• theoxygentimes@gmail.com

Blog


प्रयात जनार्दन उपाध्याय को "पुलिसको डायरी" बाट: बुबा! पुलिसलाई पनि लाज लाग्छ ?

                डिसेम्बर महिनाको भीषण ठण्डाको चपेटले हिउँ परिरहेको छ। त्यसैले जनजीवन प्रक्रियामा सामान्य भए पनि अड्चन आएको छ। दिनमा पनि ‘हेडलाइट’ जलाउनु पर्ने अवस्था थियो। एकापट्टि ठण्डाको लहर अर्कापट्टि वर्ष विदाइको तयारी।समय बिहानको आठ बजे। दिन धुम्मे छ। कुहिरो ज्यादै परिरहेको छ। ५ हात टाढा पनि देख्न मुश्किल छ। सिपाही, अफिसर आफ्नो कर्तव्यको लागि थानामा आउने समय हुनथाल्यो। यसैबीच थानामा एकजना युवक आएर एउटा उजुरीनामा (एजाहार) दिए। जसमा उल्लेख गरेको थियो- गए राति करीब बाह्रï बजे कसैले सिराज आलि नाम गरेको मानिसलाई हत्या गरेर छेउकै खेतमा फ्याँकि दिएको रहेछ।  यो घटनाको वृत्तान्त वर्णन जेनेरल डायरीमा दर्ता गरी मेरा अङ्गरक्षकलाई लिएर घटनास्थलमा यात्रा गरें। घटनास्थल थानाबाट करीब ९० किलोमिटर टाढा छ। यथा समयमा घटनास्थलमा हाजिर भयौं। हातहरू ठिहीले चिसा भइसकेछन्। मुखका वाफले हातलाई तताउन प्रयास गर्छु। गाड़ीबाट उत्रेर हामी घटनास्थलमा जान अग्रसर भयौं। बाटाका दुवैतिर ठाउँ-ठाउँमा बाँसघारी भएको हुनाले बाँसघारी हुँदै बीचबाटोमा हिँड्दा सेप परेर बाटो साँझले निले जस्तो देखिने गर्छ। फेरि बाँसघारी पार गरेर अघाडि पुग्दा अहिले उज्यालालाई अँध्याराले निलेको छैन झैं लाग्छ। घटनास्थलमा सैकडौं मानिसको भीड भइसकेको रहेछ।  लाश खेतमा लडिरहेको रहेछ। लाशमा अन्वेषण (इनकुएष्ट) गर्दा थाहा लाग्यो मृतकको अङ्ग भिन्न भएर लडिरहेको रहेछ। पृथक अङ्ग पनि गुम भइसकेको रहेछ। मैले अनुमान गरें यो मामला अवैध प्रेम प्रसङ्गको हुनुपर्छ। त्यहाँ उपस्थित रहेका व्यक्तिहरूको बयान लिपिबद्ध गरें। मृतकको प्राकृतिक मृत्युको कारण जान्न लाश अस्पतालमा पेश गरियो। प्रश्नको घुमाउरे चिन्हमा एउटा सोचाई टाँगिन्छ। पृथक अङ्ग किन गुम भएको? हत्याकारी को हो? घटनास्थलको समीपमा गरीब किसान, श्रमिकहरू बसोबास गर्छन्। त्यहाँ प्राय जसो कसैकी पत्नी कसैले लानु, दुई-चार दिन पछि फेरि फर्काएर ल्याउनु, फेरि नयाँ दम्पती बनेर वंशवृद्धि गराउनु कुनै ठूलो कुरो थिएन। यस्ता गाउँमा पनिअङ्ग काटेर हत्या गराउनु मलाई अचम्म लाग्यो। जहाँ हर चीज हलुकै पाइन्छ त्यहाँ चोरी किन?  हत्याकारी को हो? स्थानीय मानिसले प्रकाश्य कसैलाई पनि सन्देह गर्दैनन्। लाश भएको खेतको चारैपट्टि हराएको अङ्ग तथा काट्ने हतियारको अनुसन्धान गरें, भेट्न सफल हुन सकिनँ। घटनास्थलमा मुख्य स्रोत (सोर्स) नियुक्ति दिई थानातर्फ फक्र्यौं। म सोचमा परें। कहाँबाट तदन्त आरम्भ गर्नु। मैले बालुवामाथि फूल फुलाउनु छ, वर्तमान बाँझो नै छ। मलाई त्यहाँ फूल फुलाउनको निम्ति यो बालुवाको सट्टा त्यहाँ माटो प्राप्त गर्नु पर्छ। आजका समाजमा धेरै मानिसहरूको प्रवृत्ति भइसकेको देखिन्छ पुलिसलाई सहयोग गर्नु नै झमेला मोड्नु। पुलिसलाई अपराधीको सङ्केत दिएको कुरा अपराधीले थाहा पाएमा शत्रुता हुने डर। पुलिसप्रति स्नेह, प्रेम, सहानुभूतिको भाव घुर्मैलो भइसकेको देखिन्छ। ऐनको दृष्टिमा सबैले सरकारी काममा सहयोग गर्ने बाध्यता हुनुपर्छ नत्र भा. का. वि. ऐनको दफा १८७ मा दोष गरेको ठहरिन्छ।  