गीता उपाध्यायको परिचयः
१४ फरवरी, १९३९ मा असमको शोणितपुर जिल्ला अन्तर्गत बिहालीको गांमौथानमा जन्मिएकी गीता उपाध्यायले घरमै एउटा साहित्यिक,सांस्कृतिक परिवेश पाएकी थिइन्। भारतका स्वतन्त्रता संग्रामी छविलाल उपाध्याय उनका हजुर बुआ थिए। असम प्रादेशिक कंग्रेसका जन्मदाताहरूमा अग्रणी व्यक्ति छविलाल उपाध्यायको असम प्रेमको कुरा स्वतन्त्रता संग्रामको इतिहासको बिर्सि नसक्नु अध्याय हो। उनकै ज्येष्ठ पुत्र साहित्यिक टंकनाथ उपाध्याय गीता उपाध्यायका पिता हुन्। असमका प्रथम नेपाली कथाकार हुन् उनी। सन् 1940 मा काठमाडौंको शारदा पत्रिकामा प्रकाशित उनको पुडके हवलदार शीर्षक कथालाई असमको पहिलो कथा मानिन्छ। टंकनाथ उपाध्याय अनुवादक पनि थिए। शेक्सपियरका तीनवटा अंग्रेजी नाटक उनले नेपालीमा भेनिसको सौदागर,जुलियस सीजर,राजा तृतीय रिचर्ड नाम दिएर अनुवाद गरेका छन्। यसरी एउटा शिक्षित- सुसंस्कृत परिवेश गीता उपाध्यायले जन्म देखि नै पाएकी थिइन्।
गांमौथान बालिका प्राथमिक विद्यालयबाट शुरू भएको गीता उपाध्यायको आनुष्ठानिक शिक्षा जीवन गुवाहाटी विश्वविद्यालयको राजनीति विज्ञान विभागबाट सन 1964 मा स्नातकोत्तर डिग्री लिएर समाप्त भएको हो। गुवाहाटीको सन्दिकै गर्ल्स कलेजबाट उनले स्नातक डिग्री लिएकी हुन्। सन 1965 मा शिवसागर कलेजको राजनीति विज्ञान विभागकी अध्यापिकाको रूपमा नियुक्त भई सन 1999 मा अवकाश लिए तापनि गीता उपाध्याय यहाँका सामाजिक-साहित्यिक-सांस्कृतिक कार्यमा सधैँ नै जडित रहेकै छन्।। कलेजमा अध्यापना गरे देखि नै अनेक सामाजिक र साहित्यिक संस्थाहरूसित गीता उपाध्याय संलग्न रहेकी छन्। सन 1978-79 बाट उनी असम लेखिका संस्थाको सम्पर्कमा आएर पछि सन 2000 देखि 2003 सम्म यस संस्थाकी सभानेत्री पनि भएकी हुन्। उनी नेपाली साहित्य परिषदसित जडित भइन् सन् 1988-89 देखि। सन 1997 बाट 2001 सम्ममा उनले दुई पटक सभानेत्रीको दायित्व सम्भालिन्। असम गोर्खा परिसंघको असम शाखाकी पनि उनी अध्यक्षा रहेकी थिइन्। सर्वभारत महिला निरक्षरता उन्मीलन संस्था,कान्ट्री उइमेन एशोशिएसन, सेवा साधना संस्था, ऐन सहाय संस्था आदि गैरसरकारी संस्थासित संलग्न रही उनले सक्रिय रूपमा समाज सेवा गरेकी हुन् र अझै पनि विभिन्न संस्थासित जडित रही समाजकै काम गरिरहेकी छन्।
गीता उपाध्यायले असमीया र नेपाली दुवै भाषामा प्राय सँगसगैँ लेख्न थालेको देखिन्छ। शुरु शुरुमा नेपालको बिराटनगरको नेपाल नामको पत्रिकामा र बनारसबाट निस्कने तरुण मा उनका नेपाली निबन्धहरू प्रकाशित भएका थिए भने असमको शिवसागरबाट निस्कने जयतीर्थ मा असमीया निबन्धहरू प्रकाशमा आएका थिए।
पद्मप्रसाद ढुङ्गाना स्मृति पुरस्कार, अभिजमान ट्रष्ट पुरस्कार, फूलचन्द्र खण्डेलवाल संहति पुरस्कार, ड. नीलिमा दत्त स्मृति अनुवाद पुरस्कार, लालमान सञ्चरानी स्मृति साहित्यिक पुरस्कार, प्रवीणा शइकीया साहित्य पुरस्कार, साहित्य अकादमी अनुवाद पुरस्कार, साहित्य अकादेमी पुरस्कार आदि धेरै पुरस्कारले गीता उपाध्याय सम्मानित भइसकेकी छन्।
प्रकाशित कृतिः गीता उपाध्यायका धेरै मौलिक र अनुदित नेपाली र असमीया कृति छन्। ती कृतिहरू हुन्-
नेपालीः मौलिकः मन्दाकिनी र अलकानन्दको तीरैतीर केदार बद्रीसम्म ( नियात्रा, 2003) , महापुरूष शंकरदेव जीवन र कर्म( 2003) , कथाञ्जली (कथा, 2008) , एन फ्राङ्कको बाल्यकाल( 2008), जन्मभूमि मेरो स्वदेश( उपन्यास, 2013 ), जीवनलाई फर्केर हेर्दा (आत्मजीवनी,2019)।
