• theoxygentimes@gmail.com

Blog


मातृभाषाको सुस्केरो

 

ड. देवेन सापकोटा

प्राध्यापक. असम कृषि बि. बि.

खानापारा,गुवाहाटी, भारत  

चलभाष: 91-9435309235

 

विज्ञानले पुस्तक पढ्नुमा फाइदाकोबारे निकै खोजी गरेको छ ।छोटकरीमा यिनीहरू यस्ता प्रकारका हुन्..

  • स्मृति र कल्पना शक्ति बढाउँछ।
  • कुनैपनि विषयवस्तु माथि बोल्ने र भाव प्रकाश गर्ने क्षमता बढाउँछ।
  • एकाग्रता र ‘फोकस्’ बढ्छ।
  • शब्दभण्डार बढ्छ, अरूप्रति समानुभूतिशीलता पनि बढाउँछ।
  • सकारात्मक सोचमा पनि राम्रो असर पार्छ।
  • पाठकको स्वास्थ्यमा सुधार आउँछ, जीवनकाल बढ्छ।
  • मनबाट निराशापन हट्छ।
  • विश्लेषणात्मक सोच्ने (analytical thinking) तरिका दरिलो हुन्छ।

मानिसका साठी प्रतिशत रोग नै तनावले गर्दा हुन्छन, हृदरोग, रक्तचाप आदि । हाम्रो परिवर्तित जीवनशैलीले गर्दा यसको प्रभाव दिनप्रतिदिन बढेको छ। यसलाई हटाउन सकिँदैन तर थोरै पार्ने मार्ग भने छन। इङ्ल्यान्डको ससेक्स (Sussex) विश्वविद्यालयमा गरिएको सोध कार्यमा के पाइएको छ भने किताब पढेर ६८ प्रतिशत तनाव घटाउन सकिन्छ।

  • उमेरका साथसाथ हाम्रा मस्तिष्कको  स्मरण शक्तिमा गिरावट आउन थाल्छ। जस्तै, मानिसको नाउँ, घरको या  बाटाको नम्बर सम्झने कुरो।अमेरिकाको रस (Rush) विश्वविद्यालयको म्याडिकल सेन्टर, सिकागोले यसबारेमा रोचक कुरा शोध गरी निकालेको छ। पुस्तक पढ्ने मानिसको यो गिरावट हुने प्रक्रिया ढिलो हुन्छ। पुस्तकः पढ्दा मस्तिष्क भित्र रहेका स्नायु कोष बीचमा सम्पर्क घनिष्ठ हुन जान्छ। फलस्वरूप स्नायबिक विमारहरू (degenerative neurone) घट्दै जान्छन्। बुढेसकालमा मानिसबीच आइलाग्ने 'अल्झमियर' जस्ता स्नायबिक रोगहरू पनि घट्दै जान्छन्।

के नेपाली भाषा सङ्कटमा छ?

 

आगामी ५० वर्षभित्रमा भारतमा कमसेकम चारसय भाषाको बिलुप्ति हुँदैछ। हाम्रो देशले गत पाँच दशकमा २५० वटा भाषा गुमाइसकेको छ (G N Devy - Chairman, People's Linguistic Survey of India)। विगत केही दशकदेखि यता हामीले मातृभाषामा अध्ययन गर्ने, चर्चा गर्ने, बोलिचाली गर्ने बानी छोड्दै आएका छौँ। नेपाली भाषाका पुस्तक, पत्रपत्रिकाका पाठकको सङ्ख्या क्रमश: घट्दै आएको छ (मातृभाषाको सङ्कट -  पानस,  वर्ष २०१९, अङ्क १२, पृ १०)। के नेपाली भाषा पनि खतरामा छ? अहिलेको लागि यो एक गम्भीर कुरो भएको छ।

हाम्रो लेखापढीमा..

हामी लेखापढीमा छिमेकी भाषाका शब्दद्वारा कति 'दूषित' भएका छौँ पुराना कृति र नयाँ कृति तुलना गर्दै थाहा लाग्छ। आधार कृतिका रूपमा बसाइँलाई नै लिन सक्छौं। असमबाटै प्रकाशित भएको ‘बसाइँ’ र हालको कुनैपनि पुस्तक, पत्रिका या अखबारलाई तुलना गरिहेर्दा थाहा भइहाल्छ भाषामा हामी कति 'संक्रमित' भएका रहेछौँ।

 

 

हाम्रो बोलीचालीमा...

