• theoxygentimes@gmail.com

Blog


म गोलभेँडा हुँ। कता-कता मलाई रामभेँडा पनि भनिन्छ भने अहिलेको विश्वायनको युगमा मलाई टमाटर वा टमेटो भनेर आधुनिक जमातले चिन्दछ। मेरो परिवारमा मोठ १२ वटा प्रजाति छन्। तर तिनमा धेरथोर गरी समानै गुण उपलब्ध छन्।  मलाई वनस्पति विज्ञानीहरूले Solanum lycopersicum नाम दिएर न्वारन गरेका छन्। मेरा विभिन्न प्रजाति यस प्रकारका छन् :

१. चेरी टमेटो (मार्बल/ गुच्चा आकृतिको)

२. रोमा टमेटो (हाइब्रिड जस्तो)

३. सन् मर्जेनो (चेप्टो, खुर्सानी जस्तो)

४. बेटर ब्वय (हामीले प्राय: खाने केही अमिलो)

५. चेरोकी टमेटो ( युरोपतिर पाइने)

६. अर्ली गर्ल ( सुन्दर,चिल्लो गोल)

७. ब्लैक क्रिम (देख्नमा केही कालो, दक्षिण अमेरिकातिर धेर फल्ने )

८. सेलिब्रिटी टमेटो (देख्नमा सुडौल, गोलो)

९. ब्रैण्डीवाइन (युरोपतिर धेर हुने)

१०. सुपरस्वीट (मीठो, सुन्दर )

११. कुमेटो (केही लाम्चो,केही गोलो)

१२. गार्डेनर्स डिलाईट (विश्वका प्रायः देशमा पाइने)

   साधारणत: म काँचो छंँदा पातलो हरियो हुन्छु भने पाक्दै जाँदा म पहेँलोबाट सुन्तले अनि सम्पूर्ण पाके पछि म रातै देखिन्छु। मलाई रूचाउनेहरूको जनसङ्ख्या संसारमा धेरै छ। मलाई कतिपयले फल भनेका छन् त कसैले तरकारी। तर म दुवै रूपमा प्रसिद्ध छु। मलाई सलाद रूपमा धेर प्रयोग गरेको देखिन्छ भने धेरैले मबाट बनिएको रातो अमिलो अमिलो,मीठो लाग्ने सूप (झोल) त कसैले लौकी,पत्ताकोपि,फूलकोपिको तरकारीमा काँचो धनियाँ मिसाएर स्वादिलो व्यञ्जन बनाउँदछन्। कतिपयले त मासुमा पनि मिलाउँछन् भने सुप बनाइएको माछाको तरकारी त धेरैदिनसम्म जिब्रोमै झुण्डिरहन्छ भन्छन् माछा खानेहरू। टमेटो कैचप,सूप,चट्नी, सलाद रूपमा मैले वर्तमान प्रसिद्धि पाएको छु।

    मलाई अन्यतम् एन्टिअक्सिडेन्ट गुण भएको वनस्पति फल मानिन्छ। मभित्र औषधीय पोषक तत्वले मुटुको (स्ट्रोक वा हृदयघात) रोग निरामय गर्न निर्णायक भूमिका खेलेको हुन्छ। मभित्र भिटामिन सी (१४मिलिग्राम प्रति १०० ग्राममा) भिटामिन के१,(हड्डीको मजबुती र ब्लड कोटिङबाट बचाउने तत्वयुक्त) फोलेटयुक्त भिटामिन बी९,(शिरा-उपशिराको स्वाभाविक क्रिया र गर्भवती महिलालाई चाहिने पोषक तत्वयुक्त), कार्बोहाइड्रेटको ४ % म काँचो हुँदा पाइन्छ र म पाकेपछि  प्रति १२३ ग्राममा ५ ग्राम कार्बोहाइड्रेट मभित्र पाइन्छ। मभित्र पाइने ७०% कार्बोहाइड्रेटमा ग्लूकोज र फ्रुक्टोजको उपस्थिति हुन्छ। मभित्र पाइने लाइकोपेन,बिटा कैरोटिन भिटामिन-'ए'मा रूपान्तर भएर रोग प्रतिरोधी शक्ति उत्पादन हुन्छ। मेरो बाहिरी बोक्रामा हुने नैरिनजेनिन तत्वले खानेको छालामा उज्ज्वलता ल्याउँछ भने बोक्रामा पाइने क्लोरोजेनिक अम्ल (एसिड)ले रक्तचाप घटाउने काम गर्छ। ममा उपलब्ध क्लोरोफिल्स र कैरोटिनोइड्स लाइकोपेन तत्वले गर्दा मेरो रङ्ग उज्यालो देखिन्छ।

   मभित्र कैलोरीको मात्रा १८ (१०० ग्राममा १७.६९) हुन्छ भने प्रोटिनको मात्रा ०.९ ग्राम, पानी सर्वाधिक ९५%, कार्बोहाइड्रेट ३.९ ग्राम,चिनी २.६ ग्राम, रेशा (फाइवर)१.२ ग्राम हुन्छ। यी पोषकीय तत्वले शरीरमा वृद्धि हुनसक्ने कोलेस्टेरोललाई पनि सन्तुलन गर्छ।

   आधुनिक युगमा मेरो अस्तित्व प्राकृतिक रूपमा थोरै रहेर रासायनिक खादको अत्याचार र क्लोनिङको प्रभावमा टेस्ट ट्यूब बेबी जस्तै सबै ऋतुमा अधिक फल्ने हाइब्रिड बनाएको छ मान्छेले। तर जैविक खादमा प्राकृतिक रूपमा म फल्दा मभित्र जति पोषकीय तत्व हुन्छ, मान्छेले त्यो गुण हाइब्रिडमा कदापि पाउँदैन। मलाई हरियै टिपेर बेपारीले ethylene gas भन्ने विषाक्त रसायन प्रयोग गरेर राति भित्रै रातै बनाउँछन्। त्यस्ता विषाक्त गेसले मान्छेलाई क्यान्सर, खुनको रोग उपहार दिनसक्छ।

  मभित्र पाइने पोषकीय तत्वले क्यान्सर,छालाको रोग, मुटुको रोग आदि रोकथाम गर्छन् । ब्युटी पार्लरमा पनि सुन्दरी देखिन चाहनेहरूले काँक्राका गोलाचिरासाथ मलाई पनि आंँखामा निकैबेर सुताएर सन्तुष्टि लिन्छन् । यस्ता गुणकारी तत्त्व हुनाले मलाई पकाएर होइन,सलाद रूपमा खाने परामर्श दिन्छु।

 

                                                               __________________________

Post a Comment