अनुदितः एन फ्रेङ्कको डायरी (अङ्ग्रेजीबाट, 1972), आमा म फर्ष्ट भएँ ( आफ्नै मौलिक असमीया कृतिको आफै गरेको नेपाली अनुवाद, 1997), दरबारकी सुसारे (असमीया नाटकको अनुवाद, 2008), अभियात्री ( असमीया उपन्यासको अनुवाद,2010)।
असमीयाः मौलिकः एन फ्रेङ्कर गल्प( 1996), मा मइ फास्ट हलोँ( 1997), भ्रमण सोवरण( 2008), सुवासित बताह( 2005), मोर आइ मोर जन्मभूमि ( 2017)
अनुदितः एन फ्रेङ्कर डायरी (अङ्ग्रेजीबाट असमीया ,1974), भानुभक्तर रामायण(नेपालीबाट असमीया, 1987,), क‘ला सुरुज( नेपालीबाट असमीया, 1998), मुनामदन ( नेपालीबाट असमीया, 2000), नेपाल देशर लोकसाधु( नेपालीबाट असमीया, 2001) निज अभिव्यक्तिर दापोनत धनबहादुर सोनार( नेपालीबाट असमीया,2008), भूमिपूत्र( 2008, अङ्ग्रेजीबाट असमीया), आनन्दी गोपाल( 2008, मराठीबाट असमीया)
सहलेखनमा पनि उनका कृति प्रकाशित भएका छन् भने सम्पादित र सह सम्पादित कृतिहरू पनि छन्।
जीवनलाई फर्केर हेर्दा
जीवनलाई फर्केर हेर्दा गीता उपाध्यायको आत्मजीवनी हो। यस पुस्तकमा कमल दीक्षित,दुर्गाप्रसाद घिमिरे र डा. खगेन्द्रप्रसाद लुइटेलले आफ्ना दुई शब्द राखेका छन् भने उत्तम प्रधानको प्रकाशकीय छ। लेखिकाले थालनीमा लेख्नै पर्ने केही कुरा शीर्षक दिएर आफ्ना रचनाहरूबारे आफ्नै अनुभव व्यक्त गरेकी छन् र धेरै व्यक्तिप्रति कृतज्ञता प्रकट गरेकी छन्। त्यसपछि सर्वमोठ ११६ पृष्ठामा उनले आफ्नो जीवनको परिक्रमालाई जीवन्त रूप दिएकी छन्।
आफ्ना घरको र गाउँको सम्झनाबाट थालिएको छ यो आत्मजीवनी। भारतको स्वतन्त्रता संग्राम र त्यसमा उनका जीबा छविलाल उपाध्याय लगायत अन्यजनहरूको सहभागिताको कुरा प्रारम्भमै छ। लेखिकाले गाउँको रमाइलो वर्णन संगसंगै उनको विद्यार्थी जीवनका रोचक कुराहरू यहाँ सजीव रूपमा झल्काएकी छन्। उनी बि. ए पास गर्ने पहिलो नेपालीभाषी चेली थिइन् यहाँकी। छविलाल उपाध्यायले त्यस खुसीमा ठुलो पार्टी दिएको कुरा पनि यहाँ उल्लेख छ।
सम्प्रीतिका मन छुने सानाठुला कुरासितै असमीया र नेपालीभाषीका संस्कृतिका अनेक पाटा यहाँ चित्रवत वर्णित छन्। लेखिकाको अध्यापक जीवनका अनेक रोचक कुरा, भारत र विदेशका विभिन्न स्थानहरूको भ्रमण प्रसङंगहरू, असम लेखिका संस्था लगायत अन्य संस्थासित उनको सक्रिय सम्पर्क र सहभागिताका कुरा उपन्यासझैँ मनोरम भाषामा अभिव्यक्त भएको छ। अनुवाद र मौलिक लेखनमा कसरी उनको रुचि भयो र लेख्दै गइन्- पाठकले यस्ता प्रश्नहरूका उत्तर पनि यस ग्रन्थमा पाउनेछन्।
प्रख्यात लेखिका गीता उपाध्यायको जीवनका र उनले अनुभव गरेका धेरै कुराहरूले यस ग्रन्थलाई पठनीय पारेको छ। भाषा सरल छ, काव्यिक पनि छ र सलल्ल बगेको छ। लामा, छोटा दुवै किसिमका वाक्य यहाँ छन्। लामा वाक्यमा पनि दुरुहता वा जटिलता छैन। उनको भाषाको नमुना हेरौँ-
यो मानव जातिका लागि अति दुर्भाग्यपूर्ण र दुःखदायी घटना थियो।तर ध्वंसपछि नयाँको सृजना हुन्छ भनेझैँ दोस्रो विश्वयुद्ध पछि विश्वको साहित्य संस्कृतिको क्षेत्रमा सृजनात्मकताको एक नौलो लहर चल्यो।विश्वका स्रष्टाशिल्पीहरूले अनेक प्रकारका नौला परीक्षा प्रयोग भित्र्याएर विध्वंसी विश्वयुद्धले गरेको क्षयक्षति र मानवीय संवेदनाको अवक्षयको भरपाइ गर्ने कम्मर कसे ।( पृ.४)
सन् १९९८ मा म ६ महिनाको एन. सी. सी ट्रेइनिङ लिन भनेर मध्यप्रदेशको भोपाल पुगेँ। पहिले जाँदा त त्यति गर्मी थिएन तर पछि यति धेरै गर्मी भयो,फेनले त तातो हावा के फ्याँक्नु, राति ओछ्यानमा सुत्न नसक्नु तातो हुन्थ्यो। ओछ्यानमा पानी छर्किँदा पनि एकैछिनमा सुकिजाने ।( पृ.५५)
डा. इन्दु प्रभा देवी
सहयोगी अध्यापिका, असमीया विभाग,
बि बरुवा कलेज,गुवाहाटी, असम, भारत ।
Post a Comment