Blog

देश प्रेम

Blog Image

                           ड. देवेन सापकोटा

प्राध्यापक एवम् प्रमूख, पोउल्ट्री विज्ञान विभाग;                                                        भेटेनरी कलेज; असम कृषि विश्व विद्यालय; खानापारा; गुवाहाटी; असम l

 

श्रीनगरबाट नयाँदिल्ली अनि गुवाहाटी।कफिनलाई सैनिक मर्यादाका साथ विमानमा चढाई  गुवाहाटी विमान अड्डासम्म लगी सैनिकी गाडी द्वारा सोझै लखीमपुर पुर्याइयो। गाउँ छोड्दा घामै टिप्न खोज्ने जोशिलो  रणबहादुर अहिले निर्जीव भई कफिनभित्र फर्कँदै छन् । देशभरिका मिडियाले उनको दुस्साहसी कार्यबारे कम्ती प्रशंसा त नगरेको होइन! आफूँ गोली खाएर लङ्गडो भएपनि, बन्दुक उचाल्ने शक्ति नभएपनि, घिस्रिएरै गएर आतङ्कवादीलाई हमला गरी खुकुरीले दुईटाको टाउको काटेर आफू शहीद भएका अरे। ... गोर्खा वीरले देशद्रोहीको सातो टिप्यो अरे। देशलाई यस्ता वीरको खाँचो छ अरे, आदि आदि। 

रणेलाई अन्तिम बिदा गर्न गाउँनै उर्लेर आएको थियो। कोहिले हातका मोबाइलमा औँला नचाउँदै  थिए कोहिले घित्रो तन्क्याउँदै बाटातिर हेरी कुरिरहेका थिए। परिवेश शान्त थियो। उनीहरू बीच कुराकानी चलेपनि मौरीले गुन् गुनाए जसरी, सुस्तरी। बेला जतिजति फर्कँदै  थियो उतिउति उनीहरू व्याकुल हुँदै गएका थिए । आखिर रणे त्यो सारा गाउँको एक प्रकाशमान बत्ती नै थियो। 

बल्लबल्ल बेलुका एउटा सैनिक गाडी रणेको बलेँसीमा आई रोकियो। केही सैनिकहरू जर्याक जुरुक बाहिर निस्के । अघिपछि र बीचमा दुई दुईजना गरी जवान लागेर एउटा कफिन सम्मान साथ ओरालेर सलाम ठोके, सैनिकी तरिकाले। कफिन रास्ट्रिय झण्डाले सजाइएको थियो। चारैपट्टी निस्तब्धता विराजमान थियो। ओर्लँदै गरेको साँझ र बढ्दै गरेको झ्याउँकिरीको आवाजले परिवेशलाई अझ गम्भीर बनाउँदै गएको थियो। एक सैनिक अधिकारी अघि बढी रणेकी पत्नीलाई भेट्ने आग्रह गरे । यो सन्देश सुनाउन पल्ला घरकी ठुलीकान्छी घरभित्र पसिन। रेणुका सातो गएकी जस्ती, निश्चलघोप्टो परेर रोइरहेकी थिइन्। रणेको 'समाचार' पाए देखिन उनी वाकरुद्ध भई रोइरहेकी थिइन्। 

एक्कासी घरबाहिर भएको एउटी बुढी महिलाको क्रन्दनले चारै पट्टीको सुनसानलाई मानौ चिरेर लग्यो। मेरो त कोखै रित्तियो। ए रणे, कहाँ गइस्? मेरो छेउमा अरु एक पल्ट आइज न। माया गरिरहने छु...। रणेकी आमा कहिले घुँकघुँक् गरीकहिले डाको छाडी त कहिले छाती पिटी पिटी कफिनका छेउमा रोई रहेकी थिइन्। आवेशमा उनी मानौ उन्माद भएकी छिन्।चुल्ठो खोलिएर अनुहार प्रायः छोपिएको छ। कालो बादलले पूर्णिमाको जुनलाई ढाक्न खोजे जस्तै। वस्त्रहरू विश्रृङ्खल छन्। सारीको सप्को भुइँमा लत्रिरहेको छ। रणेको बाबु गर्जमान गहभरी आँशु पारी नरमायालाई सम्हाल्न कोशिश गर्दै थिए - 'नरोउ नरमाया। म उसको बाबु त्यही पल्टनमा काम गरेर सेवानिवृत भएँ।  एउटा आतंकवादी पनि मार्ने सौभाग्य भएन। आज उसले मारेर मेरो त मनोकामना नै पूर्ण गरिदियो । म उसकालागि गौरवान्वित छु। हामीले एक्लो सन्तान गुमाएका होइनौ, बरु देशका लागि समर्पण गरेका हौँ। उसले देशका लागि यो ठुलो त्याग गर्यो, शहीद भयो।

ठूलीकान्छीले रेणुकालाई प्राय: बोकेरै जसो बाहिर ल्याइन् कफिनका छेउमा राखिन। एउटी महिला आएर उनको सिन्दूर पुछी दिइन्, सौभाग्य फुकाली दिइन् र चुरा फुटाई दिइन्। उनी निर्जीव जस्ती, एकोहोरो टोलाएर हेरेको हेरै भइन्। एकक्षणमै उनी पुर्लुक्क लडिन् घोप्टिएर मुर्छा परिन्। चारैपट्टी हाहाकार मच्चियो। कसैले उनका मुखमा पानी छर्कीदिए, कसैले पंखा हल्लाए त कसैले घच्घच्याए।  तर उनी मुर्दा सरी भइन्। हल न चल। धेरैबेर प्रयास गरेपछि केही होश आएजस्तो देखियो। ठूलीकान्छीको साहाराले उनी जसोतसो उठिन्। त्यतिबेला फौजी अधिकारीले उनका हातमा एक लिफाफा थमाइ दिँदै रणेका गोजीमा फेला पारेको भनी जनाए। सबैले ढाडस दिएपछि उनी अझ तंग्रिईन्। रुक्मिणीले लिफाफा खोलिन्। भित्र उनकै तस्विर रहेछ। पछिल्तिर लेखिएको रहेछ- 'रेणुका, म तिमीलाई औँधी माया गर्छु। रेणुकालाई भक्कानो फूटेर आयो। तर आफैलाई सम्हालिन्। द्रृढ भइन्। कफिनको छेउमा गई टुक्रुक्क बसिन्। मनमनै प्रतिज्ञा गरिन्- 'मेरो कोखको नानीलाई पनि तिमीजस्तै सैनिक बनाएरै छाड्छु, देशमातृको सेवा गर्न'

त्यतिखेर उनको कोखको भ्रूणले लात्ती हान्यो। उनी अझ द्रृढ भइन् आफ्नो लक्ष्य हासिल गर्न। 

 

--XX—

 

 

 

 

 

 


Share this post
Comments

Please login or register to comment.

No comments yet.

Facebook Comments