त्यसै दिन करीब ६ बजे बेलुकी त्यहाँको काम सकेर थाना आइपुगें। त्यही गाउँको एकजना मानिस आएर मेरो अनुमति लिएर मेरा कोठामा प्रवेश गरे। उनको आगमनले मलाई खुसी पार्यो कारण उनी मेरा मुख्य श्रोत (सोर्स)थिए। उनले हत्याराको बारेमा केही खबर ल्याएका होलान्। मैले प्रश्न गरें केही सूचना छ? उनी भन्न थाले- ‘सर, मृतक सिराजको घरको छेउमै हजरत अलिको घर छ। हजरत अलि उनकी पत्नी जाहिरा बेगमलाई घरमै छाडी गुवाहाटीमा ट्रकको ड्राइभर गर्छन्। जाहिराको उमेर ३०-३२ वर्ष। विवाह गरेको एकवर्ष पनि भएको छैन। सिराज पनि विवाहित भए तापनि पत्नीले उनलाई छाडेर गाउँकै एकजना मानिससँग पोइला गइन् तर सिराजले फेरि विवाह गरेनन्। यसैले उनी हजरत आलिकी पत्नीलाई अदृश्य बन्धनभित्र बाँधिएको देखिन्छ। ऊ आफू  तोरीको फूल माथि-माथि उड्ने सिँदूरे पुतली हुन खोज्छन्। जाहिराको सौन्दर्य उनका लागि काँचो मासु देख्ता कुकुरका आँखा बले जस्तै उसका आँखा पनि बल्छन्। सिराज, हजरतका काकाको छोरा हुन। यसैले सिराजलाई कसैले पनि सन्देह गर्ने स्थल थिएन। तर जाहिराले सिराजको कु-अभिप्राय जानेर पनि उनमा आकर्षण थिएन। जाहिराका पतिले सबै कुराहरू लक्ष्य गरेका थिए तर जाहिराप्रति अटल विश्वास हुनाले केही प्रश्न पनि गरेरउनको मन दुखाउन खोजेका थिएनन्।   हजरतले उनले चलाएको ट्रक बिग्रिएर ग्यारजमा राखेर मालिकसँग पाँचदिनको छुट्टी लिएर घरमा आएका थिए। जाहिराले हजरतलाई सिराजको कु-अभिप्रायको कुरा खोल्न खोजिन् तर सङ्कोच भयो कारण सिराज हजरतका काकाको छोरा हुन्। यस्ता कुरा हजरतले विश्वास गर्दैनन् बरु जाहिरामाथि नै सन्देह गर्छन्। मनमा उकुसमुकुस भएको आग्रह धेरै तिखारिँदै छरपट्ट हुन थाले र अन्तिममा उनले सबै कुरा बिस्तार गरिन्। हजरतले आफ्नी पत्नीलाई भने- मलाई सन्देह थियो तर मैले तिम्रो मुखबाट सुन्न खोजेको थिएँ।      मेरा मन समुद्रमा सिराजको नाम अङ्कित भयो। हजरत घटनाका दिनदेखि घरमा नरहेको कुरा मुख्य स्रोतले सङ्केत दिन्छन्। मैले मेरा मुहानलाई खुसी पारि बिदा दिएँ।    हजरतका ट्रकका मालिकको सही ठेगाना सङ्ग्रहको साथै फोन नम्बर पनि फेला पारें। मालिकसँग सम्पर्क गर्दा हजरत पाँच दिन छुट्टी लिएर घर आएको कुरा जान्न पाएँ। घटनाको दिन उनको बिदाको दोस्रो  दिन रहेछ। हजरत ट्रक ड्राइभर भारतको कुनै कुनामा गएर आफ्नो रोजी रोटीको बन्दोबस्त गर्न सक्छ। उनकी पत्नीसँगको आपसी सम्पर्क सुमधुर हुनाले हजरत कुनै समयमा आएर सुटुक्क भगाएर लाने सम्भावना हुँदा एकजना महिला र एकजना पुरुष सिपाहीलाई साधारण पोसाकमा हजरतका घरका आसपासमा राखेर उनको गतिविधिमाथि दृष्टि राख्न बन्दोबस्त गरें। साथ-साथ हजरतका कुटुम्बहरूका घरमा पनि गुप्त खबर लिएर उसको वर्तमान लुकेको स्थान प्राप्त गर्न गुप्तचर पनि नियुक्ति गरें।   