Blog

“ हरियो झिँगाको इशारा ”

Blog Image

आँखाभरी आँसु टिलपिल पार्दै एउटी ४०-४२ वर्षे विवाहिता महिला मलाई नमस्कार सजाउँदै मेरा कोठामा पसिन्। मैले नमस्कारलाई मुण्टो हल्लाएर स्वीकारें। उनका हातमा एउटा उजुरीनामा (एजाहार)। मैले उजुरीनामा (एजाहार) माथि आँखा डुलाएँ। बेलुका ६ बजे उनका स्वामी किरण बरा उनकी कान्छी पत्नी सविता बराका घरमा ग्यास सिलिण्डार पुर्याउन गएर फर्की आएका रहेनछन्। यसैले यो सूचना दिएकी रहिछन्। यो विषयमा कानूनी व्यवस्था लिन किरण बराकी प्रथमा पत्नी अञ्जली बड़ो बराले अनुरोध टक्र्याइन्। मैले उनलाई यो विषयमा व्यवस्था लिने भरोसा जताएँ। किरण बरा गायव भएको २४ घण्टा बिति सकेछ। मैले तत्काल जेनरल डायरीमा यो विषय दर्ता गरी असमका सबै पुलिस थानाहरूमा तारवार्ता मार्फत सूचना दिएर उचित कारवाई गर्न अनुरोध गरें।

भोलिपल्ट बिहान १० बजे समयमा एउटी ३२-३५ वर्षकी विवाहिता महिला मेरा कोठामा प्रवेश गरिन् र एउटा उजुरीनामा (एजाहार) मलाई अघि बढाइन्। मैले उजुरीनामा (एजाहार)मा आँखा डुलाएँ। अनि जान्न पाएँ उनका पति किरण बराकी प्रथमा पत्नी अञ्जलीका घरबाट बेलुका करीब ७ बजे समयमा एउटा ग्यास सिलिण्डरउनलाई दिएर एक कप चिया पिएर फर्कनु भएको थियो तर अझसम्म पनि घर (प्रथमा पत्नी अञ्जली बड़ो बराका) पुग्नु भएको रहेनछ। यसैले यो बारेमा छानवीन गरी उचित कदम उठाउन अनुरोध टक्र्याइन कान्छी पत्नी सविता बराले। उनलाई सोधपुछ गर्दा थाहा लाग्यो किरण बराका दुईटी स्त्री रहेछन्। प्रथमा पत्नी अञ्जली बड़ो बरा, कान्छी पत्नी सविता बरा। दुवैलाई अलग अलग ठाउँमा राखेका रहेछन्। दुवैले दिएको उजुरीनामा (एजाहार) एउटै फाइलमा गाभ्नु पर्यो। सवितालाई उनकी दिदी अञ्जलीले पनि यो सूचना दिएको कुरा जान्न दिएँ।

