• theoxygentimes@gmail.com

Blog


वनस्पति कथायात्रा-७ : मकैको आत्मकथा

रेवतीरमण सापकोटा,    ओदालगढी, असम

म मकै हुँ। म पृथिवीका धेरै ठाउँमा चामल र गहुँको विकल्प मूल खाद्यान्न हुनाले खानेले मलाई हर्षका साथ तेस्रो चामल पनि भनेका छन्। मेरो वैज्ञानिक नाम Zea Mays (Spanish) हो र अमेरिकामा मलाई Corn भनेर चिनिन्छ। म तृण जातीय उखु जस्तै  Poaceae परिवारमा र Panicoideae उप परिवारमा दर्ता भएको छु।  मेरो भाले भागलाई चमार र पोथी भागलाई जुँगा भनिन्छ र बारेमा २करोड५० लाखसम्म पराग हुन्छन् र पोथी भागमा २५० देखि १००० सम्म जुँगा हुन्छन् र एउटा जुँगाले मेरो एउटा गेडो बनिन्छ।

   मलाई पहाडी र तराई दुवै क्षेत्रमा उत्पादन गर्न सकिन्छ तर तराई भन्दा पहाडी भेकमा मेरो उत्पादन राम्रो हुन्छ किनभने म गर्मी भन्दा चिसो परिवेशमा फुल्न फल्न मन पराउँछु। उत्तर र दक्षिण अमेरिकाका प्रायः ठाउँमा मेरो खेती विशाल रूपमा गरिन्छ। त्यसैपनि वनस्पतिविद् र इतिहासकारहरूले  मेरो पहिलो उत्पत्ति दक्षिण केन्द्रीय मेक्सिकोको बलसास नदी उपत्यकामा भएको पत्तो लगाएका छन्। पछि त्यहाँ आएका स्पेनिसहरूले मेरो बीज यूरोपका विभिन्न देशमा लगेर छरे अनि त्यसरी नै मेरो विस्तार हुँदै गएको हो। वनस्पतिविदहरूले मेरो जैविक उत्कृष्ट उत्पादनको निम्ति १० डिग्री देखि ३८ डिग्री सेल्सियसको हाराहारीको तापमान राम्रो भनेका हुनाले पहाडी क्षेत्रमा मेरो उत्पादन राम्रो भएको भन्न सकिन्छ।

   म फल वा चामल र गहुँको विकल्प रूपमा मूल खाद्यान्न हुनाले मलाई दुवैथोक भन्नसक्नु हुन्छ। मेरो बोट प्रायः ३ देखि १३ मिटर उचाईसम्म हुन्छ। मेरो बीज छरेको ६० दिनदेखि १०० दिनभित्र म  घोगाको रूपमा तयार हुन्छु। मेरो बोटका बीचमा घोगा बढ्न लाग्छन्।  नेपालको पहाडी र तराई भूभाग, भारतको कर्नाटक,राजस्थान, मध्यप्रदेश, उत्तराखण्ड, सिक्किम, बङ्गालको दार्जीलिङ्ग, हिमाचल प्रदेश, उत्तर प्रदेश र बिहारमा मेरो उत्पादन यथेष्ट मात्रामा हुन्छ। अमेरिकाले त विश्वलाई चाहिने मेरो ३५%  उत्पादन गर्छ।

