“यता हुँदा उताको झझल्को”: कसका लागि यो पुस्तक ?
डा देवेन सापकोटा, गुवाहाटी-३७,
चलभाष: ९४३५३०९२३५
सन् २०१६ को सेप्टेम्बर ५ देखि २०१७ को ३ मार्चसम्म मलाई अमेरिकाको राले सहरको उत्तर केरोलिना विश्वविद्यालय (उकेविवि) मा उत्तर विद्यावारिधिकालागि अध्ययन गर्ने सौभाग्य प्राप्त भएको थियो। छह महिनाको अवधिमा शोधकार्यको बिचबिचमा समयको मैदानमा सिला खोजी मनमा आएका भावहरू र अमेरिका भ्रमण गर्दा उब्जेका क्रिया-प्रतिक्रियाहरू टिप्दै गएको थिएँ। मेरा अनुभवहरूले किञ्चित मात्रामा भए पनि कसैलाई प्रेपणा दिन सक्छन् या सक्दैनन् त्यो अहिले किटेर भन्न सक्दिन, तर कुनै पनि जिज्ञासु पाठक या प्रगतिका प्वाँख भिरेका वा झिल्का सल्केका मनका अधिकारी युवा पिँढीका निम्ति अमेरिकन जीवनशैली अथवा व्यवस्थाबारे चियाउने आँखीझ्यालको काम यो पुस्तकले गर्ला कि ? यो पुस्तक लेखेर मैले- अमेरिका एउटा आदर्शवान राष्ट्र हो, पढी, लेखी उतै कुद्नुपर्छ, त्यस्तो सन्देश दिन खोजेको चाहिँ होइन। तर उता कामहरू उत्कृष्ट तरिकाले गरिँदा रहेछन् र उता सकिन्छ भने हाम्रो देशमा पनि निश्चय सकिएला भन्ने प्रेरणा चाहिँ दिन खोजेको हो। अमेरिका गई ज्ञानार्जन गरी आफ्नो देशमा फर्की त्यसलाई प्रयोग गर्दा हाम्रो देशले निश्चय पनि विकासको गति बढाउला। यसका लागि नयाँ पिँढीले अर्काको बाटो नहेरी आफैँ कम्मर कस्नुपर्छ। राजा भगीरथले प्रयास गरी गङ्गालाई नओरालेको भए यो पृथ्वी यति सुन्दर कहाँ हन्थ्यो होला र ? महात्मा गान्धी स्वदेश फर्की आन्दोलन नगरेका भए हामीले स्वतन्त्रता पाउने थियौँ होला र ? ऋषि श्रीअरबिन्दले आफ्नो बहुमूल्य कृति सावित्रीमा लेख्नु भएको छ- एकैजना मानिसको परिपूर्णताले पनि यो पृथ्वीको रक्षा हुन सक्छ। (One man's perfection still can save the world) । हाम्रो देशको विकास चाहिँ आफ्नै तरिकाले होस् जसमा आधुनिकीकरण रहोस, तर अमेरिकीकरण चाहिँ पक्कै होइन।
यता र उता
यो पुस्तक लेखाइको थालनी अमेरिकामा हुँदै भएको थियो। मैले उतै युनिकोडमा टाइप गर्न सिकेँ र मौरीले चाको भर्दै लगेजस्तै मैले पनि कितापका पानाहरू थप्दै गएँ। त्यसैले पुस्तकमा प्रयोग गरेको 'यता' शब्दले अमेरिकालाई र 'उता' शब्दले हाम्रो यस भूखण्डलाई इङ्गित गर्न खोजेको हो।
के यो पुस्तक भ्रमण वृत्तान्त हो ?
