शर्मा हबलदार
बिहान सात बजे। म थानामा विभिन्न स्थानमा पठाउनु पर्ने कागतहरू हेर्दै थिएँ हठात् थानाका पछिल्तिरपट्टि चोर चोर भनेर कोलाहल मच्चिँदा मेरा कान ठाडा भए र जिज्ञासावश त्यतातिर दगुरें, त्यो स्थानमा कमिलाको ताँतीझैं मानिसहरूको समागम भइसकेको रहेछ। सरकारी बासभवन पुलिस सह परिदर्शकको नाममा "एलोट" छ। त्यो घरको बिछ्यौना तल एउटा हिमालको भारी ओजनको पुरुष मानिस रहेछ, हातमा हतकड़ी सह लुकिरहेको अवस्थामा उद्धार गरियो। थानामा ल्याइ उसलाई सोधपुछ गर्दा तथा थानामा उसलाई चिन्ने एकजनालाई खोज तलास गर्दा जान्न पाइयो- उनको नाउँ प्रफुल्ल शर्मा। उनी बीएसएफका हवलदार रहेछन्। उनलाई धर्मपरायण, मृदुभाषी, निष्ठावान, परोपकारी भन्ने सबैले जान्दा रहेछन्। उनी मेघालयमा कर्मरत अवस्थामा एक दिन बिहान एकजना पोस्टमेन आएर एउटा चिठी दिएर गए। झट्टै चिठी खोलेर घरको चिठी भन्ने थाहा पाइ चिठी माथिदेखि तलसम्म एकै सासमा पढिसके। चिठी पढेर उत्तेजित हुँदै काम्न थाले। उनलाई उत्तेजना हुनु स्वाभाविक थियो कारण उनकी पत्नी र शिशु कन्यालाई बलात्कार गरी घरको जम्मै सम्पत्ति लुटेर लगेछन्। डकैत दलमध्ये दुईजना चाहिँ गाउँकै रहेछन्। उनको मन हावा झैं उडेर घर पुग्यो। उनका रोमरोममा क्रोधको ज्वाला भड्कियो। नाग झैं फण फुलाएर डकैत दलमाथि डस्न लालायित भइसक्यो। उनको धैर्यको बन्धन चुँडिएर चकनाचूर भइसकेको थियो। त्यसैदिन गम्भीर अन्धकारको सहारा लिएर शिविरबाट आफूसँग भएका कार्बाइन र गोलीहरू लिएर घरपट्टि लागे। एउटा चिठीको दुई-चार पङ्क्ति शब्दले मानिसको जिन्दगी नै बद्लायो। अहिले उनको एउटै मात्र लक्ष्य प्रतिशोध। ऊ जीवन सङ्ग्राममा योद्धा भई समस्याको शत्रुसँग लड्न उत्रावल भइसके। समस्याले उनको मन-मस्तिष्क नै भक्कानिएको थियो। जब बितेका दिनहरू भित्र पुरिएका दारुण कुराहरू स्मृतिपटमा छायाझैं देखा पर्छन्, ती कुराहरूसँग सम्पर्कित कुनै पनि व्यक्ति भित्रभित्रै रोइरहेको हुन्छ, मर्मान्तिक पीडाबोध लिएर भित्रभित्रै छटपटी रहेको हुन्छ। हाबिलदार शर्मालाई त्यही रोगले सताएको थियो।
शर्मा आएर सीधै उनले चिनेका दुईजना डकैतलाई आफूसँग भएको हतियारले हत्या गरी अलिकति भएपनि शान्त भए। ती धर्मपरायण, मृदुभाषी, परोपकारी प्रफुल्ल शर्मा नजानिदो चालले हत्याकारीमा रूपान्तरित भए। त्यस पश्चात उनी एउटा पछि अर्को डकैती, हत्या, लुटपाट निस्सन्देह विना हिचकिचाहट गर्न थाले। उनले एउटा डकैतको फौज गठन गरेर आफै सरदार बने। पुलिसले उनको सुइँको पनि निकाल्न सकेको थिएन। हाबिलदार शर्मा पुलिसको लागि एउटा ठूलो समस्या बन्न पुगे।
