य–कलासहित समाजको सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो। नाटकले समाजलाई प्रश्न गर्छ, ऐना देखाउँछ र कहिलेकाहीँ परिवर्तनको बाटो पनि देखाउँछ। त्यसैले नाटकको विकासका लागि निरन्तर लेखन, अध्ययन, प्रयोग, मञ्चन र समीक्षा आवश्यक हुन्छ।

असमेली नेपाली नाटकको वर्तमान अवस्थालाई अन्य भाषाभाषी समुदायका नाटकसँग तुलना गर्दा हाम्रो कमजोरी अझ स्पष्ट देखिन्छ। असममा विभिन्न समुदायका नाटकहरू नियमित रूपमा मञ्चित हुन्छन्। चलमान नाट्य (भ्राम्यमान थिएटर) परम्पराले असमिया नाट्य विधालाई एउटा उचाइसम्म पुर्याएको छ। आज असमिया नाटकले (भ्राम्यमान) दर्शकलाई राम्रो खुराक दिन सक्षम बनेका छन्। जसलेगर्दा उनीहरू व्यवसायिक रूपमा सफल पनि भएका छन्।कतिपय भाषाका नाटकमा नयाँ विषय, नयाँ शैली, प्रयोगधर्मी प्रस्तुति, आधुनिक प्रविधि र व्यावसायिक दृष्टिकोणको प्रयोग बढ्दै गएको छ। नाटक प्रतियोगिता, नाट्य महोत्सव, कार्यशाला र प्रशिक्षणले पनि ती समुदायका नाट्य गतिविधिलाई बलियो बनाएको छ।तर हाम्रो समाजमा आज पनि नाटकलाई पेशागत रूपमा लिइएको छैन, धेरै नाटककारले आफ्ना नाटकलाई पुरानो मान्यताबाट निक्लिएर आजको परिपाटीमा नयाँ आयाम जोड़ेर नाटक लेख्न सकेका छैनन् जसलेगर्दा नयाँ पिढ़ीँले ती पुराना नाटकहरू मञ्चन गर्न रुचाउँदैनन्। अर्कोतिर नयाँ नाटककारहरू खुलेर सामुन्ने आएका छैनन्। यो समस्याले गर्दै नाटक-नाटककार र दर्शकको बीच एउटा ठूलो पर्खाल खड़ा भएको छ। यो खालीपनको पर्खाल नभरिए राम्रो शतवर्षको गोरेटो काटेको नाट्य परम्परा दलदलमा भास्सिने अवधारित छ।

यसको तुलनामा असमेली नेपाली नाटकको गतिविधि अझै धेरै हदसम्म सीमित र ठिँगुरिएको अवस्थामा देखिन्छ। प्रतिभाको अभावभन्दा पनि नियमित अवसर र संस्थागत संरचनाको अभाव यसको मुख्य कारणहरू मध्ये एउटा हो। हामीसँग कलाकार छन्, लेखक छन्, निर्देशक बन्न सक्ने युवा छन्, तर उनीहरूलाई निरन्तर काम गर्ने वातावरणको कमी छ।

अर्को महत्वपूर्ण पक्ष हो—मौलिक नेपाली नाटक लेखन। दसैँमा मञ्चन गरिने धेरैजसो नाटक तत्कालीन आवश्यकता पूरा गर्न हतारमा तयार पारिएको प्रवृत्ति देखिन्छ। कतिपय अवस्थामा बाहिरी नाटकको अनुवाद, रूपान्तरण वा पुराना नाटकको पुनरावृत्तिमा निर्भरता हुन्छ। यसले नयाँ नाटककार जन्मिने प्रक्रिया कमजोर बनाउँछ। असमेली नेपाली समाजको आफ्नै जीवन, समस्या, संघर्ष, इतिहास र परिवेशलाई केन्द्रमा राखेर पर्याप्त मौलिक नाटक लेखिनु आवश्यक छ।असमेली नेपाली नाटकले असमको माटोसँग जोडिनुपर्छ। नेपाली श्रमिकको जीवन-भोगाइ,  ऊलाउ र भूकटाउको समस्या, भूमिसम्बन्धी समस्या, शिक्षा, बेरोजगारी, बसाइँसराइ, युवा पुस्ताको बदलिँदो मानसिकता, अन्तरजातीय वैबाहिक सम्बन्ध, महिलाहरूको समस्या, वृद्ध पुस्ताको एक्लोपन, रोजगारको खोसीमा बाहिरिनुपरेको मर्म, सामाजिक सञ्जालको प्रभाव, पहिचानको प्रश्न र बहुसांस्कृतिक सहअस्तित्वजस्ता विषय असमेली नेपाली नाटकका महत्वपूर्ण कथावस्तु बन्न सक्छन्। 

