म घर आउदैछु
प्रतिभा देवी , सदिया , तिनिसुकिया, असम
म घर आउदैछु
भारी भिडलाई पन्छाउदै
मानिसहरु सँग तर्किदै
न रेलगाडी न वास
मृत्यु लाइ उछिन्नेर
हिडेको हिडै आउदैछु।
दुइ चारवटा रोटीत थिए
पुलिस ले कुट्दा त्यो पनि उछिट्टिए
भोकको ताँतमा उभिए
मेरो पालोमात रोटीनै सकिए
तर पनि घर को छ्हारी सम्झेर
भोक बिर्सेर आउदैछु
म घर आउदैछु।
मेरो परिवारलाइ लिएर ,
स्याना नानीलाइ हिडाएर
बुनेका सपना भत्काएर
नयाँ सपना सजाउन आउदैछु
म घर आउदैछु ।
टाउकोमा कुम्लो बोकेको छु
मुटुमा डर र त्रास बोकेको छु
हजार हजार किलोमीटर
आशा र निराशाको धर्का कोर्दै आउदैछु
म घर आउदैछु।
चुडिएको चप्पल फ्याकेर
नांगो खुट्टाले
चर्केको घामले तातेको सडकमा
पैतालो डाम्दै आउदैछु
म घर आउदैछु।
हिड्दा हिडदै
फुट्नु लागेका पैतालो बाट
निस्किएको रगतको छाप
मैले बनाएको सडकमा
छोडदै आउदैछु
म घर आउदैछु।
आमा म तिम्रो सन्तान शोकको
औषध बन्न आउदैछु
बाबुको चिन्ताग्रस्त अनुहारमा
मुस्कान बोकेर आउदैछु
म रित्तै छुइन
मेरो जीवन् बोकेर आउदैछु
म घर आउदैछु
म घर आउदैछु।
*********
Post a Comment