• theoxygentimes@gmail.com

Blog


  'मनोराग' कथाको प्रत्येक पाटाहरू खोज्दै ...........  

 

अनुपमा कट्टेल, डिमापुर, नागाल्यान्ड

 Email:Kattelanu11@gmail.com  

 

शोणितपुर जिल्लाका शिङरीमा जन्मिएर हाल गुवाहाटीमा बसोबास गर्ने कथाकार डा० देवेन सापकोटाको 'मनोराग' पहिलो कथा सङ्ग्रह हो।लकडाउनको समयमा विमोचन भएको  यस कथा सङ्ग्रहमा जम्मा २२वटा कथा समाविष्ट गरिएको छ। कथाकारका कथाहरू असीको दशकदेखि नै विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका  जानकारी पाइन्छ। कृतिका रूपमा यो उनको दोस्रो मौलिक कृति हो। यसअघि ' यता हुँदा उताको झझल्को' शीर्षक नियात्राको पुस्तक निकालेर उनी निकै परिचित तथा चर्चित भइसकेका छ्न्। यसर्थ यस कृतिमा उनले नयाँ लेखकको अपरिपक्कताको पहिलो खुडकिलो नाघिसकेको अनुमान लगाउन सकिन्छ।   

 गुरुप्रसाद मैनालीको 'नासो' शीर्षक सामाजिक यथार्थवादी कथाले आधुनिक नेपाली कथाको ढोका उघारी दिएको हो। त्यसपछि रूपनारायण सिंहका स्वच्छ्न्दतावादी कथाले नेपाली कथामा नयाँ आयाम थपे।  कथाकार सापकोटाका कथाहरूमा पनि सामाजिक यथार्थवादी र स्वच्छन्दतावादीताको टड्कालो स्वर छ र उनका प्राय: कथा नै यिनै दुई धाराको सेरोफेरोभित्र घुमेका छ्न्। कथाको विषयवस्तु हिजोकै भए पनि आजका कथाकारले उसका कथाहरूमा आजको परिवेश ल्याउँछ, उसले चालै नपाई आजका पात्रहरूको रहनसहन र भाषाशैलीको प्रतिनिधित्व गर्छन्। समाजको परिवर्तनका साथै सामाजिक मूल्य र मान्यतामा पनि नवीनता आउँछ, मानिसको ज्ञानको परिधि बढ्छ। यसर्थ सामाजिक यथार्थ बदलिन्छ। यसैले होला उनका कथाहरूले समकालको मानव जीवन र जगतको विभिन्न पक्षलाई चित्रण तथा अवलोकन गरेका हुन्, प्रतिनिधित्व गरेका हुन्। विभिन्न काल्पनिक चरित्रहरूलाई विभिन्न रूप, मार्मिक दृश्य, नैतिक समस्या, प्रेम, अनुभूति, समाजलाई अनुप्रेरित गर्ने विभिन्न विषयमाथि सन्तोषप्रद रूपमा मनोरागका कथाहरू प्रस्तुत गरिएको पाइन्छ।                      कथाकार सापकोटाको यस पुस्तकमा समेटिएका कथाहरू जस्तै, जीवन बाँचेकै छ, छातीमा ब्रह्मपुत्र बोकी हिँड्ने राना, पिँडी विसङ्गति, मोबाइल फोन अनि पुराना मोजा, गजराज अभियान, सत्यको जीत जस्ता अति रोचक र समाजलाई प्रेरित गर्ने कथाहरू पाइन्छन्। कथाकारको यस कथा पुस्तकको  'खोजीमा' कथाले पाठकको  मन निकै  रोमाञ्चित पार्छ। साहित्य सिर्जनाको सधैँ कुनै न कुनै उदेश्य हुनुपर्छ भन्ने कुराको यहाँ प्रतिपादन भएको छ। यस  कथामा एउटी विदेशी युवतीले भारतीय दर्शनलाई माया गरेको देखाइएको छ र यसले भारतीय दर्शनको महानतामा प्रकाश पार्न खोजिएको छ। यो कथा कथामात्र नभएर हामीलाई भारतीय दर्शन बारे अवगत गराउन सक्षम भएको अनुभव हुन्छ। साथै हामी सबैको भारतीय दर्शन, गीता, पुराण, विभिन्न शास्त्रहरूको ज्ञान हुनु पर्ने हो भन्ने उनको उदेश्य सकारात्मक हो। यस कथामा मानिस जुनसुकै धर्मको