कथाः मौन सभा
अञ्जन बाँसकोटा, समारदलनी, विश्वनाथ, असम
‘सन्माननीय सदस्यवृन्द, तँपाईहरू कृपया शान्त रहनु हओस। हाम्रा सचिव महोदयले वाहाँको कर्म व्यस्तताको कारणले गर्दा बिगत सभाको कार्यब्यौरा टिपोट गर्न भ्याउनु भएको थिएन। अबका केही क्षणमै वाहाँको लेखाइ सिद्धिन्छ.....र हाम्रो आजको सभाको थालनि हुने छ.........’ नीलपुर युवा सङ्गठनका अध्यक्ष जगदीशले यसैबिच एउटा सूचना दिए। अध्यक्षको घोषणापछि सदस्यहरू अलिक शान्त भए। कतिपएले राम्रै माने किनभने सभा-समिति आदि ‘बुढ़ा मान्छेहरूले गर्ने काम-कुरा हुन’।
‘नीलपुर युवा सङ्गठन’ समग्र नीलपुर भेकका विभिन्न भाषा-भाषी, जाति-जनसमुदायका युवाहरूको एउटा साझा अनुष्ठान हो। नीलपुर भेकमा आइपरेका विभिन्न आपदा, सङ्कट र समस्याको घड़ीमा नीलपुर युवा सङ्गठनले नीलपुरवासीको पक्षमा रहेर आवाज उठाएकै पाइन्छ। वर्ष दिनको सबैको प्यारो चाँड़ दशैं र वैशाखमा ‘बिहु’१को सांस्कृतिक अनुष्ठान आदिको पारम्परिक रूपले आयोजना गर्ने गर्दछ। साथै स्थानीय शिक्षक-शिक्षिकाहरूको सहायतामा गर्मी बिदाको बेला गाउँका विद्यार्थीलाई एकत्रित पारेर निशुल्क पाठदानको चाँजो आदि मिलाउनको साथै गाउँ घरका विवाह कार्य आदिमा ऐकबद्ध रूपमा सक्दो मदत पूऱ्याएको देखिन्छ।
बृहत् नीलपुर अञ्चलका सोह्र बर्ष नाघेका युवाहरूलाई समेटेर नब्बे दशकको शेषान्तमा प्रतिष्ठा भएको यो अनुष्ठानले स्थानीय तहको साथ साथ छर-छिमेकी गाउँ-ठाउँमा उल्लेखनीय सामाजिक काम-कार्यको साथ साथ गरीब निमुखा वर्गलाई मदतको हाथ अघिसारेर छेउ छाउको अञ्चल लगायत समग्र राज्यभरिमै आफ्नो नामको प्रचार एवम् प्रसार गर्नमा सफल भएको छ । हालको समयमा युवावर्गको समाज सङ्गठन, समाज सेवाप्रति मोह भङ्ग भएको समयमै समाज तथा देशको भविष्य पीढ़िलाई समाज सेवातर्फ प्रोत्साहित तुल्याउनु, उत्प्रेरित पार्नुनै नीलपुर युवा सङ्गठनको प्रमुख उद्देश्य रहेको छ। एउटा समयमा यो नीलपुर युवा सङ्गठनलाई दोहोऱ्याउने तथा दिशा निर्देशना दिने धेरै युवा नेता आज असम लोकसेवा आयोग (ए.पि.एस.सि२)ले आयोजना गर्ने ए.पि. एस३, ए.सि. एस४, ए.जे.एस५ आदि अति उच्च ओहोदाका जागिरे बनेका छन्। कतिजना त अति सक्रियताका साथ समाज सेवामा जुटेका पनि छन्। उनै पूर्व सदस्यहरूलाई उपदेष्टाको रूपमा लिएर आजका युवा पिढ़ीले नीलपुर युवा सङ्गठनको पूर्वको गरिमालाई गतिमान तुल्याउनको उद्देश्यले समय समयमा विभिन्न समयोपयोगि कदम चालेको देख्न पाइएको छ।
