• theoxygentimes@gmail.com

Blog


अनुपमा कट्टेल

डिमापुर

नागाल्यान्ड

                                                                                                                                                                         Email:Kattelanu11@gmail.com   

 

निस्पट अँध्यारा रातहरूको मुटु चिर्दै ;

ब्युँझिएका सपनाहरू

 एउटा बिरानो ठाउँमा पुग्छन् ,

निद्राहरू सोच्न थाल्छन्

बिरानो ठाउँमा सपनाहरूको

 कुनै मूल्य होला र ?

 

आजभोलि मूल्यको बारेमा

कसले सोच्छ

कसले पल्टाउँछ

न्यायको पुस्तक

 म मन मनै भन्छु।

 

समयले किन यस्तो कोल्टे फेर्छ ?

सत्यका पक्षधरहरू

समाजमा किन एक्लो बृहस्पति हुन पुग्छन् ?

 उसलाई व्याङ्ग्य वाण हानिन्छ ;

सत्यताको विरोधमा

 भयङ्कर असहमति प्रकाश गर्दै

न्यायलाई निराशाको खाडलमा हुत्याइन्छ ।

 

 त्यसैले, सबै सबै सत्यतालाई बिर्सिएर;

 मानिसले मौनताको आश्रय लिनु पर्ने हुन्छ,

 सहनशीलताको अभिनय गर्नु पर्ने हुन्छ

आँटहरू लुकाउनु पर्ने हुन्छ कुनै गुप्त स्थानमा ।

 

त्यसपछि खुल्ला मैदानमा असत्यले ताण्डव नाच्न थाल्छ;

 जुन दिन सत्यताले भद्रताको घुम्टो ओढेर

 शान्तिको सास फेर्ने निर्णय लिन खोज्छ ,

त्यसै दिनदेखि असत्यले हैकम जमाउन थाल्छ

एक अर्काका विचारहरू।

 

 असहमतिको होडमा मक्किएर जाँदा

 तार्किकतालाई बिर्सिएर मानिसका हाँच,

 हावा र हल्लामा कुदेको देख्ता

न्यायलाई अवज्ञा गर्दै ;

अर्थहीन र स्वार्थी विचारको घोडा चडी

 एउटा सिङ्गो समाजलाई भ्रमित पार्दै ।

 

कतिपय निरर्थक, मूल्यहीन, घातक तत्त्वहरूले;

 आफ्नो बोलबाला चलाएका देख्ता

 मेरा मुटुका सत्यमय लाभाहरू,

 उकुसमुकुस गर्दै बाहिरिन चाहन्छ्न्।

 

जिन्दगीका मिठा मिठा पलहरू

सुन्दर इन्द्रेणी सपनाहरू ;

भ्रमका काला बादलहरूले

ढक्क छोप्न थालेका छन् ,

मानौं यहाँ सत्यता र न्यायका बाटाहरूका;

 सबै पुलहरू तोड्दै

अन्याय राज चलाउने

सबै आयोजना गरिसकेका छ्न् असत्य

 र उसका शाखा-सन्तानहरूले।

शान्ति र प्रगतिका

 मिलन र भाइचाराका सबै सबै बाँटाहरू

साँगुरिँदै साँगुरिँदै गोरेटो मात्र भइसके

 यी साँगुरा बाटाहरूमा

सपनाहरूलाई फुल्न ठाउँ कहाँ पुग्छ र?

 शान्तिले ढुक्कले सुत्ने

एक सुरक्षित छातीमा ढलिमली गर्ने

र आफ्नै श्रमको पसिनाले भविष्य फलाउने

रहर त छ सपनाहरूलाई

तर अलमल्ल पर्नु परेको छ

 ती रङ्गमन्चमा जाने सबै सबै

नाकाहरू बन्द भइसकेपछि।

 

 जसको व्यवहारमा महाशून्यको

 झोलुङ्गो छ त्यसैलाई ,

अन्तिम सत्य मान्ने अवधारणाहरूसँग

अनिश्चापूर्वक सहमति प्रकाश नगर्न,

 निरन्तर विवेकको चेतावनी

 र परिस्थिको बीचको द्वन्द्वमा।

 

 विभ्रान्त सपनाहरू डोहोर्‍याएर;

 यो यात्रा कतिदिनसम्म गर्ने ?

 एक छाती आँट

 एक मन दृढता

 एक विवेक अठोटको प्रतीक्षामा छ्न्

सपनाहरू सत्यको गुहार माग्दै;

 बिपना भएर बौरिन चाहन्छ्न्

एउटा अनुकूल वातावरणमा।

_____________________

Post a Comment