नहोस्, त्यसमा आध्यात्मिक चिन्तन हुनुपर्छ र यस चिन्तनले मानसिक उत्थान र जीवनमा सुधार ल्याउँछ भन्ने सकारात्मक सन्देश दिन चाहेका छन् कथाकारले। मनोरागको पहिलो कथा 'कफिनभित्र रणबहादुर' एउटा मार्मिक घटनामा आधारित कथा हो। यो कथा पढिसक्दा हामी सबैका आँखा रसाउनु स्वाभाविक कुरा को। वास्तविक घटनाको एउटा कथालाई एकदमै संवेदनशील बनाएर हामी अघि पस्किनुमा कथाकारले एक महत्वपूर्ण भूमिका निभाएका छन्।                                                                                                    'परदेशी आफन्त' कथाले आफ्नोपनको मिठो एहसास दिएको छ भने 'आस्थाको घडेरीमा'भुइँचालो' कथाले मुटु छोएको छ। पूजा गरिसकेर विर्सजनको नाममा बाटो-घाटो, नदीमा छोडी दिएका मूर्तिहरूको बारेमा यहाँ चिन्ता व्यक्त गरिएको छ। हुन त यस विषयलाई लिएर धेरैले कविता, कथा लेखेका छ्न् तर उनको कथाको प्रस्तुतिले  यसलाई रोचक बनाएको छ। आज विज्ञान धेरै विकशित भएको छ, तर धर्ममाचाहिँ हामी अहिले पनि धेरै पछाडी छौँ।                                                                                                   'औँसी पन्छाउँदै हेमन्त' कथामा विधवा विवाहको प्रचलन र विधवा चेलीबेटीहरूले भोगी ल्याएको दु:खद स्थिति प्रस्तुत गरेकाछन् कथाकारले। आधुनिक कालमा शिक्षित समाजमा विधवा पून:विवाहलाई स्वीकार गर्न थालेका छन् तर पनि कतै कतै धार्मिक कट्टरता, देखावटीको कमी छैन र हामीले विधवा पून: विवाहलाई सजिलोसँग भित्राउन सक्नुपर्छ भन्ने कथाकारको चाहना छ।   अर्को एउटा घतलाग्दो कथा हो 'नीलोस्याल'। यस  कथामा सापकोटाले आफ्नो भाषा बोल्न नसक्ने या आफ्ना छोरा छोरीलाई आफ्नो भाषा बोल्न नसिकाउने निम्न मानसिकताको उजागर गर्न खोजेका छन्। भाषाको समाजसँग प्रत्यक्ष साइनो हुन्छ, भाषा बाँचेमात्र जातिको परिचय रहन्छ।  हामीले आफ्नो भाषा जोगाउँदा पहिचान मात्र होइन हाम्रो विभिन्न कला, संस्कृति र अरू मूल्यवान पाटाहरू पनि जोगिन्छन्। हाम्रो भाषा हाम्रो अमूल्य सम्पत्ति हो र यसको रक्षा गर्नु हामी सबैको कर्त्तव्य हो भन्ने कुरा कथाकारले अति राम्रोसँग पाठकको अघि राखेका छन्। यहाँ सापकोटालाई मेरो एउटा अनुरोध, यो कथा विभिन्न ठाउँमा छरिएर बसेका बाल बालिका र युवाहरू समक्ष पुर्‍याउने प्रयत्न होस्।                                                                                                        'प्रतीक्षालयकी युवती' र ´अनुभूति' जस्ता कथाहरू स्वच्छ्न्दतावादी, प्रेमिल कथा हुन्। प्रेम मानव जीवनको अपरिहार्य तत्व हो, मानिसको अन्तरमनको मिठो चाहना हो, प्रेम शक्ति हो भन्ने कुरा कथाकारले गरेका छन्। मानवजातिको नींव प्रेम नै हो भन्ने कुरा पनि अत्यन्तै सकारात्मक छ।  'आफ्नै अकास' कथामा एउटी एक्ली नारीको जीवनका पाटाहरू र समस्याहरूलाई सूक्ष्मताका साथ नियालेको पाइन्छ। यस कथामा नारीहरूको आफ्नो अस्तित्व र नारी अबला या कमजोर होइनन् भन्ने कुरा चित्रण गरिएको छ।  