• theoxygentimes@gmail.com

Blog


बेलुकी ५ बजे एकजना अर्धवयस्क मानिस आएर एउटा लिखित उजुरीनामा (एजाहार) अघिबढाउँछन्। मैले त्यो दरखास्त पढें। त्यसमा लेखे अनुसार आज बिहान करीब ९ बजे उनको छोरो रमेश घरबाट बजारतिर आएको थियो तर घर फिरेको छैन। उनीहरूले आफन्तहरूको घरमा, साथीहरूका घरमा खोजी गर्दा केही खबर नपाउँदा गायब भएको भनेर ऐनको आश्रय लिएका रहेछन्। उनको बोली बेसहारा रुञ्चे स्वर भइसकेको थियो। मैले तुरन्तै यो संवाद जेनेरल डायरीमा दर्ता गरेर असमका सबै थानाका प्रभारीहरूलाई तारवार्ता मार्फत जानकारी दिएर उचित कदम उठाउन अनुरोध गरें।

                थानादेखि करीब एक फार्लङ पूर्व दिशातिर ठूला-साना विभिन्न किसिमका पसल तथा बस-बिसौनीहरू छन्। त्यो थाना इलाकाको केन्द्रभूमि (सेन्टर) जस्तै थियो। त्यहाँ चारैतिरबाट सामान बेच्न, खरीद्न, अरू अरू विभिन्न कामकालागि मानिसहरूको जमघट हुन्छन्। म यो विषयको गोप्य अनुसन्धान गर्न भनेर एउटा सहकर्मीलाई लिएर सेन्टरतिर लागें। त्यहाँ पुगेर एउटा चिया पसलमा पसेर चिया खाने भान पारेर त्यहाँ भएका पसलेलाई रमेशका घरको बारेमा सोधपुछ गर्दा थाहा लाग्यो रमेश धरको चरित्र त्यति सुकिलो रहेनछ। त्यो इलाकाको एकखालको आफूलाई शक्तिशाली युवक भन्न खोज्दो रहेछ। ठूला-बडा कसैलाई नटेर्ने रहेछ उसको व्यवहार। गाउँका अल्लारे ठिटा केटाहरूको एउटा दल बनाएर त्यस दलको अघोषित नेता बनेको रहेछ। उनीहरूको मुख्य काम रहेछ स्कूल तथा महाविद्यालयका छात्राहरूलाई बाटामा बसेर छेड्का हान्नु, गिज्याई वाक्क पार्नु। त्यो दलका चारजना हिस्सेदार रहेछन्। हामी त्यहाँबाट केही समाचार बोकी थानातर्फ फिर्यौं। थाना आइपुग्दा घडीमा राति ९-३० बजिसकेछ।

                भोलिपल्ट बिहान (रिमरिमे उज्यालो भएको थियो) रमेशका बुबा साथमा चारजनाा युवक लिएर मेरा वासभवनमा हाजिर भए। मैले ढोका खोलें। मलाई देख्ने बित्तिकै रमेशका बुबाले एकै सासमा भने-  ‘‘सर बितेको राति रेलको लीकमा एउटा मानिस किच्चिएर मरेको भेटेररेलवे पुलिसले लगेछन्।’’ म तुरन्तै उडुवा खबरलाई पछ्याउन मेरा सहकर्मी तथा रमेशका बुबालाई लिएर त्यहाँ यात्रा गरें। यथा समयमा त्यहाँ आइपुग्यौं। मृतकको बारेमा रेलवे पुलिस मार्फत जान्न खोज्दा प्रभारीले हामीहरूलाई लाश देखाइ दिए। लाश देख्ने बित्तिकै मृतकका बुबा आर्तनाद गरेर भुँइमा लम्पसार परेर छाती पिटीपिटी रुन थाले। उनको मुटु कसैले चुँडेर लगे जस्तो भएको थियो होला। मैले सोचें मायाको बन्धनबाट विच्छिन्न हुन कति कष्टदायक र पीड़ादायी हुँदो रहेछ।  उनलाई त्यहीं छाडी घटनास्थल देखाउन एउटा रेल विभागको सिपाहीलाई लिएर हामी अघि बढ्यौं। हामी गाड़ीबाट ओर्लिएर अघिबढ्दौ छौं। रेलको लीकको छेउबाट। आलो मासु चुच्चो च्यापी अट्टहास गर्दै चीलहरू उडिरहेका छन्। घटनास्थल त्यही रहेछ। म सोच्न थालें एउटा मानिसको मृत्युले भगवानले सृष्टि गरेका प्राणीभित्र कसैले हाँस्नु कसैले रुनु। मान्छेको मूल्य आज मरुभूमिको क्षुद्रतम बालुवाकण भन्दा पनि हीन बनेको छ।