हामीले दसैँसँग नेपाली नाटकको सम्बन्धलाई भने समाप्त गर्नुहुँदैन। बरु यसलाई दसैँबाट बाहिर निकालेर वर्षभरि विस्तार गर्नुपर्ने आवश्यकता छ। दसैँलाई नाटकको अन्तिम गन्तव्य होइन, एउटा महत्वपूर्ण सुरुवातका रूपमा लिनुपर्छ।यसका लागि प्रत्येक नेपालीभाषी गोर्खा बहुल क्षेत्रमा वर्षमा कम्तीमा एक–दुईवटा नाट्य कार्यशाला आदिको आयोजना गर्न सकिन्छ। विद्यालय तथा महाविद्यालयमा नेपाली नाटकसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिन्छ। स्थानीय साहित्यिक तथा सांस्कृतिक संस्थाले नाटक लेखन प्रतियोगिता, एकाङ्की प्रतियोगिता, अभिनय प्रशिक्षण र निर्देशन कार्यशाला सञ्चालन गर्न सक्छन्। विभिन्न जिल्लाका नाट्य समूहबीच आदान–प्रदान कार्यक्रम तथा नाट्य महोत्सव आयोजना गर्न सकिन्छ।

विशेषगरी युवापुस्तालाई नाटकमा आकर्षित गर्नु आजको आवश्यकता हो। आजको युवा डिजिटल संसारसँग अभ्यस्त छ। त्यसैले नाटकलाई केवल परम्परागत मञ्चमै सीमित नराखी डिजिटल प्रविधिसँग पनि जोड्नुपर्छ। राम्रो नाटकको अभिलेखीकरण, डिजिटल प्रचार, अनलाइन संवाद, सामाजिक सञ्जालमार्फत दर्शक निर्माण तथा छोटा नाट्य–प्रस्तुति आदिले नयाँ पुस्तालाई जोड्न सक्छ।

त्यसैगरी नाटक समीक्षाको पनि ठूलो आवश्यकता छ। नाटक मञ्चन भयो, दर्शकले ताली बजाए र कुरा सकियो भन्ने प्रवृत्तिले नाटकको गुणात्मक विकास हुँदैन। राम्रो र कमजोर पक्षबारे निष्पक्ष समीक्षा हुनुपर्छ। अभिनय, निर्देशन, संवाद, कथावस्तु, मञ्च सजावट, प्रकाश, ध्वनि र प्राविधिक पक्षमाथि गम्भीर चर्चादि हुनुपर्छ। आलोचना कलाकारलाई निरुत्साहित गर्न होइन, अझ राम्रो सिर्जनाका लागि हुनुपर्छ।असमेली नेपाली नाटकको विकासका लागि आर्थिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ। अधिकांश ग्रामीण नाट्य समूह सीमित आर्थिक स्रोतमा निर्भर छन्। कलाकार र प्राविधिकले पारिश्रमिक नपाउने अवस्था डामाडोल छ। स्थानीय प्रशासन, सांस्कृतिक संस्था, साहित्यिक संगठन, सामाजिक संस्थाहरू तथा निजी क्षेत्रबाट सहयोग जुटाउन सकिन्छ। नाटकलाई केवल चन्दा र टिकटमा निर्भर राख्नुको सट्टा व्यवस्थित आर्थिक संरचना निर्माण गर्न आवश्यक छ।

अर्को महत्वपूर्ण कुरा, नाटकलाई दसैँको मनोरञ्जनबाट सामाजिक दस्तावेजमा रूपान्तरण गर्नु हो। आज मञ्चमा प्रस्तुत गरिएको नाटक भोलिको समाजको सांस्कृतिक इतिहास बन्न सक्छ। त्यसैले आजका असमेली नेपाली नाटकले हाम्रो समयलाई अभिलेख गर्नुपर्छ। हाम्रो बोली, जीवनशैली, संघर्ष, हासो–रोदन, सपना र सामाजिक परिवर्तन नाटकमा सुरक्षित हुनुपर्छ।दसैँमा नाटक मञ्चन गर्ने परम्परा वास्तवमा असमेली नेपाली समाजको एउटा बहुमूल्य सांस्कृतिक शक्ति हो। यसलाई कमजोरीका रूपमा होइन, विकासको आधारका रूपमा लिनुपर्छ। वर्षमा एकपटक गाउँमा जम्मा हुने कलाकार, युवा र दर्शकको यही ऊर्जा वर्षभरि कायम राख्न सकियो भने नेपाली नाटकले नयाँ उचाइ लिन सक्छ।

