असम नेपाली साहित्य सभाको 'साहित्य प्रभात' पुरस्कार प्राप्त पुस्तक 'यता हुँदा उताको झझल्को' वाट ‘अन्तर्राष्ट्रिय सेवाको कार्यालयमा अनुभव’
ड. देवेन सापकोटा
प्राध्यापक एवम् प्रमूख, पोउल्ट्री विज्ञान विभाग, भेटेनरी कलेज; असम कृषि विश्व विद्यालय; खानापारा; गुवाहाटी; असम l
मलाई उकेविविको अन्तर्राष्ट्रिय सेवा कार्यालय (Office of International Services) मा भिसाको म्याद बढाउनको बारेमा सुझाव लिनु थियो। मैले यस अघि त्यस कार्यालयमा कहिलै गएको थिइनँ र कता जानु पर्ने हो थाहा पनि थिएन। मेरो ल्याबमैं काम गर्ने इक्वेडरबाट आएका छात्र डोमियन लोपेजलाई ‘कता जानु पर्ने हो’ भनी खोजी गर्दा उनी आफैले अघि सरी मलाई उहाँसम्म लगिदिने भए। मलाई पनि ‘के खोज्छस् कानो‚ आँखो’ जस्तो भयो। म पछि लागेँ। हाम्रो प्रयोगशालाबाट झरी हिल पुस्तकालय भवन अतिक्रम गरी न्युक्लियर भौतिकविज्ञान भवनको छेवैबाट अलिकति अघि जाँदा अन्तर्राष्ट्रिय सेवा कार्यालय रहेछ । मलाई ढोकासम्म पुयाएर डोमियनले बिदा लिए। उनीलाई धन्यवाद दिदँ म भवनभित्र पसें ।
कार्यालयभित्र अघिल्तिरको टेबलमा राखिएका कम्प्युटरका पर्दामा हेर्दै काम गरिरहेका दुई जना व्यस्त महिला देखिए। छेवैमा सोफा खाली रहेछ । म थचक्क बसँ । पिठ्यूमा भिरेको ब्याग छेवैको टेबलमा राखें । त्यहाँबाट फाइल निकाली देखाउनु पर्ने कागज-पत्रहरू हेर्दै गएँ । मेरो भिसाको म्याद बढाउने कुरो कस्ता प्रकारले उनीहरू समक्ष राखौँ‚ मनमनै सोच्दै थिएँ । यत्तिकैमा एउटी महिलाले छेवैको कम्प्युटरलाई देखाएर मृदु स्वरले मलाई सोधिन् ‘के तपाईँले चेक-इनु’ गर्नुभयो ?’ उनले मलाई कम्प्युटरमा मेरो नाउँ रजिस्टर गरेको कुरो सोधेकी रहिछिन् । मलाई कार्यालयमा आई केही सानो कुरो सोध्न पनि यसरी कम्प्युटरमा नियुक्तिलिनुपर्छ भन्ने केही थाहा थिएन । जेहोस् जहाँ जस्तो नीति-नियम त्यसलाई पालन गर्ने पन्यो । मैले ‘क्षमा गर्नुहोला‚ गरेको छैन तर अब गर्छु‚ धन्यवादु’ भन्दै कम्प्युटरतिर लम्किएँ ।
पर्दामा चेक-इन गर्ने कदमहरू सकेर एक फारम भर्नु पर्ने रहेछ । त्यहाँ मेरो बारेमा सामान्य कुराहरू सोधिएको रहेछ‚ जस्तैः नाउँ‚ पासपोर्ट नम्बर‚ डिपार्टमेन्ट आदि। मैले भर्दै गएँ अन्त्यमा सोधिएको रहेछ ‘के कामका लागि आउनु भएको र कसलाई भेट्ने?’ मैले मेरो आएको उद्देश्य र ‘कार्यालयको कसैलाई पनि भेटे हुन्छु’ भनी जवाफ लेखें । निचोडमा ‘सबमिट’ बटन दबाएँ। यसरी नै मेरो नाउँ रजिस्टर भयो। अब म आफ्नो पालोलाई पर्खी बसें। मेरा अघिअघि नाक थेप्ची‚ आँखा चिम्सा परेकी मङ्गोलीय अनुहारकीलाई कार्यालयकी महिलाले केही कुरो सम्झाई रहेकी थिइन् । यिनी सायद चिनीया महिला‚ हालैमा आएकी होलिन् । चिनीयाहरू जतिसुकै विद्वान् नै किन नहुन् अडग्रेजी बोल्नमा त्यति सिपालु हुँदैनन् भनी सुनेको थिएँ मलाई यिनको कुरा सुनी त्यस्तै लाग्यो।
केही छिन कुरा गरेपछि ती महिलाले धन्यवाद भन्दै बिदा लिइन् त्यहाँ अरू कोही आगन्तुक नभएकाले अब चाहिँ मेरै पालो आउला भनी पर्खिरहँ। कोठा निस्तब्ध थियो। एकै छिनपछि ‘हलो देवेन’ भनी एक मृदु स्वरमा कार्यालयकी महिलाले बोलाइन् । म कागज-पत्र लिई उनी छेउ पुगेँ। मेरो भिसाको म्याद बढाउने आवश्यकताको बारेमा उनलाई छोटकरीमा र स्पष्ट रूपमा बताउन भरमग्दुर प्रयत्न गरेँ । उनले सबैथोक शान्त भई सुनी सजिलो पाराले मेरो काम गरिदिइन् मैले आत्मसन्तुष्टि लिएर ‘धन्यवाद’ भन्दै कोठा बाहिर निस्किएँ। हाम्रो देश र यहाँको काम गर्ने तरिकाको बिचमा अकाश-पतालको भिन्नता देखेँ। कति सुव्यवस्थित रूपले काम गर्छन् यहाँ ! कतै हल्ला छैन‚ कतै गाँठो छैन! साँच्चै‚ यिनीहरूको काम गर्ने शैली अनुकरणीय र प्रशंसनीय छ ।
_________________