यसपालि नीलपुर युवा सङ्गठनका सचिव महेश सिबाकोटीले हालैमा हाईस्कुल र उच्चतर माध्यमिक निर्णायक परीक्षामा सफलताको साथ उत्तीर्ण भएका बृहत् नीलपुर भेकका विद्यार्थीलाई स्वागत-अभिनन्दन ज्ञापन कसरी गर्ने त्यसको सल्लाह गर्न एवम् सिद्धान्त लिनहुन एउटा बर्धित कार्यकारिणी सभा डाकेको रहेछ। समय हुँदै गएपछि डाक्ले केटाहरू एकाएक गरी सभागारमा आउन लागे। अध्यक्ष जगदीश कनभार्टरको उज्यालाको आड़मा खबर कागज पढ़दै छन्। सचिव महेश बिगत कार्यकारिणी सभाको कार्यब्यौरा लेखि रहेकै छन्। महेश र जगदीशको उमेर २५-२७ को भित्रैमा छ। अरु सदस्यको उमेर १६ देखि २२ भित्रमै छ। बाकी सदस्यहरू तेकिएको समयभन्दा आधाघन्टा ब्यालो गरेर लोते-लोते गर्दै सभागार भित्र प्रवेश गरे। तर एका एक सदस्य खाँबो कता छ, भित्तो, वालको कुनो खोज्दै, कोई अलिक अँध्यारो खोज्दै टसक्क बस्दै आ-आफ्नो पकेटवाट आफ्नो प्राणप्यारो मोबाइल निकाल्दै टिप-टाप गर्न लागे। कोही फेसबुकमा ब्यस्त छन् भने कोइ वाटस्एप, टुइटारमा कसैलाई फोलो गर्दै, कोइ टिकटकमा हालेको भिडिओको लाइक, कमेन्टको गन्तीमा। कसैले भर्खरै यूट्युव च्यानेल खोलेका छन्...उसलाई लाइक-कमेन्ट र साबस्क्राइबर बड़ाउनको टन्टा....। कोही अँध्यारो पटिको भित्तामा टाँस्सिएर फोनमा लामो समयदेखि साउती मार्दै छन्। कसैको कसैलाई हेर्ने, बोल्ने, के-कस्तो छ, सन्चो-बिसन्चोको खबर राख्नेको अवकाशै छैन। सबै आफ्नै धूनमा व्यस्त। सबै आफ्नै सपनाको राज्यमा रोमलिएका छन्। कसैको अर्काको अनुहारतिर हेर्ने, बोल्ने मानौ फूर्सतै छैन। गुटखाको प्याकेट फालेर जर्दा मिसाँउदै हल्लाएको छन्दोबद्ध शब्दले कसैको ध्यानाकर्षण, कसैको ध्यानभङ्ग गरेको छ बिच बिचमा । हाथ पसार्नेहरू यन्त्रवत् पाराले लुरु लुरु गुटखा मिलाउँदाको आवाजलाई अनुसरण गर्दै लाम लागेका छन्। कसैले सुर्ती मोलेकै हो कि मच्छड़ धपाएकै हो....बिस्तारै ट्याप्प ट्याप्प पारेको शब्दले केही क्षणको लागि मौनतामा बिराम लगाएता पनि सभाको मझेरीमा पुनः मौनताको ग्रास परेकै हुन्थ्यो। सबै ब्यस्त आफ्नै प्यारो एकान्तमा, मौनताको राज्यमा.......।
सचिव महेशले बिगत सभाको टिपोट सिद्धाएपछि सभामा को को आएका रहेछन् र सभामा किन एस्तो मौनताले छाएको हो भन्ने आसय राखेर एक फन्को लगाउँदा एउटा उराठलाग्दो छवि आँखामा पऱ्यो। सभाको स्वयम् अध्यक्षज्यू नै खबर कागजको पन्नामा व्यस्त छन्। सचिव महेशले कनभार्टर आफ्नो हाथमा बोकेर अँध्याराको, कुना-कोप्चामा बसेका जम्मै सदस्यको नजिक गई सबैलाई सभाको