हत्या सङ्गठित भएको दुई दिन भयो सन्देही हत्यारालाई फेला पार्न सकेको छुइनँ। कतैबाट केही सूचना पनि पाएको छुइनँ। लगातार यही कुराले मलाई सताइरहेको छ। एउटै कुरा दोहार्याइ सोच्नु पर्दा आफूसँग रिस उठ्न जान्छ। मान्छे सबैभन्दा असहाय तब हुन्छ जब आफैँसँग उसलाई रिस उठ्छ। तर कोसँग रिस गर्ने प्रतिद्वन्द्वी पनि छैनन्। म एकनास सोचेर हैरान हुन्छु।  घटनाको पन्द्र दिन पछि गुप्तचरको सूचना अनुसार बिहान चार बजे मेरा चार कर्मचारी मोटरसाइकलमा लिएर उसले औंलाएको चिया पसलमा यात्रा गर्यौं। हामी सबै पुलिस पोसाकमा नभएर साधारण पोसाकमा थियौं। यथास्थानमा पुगेर आफूले लगेको मोटरसाइकल छेउमै लुकाएर चिया पिउनेनिहुँले त्यहाँ प्रवेश गर्यौं। सूचनाअनुसार एकैछिन पछि हजरत मस्जिदबाट प्रार्थना गरेर फर्केर पसलमा पस्ने साथै उसलाई मैले घाँटीमा च्याप्प समातें र हाम्रा वाहनमा उठाइ थानातर्फ यात्रा गर्यौं। थानामा आएर हजरतलाई सोधपुछ गरियो तर उसले सही सलामत केही भनेन। सन्देही अपराधी हिसाबले उसलाई गिरफ्तार गरेर जेल हाजातमा पेश गरियो। अनि फेरि उसलाई तीन दिनकोलागि पुलिस हिरासतमा ल्याइयो। उसलाई लगातार पुछताछ गर्दा पनि उ बाट केही सङ्केत प्राप्त गर्न सकिएन। तदन्तको बाटोमा काँढा तेर्छिए। आशाको दीप निभ्न आँट्यो। उसलाई चुट्न पनि मानव अधिकार आयोगको डर। म नि:सन्देह छु हत्यारा सिराजै हो। तर सबुत सङ्ग्रह गर्न सकेको छुइनँ। मेरो सोचाइको गतिशीलता सिङ्गो मस्तिष्कको भार बोकेर बिस्तारो बिस्तारो एउटा कालो इनरभित्र अग्रसर हुन्छ। म अदृश्य बन्धनभित्र बाँधिएको छु। सिराज डराएको छ, उसको हृदयको स्पन्दनको गति साथै पिसाब-पाइखानाको गतिवेग बढ्दै गएको छ। मेरा हातमा हजरतलाई ‘थर्ड डिग्री’ लाउनु  सिवाय अर्को उपाय थिएन। यसैले मानव अधिकारबाट आउने जोखिमलाई याद नगरि हजरतमाथि ‘थर्ड डिग्री’ शुरू गर्ने साथै आफ्नो दोष कबुल गर्यो। हजरतको बयानअनुसार- सिराज उसको काकाको छोरो हो। अरू कुराहरू मलाई सोर्सले सूचना दिएअनुसार एकै कुरा भन्न थाल्यो। हजरत र उनकी पत्नी जाहिराको सहनशीलताको डोरी चुँडिएर टुक्रा-टुक्रा भइसकेको रहेछ। दुवैले बिचारेर हजरत नभएको रातमा सिराजलाई घरमा निम्त्याउने सल्लाह गरे। सल्लाह बमोजिम एकदिन हजरत घरबाट नौकरीमा जाने भान पारेर बसस्टेण्डमा आएर गुवाहाटी जाने गाड़ीमा चढ्यो। सिराज पनि त्यहीं थियो। हजरत अलिकति अघि गएर गाड़ीबाट सुटुक्क उत्रिएर एउटा पसलमा पसी छुरी किनी कसैले थाहा नपाइ पछिल्तिरबाट घरमा पसेर लुकेर बसेछन्। त्यसै