Blog

होली- परम्परा र चिन्ता

Blog Image

होली- परम्परा र चिन्ता

  डा. चिन्तामणि शर्मा

 अध्यक्ष,विश्वनाथ कलेज, विश्वनाथ, असम         

   सम्पर्क: 7002561613

 

          "होली अथवा फागु पूर्णिमा" फाल्गुण महिनामा भारत लगायत विश्वका विभिन्न ठाउँमा हिन्दु धर्मावलम्बीहरूले मनाउने चाड हो । असममा यसलाई 'दौल उत्सव' भनिन्छ । बसन्त ऋतुको फाल्गुण शुल्क अष्टमीदेखि पूर्णिमासम्म मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर निकै हर्षोल्लाशका साथ मनाइने यो पर्वमा स-सानादेखि तन्नेरी र बुढाबुढी पनि भाग लिने गर्छन् । रङ्गहरूको  चाड होली पर्वमा यस्तो परिवेशको सृजना हुन्छ कि रङ्ग छैन भने होली उत्सवको आनन्दको कल्पना पनि गर्न सकिँदैन । असुर शक्तिको संहार गरी सत्यको विजय भएको अनेकौं  कथासँग यो पर्व मनाइने कुराको सम्बन्ध रहेको कुरा प्राचीन ग्रन्थहरूमा पाइन्छ । वैज्ञानिक दृष्टिकोणमा होली पर्वको लाभदायक पक्ष पनि छ । होली उत्सवमा "होलिका दहन" गर्ने परम्पराको एउटा वैज्ञानिक व्याख्या छ । पूर्णिमामा होलिका दहन गरिन्छ । होलीको पर्व जाडो जाने र ग्रीष्मको आगमन हुने समयमा मनाइन्छ । मौसमको परिवर्तन तथा दिन र रात समान हुने यस समयमा वातावरणमा विजाणुको(Bacteria) सङ्ख्या अत्यधिक रूपमा वृद्धि हुने गर्छ र त्यसकारण हैजा ,मलेरिया, खोकी जस्ता सङ्क्रामक रोग मानिसमा बढेको देखिन्छ। "होलिका दहन" मा जलाइएको होलिकाले तापमान बढाएर विजाणु मार्छ । त्यस कारण जलिरहेको होलिकाको परिभ्रमण गर्ने परम्परा छ ताकि शरीरलाई चाहिएको तापमान उपलब्ध होस् र सङ्क्रामक रोगबाट मुक्त हुन सकियोस् ।  होली उत्सवका समयमा ढेर जसो निन्द्रा लाग्ने गर्छ र आलस्यको भाव बढ्ने गर्छ । होलीको अवसरमा गरिने नाच-गान, हल्ला-गुल्ला, हाँसो र बसिबियाँलोले आलस्य भाव नष्ट गरि नया जोश प्रदान गर्छ ।