 

बोलीचालीमा त हाम्रो स्थिति अझै नाजुक रहेको देखिन्छ। जस्तै: हामी बसबाट ओर्लदैनौँ, नाम्छौँ; भानु जयन्ती मनाउँदैनौ, पात्छौँ; हामीलाई फोहोर लाग्न छोड्यो, लेतेरा लाग्न थाल्यो, हाम्रा बन्धनहरू ढिला हुन्छन, खुकुला हुनछाडे आदि। हुन त हामीले कागलाई काउडी, उखुँलाई कुहियार पारी हजम गरिसकेका छौं। तर भाषालाई कहाँ सम्म परिवर्तन गर्न सकिन्छ यसको निर्णय अब  कसले लिनेभाषाको शुद्धताको रखवाला को हो? के यसलाई जाथाभावी लेख्न/भन्न पाइन्छ? छिमेकी भाषाको प्रभावमा हाम्रो भाषाको लगाम यसरीनै खुस्किदै गयोभने कुनै एक समयमा यहाँका आफ्नै नेपाली भाषा बोल्ने र बाहिरका (दार्जिलिङ, सिक्किम, नेपाल) नेपाली भाषा बोल्नेको बीचमा कुरा स्पष्ट्याउन एक दोभाषीको प्रयोजन होला!

 

कि हाम्रो भाषाको मेरुदण्ड लिपि पो सङ्कटमा छ?

 

 लिपि तथा अक्षर खतरामा  परेकोमा भाषाशास्त्री पनि सहमत छन्। लोपोन्मुख भाषा विशेषज्ञ सिना शाह भन्छिन्- 'लिपि सङ्कटले भाषा सङ्कटलेजस्तो ध्यान खिँचेको छैन । वास्तवमा कथ्यले भन्दापनि लिपीको मौलिकताले खास संस्कृतिको विशेषता बोकेको हुन्छ। अक्षर र लिपि संवादका लागि मात्र होइन मानिसले तिनलाई माध्यमका रूपमा लिएका थिए। आफ्नो लिपिलाई अग्घोर माया गरेको उपमा भियतनामको चाम समुदायबाट जान्न पाइन्छ। यिनीहरूले आफ्नो लिपिलाई चिहानसम्म लिएर जान्छन्। पुजारीले मृतकलाई भाषा पढाउँछन्। मिना शाहका अनुसार भाषाको लेख स्वरूप हरेक समुदायको विशिष्ट पहिचान हो। लिपिको छुट्टै विशिष्टता र सौन्दर्य हुन्छ।

हाम्रा सोसल मेडिया (fb, WhatsApp) मा रोमान लिपिले देवनागरीलाई लखेटेको देखिँदैछ। नयाँ पिँढीले हाम्रो लिपि प्रयोग गर्न छाडे। आफ्ना आवेग, अनुभूति आदि भावना प्रकाश गर्न emoticon, emoji हरूको प्रयोग हुन्छ, भाषा लगाएर लेखिँदैन। यस्तो चलनले कतै हाम्रो लिपिलाई नै सङ्कटमा पारेको त छैन? भाषा र लिपि सङ्कटमा हुँदा जातिको स्थिति कस्तो होला त ? यो एउटा चिन्तनीय कुरो भएको छ।

 

भाषाको प्रयोग: देखावटीको भुभुलैया कि बाध्यता ?

एकदिन फेसबुकमा एउटा सुन्दर कविता निस्क्यो। सबैले सराहना गरे। लेख्ने नेपालीभाषी थिए। सराहना गर्ने पनि नेपाली। उनीहरूले एक अर्कालाई चिन्दथिए पनि। किनभने म यी दुवैलाई राम्ररी जान्दथें। तर यिनीहरू बीचको वार्तालाप चाहिँ असमिया मै चलिरह्यो। यो देखावटी नभए के हो तमेरा भुटानका प्राक्तन छात्र डा. शेखर क्षेत्रीलाई फेसबुकमा केही सन्देश लेखी पठाएको थिएँ। उताबाट अङ्ग्रेजिमा जवाफ आयो सर, मैले नेपाली बोल्न जानेपनि पढ्न सक्दिन; कृपया अङ्ग्रेजीमा लेख्नु होला। अब मलाई अङ्ग्रेजी भाषा या देवनागरी लिपिमा मातृभाषा, यी दुई भित्र एउटामा सम्झौता गर्नुपर्ने बाध्यता आयो। मैले अङ्ग्रेजी भाषालाई चुने। किनभने लिपिको अर्को एकजना हत्याकारी हुने मेरो मानसिकताले दिएन। मातृभाषाबारे यस्तो सङ्कटको दिन भारतवर्षभित्रै आउँदैन भनी कसरी भन्नु? किनभने हाम्रा नयाँ पिँडीबीच नेपाली लिपिको चर्चा प्रायः नभए जस्तै छ।

 

 

के हामी ज्यादै ढुक्कले भुस्निद्रामा सुतेका छौँ?.. 

