म सिस्नु हुँ। म एकप्रकारको बोटे झार हुँ। मलाई पोल्ने झार पनि भनिन्छ। प्राचीन कालमा राजा, जमिन्दारहरूले चोर, अपराधी वा ऋण तिर्न नसक्ने रायतीहरूलाई यातना दिन मलाई प्रयोग गर्ने गर्थे। चिसो पानीमा मलाई चोबेर चोर-अपराधीहरूलाई छ्वाम् छ्वाम् हान्दा चोरले दिउँसै तारा देख्थ्यो। मलाई अंग्रेजीमा Common Nettle/ Stinging Nettle भनिन्छ। विशेषगरी मेरो उत्पत्ति भने पहाडी क्षेत्रमा हुन्छ तर तराईमा पनि वन-जङ्गलमा म उम्रिन्छु।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्यतम कृति 'मुनामदन'मा मेरो उल्लेख महाकविले यसरी गरेका छन्-
"हातको मैला सुनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले।"
मलाई वनस्पति विज्ञानीहरूले अट्रिक्यसी परिवारको पोल्ने झार रूपले चिनाएका छन्। वनस्पति जगतमा पाइने magnoliophyta भागको magnoliopsida वर्गमा पर्ने मेरो गण Rosales र वंश urtica अनि प्रजाति हो u.dioica.। मेरो वैज्ञानिक नाम Urtica dioica हो।
म अति पोल्ने झार भए पनि म भित्र भने धेरै पौष्टिक तत्व पाइन्छन्। म भित्र पर्याप्त मात्रामा भिटामिन ए,सी,डी, लौहतत्व (आइरन), फोलिक एसिड, पोटासियम,म्याङ्गानिज, केलसियम आदि पाइन्छन्। म पोल्ने भएर के भो र, मभित्र २५% सम्म प्रोटिन पाइन्छ। मेरो उपकारिता सुन्नु भो भने त झन् छक्कै पर्नुहुनेछ।
मेरो पातको धुलोको मेंहदी बनाएर हाम्रा दिदी बहिनीहरूले लगाए भने उनीहरूको कपाल झर्ने,खुइलिने, चाया पर्ने र जुम्रा पर्ने रोगको नाश हुन्छ। मेरो खेती नै गर्नु नपर्ने,स्याहार-सुसार पनि गर्नु नपर्ने मेरो पातलाई राम्रोसँग उमालेर दाल,ढिँडो आदिमा हालेर खान सकिन्छ वा मेरा मुण्टाको साग भुटेर पनि खान सकिन्छ। मेरा पातमा हुने काँडे झुसमा पाइने फर्मिक अम्ल (Formic acid)ले पोल्ने र हिस्टामाइनले पोलेको ठाउँ सुन्निने गराउँछ। तर उमालेको पानीमा यी तत्त्वहरू नाश भएर पौष्टिक तत्वमा रूपान्तर हुन्छन् । मेरो पातको धुलो बनाएर यूरोपेली देशहरूमा जूस, सुप, हर्बल चिया बनाएर मानिसहरू खाने गर्छन्। गाउँघरमा पाइने मेरो प्रजातिका मुण्टा कुखुरालाई ख्वाए ती कुखुराले धेरै अण्डा दिने र ती कुखुराको मासु पनि स्वादिलो हुन्छ भनेका छन् पशुविज्ञानीहरूले। त्यसैगरी मेरो पातको उपयोग गाईको खोलेका गरे गाईले अधिक दूध दिने गर्छन् पनि भनिएको छ।
मेरो सही उपयोगले महिलाहरूको मासिक नियमित हुने, शरीरको रगतमा हिमोग्लोविनको मात्रा वृद्धि हुने, मधुमेह, जण्डिस, प्यारालाइसिस, कब्जियत,कल्चर, युरिक एसिड, ग्यास, उच्च रक्तचाप, नपुंसकता, बाँझोपन, भाँचिएको र मर्किएको हड्डी जोड्ने, आँखाको ज्योति, अनुहार चम्किलो बनाउन, सोला हान्ने,ढाड दुख्ने,घुँडा दुख्ने र चस्किने आदि रोगमा मेरो पाउडर (धुलो)को उपयोग गरिन्छ। त्यति मात्रै कहाँ हो र, मेरो धुलाको रस,हर्बल चिया वा जुस बनाएर हप्तामा एकपल्ट सेवन गरे तपाईहरूका भुँडीभित्र भएका वा हुन लागेका अन्जान विकारहरूको सफाई हुन्छ, मुटुको कम्पन सन्तुलित र पाचन शक्ति बढ्छ र शरीरमा रोग प्रतिरोधक क्षमता बढाउँछ।
आशा छ, तपाईंहरूले मेरोमा पाइने यातनादायी तत्त्वलाई गुरूत्व नदिइकन मेरा गुणहरूलाई प्रयोग गर्नुहुनेछ। तर हिंँजोआज नगरीकरणको प्रभावमा मान्छेले मलाई मास्दै गएकाले म अनकण्टार पहाडी क्षेत्रमा मात्रै पाइन्छु।
______________________