रात उनकी पत्नीले सिराजलाई राति आउन इङ्गित दिइन्। सिराजलाई सीमाहीन लोभ, लालचा, सुखभोगको नसाले सताइरहेको थियो। उसलाई केवल समयको प्रतीक्षा थियो। मानिसको पतन अनि ध्वंसको मूल कारण हो कुभावना। यसैले सिराजले अघि-पछि केही नसोची हजरतकी पत्नीको निमन्त्रण स्वीकार गरेछ। उसको अन्तर्मनको आवेग र अनुभूतिका डामहरू सम्याउन राति जाहिरासँग भेट गर्न गयो। हजरत बिछ्यौना तल थियो।अनि सबै कुरा निरीक्षण गर्दै थियो। कामक्षुधाको अन्तिम चरमसीमा पुग्दा पत्नी जाहिराले सकेसम्मको बल प्रयोग गरेर थिचि रहिछिन्। उसको अभिरूचिको मिठास उडेर खरानी भयो। हजरत बिछ्यौना तलबाट निस्किएर भीमले बकासुरलाई पछारेझैं पछार्यो। जाहिराले सिराजको गुप्ताङ्ग शरीरबाट अलग गरिदिइन्। यी कुराले मलाई मस्तिष्कभित्र एउटा सहीनसक्नु अनुभव भयो।  हजरतले फालेको गुप्ताङ्ग र हतियार देखाई दिने कबुल गर्दा म मेरा सहकर्मीलाई लिएर हजरतसाथ त्यो स्थानमा यात्रा गर्यौं। यथा समयमा त्यहाँ आई छुरी र गुप्ताङ्ग उद्धार गरियो। गुप्ताङ्ग टाढाबाट नै दुर्गन्धले बस्नु न उठ्नु पारेको थियो। घाम तालुमाथि आइपुगेका छन्। मैले असाध्य दुर्गन्ध सह्य गर्न नसकेर रुमालको सहारा लिएको थिएँ। छेउकै मानिसलाई साक्षी बनाई दुवै चीज जफत गरें। किनकि ऐनको दृष्टिमा पुलिसले अदालतमा पठाएका डायरीहरू सबुतको तौरमा महत्व नभए तापनि ढ्ढहृष्ठढ्ढ्रहृ श्वङ्कढ्ढष्ठश्वहृष्टश्व ्रष्टञ्ज हृष्ठश्वक्र स्श्वष्टञ्जढ्ढह्रहृ २७ मा औंल्याइएको छ- अपराधीले पुलिसलाई मार्गदर्शन गरी अपराध गर्न व्यवहार गरेको सामान तथा मालाताल उद्धार गरेमा त्यसको सत्यता सिद्ध हुन्छ।    म मेरा सहकर्मीलाई लिएर हजरतकी पत्नी जाहिरालाई गिरफ्तार गर्न हजरतको घरमा भनेर यात्रा गरें। यथा समयमा हजरतको घरमा आएर जाहिरालाई घरैमा भेटी गिरफ्तार गरी थाना ल्यायौं। साथमा त्यहाँ काम गरिरहेका महिला र पुरुषकर्मीहरूलाई साथैमा ल्यायौं। उद्धार गरेको छुरी ‘फेरनसिक’ गवेषणागारमा त्यो छुरीमा लागिरहेको रगत मानिसको हो कि जनावरको हो जान्न पठाइयो। यथा समयमा जाँचको प्रतिवेदन पाइ जान्न पाइयो, त्यो रगत मानिसको नै हो भनेर।   दुवै पति-पत्नीलाई भारतीय दण्डविधि ऐनको ४४८/३०२/३४ मा दोष गरेको प्रमाण पाई बिचारको लागि अदालतमा पेश गर्ने समयमा पुलिस अधीक्षक आइ उनीहरूलाई पुछताछ गर्न थाले। अधीक्षक अघि पति-पत्नीले भनेका कुरा सुन्न असाध्य लाज लाग्यो र म त्यो कोठाबाट बाहिर निस्किएँ। मेरा कोठाका संलग्न बरन्डामा मेरा प्रिय एक वकिल साहाब साथमा उनको १०/१२ वर्षको पुत्रसहित मेरो प्रतीक्षामा बसिरहेका रहेछन्। अचानक मैले मेरा आँखा राता पार्दै आफ्नो मुख छोप्तै दगुरेझैं बाहिर निस्किएको देखेर वकिल साहाबका पुत्रले मलाई लजाएको थाहा पाएर बुबालाई सोध्छन- ‘बुबा! पुलिसलाई पनि लाज लाग्छ??’

__________________

Post a Comment