 

हाम्रो भाषामा आइपरेको सङ्कटबारे मैले दुईचारजना साहित्यिकसँग टेलिफोनमा कुराकानी गरेको थिएँ। कसैकसैले भने 'हो, तर हाम्रोमा मात्र होइन छिमेकी भाषामा पनि त सङ्कट आएको छ' खाले मन्तव्य दिए। तर्क या मनोविज्ञानमा यस्तो सोचाइलाई rationalization  निन्छ। तर आफ्नो अञ्चलमा डढेलो लाग्दा 'मेरो मात्र होइन छिमेकीको घर पनि त बिनाश भयो नि' भनेर हातमा दही जमाइन्छ कि हत्तपत्त आफ्ना घर जोगाउन तिर लागिन्छ? अरू कसैले भने 'हो, हाम्रो भाषाको अवस्था पहिलेको जस्तो राम्रो कदर छैन तर सङ्कट खाले स्थिति भने अझै आइसकेको छैन'।यसबारेमा मलाई के लाग्छ भने आफू बसेको भूमिमा जब पहिरो लाग्न शुरू भयो हामी अहिले नै सचेत हुने बेला आयो। 

तर दुःखको कुरो के हो भने हाम्रो मातृभाषा बिग्रँदै गएको छ। हाम्रा तीन पिँडी बीच प्रयोग भएको भाषालाई दाँज्नु भने यो कुरा छर्लङ्ग भइहाल्छ। हाम्रा मातापिताले प्रयोग गरेको भाषामा प्राय: २-३ प्रतिशत मात्र छिमेकी भाषाका शब्दहरू पसेका थिए होला तर हामीले प्रयोग गरेका भाषामा प्राय: १०-१५ प्रतिशत जति पसिसकेका छन् जस्तो लाग्छ। हाम्रो नयाँ पिँढी (तेस्रो) ले प्रयोग गरेकामा प्राय: २०-२५ प्रतिशत होलान्। परिस्थिति यही रूपमा बढिरह्यो भने आउँदो दुई तीन पुस्तापछि बोल्ने भाषा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ। उता, लेखापढीका माम्लामा अवस्था अझ दयनीय जस्तो छ। हाम्रो तेस्रो पिँडीका धेरै जसोले नेपाली बोल्न जानेपनि लेख्न सक्दैनन्। 

 

छापिएका पुस्तक पढिदैनन्..

 

हामीहरूबीचमा नेपाली भाषामा लेखेका किताब किनेर पढ्ने बानी छैन। लेखकले हजार कष्ट गरेर अनि खल्ती रित्याएर पुस्तक छपाउँछन्। तर बिक्री हुँदैनन्। हाम्रा पुस्तक पसल पनि छैनन। पुस्तक कसले बिक्री गरिदिने? कसरि बेचिने? के हाम्रा लेखाइहरू मानकीय (स्तरीय) नभएर पाठकले नपढेका होलान? प्राय: छ वर्षअघि डा. जयन्त कृष्ण शर्माले यही कुरो उल्लेख गरेका थिए (कविता विमर्श, पृ: २१)। परिस्थिति अझै सुध्रिएको छैन बरु बिग्रिए जस्तो पो लाग्छ।

 

 

के हामी भूमण्डलीकरणको शिकार बनेका छौं?

 

भूमण्डलीकरणले हाम्रो संयुक्त परिवारलाई टुक्र्याएर न्युक्लियर परिवार बनायो। सोसल मिडियाले हामीलाई अझ व्यक्तिकेन्द्रिक पार्दै छ। हामीबीचको सम्बन्ध र भावनाहरू अझ खुल्ला गर्दै छ। पारिवारिक पर्खाल माथि बञ्चरो हान्यो। परम्परामाथि आराले रेट्दै छ। मानिसबीच घुलमेल बढायो। बिहाबटुलोका लागि पात्र-पात्रा चयन गर्दा भाषाको लक्ष्मणरेखा खुकुलिँदै गयो। पहिलेपहिले यस्ता बिवाह अपवाद हुन्थे, तर अहिले साधारण हुन गएका छन्। यस्ता बिवाहबाट जन्मेका सन्तानहरू प्राय: नै नेपाली भाषी हुँदैनन्।यसरीनै हाम्रा मातृभाषा बोल्ने नयाँ पिँडीहरू खुम्चिंदै गएका छन्।

 

हाम्रो मातृभाषालाई बचाउँ ...

 

हामीले आफ्नी मातृलाई माया गरे जसरी मातृभाषालाई पनि माया गर्न सक्नु पर्दछ। यो हाम्रो कर्तव्य मात्र नभएर दायित्व पनि हो। नत्रभने निष्ठुर समय`ले हाम्रो भाषाको अस्तित्व नै बदलाइदेला…. डिम्माले इन्क्युबेटर मासिनभित्र निश्चित दिन कटाई सकेपछि आफ्नो सम्पूर्ण गोल आकार फेरेर प्वाँख भीरेको चल्ला भएर निस्के जस्तै।लेखकले पुस्तक छपाई मातृभाषा रूपी वृक्षलाई मल हाल्ने काम गर्दछ। जल हाल्ने काम चाहिँ पाठकको हो। वृक्षलाई मलजल गरेमात्र मौलाउँछ। यो दायित्व हरेक भाषाप्रेमीको हो। पुस्तक पढ्नुहोस्, पढाउनुहोस्; किन्नुहोस्, किनाउनुहोस्..यसैमा सबैको भलो छ। भाषा रहेमात्र जाति बाँच्छ। जयतु भाषा जननी।

--XX--

 

 

Post a Comment