निम्ति ओच्छाएका कठ६मा बसिदिने गुहार लगाएपछि मात्र जम्मै सदस्य आ-आफ्नो स्वर्ग राज्यवाट फर्किएर सभागारमा आसन ग्रहण गर्ने बिषयप्रति सचेत बने। अध्यक्ष जगदीशले पनि घाँटी सफा गर्दै सबै सदस्यलाई आ-आफ्नो आसनमा आसीन हुन आह्वान गरे। सचिव-अध्यक्षले सभामा बसिदिन हुन गुहार लगाउँदा पनि दुईजाना जति सदस्य फोनमा आफ्नै कोइ प्रियजनसित कुरा गर्नमा व्यस्त थिए। सायद अब अध्यक्ष जगदीशले हुइपनै जारी गर्लान।
सचिव महेश अलिक निराश हुँदै सोच्न लागे अब पूर्वका झैं सभा-समिति डाक्ने, मान्छे बोलाउने दिन गएछन्। सबै सदस्यलाई चलभाषद्वारा बिषय बारे अबगत गराएर सहमति लिएर अध्यक्षको सही-छाप लिँदै अबका दिनमा कार्य गर्ने समय आएछ...। नभए नीलपुर युवा सङ्गठनका वर्तमानका सदस्यहरू बिच किन र कसरी समाज सेवाप्रति यस्तोखाले मनस्थिति देखा पऱ्यो? सभा-समिति, मेल-मिटिङ भन्दा आजका युवावर्ग किन यतिसारो तर्किन लागे? आजका युवा सदस्यहरूको बिच पूर्वका सदस्यहरूको सरह आफ्नो गाउँ-ठाउँ, छर-छिमेकीको दुःख-पीढ़ा, आपदामा खड़ा हुने, समाज सेवा, देश-जातिको सेवामा मरिमेटने निःस्वार्थ भावनाको ठाउँमा सस्तो मानसिकताले गुँड़ लगाएको छ, सामाजिक सञ्जालको रङ्गीन दुनियाँमा आजका युवावर्ग रत्तिएका छन्। आजका युवावर्गलाई सामाजिक सञ्जालको रङ्गीन दुनियाँले के सारो मक्ख पारेको हो। महेश पुनः सोचमा मग्न भए....हो इन्टारनेट, इ-मेइल आदिको हामीलाई खाँचो छ। सञ्चार माध्यम बिना अहिलेको हाम्रो जीवन मानौं अधुरोनै हुन्छ। तर यी सब हाम्रो उन्नति-प्रगतिको काममा मात्र लागोस न त। तर यो त हामीलाई जाँगर मरुवा, निःस्कर्मा तथा पङ्गु बनाउनको लागि मात्र जस्तो देखिन्छ...। उसलाई उपलब्धि भयो हाम्रा युवाहरु कर्म बिमुख, निःकामे बनेका होइनन अपितु सस्तो लोकप्रियताको पछि लागेका, सामाजिक सञ्जालको रङ्गीन मायाजालको पाराकाष्ठा नाघेर उक्सिन नसकेर भार्चुवेल मायाजालको इन्द्रेनीसित मितेरी गाँसेर मिथ्याचारको दलदलमा दाबिएका छन्। हुन त सञ्चार माध्यमको सदुपयोग गर्दै जाँगरीला धेरै युवाले यूट्युव च्यानेल खोलेका छन्, दुई पैसा कमाएका पनि छन्। गाउँघरका धनाढ्यहरू आफ्ना सन्तानलाई सहरका नामी-दामी पाठशालामा पढ़ाउनको लागी सहरतर्फ घड़ेरी किनेर सहरे बनेका छन्। एउटा समयमा नीलपुर युवा सङ्गठनलाई आड़-भरोसा, टेवा दिने धेरै पूर्व सदस्य आ-आफ्नो स्वार्थ हत्याउन सहरतर्फ लागेका छन्। उनीहरूले गाउँ-घरका आफन्त लगायत नीलपुर युवा सङ्गठनसित नाता तोड़ेका छन्।
