“स्वीकारोक्ति”
२००१ सालको भ्रातृ-द्वितीयाको दिन। म उदालगुड़ी थानाको प्रभारी। बिहानको ७ बजे। म मितेरी सम्बन्धकी दिदीको हातको भाइटीका निधारमा सजाउन भनेर दिदीको घर जान तर्खरमा थिएँ। मैले यस दिनको लागि बिदा मागेको हुनाले ढुक्क मानेर सेतो पाइजामा र पञ्जावी कमिजमा सज्जिएर थाना अघिल्तिर मेरा अपेक्षामा तयार भएको भाडाको एम्बासेडर गाडीतिर जान लागें। यत्तिकैमा भद्र माझी नाम गरेको मानिस मेरा सामु हाजिर भए। उनी जस्तै आपदकालमा नहाँसी नबोल्ने र बेला-बेला भक्भकिने बानी हुनाले उ मेरा सारै परिचित थिए। उनलाई देख्नेबित्तिकै म झसङ्ग हुनथालें। उनी थानामा आउँदा केही झेउलो लिएर आउँछन् नै भनेर। मलाई देख्नेबित्तिकै नमस्कार गर्दै हाँस्तै हातमा भएको केही लेखेको कागत एक ताउ मलाई अघि बढाउँदै भन्छन्- ‘सर हिजो राति असम-भुटान बोर्डरमा भएको आदिवासी गाउँमा वृद्ध पति-पत्नीलाई अपरिचित दुष्कृतिकारीले हत्या गरेछन्।’ यस्तो दु:खदायक खबर बोकेर आउने मानिसका मुखमा हाँसो देख्ता म छक्क पर्छु। उनले दिएको उजुरीनामा (एजाहार)मा पनि त्यही कुराको उल्लेख गरेको रहेछ। म त्यो गाउँमा कहिल्यै पनि नगएको हुनाले थानामा भएको मानचित्र हेर्दा जान्न पाएँ त्यो गाउँ यहाँबाट २५ कि. मि. टाढा थाना क्षेत्रको सबैभन्दा दुर्गम स्थानमा रहेछ। आफ्नो इलाकामा दुई-दुईजना मानिसको हत्याको खबरले मलाई सारै विचलित पार्यो। त्यो लिखित आवेदनलाई ‘उजुरीनामा’ (एजाहार) को रूपमा जेनेरल डायरीमा दर्ता गरेर हत्या मुद्दा बनाएर रेजिस्टर गराएँ। यो सूचना एस, डी, पी, ओ (महकुमा पुलिस अफिसर) लाई फोनमार्फत् जान्न दिएँ। उहाँले एकजना उप-परिदर्शक साथ मलाई पनि तयार रहन हुकुम दिनुभयो। म छक्क परें उहाँले नै मलाई आजको दिनको लागि छुट्टी दिनुभएको थियो तर उहाँले नै मलाई तयार हुन भन्नुभयो। हाम्रो जागिरे जीवनको धर्मले गर्दा मैले उहाँलाई बिदाको बारेमा केही कुरा कोट्याउन मुनासिब जस्तो ठानिनँ। मलाई थाहा छ ठूलो काम आइलाग्दा सानु काम कता बिलाउँछ थाहा नै हुँदैन। म नजानिँदो पारालेमनमा अशान्ति बटुली पुन: आफ्नो बासभवनमा पुगें अनि आफूले लगाएको पाइजामा र कमिज खोलेर फ्यात्त ओछ्यानमा हुत्याएँ। मेरो मनको बह पोख्ने मान्छे नै पाइन। एकछिन भए पनि आफ्नो जागिरप्रति घृणा जन्मिन थाल्यो। तर म लाचार थिएँ। खाकी वर्दी हतपत्त लगाएर थाना आइपुगें। एकैछिन पछि एस. डी. पि. ओ. अस्त्रधारी सिपाहीहरू लिएर थानामा हाजिर भएँ। म पनि एस. आई. बसुमतारी र मेरा अङ्गरक्षकलाई लिएर थानामा तैनाथ थिएँ। मेरा अनुरोधमा एकजना कार्यवाही म्याजिष्ट्रेट थानामा उपस्थित थिए। घटनास्थल देखाउन थानामा रहेको उजुरीनामा (एजाहार) दिने भद्र माझीका साथमा हामी यात्रा गर्यौं। घटनास्थल जाँदा सडक परिवहन विभागले बनाएको पक्के बाटो करीब १५ कि. मि. गएपश्चात देब्रेपट्टि अर्को कच्चा ढुङ्गे बाटातिर लाग्यौं। त्यो बाटो करीब ३ कि. मि. गएपछि गाडीजाने बाटो टुङ्गिन्छ। हामी सबै गाडीबाट ओर्लिएर पैदल अघि बढ्दै छौं। चारैतिर खेत। खेतका डोब्लामा आली-आलीमा लरबर गर्दै हामी अघि बढ्दै छौं। रातभर पानी दर्किएकाले गर्दा बाटो असाध्ये हिलो थियो। खेतमा