 मुख्यतः हिन्दु धर्मावलम्बीको चाड भएता पनि रङ्गको यो उत्सवमा अचेल अन्य धर्मका व्यक्तिको पनि सहभागिता देखिएको छ । अन्य धर्मका व्यक्तिपनि परस्परमा रङ्ग छ्याप्ने गर्दछन् । यो उत्सवमा आपसी मन-मुटाव अथवा पुराना कुराहरू विर्सिएर आपसमा पुनः मेलका साथ अघि बढ्ने कसरत पनि हुन्छ । सबै बीच मैत्री र भाइचाराको संदेश दिने पर्व हो होली । प्राचीन कालमा प्रचूर मात्रामा प्राकृतिक रङ्ग उपलब्ध हुने गर्थ्यो अथवा प्राकृतिक तरिकाले घरैमा रङ्ग प्रस्तुत गरेर होली मनाइने चलन थियो । होलीको पवित्र माहौलमा सबैले आनन्द लिने गर्थे । मुहारमा दलिएको रङ्गले अथवा शरीरका विभिन्न अङ्गमा रङ्ग छ्याप्दा पनि त्यस रङ्गले स्वास्थ्यमा कुनै प्रतिकुल प्रभाव परेको परिलक्षित हुँदैनथ्यो किनभने त्यस प्रकारको रङ्गमा हानिकारक रसायनिक पदार्थ मिसाउने परम्परा थिएन । पहेँलो रङ्गका ठाउँमा प्राकृतिक हर्दीको प्रयोग हुन्थ्यो भने हरियो रङ्गको ठाउँमा हेना पाउडर व्यवहार गरिन्थ्यो र त्यसैगरि केवल प्रकृतिमा उपलब्ध उद्भिदबाट अन्यान्य रङ्ग प्रस्तुत गरेर होली मनाइने चलन थियो जसले गर्दा परस्परमा सुरक्षित रूपमा होली खेल्ने चलन थियो । जनसंख्या वृद्धि ,आधुनिकीकरण आदिले गर्दा वन जङ्गलको विनाश भएकाले चाहिएको रङ्ग घरैमा प्राकृतिक रुपमा प्रस्तुत गर्न नसकिने अवस्था आएको छ । फेरि अर्कातिर  उज्यालो , सस्तो रङ्ग उद्पादन गर्ने उद्योग पनि अचेल बढिरहेका छन् जसले गर्दा होलीको अवसरमा यस प्रकारको रङ्ग व्यवहार गर्ने चलन बढेको छ । हुन ता प्राकृतिक रङ्ग पनि कैयौँ उद्योगले उत्पादन गरेर बजारमा विक्रीका लागि उपलब्ध नगराएका होइनन् तर प्राकृतिक र स्वास्थ्यलाई असर नपार्ने रङ्गको रकम तुलनात्मक रुपमा शरीरको विभिन्न अङ्गलाई क्षति पुर्‍याउने रसायनिक पदार्थ प्रयोग भएका चमकदार रङ्ग भन्दा अधिक भएको हुँदा जनसाधारण बीच सस्तो रङ्गको प्रयोग गर्ने अभ्यास बढेकाले यसो हुन गएको छ। अघि  सुख्खा रङ्ग प्रयोग गरिन्थ्यो भने समयको परिवर्तनका साथ्-साथै सुख्खाका ठाउँमा गिलो , हिलो ,गोबर-पानी, मेजेंटा र नाना तरहका पदार्थको घोल पनि व्यवहार गरेर आसुरिक आनन्द लिने मानिसको संख्या प्रत्येक वर्ष बढिरहेको छ । होली उत्सवमा मठ-मन्दिरमा गएर देवी-देउतालाई रङ्ग चढाएर आफुभन्दा ज्येष्ठलाई गाला र निधारमा रङ्ग लगाएर गोडामा ढोग्ने र दौंतरीसँग मिलेर स्वास्थ्यमा कुनै प्रतिकुल असर नपार्ने प्राकृतिक रङ्ग दलेर हिँडेको दृश्य अचेलका प्रजन्मले भेटेका छैनन् । अचेल युवा-युवतीको हुल या त मोटरसाइकलमा अश्लील शब्दका साथ कुर्लिरहेका हुन्छन् नभए कुनै होटल अथवा सार्वजनिक ठाउँमा कानको जाली फटाउने म्युजिक सिस्टममा अंग्रेजी अथवा पप संगीतको तालमा मग्न भएर, स्वल्प वस्त्र पहिरिएर गोलभेडा थिचेर तयार पारिएको दलदलमा उफ़्रिरहेका र कृत्रिम झरीमा नाचिरहेका हुन्छन्  । टेलिभीजन च्यानेलहरूले पनि होलीका दिन यस्तै दृश्य प्रसार गरि रहन्छन् । यसलाई टोमेटो डान्सको नाममा बारम्बार सम्प्रेषण गरिरहेर टी आर पी बढाउने क्रममा च्यानलहरू व्यस्त रहेका हुन्छन।