'सत्यताको कठघरामा  मानवता' कथामा कथाकार मानवताप्रति धेरै प्रभावित छन्। अर्काको विपद-आपदमा दया देखाउनु सबैभन्दा ठुलो मानवता हो भन्ने सन्देश यस कथामा दिएका छन्। जो व्यक्तिमा मानवता हुदैँन त्यो आकृतिलाई मानव भन्न कहाँ सकिन्छ र ?                                                'रिजल्टको विडम्बना' एकदमै यथार्थवादी सामाजिक कथा हो। नानीहरूको रिजल्ट आजका आधुनिक आमा-बाबाको ठुलो विडम्बना भएको छ। रिजल्ट आएपछि आफ्ना छोरा-छोरीप्रति दायित्व कस्तो हुनुपर्ने हो भन्ने कुरा जान्नु पर्छ भन्ने कुरा यहाँ देखाएका  छ्न्।    'आत्मबोध' कथामा मानिसले आफैलाई चिन्नुपर्ने प्रसङ्ग ल्याइएको छ। आत्मबोधको शाब्दिक अर्थ हो आफैलाई चिन्नु। जसले आफूलाई चिन्दछ उसको संसार सुखमय हुन्छ भन्ने कुरा अर्थलाएका छन् कथाकारले यस कथामा।    कथाकार सापकोटाका सबै कथाहरू चाख लाग्दा छन्। विभिन्न संवादले सबैजसो कथालाई जीवन्त बनाउन हर सम्भव प्रचेष्टा गरेका छन्। कथाका पात्र-पात्राहरूलाई क्रियाशील, गतिशील र संवेदनशील बनाएर एउटा राम्रो सिर्जनाको कोसेली हामी माझ प्रस्तुत गर्न सक्षम भएको नै भन्न मन लाग्यो मलाई।  यस सँगालोभित्र समेटिएका कथाहरू प्राय: नै मझौलो आयामका छ्न् भने 'अनुभूति', 'खोजीमा' आदि कथा केही लामा छ्न्। ' पिँडी'( पिँढी?) विसङ्गति सँगालोभित्रको एउटा छोटो कथा र सिधादानको अनुभव एकदमै छोटो कथा हो। सङ्ग्रहभित्रका प्राय: कथा नै तृतीय पुरुष दृष्टिबिन्दुमा लेखिएका छ्न् र यहाँ वर्णनात्मक शैलीको अधिक प्रयोग छ भने वार्तालापीय शैली पनि केही पाइन्छ। प्राय: सबै नै कथा घटनाप्रधान छ्न्।                           कथाकारले उनका कथाहरूका लागि समाजका उच्च र मध्यमवर्गीय पात्रलाई अग्रस्थान दिएका छ्न्, शिक्षित पात्रको भरमार छ। सायद उनले आफ्नो वर्गलाई धेरै नजिकबाट देखेर लेखेका होलान। कथाको भाषा मानक छ। वर्णात्मक शैलीले गर्दा होला समख्याताको भाषा नै कथामा अधिक छ। प्रयोजनमा अरूभाषाका शब्दहरू पनि प्रयोग गरेका छन्। भाषामा मिठास छ, सरलता पनि छ। तर कथाकार सायद असावधानता वशत: (हामी सबैकै हुन्छ) हिज्जेमा कतै सतर्क देखिएनन्। केही कथाका( अनौँठो=अनौठो, पिँडी=पिँढी)शीर्षकमै हिज्जेको गल्ती छ भने एउटै हिज्जे दुईप्रकारले लेखेको, पदयोगमा गुरुत्व नदेको जस्ता ससाना गल्तीहरू  हामीसबैले ध्यान दिनु पर्छ।                           सालाखालामा 'मनोराग' राम्रो छ, पठनीय छ, कौतूहलले गर्दा पाठकलाई कथा सक्न कर लाग्छ। उनको दीर्घायु र सुस्वास्थको कामना गर्दै, आउने दिनहरूमा अझ रोचक र प्रभावकारी रचना कथा पढ्न पाउने आशामा कथाकार सापकोटालाई अग्रिम बधाइ र शुभकामना दिन चाहन्छु।

                                                                ________________________

Post a Comment