धानका बालाहरूले आफ्नो पूर्ण यौवन प्राप्त भएर लजाइ-लजाइ हावामा नाचिरहेको जस्तो देखिन्थ्यो। मौसम धेरै चिसो थियो। सिरेटाले शरीरलाई धोइ दिँदै गरेको अनुमान भएको थियो। बाटो चिप्लो हिलो भएकाले हिँड्न धौ धौ परेको थियो। पतलुन घुँडा-घुँडासम्म सुर्किएर जुत्ता हातमा लिएर ग्याजग्याज हिलोमा भुइँमा लड्ने डरले खुट्टाको नङ माटामा गाड्दै हाम्रो अविराम पदयात्रा जारी छ। यसरी नै बामे सरे पाराले करीब २ कि. मि. पार भएपछि सानु गोरेंटोमा आइपुग्यौं। छेउमा भएको कुलसी नदी हामीलाई पछ्याउँदै छ। बाटाका दुवैतिर धेरै व्यवधानमा २०-२५ वटा खरले छाइएका झुप्राहरू त कतै टिनलाई बाँसले ओडाइएका घरहरू देखिँदैछन्। घरहरू देख्ता मलाई लाग्छ त्यहाँ आदिवासी समुदायका मानिसहरूले बसोबासो गर्नुपर्छ। म आफ्नो नाडीको घड़ी हेर्छु-अहिले ३ बज्न लागिरहेको छ। त्यही गाउँ रहेछ घटनास्थल। बाँसको झोपडीभित्र खटियामा उँधो मुन्टो पारेर मृत अवस्थामा लडिरहेकी रहिछन् एक वृद्धा नारीअनि बाहिर आँगनमा नरिवलको डोरीले बुनेको खटियामा त्यसरी नै उँधो मुन्टो पारेर मृत अवस्थामा वृद्धको शरीर लडिरहेको रहेछ। दुवैको शरीरमा कुनै धार नभएको अस्त्रले जताततै प्रहार गरेर हत्या गरे जस्तो लाग्छ। दुवैको शरीर रगतले मुछिएर अनुहार डरलाग्दो भइसकेको थियो। उनीहरूको त्यो रूप देख्नेबित्तिकै आङ जिरिङ्ग भएको थियो। त्यो ठाउँ उराठलाग्दो सुनसान मसानघाट जस्तो लाग्थ्यो। छेउछाउमा कुनै प्राणी पनि देख्न पाइएको थिएन। मलाई चिन्ता हुन थाल्यो मृतकहरूलाई त्यहाँबाट कसरी निकाल्ने? एस, डी, पी, ओ र म्याजिष्ट्रेटले मलाई मृतकलाई यहाँबाट चाँडै लाने व्यवस्था गर्न आदेशको तौड़मा भन्नथाले। बल्लबल्ल आइयो त्यहाँबाट निस्कन हम्मे हम्मे थियो त्यहाँमाथि दुई-दुईवटा लास पनि लानुपर्ने। आँखा अघि आएको बाटो झलझली देख्तैछु। घटनास्थलको चारैपट्टि अग्ला अग्ला तितेघारी, काँसघारी, इकडाघारी, नाम नजानेका साना-ठूला रूखहरूले घेरेको थियो। मैले एस, आई बसुमतारीलाई लासहरूमाथि अन्वेषण (इन्क्वेष्ट) गर्न परामर्श दिएँ। मैले पनि सुरागको आशामा चारैतिर आँखा डुलाउन थालें तर सुराग सङ्ग्रह गर्न सफल हुनसकिनँ। अन्वेषण भएपछि लासहरूको डक्टरी जाँच (पोस्टमर्टम) गराउन चिकित्सालय लानु नै समस्या हुनेभयो। लास केमा राखेर लानु, के ले बाँध्नु, साधन कहाँबाट ल्याउनु यिनै प्रश्नचिन्हमा म फन्फनी घुम्न थालें। छेउको माटाको ढिकुराबाट हेर्दा टाढा अनकन्तर जङ्गलबाट धूवाँ रूमलिँदै ठाडो हुँदै आकाश चुम्न भनेर माथि-माथि उड्दै गइरहेको देख्ता त्यहाँ मानिस हुनुपर्छ जस्तो लाग्थ्यो। कसैको सहायता नपाउँदा लास लान जोखिमपूर्ण काम हुनथालेको मलाई भान हुँदैछ। म अलमल्ल परें, मृतकहरूलाई कसरी लाने अनि फेरि यहाँ आएर हत्याकारीलाई कसरी पक्राउ गर्ने? लास लाने मनको हुँडलो सम्हाल्न मैले तीखो स्वरमा भन्न थालें एउटा बोक्सी मार्न सके सरकारबाट १० हजार रूपियाँ इनाम पाइन्छ। यी बोक्सा-बोक्सीहरू असती हुन्छन् टुना-मुना गरेर जिउँदो मान्छेलाई ठाडै सुकाएर मार्छन्। बोक्सा-बोक्सीलाई हत्या गर्नु नै त्यो गाउँमा शान्ति फैलिनु हो। तर हत्याकारीले आफैंले स्व-इच्छाले आएर भन्नुपर्छ उनीहरूले हत्या गरेको हो भनेर।