महत्वपूर्ण कुरो के हो भने अब हामी ‘नाटक मञ्चन’बाट ‘नाट्य संस्कृति निर्माण’तर्फ जानुपर्दछ।असमेली नेपाली नाटक अन्य समुदायका नाटकभन्दा पछाड़ि परेको छ भन्नु निराशाको अभिव्यक्ति मात्र होइन; यो आत्मसमीक्षाको अवसर पनि हो। हामीसँग भाषा छ, साहित्य छ, प्रतिभा छ, दर्शक छन् र समृद्ध सांस्कृतिक परम्परा छ, धेरै थोरै जे भएपनि पैसा पनि छन्.। आवश्यकता केवल त्यसलाई व्यवस्थित, निरन्तर र संस्थागत बनाउने हो। असममा नेपली नाटकलाई असमिया भ्राम्यमान नाटकको हाराहारीमा लैजान ‘लाली गुरास’ (पहिलो),‘ब्रह्मपूत्र’,‘सयपत्री’,‘लाली गुरास’ (दोस्रो) आदि जन्मिएका हुन्.। यी प्रत्येक नाट्य टोलीले एक-दुई वर्ष नाट्य प्रदर्शऩ पनि गरेँ। तर असमेली नेपाली नाट्य संसारमा मौलाउन सकेनन। यी सबै क्षणजीवी भए।

            अब कुरो के आयो भने, असमेली नेपाली नाटक मौलानुपर्छ, अरू समूदायको सरह हाम्रो नाट्य साहित्य संसारमा विकशित हुनुपर्दछभने यसमा साधारण दर्शक र आम मान्छेको हनि बराबरीको भागीदारी रहनुपर्दछ। नाटक केवल नाट्यकार, नाटकमा अभिनयगर्ने कलाकार अथवा नाटकको कारिकरी दिश वा नाट्य प्रविधिसँग जुड़ेका मान्छेको मात्रै होइन। असमेली नेपाली नाटक असमेली गोर्खा जनसमूदायको साझा सम्पत्ति हो...हामी सबैको संस्कृति हो भन्ने भावना सबैको अन्तरमनबाटै उजागर भयोभने असमेली नेपाली नाटकको विकाशक्रम हिमालको शिखरसम्म पुग्ने छ। दसैँको रौनकमा मञ्चमा बल्ने बत्ती केही घण्टापछि निभ्न सक्छ। तर त्यस मञ्चबाट जन्मिएको सिर्जनशीलताको उज्यालो वर्षभरि बलिरहन सक्छ। त्यसका लागि हामीले दसैँमा मात्र नाटक खोज्ने होइन, नाटकमा आफ्नो समाज खोज्नुपर्छ।

असमेली नेपाली नाटकलाई दोहोर्याउने काम केवल असम नेपाली नाट्य सम्मेलन अथवा यसखाले कुनै पनि संस्थाको मात्रै होइऩ। हामी सबैले असमेली नेपाली नाटकलाई उचाईसम्म लैजानलाई अङ्गीकारबद्ध बनौँ....। 

सन्दर्भ सूची:

१) 'शैलपुत्री', माजगाउ थिएटर, शतवार्षिकी पत्रिका, सम्पादक - उमा पोख्रेल  २) 'नाट्य तीर्थ', असम नेपाली नाट्य सम्मेलन, दोस्रो राज्यिक महाधिवेशन, बटियामारी, सम्पादक - खगेन भराली।

३) 'असमेली नेपाली नाटकको विकास', लेखक- पूर्णकुमार शर्मा, प्रकाशित: 'ब्रह्मपुत्र', भारतीय नेपाली छात्र परिषद्को वार्षिक पत्रिका, त्रिभुवन विश्वविद्यालय,काठमाडौं, सम्पादक- अभिचन्द्र पाठक

४) तथ्य स्रोत: नाट्य भूषण पूर्णकुमार शर्मा, अध्यक्ष, असम नेपाली नाट्य सम्मेलन।

(ठेगेनाः समार दलनी, विश्वनाथ, असम)

लेखक साहित्य अकादमी युवा पुरस्कार 2020 प्रापक।

 


Share this post
Comments

Please login or register to comment.

No comments yet.

Facebook Comments