• theoxygentimes@gmail.com

Blog


हामी कसरी रैथाने हुने

  जागिरे जीवनमा ताते मात्रै गर्दै थिएँ। माजुली थानामा एउटै मात्र उप-परिदर्शकका रूपमा मेरो नियुक्ति भएको थियो। म त्यहाँ योगदान गर्ने साथै द्वितीय भारप्राप्त अधिकारीको दायित्वभार समाल्न कर लागेको थियो। त्यस समयमा असममा विदेशी बहिष्कारको झरी बतासले धेरैको ज्यान-माल हानि भइसकेको थियो। बिहानको ७ बजे म मेरा डेराबाट श्रीमतीको मागबमोजिम पसलबाट चिनी किन्न जानुपर्यो नत्र चिया नै पियाई नहुने भयो। पसल थानाकै समीपमा थियो। पसलमा पस्ता पस्तै थानाबाट कतै जान तरखर गरिरहेका प्रभारीले मलाई देख्नेबित्तिकै बोलाएर उनीसँग ट्रेकारमा बस्न भने। म हत्तपत्त मेरा टेबुलमा भएको आफ्नो डायरी लिएर ट्रेकारमा चढें।

   हाम्रो गाड़ीले कालो धूवाँ फ्याँक्तै अघि बढ्यो। करीब ५-६ किलोमिटर गएपछि देब्रेतिर कच्ची ढुङ्गे बाटो हुँदै अघि बढ्दैछ। प्रभारीसँग म र हामीसँग भएको सिपाही कहाँ जाँदैछौं थाहा नै थिएन। त्यसै पनि जोखेर बोल्ने स्वभावका प्रभारीलाई मैले पनि केही सोध्न सकिन। मैले सोध्नुभन्दा आफूले भनुन् भनेर म मौनै रहें। यसरी नै आएर हाम्रो गाड़ी नदी किनारको एउटा गाउँमा घ्याच्च रोकियो। नदी छेउमा भएका बाँस, खरले बनाएका कतिपय घर डढेर सखाप भएछन्।

 मैले त्यहाँ आएर जान्न  पाएँ गए राति पुर्खादेखि स्थायी हिसाबले बसोबास गरेका जलाहारी बङ्गाली सम्प्रदायका आठवटा घरमा कसैले आगो लगाएछन्। आधा डढेका सिलभरे थाल, भाँडा बटुकालाई अर्धनग्न स-साना केटा-केटीहरूले टुक्रुक्क छेउमा बसेर रुँगिरहेका थिए मानौं ती हाँडा-भाँडा कसैले लानेछन्।

प्रभारीले त्यहाँ भएका मानिसलाई सोधपुछ गरी बयान लिए। आधा डढेका बाँस, खर जफत पनि गरे। सोधपुछ गर्दा जान्न पाइयो कि उनीहरूले कसैलाई पनि सन्देह गरेका रहेनछन्। मलाई र हामीसँग आएको सिपाहीलाई ऐन शृङ्खला सम्भाल्न त्यहाँ राखी प्रभारी त्यहाँबाट थानातर्फ लाग्नुभयो। बलिको शिकार हुने मानिसहरूलाई भरोसाको तौरमा सरकारले दिएको दाल-चामल पाके पछि हामीहरूले मागेर ग्रहण गर्नु सिबाय अरू उपायपनि थिएन। हामी  दुवैले नडढ़ेका घरको एउटा बाँसको खाटमा ठाउँ-ठाउँमा च्यात्तिएको फोहोरी धुसाको सहारामा राति गुजारा गरेका थियौं। घटनाको प्राय एक सातासम्म मिनिष्टार, मेजिष्ट्रेट, हाम्रा विभागका अधिकारी स्थितिको जानकारी लिन कमिलाको ताँतीसरी आउ-जाउ गरिरहे। तर हाम्रो खबर लिन कसैको पनि समय थिएन। सबैभन्दा ठूलो पिरचाहिँ थियो झाड़ा-पिसाब गर्ने। कुरी कुरी लागे पनि अँध्यारैमा उठेर छेउकै नदी किनारमा गएर घोसेमुन्टो नलगाए उपाय थिएन।