   मेरा मूलतः ६ प्रकारका प्रजाति छन्। ती हुन्- डेन्टकर्न, फ्लिन्टकर्न, पडकर्न, पपकर्न, फ्लोरकर्न र स्वीटकर्न। तर कतिपय वनस्पतिविद्हरूले मेरा अरू तीनवटा प्रजाति वाक्सीकर्न, एमिलोकर्न र स्ट्राइप्ड कर्न पनि छन् भनेका छन्। मभित्र मुख्यतः २०वटा क्रोमोजोम (गुणसूत्र) हुन्छन् भनिएको छ। पोषकतत्वविदहरूले म भित्र मुख्य पोषकतत्व श्वेतसार(स्टार्च) फाइबर (रेशा),चर्वी र गौण पोषकतत्व जस्तै भिटामिन-बी कम्प्लेक्स, आवश्यकीय खनिज पदार्थ जस्तै मेग्नेसियम, जिङ्क, फोसफोरस, कपर पाइन्छ भनेका छन्। मभित्र प्रोटिन कम्ति भए पनि कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ। मेरो एककप स्वीटकर्नमा (१६४ ग्राम) १७७ कैलोरी पाइन्छ र मभित्र १०% देखि १५% प्रोटिन पाइन्छ। उत्तम एन्टिअक्सिडेन्ट मानिएको मेरो फलबाट आधुनिकीकरणको प्रभावले  मकैको चामल, आँटा, फ्लैक्स, पपकर्न,टर्चिला रूपमा बजारमा बिक्री वितरण गरिन्छ। अमेरिकाले मबाट बरबर्न व्हिस्की पनि उत्पादन गरेको छ। यतिमात्रै होइन, अमेरिकाले मेरो मोठ उत्पादनबाट ३५%  इथानोल र अरू जैविक इन्धन र खानेतेल पनि उत्पादन गर्छ।

    नेपालीभाषीहरूको पारम्परिक खानपानमा मेरो  उच्चस्थान छँदैछ। खाजा रूपमा मलाई काँचै पोलेर खानेको सङ्ख्या धेरै छ। पहाडी क्षेत्रमा मेरो ढिंडो खाने जातीय परम्परा नै हो। तर काँचै पोलेर खांँदा मलाई टिपेर ल्याउनेसाथ खाए मेरो स्वाद अति मिठो हुन्छ भने बासी राखेर खाए मेरो स्वादमा परिवर्तन हुन्छ। मेरो सेवनले आंँखामा ज्योति वृद्धि हुने कुरा पनि वनस्पतिविदहरूले भनेका छन् भने मेरो भुटुवाले मुटु स्वस्थ राख्ने, क्यान्सरबाट बचाउने, कोलेस्ट्रोल कम गर्ने, बुढ्यौली रोकथाम गर्ने,मोटोपन घटाउने, हड्डी मजबूत पार्ने, मधुमेह रोगीहरूको इन्सुलिन स्तर नियमित राख्ने आदि काम गर्छ। उता, काँचो पोलेको मभित्र फोलिक एसिड, कार्बोहाइड्रेट र प्रोटिन, 'भिटामिन-सी'को मात्रा यथेष्ट मात्रामा पाइन्छ। मृगौला (किड्नी), क्यान्सरको रोकथाम, कब्जियत,अल्चर, रुघाखोकीको रोकथाम, पाचनशक्ति वृद्धि, नानीहरूको शारीरिक र मानसिक विकास, गर्भवतीलाई चाहिने फोलिक एसिड र आइरनको प्राचुर्यता पनि मेरो पोलेको गेडामा पाइन्छ। गाईवस्तुको पनि म हिँजो आज प्रिय दाना भएको छु।

  राणाकालीन शासनमा वि०स० १९७७मा एकजना सुब्बा कृष्णलाल अधिकारीलाई तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले'मकैको खेती' पुस्तक लेखेर छपाएको अपराधमा कारागारमा थुन्दा बन्दी अवस्थामै तिनको मृत्यु भएको थियो ‌। नेपाली साहित्यमा यो घटनाक्रमलाई 'मकैपर्व' भनिन्छ। अन्तमा, नेपालको गोर्खा जिल्लामा अहिले पनि मलाई छर्नु भन्दा अघि मेरो बिहे गराइदिने चलन छ जसरी असम मुलुकमा खडेरी लागे भ्यागुताको बिहे गराइदिने परम्परा छ। यसो गर्दा मेरो उत्पादन राम्रो हुन्छ भन्ने लोकविश्वास छ।

                            ०००

Post a Comment