दिनको १ बजे म मेरा सहकर्मीलाई लिएर अञ्जली बड़ो बराका घरमा यात्रा गरें। त्यहाँ आइपुगी अञ्जली बड़ो बरा तथा समीपका मानिसहरूको भा. द. कार्यविधि ऐनको १६१ अनुसार बयान लिपिबद्ध गरें। अञ्जली बड़ो बराको बयानमा प्राप्त हुन्छ- किरण बरा अञ्जलीहरूका घरमा किरायादार हिसाबले बसोबासो गरेका रहेछन्। दिनहरू मीठा-मीठा भएर चिप्लिँदैजाँदैछन्। दुवैमाथि विहङ्गम दृष्टि पर्यो। दुवैले नै प्रेमको साइनो गाँसे पनि। पछि गएर त्यो साइनो पति-पत्नीमा रुपान्तरित भयो मन्दिरमा। तर प्रथम अवस्थामा अञ्जली बडो पिता-माताको माया-स्नेहबाट नाङ्गो भइछिन्। आखिरमा दुवैलाई बोलाएर अञ्जलीका माता-पिताले विवाहको स्वीकृति दिन्छन् साथै अहिले बसोबासो गरेको माटो सहित पक्काको घर पनि दानसूत्रले छोरीका नाममा हस्तान्तर गरिदिएछन्। वर्तमान उनीहरूका दुई पुत्र सन्तान पनि रहेछन्। तर यसैबीच उनीहरूका संसारमा कालो बादलले ढाक्यो। घरमा कामगर्न राखेकी सविता दासलाई माया गर्दा-गर्दै धेरै माया गरिसकेछन् किरण बराले। दुवैलाई कपिलो घामले आङलाई कुत्कुत्याउन थालेछ। सविताको भर्खरको चितुवा जस्तो उमेर, आगो खाने उमेर देखेर किरण बरा मम झैं गलेछन्। सविता परिपूर्ण भइसकिन र एकदिन आमा बन्न पुगिन्। अञ्जलीले प्रतिवाद नगरी बैनीको सम्पर्कलाई हरियो झण्डी देखाइन्। पछि त्यहाँबाट 2 कि: मि: टाढा जमीन किनेर असम टाइपको एउटा घर निर्माण गरी सवितालाई बसोबासो गर्ने साथै खाना-पिनाको सामग्री दिने पनि सु-बन्दोवस्त गरेको रहेछन्।

त्यस दिन ६ बजे कान्छी पत्नी सवितालाई ग्यास सिलिण्डरएउटा दिन गएर फर्केर आएका रहेनछन्।  मैले त्यहाँ भएका छर-छिमेकीहरूको बयान लिँदा ग्यास सिलिण्डर सविताका घरमा दिन गएको सत्यताको प्रमाण पाएँ।

म त्यहाँबाट सहकर्मीसह सविताका घरमा भनेर यात्रा गरें। मैले सविताको घरको सही ठेगाना सङ्ग्रह गरिसकेको थिएँ।

सविताका घर आई सवितालाई भेटी उनको बयान लिपिबद्ध गरें। उनको बयानमा प्रष्ट हुन्छ त्यस दिन बेलुका ७ बजे उनका पति किरण बरा आएर सिलिण्डर दिएर चिया एक कप खाएर फिरेको। उनको अनुहारमा कतै पनि उदासीन भाव झल्किएको थिएन। उनी प्रथम अवस्थामा किरण बराका घरमा कामगर्ने केटी अनि पछि पत्नी भएको कुरा पनि उल्लेख गर्छिन्। मैले बितेका दिनहरूका घटनाप्रवाह अघि नै सङ्ग्रह गरिसकेको हुनाले धेरै प्रश्न गर्न मुनासिव ठानिन। यतिबेरै भित्रबाट रातो-पिरो ३०-३२ वर्षे युवक जुँगामा ताउ दिँदै मेरा अघि आएर उभिन्छ। मैले उसलाई फुस्रा आँखाले हेरें। तर उ डग्मगाउँदैन। मैले सवितासँग उसको परिचय मागेंउनले उनका किरायाको घरमा बस्ने आलि भाइ भनिन्। उनले भाइ बनाएको कुरा पनि जान्न दिइन्। हामी घरबाट बाहिर निस्कँदा उनीहरू पछि पछि निस्किए। सविताका मूल घरका अगाडि छाडेर चारैतिर लामा लामा एकपाखे घर। टिनको छानु जसमा आरावाल, नापित, कसाई, रिक्सावाला, ठेलावाला, मछुआ किरायामा बस्ता रहेछन्। त्यसमध्ये आलि भाइचाहिँ मछुआ रहेछ। वर्तमान किरणको बारेमा केही सूचना सङ्ग्रह गर्न नसक्ता हामी थानातर्फ लाग्यौं। ड्राइभरले गाड़ी हाँको।