दु:खको समय लामो हुँदो रहेछ। एक मिनिट बित्न एक घण्टा जस्तो लागेको थियो। धेरै दिन नकाटेका दाह्रïी लामा लामा भइसकेका थिए। शरीरमा लगाएका एकै जोडी कपड़ामा पसीना सुकेर ठाउँ ठाउँमा सेतो रङ्गको भारत, पाकिस्तानको मेप आँके झैं देखिन्थ्यो। शरीरबाट दुर्गन्ध ह्वास ह्वास आइरहेको थियो। त्यहाँ आएका विभागीय उपरवालालाई मलाई रिलिजदिन बार बार अनुरोध गर्दा आश्वासन पनि केही पाइनँ। सायद युगका साथ मन साँगुरियो, माया, प्रेम खज्मजिएर होला मलाई पालो दिन कसैलाई पनि नपठाएको हुँदा म यसरी नै ९ दिनसम्म एउटै पोशाकमा त्यहाँ रहनु पर्यो। मेरो दु:खमा सरिक हुने कोही थिएनन्।

  १० दिनका दिन जोरहाटबाट पुलिस अधीक्षक र उपायुक्तको पदार्पण भयो। मैले विभागीय सम्मान (सेल्यूट) जनाएँ। मेरो यस्तो रूप देखेर अधीक्षकले नमीठो गाली गरे। विना कारणमा सोध-पुछ नगरि गाली सुनेर विभागमा पसेर समाजका लागि के के गरौंला भन्ने सुनौलो सपना एकै छिनमा भताभुङ्ग भयो। तर मैले पनि मेरो अवस्था किन यस्तो हुनुपर्यो बेलिबिस्तार गर्नका साथ मेरो पालो दिने पठाउन अनुरोध गरें। मेरो कुरा सुनेर उनी नजवाफ भए। स्थितिको जानकारी लिएर उनीहरू त्यहाँबाट बिदा लिए। उहाँहरूको गाड़ी आफ्नै गतिमा दौडिन थाल्यो। भोलिपल्ट मलाई पालो दिन बराउपाधिधारी एकजना उप-परिदर्शक त्यहाँ आए। उनलाई देख्नेबित्तिकै मरिकुच्चे भारीको बोझाले थिचेको भारी बिसाए जस्तो लागेको थियो।

   म घटनास्थलबाट थानातर्फ लागें। थाना आई प्रभारीलाई आफ्नो उपस्थिति जनाइ म मेरो डेरातिर लागें। मेरी श्रीमतीले मेरो भूत जस्तो अनुहार देखेर एकै छिनको लागि झस्किए तापनि ठूलो सास फेर्दै मलाई स्वागतजनाइन्। घर छाडेदेखि एउटा खबर नदिएकोमा गुनासो गरिन्। म कुन परिस्थितिमा १० दिन बिताउनु पर्यो बेलिबिस्तार नगरि लुकाउन कोसिस गरी मूक पशु हुन कर लाग्यो। हाम्रो भेट छोटो अवधिमा सीमाबद्ध भए पनि हाम्रो जागिरे जीवनमा पाएको अनुभवले गर्दा उनका मुटुमा म प्रति सुप्त अवस्थामा रहेका संवेदना आलो भएर उनका मुहारमा लिपिएको तथा उनले लुकाउन खोज्दा खोज्दै पनि म प्रष्ट देख्तै थिएँ। म चालै नपाई विभागको तथा श्रीमतीको अचानु भइसकेको थिएँ।

