• theoxygentimes@gmail.com

Blog


   रेवतीरमण सापकोटा,  

ओदालगढी, असम

 म तामा हुॅ । म बाॅसको सन्तान हुॅ। बाॅस भनेर रोपेको तीन-चार वर्ष पछि म बाबू-आमाकै छेउछाऊमा टुसाएर भुमिष्ठ हुन्छु। भुमिष्ठ भएको दुई हप्ता पछि नै मेरो न्वारन भएर तामा नामले चिनिन्छु। म सेतो, कमलो हुन्छु र बाबू-आमा को छेउमा हुॅदा प्राकृतिक वस्त्रले नै बेह्रिएर आरामकासाथ बसेको हुन्छु। मान्छेको दृष्टिबाट ओझल हुन पाऍ भने म तीन महिना भित्रै अग्लिएर किशोर बाॅस भइदिन्छु्। मान्छेमा भए जस्तै मेरा बाबू-आमाका पनि शताधिक गोत्र प्रजाति छन्। भारतको उत्तर-पूर्वी राज्यहरूमा मेरा प्रजातिका केही बाॅस हुन्- जाति, भलुका, बिजुली र पहाडी। अरु प्रजाति पनि छन् तर ती चार प्रजाति चाहिॅ यहाॅ धेरै छन्। मेरो प्रिय उत्पति थलो भने एशिया महादेश नै हो। म तामाको रूपमा अतुलनीय पोषक तत्वले भरिएको हुन्छु। म यसैपनि एशियाली खान-पानमा लोकप्रिय नै छु। म भित्र एउटा आवश्यकीय फाइटोकेमिकल्स एन्टीऑक्सिडेंट हुन्छ र त्यो प्रवल रोग प्रतिरोधी शक्तिवर्द्धक हुन्छ। यसले मानव शरीरमा प्रवेश गर्न खोज्ने अपकारी र प्राणघाती अणुजीवलाई तर्साउने काम गर्छ। म फाइवरयुक्त (रेशायुक्त) तर चर्बीमुक्त हुनाले अहिले चिनीरोगका रोगीहरूले रुचाउन लागेका छन्। म भित्र प्रचुर मात्रामा शरीरलाई चाहिने पोटाशियम पाइन्छ र यसले स्वस्थ मुटु र रक्तचाप सन्तुलित गराउनका लागि रामबाणको काम गर्दछ। म भित्र केलोरीको परिमाण प्रति १०० ग्राममा २७ हुन्छ भन्छन् वनस्पतिविदहरू। म भित्र आवश्यकीय विटामिन 'ए', 'बी६' 'सी'र 'ई', प्रोटिन अनि खनिज पदार्थ जस्तै कैल्शियम, पोटेशियम, नाइसिन, आइरन, फोलेट, कपर र जिङ्क, सेलेनियम, मैग्नेशियम, मैङ्गानिज, फास्फोरस, थियामाइन फाइटोकेमिकल्स र फेनोलिक एसिड पाइन्छन्। फेनोलिक एसिडमा कर्कट प्रतिरोधी, बैक्टेरिया प्रतिरोधी र ज्वलन प्रतिरोधी पोषक तत्व हुन्छन्। तर गाउॅ-घरमा बूढापाकाहरूले जरो आएको वा पखाला चलेको बेला मलाई नखाने सल्लाह पनि दिएका छन्। म भित्र पाइने कर्कट प्रतिरोधी पोषक तत्वले भूॅडीको, मुटुको, महिलाहरूको स्तन र गर्भाशय आदिको कर्कट रोगलाई धेरै हदसम्म नियन्त्रण गर्छन् भने म भित्र पाइने उच्चकोटिको पोटेशियमले उच्चरक्तचापलाई सन्तुलित पार्छ भन्ने कुराको पुष्टि विवेक शर्मा र निर्मला चोंगथामको शोधबाट विज्ञानीहरूले थाहा पाएका छन्। मलाई खाद्यरूपले प्रयोग गरे महिलाहरूको अनियमित ॠतुस्राव नियमित हुनुमा फाइदा छ भने सुत्केरीको प्रसवपीडा पनि धेरैमात्रामा घट्ने तथ्य पनि मेरो गुणको खोजी गर्नेहरूले दिएका छन्। नेपालीभाषीमा म काँक्राको 'खल्पि' जस्तै 'मेसु'को रूपमा लोकप्रिय छु। मलाई अमिल्याएर चेलीबेटीहरूले सुस्वादु मेसु बनाउॅछन्। जापानमा मलाई कान्जि वा काना भनिन्छ भने मलयसिया र इण्डोनेसियामा मलाई 'सयुर लोदे' भन्छन् र त्यहाॅ नरिवलको तेलमा मसला हालेर मेरो स्वादिष्ट व्यञ्जन बनाइन्छ। मलाई खाद्यको रूपमा काॅचै नपकाएर पन्द्र मिनेटसम्म उसिनेर आफ्नो रुचि अनुसारको तरकारी वा अचार पनि बनाउन सक्नुहुन्छ। म भित्र पाचक तत्व भएकाले मेरो सेवनले उदर विकार पनि हुॅदैन भनेकाछन् विज्ञानीहरूले। यति कुरा जाने पछि त तपाईंले मलाई अवश्य पनि स्वीकार्नु हुन्छ भन्ने विश्वास छ।

                                                                                                                      ____________________

Post a Comment