मैले आफैँ आफैँ प्रश्न गर्न थालें- किरण बरा अपहरण भएको त होइन? यदि हो भने कसले? अनि किन? कि कसैले हत्या गर्यो? कि आत्महत्या? मलाई यिनै प्रश्नका चिन्हहरूले घाँटीमा अङ्कुश लगाएर तान्न थालेको भान हुन्छ तर कुन प्रश्नबोधक चिन्हको शाक्ति ज्यादा होला रहुनेखाने पाँचवटा ट्रकका मालिक तथा कोइला व्यापारी। कुनै उग्रवादी सङ्गठनहरूको पनि केही दावी रहेनछ।

मलाई अञ्जली बड़ो बराको फोनले छानवीनको प्रगति सोधेर व्यतिव्यस्त पारेको थियो। मेरा उत्तरमा चेष्टा जारी छ सिवाय अरू केही थिएन। समय चुहि नै रहेको छ। उनको (अञ्जली) फोनले मेरो मन खट्किन थाल्यो। अरूबाट आएको फोन पनि अञ्जलीकै फोनझैं लाग्न थाल्यो। तर आजसम्म पनि कान्छी पत्नी सविताले एकखेप पनि फोन गर्नु वा थानामा आएर खोजतलास गरेकी छैनन्। मेरो सविताप्रति सन्देह हुन थाल्यो। यसैले सविताको चाल-चलनमाथि निरीक्षण गर्न उनका घरका नजिक रहेर दिनहुँको खबर सङ्ग्रह गरेर मलाई जानकारी दिन भनेर एउटा चलाख सिपाहीलाई साधारण पोशाकमा त्यहाँ सुटुक्क पठाएँ। चलाख सिपाहीबाट थाहा लाग्न थाल्यो आलि भाइ र सविता दिदीको मधुर सम्पर्क र हाँसी-खुसीको वातावरणको साथ प्रायजसो दिदीकै घरमा भएको कुरा। देख्ता देख्तै चालै नपाई एक महिना बितिसके तर तदन्तको नाममा ठूलो शून्य छाड़ा अरू केही छैन। यसैले मैले बेइज्जतीको तीतो रस घुटुक्क निल्नु परेको थियो।

फेरि एकखेप सवितालाई सताउन उनका घरमा भनेर मेरा सहकर्मी साथ यात्रा गरें। हामी आइपुग्दा घरअघिको रातो बत्तिले मलाई स्पर्श गरभनिरहेको रहेछ। त्यसलाई स्पर्श गर्ने बित्तिकै सविता अघि अघि आलि भाइ पछि पछि आएर ढोका खोले। आलि भाइलाई देख्ने बित्तिकै रिसले कन्सिरीताते। तर सविता दिदीकाँ आउने, जाने, खाने, बस्ने, सुत्ने उसको गणतान्त्रिक अधिकार छ। मैले सवितालाई प्रश्न गरें- पतिको खबर केही पाउनु भयो?’ तर नकारात्मक उत्तर पाएँ। उनको अनुहारमा केही पीड़ा बोकेको जस्तो भाव छैन। मैले सवितालाई प्रश्न गर्दा आलि भाइलाई मेरा चोर आँखाले नहेरी सकेन। अलिको व्यवहार देख्ता मलाई सोच्न वाध्य गरायो म सविताका घरमा छु कि आलि भाइको घरमा छु? अञ्जलीले मलाई तदन्तको अग्रगतिको कुरा सोधेर बसिसुख न उठिसुख पारेकी थिइन् तर सवितालेचाहिँ खुट्टा झिके जस्तो लाग्छ।