 बेलुका ६ बजेतिर प्रभारीको हुकुमअनुसार थाना जानुपर्यो। १० दिन पछि विश्राम लिउँला भन्ने आशा थियो अब के झेउलो लाग्ने हो भन्ने मनमा सोच्ता सोच्तै थाना आइपुगें। प्रभारीले मलाई एउटा तारवार्ता अघि बढाए। तार वार्तामा अधीक्षकले हुकुम दिएको रहेछ- हालैमा भएका आगलागी काण्डको सन्देहास्पद दोषी छात्र संस्थाका सम्पादक लगायत सभापति-सदस्यहरूलाई आजै गिरफ्तार गर्नु ।  मैले प्रभारीलाई बुझाउने कोसिस गरें त्यो काम तत्कालै गर्दा अरिङ्गालको गोलालाई खल्बलाएझैं हुन्छ। तर अधीक्षकको हुकुम हुनाले प्रभारीले मेरो कुरालाई गुरुत्व दिएनन्। यसैले म अस्त्रधारी सिपाहीलाई लिएर राति ९ बजे सन्देहास्पद दोषीहरूलाई पक्राउ गर्न यात्रा गरें। रातभरि प्रत्येकको घर छापा मार्दा एकजना सदस्य र सम्पादकलाई पक्रेर बिहान ५ बजे थाना आईपुगें। छात्र संस्थाका केटा भनेर लकअपमा नराखि बाहिरपट्टि बस्ने व्यवस्था गरि मुख हात धुन डेरातिर लागें।

पुन: ७-३० बजे थाना पुग्दा एकजना दुईजना गर्दा  गर्दै धेरै मानिस थानामा ओइरिन थाले। म मनमनै सोच्तै छु, मानौ म तत्कालै कुनै एउटा अद्भुत काण्ड देख्नेवाला छु। प्रभारी आफ्ना कोठामा छन्। उनलाई भित्र जस्तो भए पनि बाहिर चाहिँ निश्चलै देखिन्थे। म भित्रभित्रै छट्पटिन थाल्छु। म एक ठाउँमा अडिन नसकी यता-उता गर्न थाल्छु। थाना, बरण्डा, बाटामा, थाना अघि भएको हाइस्कूल प्राङ्गणमा मानिस खचाखच भइसके। देख्ता देख्तै रात्री पक्राउ गरेका छात्र संस्थाका केटाहरूलाई थानाबाट निकालेर लगेर उनीहरूको जनसमुद्रमा मिसाई सके। त्यहाँ भएका मानिसले जसले जे ले पायो थानामा बजार्न थाले। दैला-झ्यालका ऐना टुक्रा टुक्रा भएर मझेरीमा झरे। तारवार्ताको तार, बाँस भाँचकुच पारे। म विवश भइसकेको थिएँ। जहाँ प्रभारी छन् मैले गर्न सक्ने काम पनि त के छ र? मेरो मन बलियो राख्न खोज्छु। यति छिटो हार स्वीकार नगरी धैर्य बटुल्थें। समस्या घट्लाभन्दा झन् बढ्दै जान्छ। थाना अघि हाइस्कूल प्राङ्गणमा कमिलै सरि मानिसको जमघट देखिन्छ। माइकमा आवाज आउँछ आफू विदेशी भएर यहाँका रैथानेलाई विना कसुरमा गिरफ्तार गर्न पाइँदैन। उपाध्यायले यहाँ आएर माफी माग्नुपर्छ अनि सरकारले उसलाई २४ घण्टा भित्रमा विदेशी बनाई असमबाट बहिष्कार गर्नु पर्छ नत्र हाम्रो आन्दोलन तीव्रतर हुन्छ। उनीहरूका यस्ता कुराले मेरा अन्तरात्मालाई छोइदिन्छ। म आफैलाई प्रश्न गर्छु म को हुँ त? म  विदेशी हुँ त? उनीहरूका ती कुराको उत्तर माइकमा भन्न मन लाग्छ- म भारत माताको सन्तान हुँ। मेरा पिताले भारत स्वाधीन आन्दोलनमा सक्रिय भाग लिएर ताता गोलीको परवाह नगरी १९४२ सन्को २० सेप्टेम्बरका दिन ढेकियाजुली थानामा झण्डा फहराउन जाँदा पुलिसको लट्ठीले घाइते पनि हुनुभएको थियो। उनीहरूका त्यस्ता कुराले मेरो जन्मदेखिको देशप्रेमको त्यान्द्रो पनि एकै छिनमा चट्टै छिन्ला त? त्यो बेला मैले दर्बिलो आधार पाइनँ जसद्वारा म यसमा मुकाबला गर्न सकुँ।

