चुडामणी पौडेल
ताप्लेजुङ ,नेपाल
“लौ परमेश्वरी! तिमी वनै राजा , वनै रानी, वनै वासिनी, लिसो पासो खेलाई हिड्ने सिर्लिङ सिकारी वनवनै डुलि हिड्ने तिमी त युमा महारानी । सुनैकाँइयो, सुनैधागो, सुनैफुल , सुनैमेडोकी धनी , यो अन्जान बाला जननालाई घोच्ने पोल्ने सोलाहान्ने मुर्छा पर्ने, मन त्यसै बहकिने गराई ल्यायौ है किन ? हे है, तिमी त, लडि मरेको बगि मरेको, पसोलागी अगत्ति परेको , बोक्सी बामती , डायीनी, छौंडा ,वायु - बर्बशी , बुढेनी ,भुत-प्रेत, पिशाच काली मसान, जो भए पनि यो बालालाई अजान मुर्ख सम्झि माफै गरि ,भोग खाइ, आफ्नै थानमा बसी देऊ। क्षमा देऊ ,आफ्नै मानमा रमाई लेऊ तिमि । हे है, नत्र ता , सिस्नोपानी खनिएला, लिसो लाग्ला ,पासो लाग्ला गजो ढ्याङ्ग्रो ठोकिएला, आफैलाई सरम पर्ला । लौ परमेश्वरी ! रिसानी माफ गरी आजै देखि यो बालालाई चट्चट् छोडि देऊ ! " आदि आदि ! उनले थाल ठटाएरै फलाक्न सम्म नै फलाके । एकै रङको पाठो भाकल गरे । क्रमश आमाले आराम भएको महसुस गर्नु भयो । हामी सबैले शान्तिको स्वास फेर्न पायौ ।
अँ, रुढीबादी र परम्पराका कुरा, जसले आज सम्म समाजलाई जकेडेको छ, सम्झना आयो । "दशैं आयो - खाउँला पिउँला । " - केटाकेटीहरु आँगन भरि नै औला भाँचि भाँचि रमाइ रहेका थिए । अहो ! एकैसोक एकैभोग यो बालापन कत्ति रमाईलो हगि ? तर , सधैं कहाँ पाइँदो रहेछ र ? अझ आफ्नो भने उरण्ठेउले उमेरमै जिम्मेवारीले थिचिसकेको रहेछ । र नै आफु दशैको जोहोमा लागिएछ । सबैलाई नयाँ नाना ल्याईयो, चिऊरा कुटियो । भाउज्यू र दिदीहरुले कमेरो र रातो माटोले घर पोतेर बेहुली झै चिटिक्क पारे। टोलटोलमा लिंगे पिङ थापिए । झन् नयाँ नाना धारी भुराहरु पिङमा झुण्डिएर फुरुङ्गै थिए ।
फुलपातीका दिन देखि नै नवदुर्गा भवानीलाई खसी बोका वली चढाएर मार हान्ने चलन आज सम्म छँदै छ । बलीकै बहानाले हामी मनुष्यहरु मांसाहारी भएछौ । वर्षभरि दु:ख बिमारबाट बच्न पाठाहरु भाकल गरेर तिनबाट जन्मेका सबै सन्तानहरु उँधौली, उँभौली, सगुने, भिमसिने , महाँरानीलाई भाकल गरिदो रहेछ । देवाली लगायतका बोकाहरु टाट्ना भरि हुन्थे । पठेक्रीलाई भाकल गरेपछि त्यसबाट जन्मेका सबै सन्ताहरु तिनै देबी देवताको भागमा पर्दथे। र नै वर्षमा अनेकौ पटक बली पुजा गरिन्थ्यो । त्यस सालको दशैमा, पञ्चावली सहित युमा महारानीलाइ भोग दिने पालो परेछ ।
सप्तमीकै दिन गैराघरे साँल्दाई आएर थान थपना बनाए ।कुखुरो , माछा ,टोटला , तोरीको साग, डिम्मा र मदिरा लगायतका सामग्रीहरु तयार पारिए । दाई गाँउ भरिकै विख्यात पुजारी, त्यसैले त भ्याईनभ्याई रहेछ बुढालाई । फलाक्ने त भाकै मिठो , महारानी बक्साएको सुनेरै मनमा शान्ति मिल्थ्यो । त्यसैले ब्यथा ठिक भए झैं लाग्दथ्यो । बेलुका धार्ना दशेकको कालो बोको पानीले पर्छेर ठिक्क पारियो । तर , मार हान्न र बनाइ तुल्याई गर्न बोलाएका स्याङ्देन माल्दाई नआए पछि पो आफु बिलख बन्धमा परियो ।
पुल्ठो बालेरै उनलाई खोज्न गँए, भुंग्रे ज्वरोले थलिएका रहेछन् उनी । अरु जन्तरे लगायतका सबै भाईहरु दशैको सौदा लिन धरान बजार गएका रहेछन् । ताप्लेजुङ्को खेजेनिम , दुर्गम गाँउको पातलो बस्ति , बोको छिनाउने कोहि भेटिएन । ठुल्दाई , गैराघरे भतिजहरु लगायत गोठमा र अरु पढाईको सिलसिलामा बाहिरै थिए । उध्याएर तयार पारिएको हतियार र उम्लिएको पानी समेत खेर जाने भयो । मार हान्ने मानिस कोहि भेटिएन । यध्यपि,मेरो काँधमा भने सप्तमीको कालरात्री चढि सकेको रहेछ।
बोको बली नदिउँ त अघि नै महाँरानी बक्साई सकेको छ । फेरी महारानी रिसाईन् भने क-कसलाई के के हुने हो ? अर्कातर्फ पुजारीलाई टाउको, बालीका विश्वकर्मालाई गर्धन, सिलाउने दर्जीको पुच्छ्रे भाग गरी सबैको बडादशै आफू सँगै रहेछ । अहो ! फेरि " लौ परमेश्वरी ! तिमी, सुनैमेडो भोग लिनु " भनेर गरेको संकल्पमा, नदिँदाको बखत के के हुने हो ? बिचार गरेँ- बेईमानि को पनि त हद हुँदो हो । ऊफ ! डर लुकाउने ठाँउ कतै रहेन । आफु अझै बिलखबन्ध मा परियो ।
सबै उपायहरु नास्ति थिए। सोर्ह्र-सत्रको उरण्ठेउले उमेर, जे पर्ला पर्ला "आफै बजाई दिन्छु " - एक मनमा अठोट आयो । भतिज नाताका हेमसागर बराल समेत छिनाउन पन्सिए । बरु बोको समाते । आफुले दुबै हातले बेस्कन हतियार समातेर माथि उठाएँ । अनि पो आँखा चिम्लिएर सम्झिएँ - "आखिर, हत्या कर्म कहिल्यै गरिएको थिएन , न त पछि नै गरौल । आजको फाल टार्न पाए भैगो नि, किन आजै बिटुलो बन्ने ? " - मानौ एउटा काँतर होइन, करुणामयी मन एक्कासी पछाडि हट्यो । महाभारत मा विरक्तिएका अर्जुनले झैं उठाइएको हतियार अचानक बिसाइयो । हेमसागर वाल्ल परे, अनि गलल्ल हाँस्दै बोको फेरि टाट्नैमा बाँधे । बल्ल मनले सचेत गराएरै उपाय बतायो । र नै, पुल्ठो वालेर फेरि उतै गएँ , जहाँ स्याङ्देन अन्तरेहरु ढाकर बिसाउँदै मात्र के थिए । अस्तु ।
____________________________
Post a Comment