म घरबाट बाहिरतिर निस्किएर वरिपरि दृष्टि लाउन थालें साथमा मेरा सहकर्मीहरू छन्। तर केही शङ्कालु चीज आँखामा नपर्दा निराशाले छायो। मलाई आफैँलाई चक्काविहीन मालपत्र भरिएको बोझाई गरेको गाड़ा एउटा तानेर लाँदा जे हालत हुन्छ त्यस्तै अवस्था भएको थियो। म घरको बाहिरतिरबाट पिसाब गरेर आउँदा अचानक अरिगाँलका चाकालाई बिथोल्दा अरिगाँलले आक्रमण गरेझैँ हरियो झिँगाले मलाई चारैतिरबाट घेरे। मैले पछि हेर्दा एउटा खाडलबाट आएका झिँगा रहेछन्। म तुरन्तै त्यहाँ गएँ। मेरा खुट्टा भासिए। मलाई बुझ्न बाँकी रहेन। मैले दुवै दिदी-भाइलाई आफ्ना हिफाजतमा लिएँ।

थानामा सम्पर्क गरेर मेहत्तर र मगभान साथै मजिस्ट्रेटलाई तुरत्नै यहाँ पठाउन हुकुम दिएँ। केही छिन पछि सबै हाजिर भए। मेहत्तरले खाडलबाट खनेर लास निकालो, मजिस्ट्रेटले लासमाथि अन्वेषण (इन्वेस्ट) गरे। दुर्गन्ध को त कुरै नगरे पनि हुन्छ। लास किरण बराको हो भन्ने चिन्नै असजिलो भइसकेको रहेछ। मेरो आङ् अचानक जिरिङ्ग हुन्छ। शरीरका रौंहरू ठाडा भइसकेको म थाहा पाउँदै छु। मैले दिदी-भाइलाई तेर्छा आँखाले हेरें, उनीहरू धेरै मधुरो देखिन्थे अभ्यस्त आँखाले मात्र चिन्न सक्छन्। लास लाने गाड़ीमा किरण बराको लास उठाइ दिदी-भाइलाई पनि हाम्रा अतिथि बनाई हाम्रा गाड़ीमा उठायौं। घामको निस्तेज रश्मि अहिले पनि जड-चेतन सबैमाथि पोखिएको छ साथै हामीमा पनि।

भोलिपल्ट बिहान लासलाई मरणोत्तर जाँचकालागि अस्पतालमा पेश गरियो।

आलि भाइ र सविता दिदीलाई सोधपुछ जारी छ। प्रथम अवस्थामास्वीकार नगरेको देखेर मेरा दाहिने लवटाले पाँच औंलाको छाप गालामा पर्ने बित्तिकै पानीको टेपबाट पानी झरेझैं तु-रु-रु-रु-र आवाज सुन्न पाएँ। मैले सोचें यो कोठामा त पानीटेप छैन के को आवाज हो भनेर? यताउति हेर्दा आलिभाइको लुङ्गी भिजिसकेको रहेछ। दिदीले र भाइले तुरन्तै दोष स्वीकार गरे। दिदी सवितालाई छोरी कुटी बुहारी तर्साउनुजस्तो भएर होला। हत्या गरेको हतियार देखाउने कबुल गर्दा दिदी-भाइलाई लिएर त्यो जग्गामा यात्रा गर्यौं। यथास्थानमा पुगी लुकाएको माछा-मासु काट्ने दाउ उद्धार गरी थाना तिर यात्रा गरियो। यसलाई इण्डियन एविडेन्स एक्ट आण्डार सेक्सन २७ मा अपराधीले देखाएर जफत गरेका प्रथालाई लिडिङ टु दि डिस्कोवरीभनिन्छ। थाना आई सविता दिदी र भाइ आलिलाई गिरफ्तार गरियो। भोलिपल्ट दुवै गिरफ्तारी अपराधीलाई भा: द: ऐनको धारा ३०२/३४ अनुसार अदालतमा चलान गरियो। आलि भाइ हिजोसम्म लौह पुरूष आज शीशा भएर पग्लिरहेका थिए। बल्ल होस पायो नपाउनेले केरा पायो बोक्रै सित खायोभनेको के हो भनेर। 

                                                                _______________________

   


Share this post
Comments