                रेलवे पुलिसका सिपाहीले देखाए बमोजिम मैले घटनास्थल परिदर्शन गरें। रेलको लीक, ढुङ्गा, काठहरू रगतपछे भएका रहेछन्। स-साना मासुका टुक्राहरू यताउति छरिरहेका रहेछन्। सायद अति ठूला मासुका टुक्रा मांसहारी चराहरूले उडाइसकेछन् होला। लीकमा टाँसिरहेको गुलाबी रङ्गको सर्टको टुक्रा आँखामा पर्यो। त्यो रगतमा मुछिएको मृतकको सर्टहुनुपर्छ भनेर जफत गरेर मेरा हिफाजतमा लिएँ। अब प्रश्न आयो उसलाई कसले हत्या गरेको? कि आत्महत्या बनाउन मारेर त्यहाँ राखेको? उसका शत्रु को होलान्? यिनै प्रश्नको घुमाउरे चिन्हमा फनफनी घुम्न थालें। हामी त्यहाँबाट थानातर्फ लाग्यौं। हाम्रो गाड़ीले धूवाँको मुस्लो छोडेर हावासँग गफिँदै अघि बढ्यो।               

मृतकका बुबाबाट कुनै अपरिचित दुष्कृतिकारीले उनका छोरा रमेश धरलाई हत्या गरेको भनेर एउटा उजुरीनामा (एजाहार) दर्ज गराए। रेलवे पुलिसले आत्मघाती मुद्दाको डायरी लगायत लाशको जाँच (पोस्टमर्टम) को प्रतिवेदन मलाई सुम्पिदिए। मैले ऐन बमोजिम त्यो मुद्दा हाम्रा थानाको हत्या मुद्दामा गाभेर तदन्त शुरू गरें। मैले अझसम्म न त स्रोत (सोर्स) बाट न त एजाहारकारीबाट केही सूचनापाएको छु। म अन्योलमा परें।

                मृतकका साथीहरूले मलाई दिनहुँ आएर तदन्तको अग्रगति अनि अहिलेसम्म हत्याराको केही अत्तो-पत्तो निकाल्न नसक्ता मलाई फोस्रो धाक देखाउँछन्। तर मृतकका बुबाले अहिलेसम्म केही खबर पनि लिएका छैनन्। म छक्क पर्छु खुकुरी भन्दा कर्द लाग्ने देखेर।

                मेरो एकजना गुप्तचर आएर जान्न दिन्छन् घटनाका अघिल्ला दिन मृतक अनि उनीहरूका साथीका माझमा झगड़ा भएको थियो रे। झगड़ाको इबी (अभिप्राय) एउटी स्कूले छात्रा। मृतकको साथी एउटाले एउटी छात्रालाई प्रेम निवेदन गरेछन् तर उनको हृदयमा उम्रेको प्रेमको बिरुवा सर्नु भन्दा पहिले नै मृतकले गर्दा ओइलाउनु पर्यो। मृतकले त्यो कुरा थाहा पाइ-पाइ साथीलाई पिरतीका कलिला पाउलासित लुकामारी गर्न नदिएर उसलाई चेतावनी दिएछ। तर उसले कहाँ चेतावनी मान्ने र भित्र-भित्रै औडाहा भइसकेको थियो। त्यसका भोलिपल्टदेखि रमेश धर नापत्ता भएछ।

                मेरो मृतकका साथीहरूमा सन्देहका पखेटा फिँजारिन थाले। मृतकका अभिभावक भन्दा साथीहरूले तदन्तको कुरा सोधेर मलाई थिल्थिलो पारिसके। हिले माछाले हिलै खाएर आफ्नो जीवन बचाए पनि हिलो माछाभित्र नभएझैं मृतकका साथीहरू साधुका भेषमा चोर त हैनन! म आफैँलाई प्रश्न गर्छु।

                एकदिन त्यहींको रैथाने एउटा चलाख अनि विश्वासी सिपाहीलाई राति एउटा एकान्त ठाउँमा तिनै ठिटा केटाहरूसँग खाना खान बन्दोवस्त गराएँ। म पनि त्यो खानामा योगदान गर्छु भनें। त्यस खानामा प्रशस्त विदेशी रक्सीको व्यवस्था पनि गर्न परामर्श दिएँ। चलाख सिपाहीले मेरो इशारा सजिलै बुझ्यो। मेरो परामर्श अनुसार मेरो उपस्थिति हुने अघिदेखि नै रक्सीको बोतल खोलियो। म धेरै अबेर गरेर ४ जना सहकर्मीलाई लिएर त्यहाँ पुगें। म बाहिरबाटै चाल मारेर भित्र भएका वाद-विवाद सुन्दै छु। उनीहरूको जिब्रो लट्पटी सकेको रहेछ। मेरा सिपाहीले रमेशको हत्याको बारेमा दोहोर्याई दोहोर्याई कोट्याइ रहेको छ। नशाले मात्तिएका एउटाले फलाक्न थाल्यो। ‘‘सा-ल्ला रमेश मैले जुन केटीलाई आँखा लाउँछु तँलाई चाहिने, जे भने पनि मान्नु पर्ने अबबार हाल त साल्ला रमेश। ’’ मलाई बुझ्न बाँकी रहेन मैले अँध्यारामा हानेको तीर सही जग्गामा लागेछ। म भित्र पसें। सबैलाई गाड़ीमा भराएर हामी थानातर्फ लाग्यौं। थानामा आएर तीनैजनालाई अलग अलग ठाउँमा राख्ने व्यवस्था गरें उनीहरूका माझमा केही सल्लाह नहोस् भनेर।