भ्रमण वृत्तान्त अवश्य नै होइन। हुन त पुस्तकको श्रीगणेशमा त्यस्तै लाग्ला। कमसे कम गन्तव्य स्थान (उकेविवि) नपुगुन्जेलसम्म। तर त्यसपछि यसलाई आलापसहित वस्तुगत पारिएको छ। लेखाइको क्रम राख्नमा खुकुलोपन अपनाइएको छ। विषयवस्तु स्वतन्त्ररूपमा लेखिएकाले पाठकले पूर्वाग्रह नराखी स्वतन्त्र रूपमा कुनै पनि विषयलाई चयन गर्न सक्नु हुनेछ। सम्पूर्ण पुस्तकमा मितिहरूले एउटा माला उन्ने धागाको काम गरेका छन्। यही धागामा उनिएर विषयवस्तुहरू रमाएका छन्। बाहिरबाट हेर्दा मालाको धागो देखिँदैन तर यसले सम्पूर्ण भार वहन गरेको हुन्छ। यस पुस्तकलाई त्यसरी नै वर्णन वा विश्लेषणकेन्द्रिक पारिएको छ। मितिको धागोलाई ओझेलमा राखेर।
भारतीय शब्दको प्रयोग
यो पुस्तकमा 'भारतीय' भन्ने शब्दलाई खुकुलो रूपमा प्रयोग गरिएको छ। अमेरिकाको सन्दर्भमा तुलना गर्दा भारतीय भन्दा कताकता उपमहादेशीय अरू देश (नेपाल, बाङ्गलादेश, पाकिस्तान, भुटान, श्रीलङ्का) हरूलाई पनि प्रतिनिधित्व गरेको कुरा स्पष्ट गर्न चाहन्छु। महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो 'शाकुन्तल' महाकाव्यमा 'मीठो लाग्छ मलाई ता प्रियकथा प्राचीन संसारको, हाम्रो भारतवर्षको उदयको हैम प्रभासारको...' भनी उल्लेख गर्नु भएको छ। यो पुस्तकमा भारतवर्ष भनी त्यस वाक्यलाई आधार मानी लेखिएको हो।
शब्दको दोहोऱ्याइ
यो पुस्तकका विषयवस्तुहरू विभिन्न अध्याय अन्तर्गत राखिएका हुनाले कताकता वर्णन गर्न जाँदा एउटै कुरो दोहोरिएजस्तो लाग्ला। त्यसै कारणले पाठकले यी वर्णनहरू यथावत् लिई दिनुहोला।
पुस्तकको छपाइः प्रसव वेदना
पुस्तक मुद्रकले भने- कमसे कम ५०० प्रति छपाउनुहोस्, जति धेर छपायो उति यसको मोल सस्तो हुन्छ। यसबारे अनुभवी पुस्तक लेखकहरूबाट सुझाव माग्दा दुःखको सारङ्गी बजाए नेपाली पुस्तकको बजार छैन। ३०० वटा जति खपत होलान् जसमा अधिकजसो उपहार दिंदै जान्छन्। यसभन्दा अधिक छपाए घरमा राख्दा मुसा, धमिरा या साडले किराको खाजा हुनेछन ! कसैलाई सित्तैमा दिए चानाचुरवालाको चाना पोको पार्न प्रयोग होला ! मेरा अघि पंक्तिबद्ध खडा सबै पुस्तकका लेखकलाई उनीहरूले भाषा र साहित्यप्रति गरेका निस्वार्थ त्याग, सेवा र बलिदानलाई सराहना नगरी सकिनँ। आफ्नो बहुमूल्य समय र पैसाको श्राद्ध गरी केको खुसीमा यिनीहरूले यस्तो नोकसानलाई आनन्दका साथ आडभर लिएका त ? कुनै मातृले प्रसवको पीडालाई सन्तान जन्मेपछि पाएको आनन्दमा भुलेझैँ यी लेखकहरूले पनि आफ्ना कृतिलाई हेरेर पुस्तक छपाउने पीडालाई भुलिरहेका होलान्। यो लामो लहरमा अब मेरो पालो आएछ !
_________________________________