कुनै एउटा शीतकालको राति लगातार हत्या, लुण्ठन, डकैती गर्ने शर्माले फेरि एउटा नयाँ बैंक डकैती गर्ने परिकल्पना गरे। रङ्गिया पि. जि. बैंक। परिकल्पना अनुसार एकदिन एउटा ‘एम्बासेडर’ गाड़ी भाड़ा गरेर शर्माले आफ्नो फौज सहित आफ्नो गन्तव्य स्थानका लागि प्रस्थान गरे। निर्दिष्ट समयमा बैंक लुटेर गाड़ी छेउ आइपुगे। त्यो उनीहरूको भाग्यको विडम्बना कि गाड़ीको ड्राइभरले डकैतीको लागि गाड़ी भाड़ामा लिएको थाहा थिएन। तर यतिबेरसम्म ड्राइभरले थाहा पाइसकेको थियो। उसले डकैत दललाई सहायता गरिरहेको रहेछ। डकैत दललाई पक्राउ गराउन हठात चलिरहेको गाड़ी बिग्रिएको भान पारी सडक़कै माझमा रोक्यो। विपरीत दिशाबाट आएको रहेछ सी.आर.पी.एफको गाड़ी। सडक़ छेकेको हुँदा उनीहरूले गाड़ी रोक्न वाध्य भए। त्यतिबेर ‘एम्बासेडर’को ड्राइभर गाड़ीबाट ओर्लिएर डकैत डकैत भनेर चिच्याउँछ। सी.आर.पी.एफले ‘एम्बासेडर’ गाड़ीमा भएका जम्मै डकैतहरूसँग भएका हतियार र रुपियाँ-पैसा आफ्ना कब्जामा लिए र डकैतहरूमाथि चल्यो सी.आर.पी.एफको निर्मम अत्याचार। अन्तिममा रगताम्मे पारि विकृत अवस्थामा छेउकै रङ्गिया पुलिस चौकीमा डकैतहरूलाई हस्तान्तर गर्छन्। थानाका कर्मकर्ताहरूले डकैत दलको त्यस्तो नाजुक अवस्था देखेर सँगसँगै स्थानीय डाक्टरखानामा प्रेरण गर्छन्। उनीहरूको विकृत अवस्था देखेर त्यहाँका डाक्टरले सँगसँगै गुवाहाटी मेडिकेल कलेज अस्पतालमा स्थानान्तरित गरे।
मेडिकेल कलेजमा पनि डकैत सरदार अलिकति बीसको उन्नाइस भएपछि त्यहाँबाट पनि भाग्ने परिकल्पना गरे। मेडिकेल कलेजको चारैपट्टि पक्की बार, अस्त्रधारी अर्धसामरिक पहरेदारहरू आँखा पनि नझिम्काई कर्तव्यमा तैनाथ हुँदा हुँदै पनि उनले कुनै प्रकारले एउटा ब्लेड सङ्ग्रह गरेरहातकड़ीको डोरी काटेर एकदिन अँधेरी रातमा झ्यालबाट हामफाली त्यहाँबाट भाग्न पुगे। चारैतिर हल्ला मच्चियो- गिरफ्तार गरेको डकैत भागो..भागो, भगुवा डकैत शर्मालाई खोजिनिकाल्न चारैपट्टि पुलिसको कुदाकुदी लाग्यो। तर उसलाई त्यतिखेरै पक्राउ पार्न सकेनन्। यो घटनाको बारेमा पुलिस उच्चाधिकारीहरूलाई पनि जानकारी भयो। असमका थानाहरूमा तारवार्ता मार्फत सँगसँगै जानकारी दिएको थियो।
सायद डकैत सरदारको कुकर्म दैवले सह्य गर्न नसकेर होला। आज यसरी आफैं जालमा फस्नु पर्यो।
थानामा उपस्थित भएका पुलिस अधीक्षकले डकैत शर्माको अगाडिको इतिहास थाहा पाइ उसलाई सुधार्न उनमा लुकेका कुकर्मको रोगका पाप्रा उक्काएर निरोगी समाज निर्माणमा आफूलाई समर्पित गर्न उपदेश दिए। ती मूल्यवान अर्ती सरदारले तीखा आँखा र चनाखा कान पारेर सुने अनि उनले पनि अधीक्षकलाई व्यतीत अँध्यारो जीवनबाट उज्याला जीवनमा फिर्ने आश्वासन दिए। तर, मधौरुले फुकिदिएको माड खाइ मधौरुको क्षुधा मर्ने हो कि नमर्ने हो।
डकैत सरदारलाई भा.द.ऐ.को 315/224 धारामा गिरफ्तार गरी जेल हाजतमा चलान गराइयो।
डकैत सरदार शर्मा जेलबाट स्वतन्त्र भएपछि उनका अन्तरका साङ्ली परेका धागा सीधा होलान्? मानिस चेतनशील बनेको धेरै दृष्टान्त पनि नभएको होइन।
-------------------
Post a Comment