अचेल बजारमा उपलब्ध धेरजसो रङ्ग सांश्लेषिक अर्थात कृत्रिम रूपमा तयार गरिएका हुन्छन् जसमा एसिड , क्षारविशिष्ट, सिमेन्ट, सीसाका टुक्रा, सस्ता रञ्जक पदार्थ आदि मिसाइएको हुन्छ । छाला उक्किने, पोल्ने, चिलाउने , छालामा फोका उठ्ने , आँखा पोल्ने अथवा सुन्निने, कपाल झर्ने जस्ता रोगदेखि लिएर आँखा नदेख्ने, स्वास सम्बन्धित रोग र क्यान्सर जस्ता रोग पनि यस प्रकारका रङ्गको प्रयोगले ल्याउने सम्भावना रहन्छ । यस्ता रङ्ग पानीमा मिलाएर त्यो घोल शरीरको छालामा अत्याधिक प्रयोग गरियो भने उल्लेखित किसिमको रोग हुने सम्भावना झन् बढी हुन्छ । भारतमा कतिपय निम्न आयका व्यापारीले कुनै गुणवत्ताको जाँच नगरी रङ्गमा यस्ता घातक तत्व प्रयोग गरेर बजारमा खुल्ला रूपमा बेचिरहेका छन् । यस्ता रङ्गमा प्रस्तुतकारी संस्थाको नाम अथवा कुनै लेवल रहेको हुन्न र उपभोक्ताले यस्ता रङ्गबारे केहि जान्ने अवकाश पनि रहन्न । धातु मिसाइएको रङ्ग अति चमकदार हुने गर्छ तर यी धातुहरू विषाक्त हुन्छन् र शरीरमा ठुलो क्षति पुर्याउने गर्छन् । कतिपय रङ्गहरूमा धातवीय पदार्थ र रञ्जक पदार्थ व्यहार गरिन्छ । बजारमा उपलब्ध विभिन्न रङ्गहरूमा पाइने कतिपय हानिकारक पदार्थ र ती पदार्थहरूको प्रभाव कस्तो हुन्छ त्यसको उल्लेख गरिएको छ ।

१. मेलाकाइट ग्रीन :यो यस्तो कृत्रिम रञ्जक पदार्थ (Artificial Dye) हो जसलाई होलीका अवसरमा प्रयोग गरिने रङ्गमा उज्जवलता ल्याउन प्रयोग गरिन्छ । यो पदार्थ आँखामा लाग्यो र राम्रो तरिकाले आँखा धोइएन भने आँखा पोल्ने रोगले सताउँछ । स -साना केटा-केटीका लागि यो घातक साबित हुन सक्छ ।

२. तपाइँ कालो रङ्ग  रुचाउनुहुन्छ भने यो जान्नुहोस कि कालो रङ्गमा लेड अक्साइड मिसाएको हुन्छ र लेड अक्साइड शरीरभित्र पुग्यो भने मृगौला (Kidney) लाई क्षति पुर्याउँछ । तपाइँ यस प्रकारको रङ्ग प्रयोगले मृगौला सम्बन्धित रोगको शिकार हुन सक्नुहुन्छ ।

३. चहकिलो रातो  सांश्लेषिक रङ्ग प्रयोग गर्दै हुनुहुन्छ भने जान्नुहोस कि त्यो रङ्ग मा मर्करी सल्फाइड मिसाइएको छ जुन अति नै विषालु हो जसले स्नायु तन्त्रलाई क्षति पुर्याउँछ र चर्मको क्यान्सर ल्याउन सक्छ, दृष्टि शक्ति लोप पार्न सक्छ ।

४. क्युप्रिक सल्फेट (Cupric Sulfate) मिसाइएको हरियो अथवा निलो रङ्ग व्यवहार गर्दै हुनुहुन्छ भने यो जान्नुहोस कि यसले गर्दा तपाइँ आँखा , स्वास , कलेजो र मृगौला सम्बन्धित रोगको शिकार हुन सक्नुहुन्छ । तपाइँ आँखा चिलाउने रोगले पीडित हुनुका साथ-साथै दृश्यशक्ति हराउन पनि सक्नुहुन्छ ।