 त्यसै दिन १ बजेतिर जोरहाटबाट डि. एस. पी. साब आएर थानामा पदार्पण गर्नुभयो। उनी आएर सोझै प्रभारीको कोठामा पसे। उनलाई देख्नेबित्तिकै केही सहारा पाइन्छ भनेर आशामा रहें। प्रभारीसँग उनले घटनाको इतिवृत्ति बुझे। त्यतिबेलै हाइस्कूल प्राङ्गणमा जमघट भएका मानिसभित्र पाँचजना मानिस चुनिएर थाना आएर डी. एस. पी. साहबलाई भेट गरी मैले विनासित्तिमा छात्र संस्थाका नेताहरूलाई पक्राउ गरी उनीहरूलाई लज्जित पारेको कुरा आरोप लगाए। यसैले जनताको मागअनुुसार म त्यहाँ गएर सबैका अघि माफी माग्नु पर्ने कुरा उल्लेख गरें साथै मलाई विदेशी बनाई बहिष्कार गर्नुपर्ने। डी. एस. पी. साहबले मलाई उनीहरूको सामु बोलाई छात्र संस्थाका नेताहरूलाई गिरफ्तार गरेकोमा नमीठो कुरो सुनाई मेरो विरूद्ध विभागीय शास्ति तुरन्तै दिलाउने आश्वासन दिए। अनि सरकारी कर्मचारीलाई कतै गएर माफ माग्नु हुँदैन भनेर बुझाए। मेरो विरोधमा साँच्चै नै विभागीय शास्ति हुन्छ कि परिस्थिति साम्मे पर्ने त्यस्ता कुरा भन्नु परेको मैले बुझ्न सकिनँ। कारण उनीहरू त्यहाँबाट बिदा भएपछि पनि मलाई सान्त्वना दिन केही पनि भनेनन्। हुरूक्क भई मरिमेटेर त्यत्रो जोखिम उठाएर छात्र संस्थाकानेताहरूलाई पक्राउ पारें तर मैले शास्तिको सामना गर्नुपर्ने। म सोचेर हैरान हुन्छु। राम्रो गरें उपरवालाको हुकुम मानें भन्दा भन्दै पनि चारैतिरबाट मलाई छिर्का परे।

थानामा ढुङ्गा, मुङ्रा हानी सरकारी मालामाललाई क्षति पुर्याउने अपराधीहरूलाई कम्ती पनि २० जना आज राति नै पक्राउ पार्ने हुकुम दिएर प्रभारी र डी. एस. पी. साहब विश्राम गर्न बाटो तताए। मैले प्रभारीलाई मलाई सहायता गर्ने सह-उपपरिदर्शक मेघी बाबूलाई मसँग लान अनुमति दिन अनुरोध गरें तर प्रभारीबाट केही परामर्श पाइन। त्यही पनि मैले मेघी बाबुलाई राति १२ बजे तयार रहन अनुरोध गरी म मेरो बासभवनतिर लागें।

 रात १२ बजे एक सेक्सन अस्त्रधारी सिपाही साथ म तयार थिएँ। तर मेघी बाबू आएका छैनन्। उनका प्रतीक्षामा मच्छरको सु-खाद्य भएर थानाको बरन्डामा भएको कुर्सीमा बसिरहेको थिएँ। यसरी नै ३ बजेसम्म पनि मेघी बाबू नआएको देखेर निराशा भई भई पनि उनलाई बोलाउन सिपाही एकजना पठाएँँ। सिपाही फर्केर आएर मलाई जानकारी दिन्छन्- धेरै खेप बोलाउँदा पनि मेघी बाबूले केही जवाफ दिएनन्। मलाई पानी विनाको माछो जस्तो हुन थालेको भान हुन्छ। देख्ता देख्तै एउटा सिङ्गो रात चिपलिँदै छ। मनमा धेरै कुरा खेल्न थाल्छन्। कहाँ जाउँ कसलाई पक्राउ गरौं? कसैलाई पक्राउ पारौं भने भोलि पनि आजको जस्तो काण्ड भयो भने दोषी त मै नै हुन्छु। रिमरिमे उज्यालो हुनथाल्यो। कहाँ जाने जाने भन्दै लक्ष्य नभई गाउँतिर नगएर नदीपट्टि लागें। साथमा अस्त्रधारी सिपाही। बाटामा माछा मार्न आएका जलाहारीहरूसँग भेट भयो। हठात् मनमा कुबुद्धि उदय भयो पाप लागे पनि लागोस् मेरो अन्तरात्माको एउटा कुनाले बाधा दिँदा दिँदै पनि हातलागि भएका ती १० वटा जलाहारीहरूलाई ल्याएर लकअपमा राखें। अपराध जमानीयोग्य हो यसैले एकैछिन पछि जमानतमा छाडि दिउँला भनेर।

