चुडामणि पौडेल, उर्लाबारी, मोरङ, नेपाल
“लौ हेर ! सुन्निएर कत्रो भएछ खुट्टो ? ए , माईला ! सिन्दुरको बट्टामा राखेको छ , झट्ट लाइदे त काकाको घाउमै " मनमायाँ भाउजु ले छत्रलाई अर्हाइन। उनले त्यसै गरी झट्ट बट्टाबाट तिते करेला को बीउ झै एउटा गोटी झिकेर खुट्टामा लगाई दिए। गोटी दाँत गाडेकै ठाउँमा टप्प टाँसियो। "लौ ,लौ यसले बिष चुस्न थाल्यो " - हेर्नेहरुको कुरा चल्यो । ए , अब त बाँच्ने भइयो , बल्ल आफुले लामो सास फेरेर ढुक्क परियो । तर, मलाई निदाउन भने कसैले दिएनन् । छत्र कार्की र सेताघर अन्तरे मेरा कहिल्यै नछुट्टीने वाल सखा, जसले त्यो दिन मलाई अकबरे खोर्सानी खुवाएर रातै भरि ऊट्पट्याङ कुरा गरेर हँसाई मात्र रहे । फुर्सदका दिनहरु आफुलाइ थाहै छैन । तात्तातो माम खाएर चुठ्न पनि नभ्याई , झोला बोकेर घण्टौ को बाटो स्कुल धाउने ज्यान परेछ आफ्नो त । ढिलो पुगिए भाले बास्नु पर्ने र गृहकार्य नबुझाए भाटा खाईने डरले पाठ हरु घोकेर कण्ठै पारिन्थे। स्कुलबाट घर फर्केर मकै- भट्मास चपाउदै घाँसको भारि बोकेर हरेक दिन सिरिसे बेँसीमा जानै पर्दथ्यो । अँ , 2045 सालको असार महिनाको कुरा , सिरिसे बेँसीमा धानको रोपाँइ चल्दै थियो । सनिबारको दिन कुलो फाँड्दा विषालु साँबे सर्पको अचानक डसाइमा आफु परियो । साँबे सर्पलाई पहाडको गोमन झैं अति बिषालु भन्ने चलन रहेछ । यो घटना मेरो जीवनकै पहिलो अनुभव भएकोले सुनेकै भरमा हत्त न पत्त लगाएको जनाई खोलेर खुट्टो बाँधेँ । अनि मात्र मैले भाउजुलाई सुनाएँ । " लौ लौ बीरबहादुर दाईका घरमा झारमौरो छ रे । तुरुन्त गइ हाल्नु भाई , ठिक भै हाल्छ नि । " - वस , मैले त एउटा उपाय सहितको बिपदमा सहानुभुति पाएँ । त्यस ताका समाजमा सर्पको बिष झारमौरोले तान्छ भन्ने मान्यता रहेछ । सोहि बमोजिम हातमा भएको हँसियाले सिमालीको लठ्ठी काटेँ अनि एक्लै टेक्दै उकालो घरतर्फ लागेँ । खोलो तरेपछि खुट्टा दुखेर उकालो चड्नै भएन। घण्टौ लगाएर खेजेनिम स्थित घर पुगेँ । बृद्धावस्थाका आमा बालाई केहि सुनाईएन । " म मास्तिर पुगेर आउछु है " । मात्र के भनेँ थेँ , झमक्क साँझमा बीरबहादुर कार्की दाईको घरमा पुगेर सबै कुरा बताँए । त्यसैले त मित्र छत्रको हातबाटै मेरो खुट्टामा झारमौरो टपक्क टासिने गरी लगाउन पाएको रहेँछु । झारमौरो टाँसिएकैले आफु ढुक्क त परियो तर , मैले सुने झैंअघाएर पुर्लुक्क कहिल्यै झरेन । मित्र सेताघर अन्तरे लाई खबर गरेर बोलाईयो , रात कटाउन । खुट्टो सुनिएर खम्बा झै भयो तर, झारमौरो अझै झरेन । झन भत्भती पोल्न पो थाल्यो। त्यसैले धामी खोज्न राता रात अन्तरेलाई नै कुदाईयो र केहि नलागे पछि मात्र घरमा खबर गरियो । राँको बालेर धामीहरु त्यही आए । गैराघरे साँल्दाई र माङ्थुप्पा माईलाले पालै पालो गरि फलाके । कसैले कुखुरीको पुच्छरबाटै घाउ चुसाए । कसैले देबी देउतालाई भाकल गरि दिए हुन् तर, खुट्टो भने रत्ति चट्पटाएन । बाफरे फाफ ! यत्तिका बिधि डहेको त बयान के गरौ ? बिहान उज्यालो हुने बित्तिकै पँधेर्नीहरु बाट गाउँभरि हल्ला फैलिएछ । म बोकिएर घर लगिएँ । उता बा आमा पो तिन छक्क पर्नु भएछ । घरमा आफुलाई हेर्नेहरु को त बजार नै लाग्यो । वस, ठुल्दाई सिरेगु गोठबाट आइ पुग्दा त घरमा अनपेक्षित गज्जब को तमासा नै थियो। हो, अन्तरे नै मेरो अन्तिम भरोसा । त्यस ताका , जता जा , उहि अन्तरे । उनैलाई सिवा हेल्थ पोष्ट पठाईयो । अ हे व नाथुराम चौधरी र नन्द बास्तोला आएर बेस्कन बाँधेको रुमाल फुकाए । घाऊ चिरेर निलो रगत बगाउदै स्लाइन र नदुख्ने सुई लगाइ दिए । हे भगवान ! अब भने बाँचिने भो , मैले लामो सुस्केरा हालेँ । पिडा धेरै चाहिन्न रहेछ ,एउटै भए काफी । दुर्गम पहाडी गाउँ को यो मन्ध चेतना बाट छट्टु बिहारीहरुले अनेकौ प्रपन्चहरु रचेरै लुट्न सम्म लुटेर सम्पत्ती कमाए । आखिर, झारमौरोले नै काम गर्दो हो त बिषालु सर्पको टोकाईबाट अकालमा कोहि मर्नु पर्ने थिएन । मानिसले मेरो झैं कष्ट खप्नु पर्ने त थिएन , चेतना भया । आफुले त पिडा भोगियो भोगियो , हे भगवान ! बरु आइनन्दा कसैले यस्तो दुर्दशा बेहोर्नु नपरोस, कामना गरि रहेँछु । अस्तु ।
Post a Comment