५. प्रुसियन ब्लु (Prussian blue) नामक रसायन भएको निलो रङ्ग प्रयोग गर्नुहुन्छ भने छालाको जलन हुन सक्छ, साना-साना फोका उठ्न सक्छ ।

६.क्रोमियम आयोडाइड (Chromium iodide) मिसाइएको बैंगनी रङ्गको प्रयोगले एलर्जी हुन सक्छ र श्वासनली सम्बन्धित रोगले पीडित हुने सम्भावना रहन्छ जसले गर्दा श्वास फेर्न असुविधा हुनेगर्छ ।

७. जेण्टियन भायोलेट (Gentian Violet) नामक रञ्जक पदार्थ भएको रङ्ग प्रयोग गरे चर्मरोग जस्तै छाला खस्रो हुने, ,जल्ने र चिलाउने उप्रान्त अधिक घनत्वमा प्रयोग गरियो भने आँखाको गम्भीर रोग किराटोकनजनक्टिवाइटिस हुन सक्छ ।

८. चाँदी (Silver) जस्तो देखिने रङ्गमा एलुमिनियम ब्रोमाइड : ( Aluminium Bromide)रहन्छ जसलाई क्यान्सर उत्पन्न गर्ने  कारक मानिएको छ ।

   बजारमा शरीरमा क्षति नपुर्याउने रङ्ग पनि पाइन्छन् र सधैं यस प्रकारको रङ्ग प्रयोग गर्नु पर्छ । तर घरमा पनि आफै कतिपय सुरक्षित रङ्ग तयार गर्न सक्छौँ। समय निकाल्न सके घरैमा हामी कसैको स्वास्थ्यमा असर नपार्ने रङ्ग तयार गर्न सक्छौं र सम्पूर्ण सुरक्षित रूपमा होली उत्सवको आनन्द उठाउन सक्छौँ । तल कतिपय त्यस्तै प्राकृतिक किसिमका रङ्ग प्रस्तुत गर्न सकिने तरिकाबारे उल्लेख गरिएको छ ।

१.  सुख्खा रातो रङ्ग : आटा अथवा मैदासँग चन्दनको पाउडर र राता राम्रा फूलका पत्ता मिसाएर तयार पार्न सकिन्छ ।

२.  गिलो रातो रङ्ग:  बेसार पाउडर पानीमा मिसाएर त्यसमा कागतीको रस मिसाउने हो भने मात्र केहि सेकेण्डमा उज्यालो रातो रङ्ग तयार हुन्छ ।

३.  सुख्खा उज्यालो पहेँलो रङ्ग :  दुइ अंश बेसार र चार अंश बेसन पाउडर मिसाउने हो भने सुख्खा उज्यालो पहेँलो रङ्ग बनिन्छ ।

४.  गिलो पहेँलो रङ्ग : बेसार पानीमा मिसाएर यो गिलो रङ्ग प्रस्तुत गर्न सकिन्छ ।

५.  सुख्खा हरियो रङ्ग : धनीयाको पात ,पालुङ्गोको साग, पुदिना आदिको पात पानीमा मिसाएर सुख्न दिने हो भने सुख्खा हरियो रङ्ग बनिन्छ ।

६.  गिलो हरियो रङ्ग: दुइ चम्चा हेना र एक लिटर पानीको मात्रामा चाहिएको गिलो हरियो रङ्ग सहजै तयार गर्न सकिन्छ ।

 असमका शिक्षानुष्ठानहरूका छात्र-छात्रा एकत्रित भएर प्राकृतिक होली मनाउने तरिकाबारे अघि बढेर समाजमा कृत्रिम रङ्गको नकारात्मक प्रभावबारे सकारात्मक संदेश दिनुपर्ने समयको माग रहेको छ। पुनःसबैले सही तरिकाले होली मनाउने परम्परा हाथमा लिने हो भने होलीको गरिमा फेरि फर्किने छ भन्ने आशा राख्न सकिन्छ ।


Share this post
Comments