बिहान  ७-३० बजे बेलामा थानामा डि. एस. पि. साहब हाजिर भई राति कतिजना मानिस पक्राउ पारेको भनेर मलाई सोधे। मैले स्यावास पाउँला भनेर हर्षित स्वरमा भने १० जना ल्याएँ। तर उनको प्रतिक्रिया थियो मैले धेरै कम्ती मानिस पक्राउ पारेको।

   त्यसै दिन ११ बजेतिर पुलिस अधीक्षक थानामा पदार्पण गरे। प्रभारीकाकुर्सीमा बसेर मलाई बोलाएर मबाट घटेका घटनाहरू जान्न खोजे। म छक्क परें डि. एस. पि. तथा प्रभारीलाई नसोधेर मबाट जान्न खोजेकोमा। मैले पनि सुविधा पाएर रिट्ठो नबिराई सबै कुरा उगेलें। साथसाथै मलाई हिजो जनसभामा विदेशीको कलङ्क लगाउनु तथा मलाई बहिष्कार गर्ने माग गरेको कुरा पनि कातर स्वरमा उल्लेख गरें। मलाई हिजोको कुराले अपमानित हुनुपरेको छ यसैले मलाई त्यहाँबाट सरुवा गराउन अनुरोध जताएँ। उहाँले पोरा फुलाएका नाकबाट सिगरेटको धूवाँ फ्याँक्तै गम्भीर स्वरमा भन्नुहुन्छ- तपाइँको कर्म प्रेरणालाई म  कदर गर्छु। तपाई हाम्रा विभागका उपयुक्त अफिसर हुनुहुन्छ। हात्ती हिँडिरहेको बेलामा कुकुरले भुक्ता हात्ती पछाडि हेर्छ र? तपाईं जस्ता कर्मठ अफिसरले आँत  हारेर हुन्छ? तपाईं निस्फिक्री काम गर्नुहोस्। तपाइँसँग हाम्रो विभाग छ। फेरि भएन तपाइँ  जातिगत साहसी हुनुहुन्छ। तपाइँहरूका नातादारले हाम्रो देशको सीमामा प्रहरी भएर देश मातृको रक्षा गरेका छन्। तपाइँलाई विदेशी भन्नु त कसैको मूर्खतासिबाय अरू केही होइन।

 अहिलेसम्मको कमाएको महंगो उपलब्धि तथा घुट्घुटी पिउनु परेको ताजा अपमानको नमीठो झोलले मेरो सहन शक्ति हराइसकेको थियो। न मेरो शरीर बलियो, न मन बलियो थियो। हुति हराएको  कायर मान्छे जस्तो भएको थिएँ। मेरो अन्तरात्मामा के भएको थियो स्पष्ट भाषामा व्यक्त गर्न सक्तिनँ। बितेका स्थितिले मलाई सबैले नै थिल्थिल्याएको जोकर जस्तो रङ्ग्याएको थियो। तर अधीक्षक महोदयको मप्रति उहाँको स्नेह, श्रद्धा र प्रशंसाले मलाई छर्लङ्ग पार्यो मेरो केही दोष नभएको तर मलाई दोषी पार्न कोसिस गरिएको रहेछ।

 उनका कुरा सुनेर मेरो छाती भित्रको आवेग, अनुभूति बिनसित्तिको छटपटाहट पो रहेछ भन्ने सोच्न बाध्य भएँ। मैले जागिरे  यात्राको शुभारम्भमा भोगेको तीतो अनुभव भित्रमा यो पनि एउटा हो। यस्ता दु:खद स्थितिहरू जागिरे जीवनमा कति पल्ट भोग्नु पर्ला त?

                               ________________________

Post a Comment