                बिहान ४ बजे। यतिबेरसम्ममा उनीहरूको नशा फाटिसकेको थियो। उनीहरूलाई छुट्टा छुट्टै गरेर सोधपुछ गर्न शुरू गरियो। भिन्ना भिन्नै गरेर सोधपुछ गरे तापनि सबैलाई एउटै कुरा मीठो स्वरमा भन्न थालें।   हेर तेरा साथीहरूले तँलाई रमेशलाई हत्या गरेको दोष दिन्छन्, के गर्छस् ज्ञानीहरूको पनि भूल हुन्छ। हुने हुनामी कसैगरी पनि टर्दैन। मानिस मरेपनि आत्मा कहिल्यै पनि मर्दैन। सत्य कुरा भनेर दोष स्वीकार गरिस् भने तेरो आत्मा पवित्र हुन्छ, आत्मा शुद्धि हुन्छ अनि मृतकको आत्माले पनि शान्ति पाउँछ। तँलाई पनि केही हानि हुँदैन।यसरी नै निरन्तर दबाव दिँदा एउटाको अन्तर्हृदय भित्रबाट खलबलाई रहेको पश्चातापको आगो प्रकाशमा आउन खोजे पनि अड्किएको म बाहिरबाटै देख्तै छु। यही प्रक्रियाले अविच्छिन्न प्राय १२ घण्टा पृथक-पृथक चलिरहेको पुछताछले अवशेषमा मेरो दबाबले एउटाको मनको बत्ती बल्यो अनि घुँडा टेक्नु नै पर्यो। उनीहरू सबैले अन्त्यमा दोष स्वीकार गरे। हत्याको उद्देश्य रहेछ प्रेम प्रसङ्ग। रूपवती युवतीहरूमाथि ब्वाँसा सरि गिद्धे दृष्टि लगाएर यौवनको सुवास छर्न बार हाल्नु। उनीहरूले यो पनि स्वीकार गर्छन् रमेशलाई सबैले मिलेर एउटा दुई-तीन हातको काठको बटमले टाउकामा हानेर हत्या गरेर पहिलेदेखि खनी राखेको खाडलमा हाल्न जाँदा जङ्गली हात्तीको बथानले कराएको सुनेर डरले त्यहाँ जान नसकेर रेलको लीकमा तेछ्र्याएछन्। मैले उनीहरूलाई रमेश धरको हत्याको अपराधमा गिरफ्तार गरें।

                उनीहरूले खाडल र बटमको टुक्रो देखाइ दिने हुँदा उनीहरू साथै मेरा सहकर्मीलाई लिएर उक्त स्थानमा यात्रा गरें। यथा समयमा त्यहाँ आएर उनीहरूले देखाई दिए बमोजिम बटम जफत गरें। बटममा सुकेको रगतको दाग स्पष्ट देखिन्थ्यो। छेउमा चिहान बनाएको विशाल खाडल। त्यसको समीपमा एउटा कोदालो। मलाई बुझ्न बाँकी रहेनत्यही कोदालाले खाडल खनेको भनेर। त्यो कोदालो पनि जफत गरें। हामी त्यहाँ आइपुग्ने साथ हामीलाई पछ्याउँदै धेरै मानिसको जमघट भइसकेको थियो। त्यहाँ भएका मानिसहरूले त्यो कोदालो गिरफ्तार गरेको अपराधी एउटाको हो भनेर चिनाउँछन्।

                हामी पुन: थानातर्फ लाग्यौं। थानामा आएर रेलको लीकमा भेटेको सर्टको टुक्रो र घटनास्थलमा भेटेको बटमको टुक्रामा लागेको रगत एउटै ग्रुपको हो होइन ठम्याउन फोरेन्सिक गवेषणागारमा पठाएँ। समयमा गवेषणागारबाट प्रतिवेदन आयो उभयमा लागेको रगतको ग्रुप एउटै भनेर।मृतकका साथीहरूलाई राता घरको अतिथि बनाउन भारतीय दण्डविधि ऐनको धारा 302/34 तहत अदालतमा चलान गरियो। उफ्रने गोरूका सीङै  भाँचिए।     

                                                             ____________________________________

Post a Comment