रेमिका थापा
गौँथलीहरू आ-आफना ओँठमा झुन्डाएर ल्याएका
माटाका कणहरू घर घरमा बिसाउन नपाँउदै भन्छन्
अब सकिँदैन, माटाको त स्वादै हराइसकेको छ !
अब जङ्गलमा चाँडै सुशेलीहरूको उत्सव हराउने छ
मालिङ्गोका घारीबाट मुरली
हामीले रङ्गीन प्वाँख उचालेर नाच्न पाउने
पिपलपाते पातलो धुन
एकान्त हराउने छ र एकान्तको मिहिन नाद पनि ।
चकमन्नता बज्नेछैन
चुपचापहरू एकाएक गोरेटामा हिड्ने छैनन्
यी सबै शब्दहरू संसारको शब्दकोशबाट हराउने छन्
अकाल मृत्युमा पर्नेछन् !
अब रामायणमा अरण्य काण्ड हुने छैन
र सबरी सँगै जुठा बयरको स्वाद हराउनेछ
किनभने सीताहरण होस् अथवा अहल्या प्रसङ्ग
अथवा सुनौलो मृगको भ्रम रचना आदि लीलाहरूलाई
आज जङ्गलको आवश्यकता नै पर्दैन
आखिर जटायु जस्ता विराट नङ्ग्रा, हड्डी र पखेटा हाम्रा छैनन् पनि !
पात-पतिङ्गर, सुकेका हाँगा-लाथ्रा
गोबर-माटो, दुना-टपरी धिरी चोङ्गे आदिले घर थेग्ने
तिरो-भरो, अइँचो-पैँचोले घर संसार धान्ने
चिप्कोका छोरी चेलीलाई धेरै गाह्रो हुने छ
सुकौराले उनीहरूका सिँउदाको रगत जम्मै सुक्ने छन् !
कीटाणुहरू सबै मर्नेछन्
कुहुने सड्ने केही हुने छैन
सबै ढुङ्गाका चट्टान हुनेछन्
कीरा मुसा भ्यागुता साँप र गरुड आदिका क्रमिक कालचक्र देखिने छैन
बुवबुलको सुन्दर गुँड र
कमलकोठीका माटाको भव्य कोठी हेर्न पाइने छैन
पशुका राजादेखि माकुरासम्म जम्मै पासामा पर्नेछन्
मुजुर आदिका छात्ती सोलामा उनिनेछन्
बथानै जुरेली दर्ज्जनमा रोपिएका रोपिएकै हुनेछन्
भीरमौरी र पुत्काहरू जडीबुटी लिन हजारौँ कोशको दुर्गम यात्रा जाने छैनन्
घरमौँरीहरू बोक्सीफुलको सुगन्ध धरी ल्याउन नसकी
बाल्कोनीको चेपारोमा कोचिएका कोचिएकै हुनेछन् !
अब उसो गुँड बनाउँदा चिचिन्कोटी चरीले बाघको भुत्ला पाउन छोड्ने छ
चर्को घामको राप मार्ने ब्याङ्पाटा
र दु:खी घाम हसाँउने चमेराहरू दुर्घट्नामा पर्ने छन्
कालिजका भाले पोथी आफ्नो निजी गोहो बनाँउदै
प्रेम यात्रा हिड्ने छैनन्......
संसार अजिङ्गरको भुँडी झै अँध्यारो ओढार हुनेछ
जहाँ जूनकीरीहरू निभेका निभै हुनेछन् र
सारा चराचरको सास थुनिनेछ !
सिस्नु मगरकाँचे ठोट्ने गुर्भो तामा आदि टुसाउने छैनन्
गुर्जो तमर्के र वनतरुल आदि लहराउने छैनन्
काउलो, कुसुम बेतगेडा फ्याक्रे, तारिका र सीताफलहरू
बिरानो स्वाद हुँदै शेष् हुनेछन्
सिम्रिक हरचूर, लाँकुरी फच्याङ , बिकुमा इत्यादि
जडीबुटीका बोटहरू रोग र शोकले मर्नेछन्
खेतबारीमा गोलसिमलहरू बास बस्न आउने छैनन् र
हामी धानका बियाँहरू टिप्न त्यहाँ जान पाउने छैनौँ !
रागहरू मर्नेछन्
क्रौञ्च पक्षीहरू प्रणयालाप गर्ने छैनन्
न त कविका मुटुमा त्यो रगतपच्छे वाफ उठ्ने छ
न त अनुष्ठुपका आला वर्णहरू फुटिनिस्कनेछन्
वाणीका देवीहरू त्यसै अल्पिनेछन्
न कुनै कविता न कुनै गीत नै हुनेछ !
मान्छे र मान्छेको उम्लँदो गिदी मात्र हुनेछ
गिदीमा डढेलो हुनेछ
माटामा गन्ध
आगामा राप
पानीमा स्वाद
हावामा स्पर्श
दिशामा ध्वनि केही हुनेछैन !
हुने छैन त भोग र योग मात्र
देहको उन्माद र आत्माको तुष्टी
सिङ्गार श्री र कान्ति हुनेछैन
अनिकाल अलच्छिन र अमङ्गलले दिएका
लाशका थुप्रा हुनेछन् तर मलामी हुने छैन
हाम्रा प्वाँखहरू झर्ने छन् र पखेटाहरू डढ्नेछन्
हरेक ज्यान काल पर्खिरहेको...
नाङ्गो भुतुङ्गो जीउँदो लाश हुनेछ
के अब जङ्गलको यो अन्तिम कविता हुनेछ?
Remika Thapa
thaparemika@gmail.com
_________________
Post a Comment