मेरो मनमा उब्जिएको कु-बुद्धि एस, डी, पी, ओ र म्याजिष्ट्रेटले जान्न बेर लागेन। उनीहरूले मपट्टि जिज्ञासु नेत्रले हेर्न थाले र मेरा कुरालाई समर्थन गरे। एकै छिनपछि बिस्तारै बिस्तारै एक-दुई गरेर त्यही गाउँका ६ जना पुरुष मानिस मेरा सामु उपस्थित भए। मैले सोचें मेरा औषधीले सही काम गरेछ। मैले उनीहरूलाई भन्न थालें यो खबर अरू कसैलाई नभन्नु नत्र अरूले सुने भने पुरस्कारका लालचाले मलाई आएर नाम दिन्छन् पुरस्कार भेट्नेको तालिका लामो हुन्छ र सरकारको नोकसान हुन्छ। अब भन त तिमीहरूले यी दुवै बोक्सा-बोक्सीलाई किन, कहिले मार्यौ त? उनीहरूको पुरस्कारका आशाले होला बोक्सा-बोक्सी भनेर वृद्ध पति-पत्नीलाई बाँसका लट्ठीले कुटेर लाचार पारेर हत्या गरेको कुरा कबुल गर्छन। उनीहरूको भनाइ यस प्रकारको थियो- उनीहरूका गाउँका तीनजना स-साना केटा-केटीहरूलाई बोक्सी लागेर ठाडै सुकाएर मारेछन्। ती वृद्धहरूले तन्त्र-मन्त्र गरेपछि कुनै धामी धन्वन्तरिले पनि जाति पार्न सक्तैनन् यसैले गाउँको सुरक्षाको लागि दुवैलाई उनीहरूले हत्या गरेका रहेछन्। हत्या गर्ने हतियार (लट्ठी) चाहिँ नदीमा बगाइ दिएछन्। उनीहरूद्वारा लास लाने बाँस, मान्द्रा, डोरी आदि सङ्ग्रह गरेर लासहरूलाई बाँध-बुध गरी उनीहरूद्वारा नै मूल सडकमा भएको लाश लाने गाडीसम्म ल्याउन लगाएँ। राति ९ बजे थाना आइपुगी उनीहरूद्वारा नै लासको पहरा दिने व्यवस्था पनि गराएँ। भोलिपल्ट बिहान मृतकहरूको मरणोत्तर जाँच गराउन अस्पतालमा पेश गरें। यो मुद्दा उनीहरूको बयान अन्तिम साक्षी हुनाले माननीय मुख्य न्यायधीश महोदयलाई भारतीय दण्डविधि ऐनको दफा १६४ बमोजिम बयान टिपन अड्डामा पेश गरें। मैले मेरो बनावटी कुरा कतै चिप्ल्याएँ कि भनेर उनीहरूलाई अड्डासम्म पुर्याउन धेरै चनाखो हुनुपरेको थियो। त्यसदिन शुक्रबार, भोलिपल्ट चौथो शनिबार अनि आइतबार बन्द हुनाले उनीहरूको बयान लिपिवद्ध गर्न सोमबारका दिन न्यायधीश महोदयले तय गरे। अहिलेसम्म अपराधीहरूले दोष स्वीकार गर्न कटिबद्ध छन् तर उनीहरू जेल-हाजतमा रहनु पर्दा पुराना अपराधीहरूसँग भेटहुँदा उनीहरूले मेरो झुटको भण्डाफोर हुन्छ भन्ने मनमा चिसो पस्न थाल्यो। सोमबारको दिन अपराधीहरूलाई हाजतबाट अड्डामा हाजिर गरियो। म तैनाथ छु। ‘मजिस्टे्रट’को हुकुमअनुसार उनीहरूको बयान लिपिबद्ध गर्ने समय थियो दिनको २ बजे। २ बजे उनीहरूलाई मजिस्टे्रट सामु हाजिर गरियो। उनीहरूलाई मैले मजिस्टे्रटको कक्षमा प्रवेश गराउने अघि पुरस्कारको कुरा पनि सम्झाउन भुलिन, उनीहरू ठीकै रहेछन् मलाई खुसी लाग्यो। समयमा मजिस्टे्रटले लेखेको बयानको नकल पढ्दा त्यसमा लेखेको कुरा देखेर एकैछिनको लागि मैले तीनलोक चौध भुवन देखेंछु। त्यसमा लेखेको थियो- ‘अपराधीले दोष स्वीकार गरेनन्।’ यतिदिनको परिश्रमको फल भेट्टाएँ ती महान चार शब्द ‘अदालतको स्वीकारोक्ति’ दिदीले मलाई भाइटीका लगाउन कतिबेरसम्म बाटो हेरिन् होला? मैले पनि मेरा काँधमा आएको दायित्वबोधले गर्दा दिदीलाई म त्यहाँ जान नसकेको सूचना दिन पनि भुलेंछु। दिदीले के सोचिन् होला?
_______________________
Post a Comment