अनेकौं दूर्भावनाले महेशलाई आक्रोशित तुल्याएको छ। ‘आजको यो मौन सभाको निम्ति के युवाहरू मात्र दोषी हुन त?’ समाजका प्रत्येक मान्छेले नीलपुर युवा सङ्गठनले केही अलिकति भूल गरेको खण्डमा आचोलना-समालोचना गरेर युवाहरूको आत्मप्रतिष्ठालाई लाञ्छन लगाउन कुनै कमी छाड़दैन, धिक्कार दिन कोही पछि हटदैनन। तर समाजकै बुद्धिजीवि अघिबड़ेर आएर युवाहरूलाई डोहोऱ्याउँदैनन् किन? युवालाई नयाँ दिशा निर्देशना दिनु, मार्ग दर्शन दिएर सही बाटोमा युगसापेक्ष ढङ्गले हिड़ाउने दायित्व निश्चयनै अग्रजहरूकै हो....तर बिड़म्बना धेरै समयमा युवाहरू अवहेलितनै हुन्छन। अघिबड़ेर ज्येष्ठजन नआएको खण्डमा युवाहरू हतासिन्छन। जसले गर्दा हो हल्ला, नयाँ जाँगरको साथ नयाँ नयाँ प्रस्ताव लिएर अघिबड़ने समयमा सभागारमा मौनताले छाएको दृष्टिकटु पाराले देखिन्छ.....युवाको सदन मौन रहे भोलीको समाज मूक बन्ने छ....।
धेरै सोच बिचार गरेर सचिव महेशले मौन सभाको जड़ता भङ्ग गर्दै अध्यक्ष महोदयलाई अध्यक्षीय आसनमा आसीन हुन आह्वान गरे। ....बिस्तारै सबैले आ-आफ्नो प्यारो चलभाष गोजीभित्र भराए । महेशलाई आशा छ, यतिञ्जेल युवाहरूको कायिक उपस्थिति मात्रै पाएको यस सभाकक्षले अब उनीहरूको मानसिक उपस्थिति पनि पाउने छ । यतिञ्जेलको मौन सभा अब मुखरित हुने छ, सार्थक सभा बन्ने छ......।।
****
सन्दर्भ शब्दार्थः
- बिहुः बिहु असमको जातीय चाड़ हो। वैशाखको पहिलो सातामा असमेली जनताले मनाउने जातीय उत्सवको नाम हो बिहु। बिहुको समयमा घरघर गएर युवक-युवती तथा पुरुष-महिलाले बिहुगीत, बिहु नाच गाउने चलन छ। हाम्रो देउसी-भैली सरह हो बिहु गीत-नृत्य। पालनको परम्परामा स्वाभाविक फरक छ।
- ए.पि.एस.सिः असम लोकसेवा आयोग।
- ए.पि. एसः असम लोकसभा आयोगद्वारा आयोजित प्रतियोगितामूलक जाँच पास गरेपछि पाइने स्तरको जागीर, ओहदा।
- ए.सि. एसः असम लोकसभा आयोगद्वारा आयोजित प्रतियोगितामूलक जाँच पास गरेपछि पाइने उच्च स्तरको जागीर, ओहदा।
- ए.जे.एसः असमको न्यायिक सेवासित जुड़ित सेवा। ‘आसाम जुडिसिएल सर्विस’ नामले जानिन्छ।
- कठः नेपाली समाजमा भूईमा बस्दामा ओच्छाउने गुन्द्रीसरह आसन हो। असमेली कीर्तनगृहमा भक्तालु बस्नु पर्दा कठमा बस्ने गर्दछन्। गुन्द्री जसरी परालवाट बुनेर प्रस्तुत गरिन्छ। कठ पनि काँसका पातवाट हाते सीपले मसिनो पाराले प्रस्तुत गरिन्छ। कठ एउटा भूईँमा बस्ने आसन हो।
(ठेगेनाः समारदलनी, विश्वनाथ, असमः ७८४१७५ चलभाषः ७००२७०२२६८)
Post a Comment