Blog

परिवार, समाज र राष्ट्र निर्माणमा नारीहरूको भूमिका

Blog Image

                                                     परिवार, समाज र राष्ट्र निर्माणमा नारीहरूको भूमिका

लेखिका-- कल्पना देवी आत्रेय

कलियाबर, आसाम ।

मोबाइल:  7636032963

 

    प्रारम्भदेखि नै प्रचलित प्राचीन सनातन वैदिक ज्ञान-विज्ञानको परम्परामा अनेकानेक नारीहरूले, ऋषि-मुनिको तदनुरूप चिन्तन,  मनन,  निधिध्यासन गरेको सर्वविदित छ। प्राचीन कालकी मैत्रेयी, गार्गी, घोषा, अपला, अरून्धती, विश्ववाराजस्ता अनेक विदुषी नारीले शिक्षाको क्षेत्रमा विकास र मन्त्रद्रष्टाको रुपमा समाजमा आफ्नो बहुमूल्य योगदान दिएका छन्। यस्ता यी विदुषी नारीहरू सदैव नमस्य तथा पुजनीय हुन्। यी विदुषी नारीहरूको अमर-विमल गाथा अहिले पनि उत्तिकै प्रासंङ्गिक छ, जस्तो प्राचीनकालमा थियो। वर्तमान समयमा पनि नारीहरूले आफ्नो सुन्दर प्रतिभाको विकास गर्दै मानवकल्याणकारी विविध आयामहरूमा कार्य गर्दैगरेको देखिन्छ। यी महान् प्रतिभाहरू हाम्रा लागि आदरणीय तथा अनुकरणीय हुन्।    प्रागैतिहासिक कालमा पनि समाज र राष्ट्रका निम्ति नारीहरूको भूमिका र अवदान धेरै रहेको देख्न पाइन्छ। देशमाथि केही सङ्कट आएको समयमा आफ्ना पति परमेश्वरका निधारमा तिलक लगाएर एउटी पत्नीले जोश, जुनुन र विश्वासका साथ वीर योद्धा सजाएर रणभूमिमा पठाएका अनेक गौरवोज्ज्वल उदाहरणहरू छ्न्। अनि आफै पनि रानी लक्ष्मीबाई, कनकलता,  रानी गाईदिङ्गल्यु, नेपाली चेली सावित्री र इन्द्राणी,  भोगेश्वरी फुकननी,  भगिनी निवेदिता, सरोजनी नाइडूहरूले भारतमाताको सेवाका निम्ति सर्वस्व त्याग गरी भारतीय नारीको त्याग र बलिदानको गौरवशाली इतिहास विश्वभरि फैलाएका हुन्। प्राचीनकालदेखि नै भारतीय नारीहरूको भूमिका सदैव पुरुषवर्गको सर्वाङ्गीण विकास र उत्थानका लागि अहम् भूमिकाको रूपमा प्रतिपादन भइरहेको छ। गोस्वामी तुलसीदासलाई आध्यात्मिक चेतना प्रदान गर्नेमा उनकी पत्नी 'रत्नावली' को भूमिका अहम् थियो अनि कालिदासलाई संस्कृतका प्रचण्ड विद्वान बनाउनेमा पनि उनकी पत्नी 'विद्योत्तमा'को नै हाथ थियो। एउटी 'आमा' ले नै सुन्दर सभ्य र संस्कारित समाज र संस्कारवान् एउटा पिँढी तैयार पार्न सक्छिन्। इतिहासमा पनि यी कुराहरूको के प्रमाण पाइन्छ भने, नारीले राष्ट्र जागरण तथा बलिदानको निम्ति कुनै पनि परिस्थितिमा पछि परेका छैनन्।                                                                                                                                            आफ्नो पुत्र शिवाजीलाई उचित शिक्षा - दीक्षा प्रदान गरेर महान् देशभक्त र कुशल योद्धा बनाउन माता जीजाबाई सफल भएकी थिइन्। त्यसैगरी चितौडकी पन्ना धाईको त्यागको अमरगाथा कसलाई थाहा छैन र? आफ्नो पुत्र चन्दनको बलिदान दिएर राजकुमारको जीवन बचाउने पन्ना धाईलाई आज पनि नारी समाज शतशत नमन गर्दछ। हाडीकी रानी,  झाँसीकी रानी लक्ष्मीबाई,  पद्मिनी,  मीरा आदिको शौर्य एवम् भक्तिले मध्यकालको नराम्रो परिस्थितिमा पनि आफ्नो सुकीर्तिको झण्डा फहराउन सक्षम भएका थिए। हामी कसरी भुल्न सक्छौँ, भगत सिंहकी आमा विद्यावतीको महान् त्यागलाई?  जतिखेर भगत सिंहलाई फाँसीमा चढाइएको थियो त्यतिखेर भगत सिंहकी आमा खुब रोएकी थिइन्। त्यहाँ केही पत्रकारहरूले उनलाई सोधेका थिए, -"तपाईं एउटी सहिदकी आमा भएर रुँदै हुनुहुन्छ?" त्यतिखेर विद्यावतीले जवाफ दिएकी थिइन् -"म आफ्नो छोरो सहिद भयो भनेर रोएकी होइन। कदाचित् आफ्नो कोख प्रति रोएकी हुँ। यदि मेरो कोखले अर्को एउटा भगत सिंह जन्माएको थियो भने, म उसलाई पनि देशको स्वतन्त्रताका लागि समर्पण गर्ने थिएँ।" हाम्रा देशका नारीहरूको राष्ट्रप्रति आदर्श, त्याग र समाज एवम् समाजप्रति देखाएको निष्ठा त्याग उच्चकोटीको छ।  वर्तमान समयमा पनि साहित्य,  सङ्गीत,  वैज्ञानिक क्षेत्र,  प्रशासनिक-सेवा,  खेल-कुद, समाज-सेवा, राष्ट्रनिर्माण र राष्ट्र उत्थानजस्तो महान् कार्यहरूमा अनेक विदुषी नारीहरूको उल्लेखनीय योगदान रहेको छ। हाम्रो देशको राजनैतिक क्षेत्रमा पनि नारीहरू पछि परेका छैनन्। सुचेता कृपालनी, इन्दिरा गान्धी,  सुष्मा स्वराज, निर्मला सीतारमण, किरण वेदी, प्रतिभा देवी सिंह पाटिल,  स्मृति इरानीजस्ता नारीहरूको राजनीतिक क्षेत्रमा अवदान राष्ट्रले कहिल्यै भुल्न सक्तैन। अन्तरीक्षमा तहल्का मच्चाउने कल्पना चाउला र सुनीता विलियम्स जस्ता साहसी नारीहरू कोटी कोटी महिलाहरूका लागि प्रेरणाका स्रोत बनेका छन् ।                                                                                          एउटा राष्ट्रमा आधाजति जनसङ्ख्या महिलाहरूको हुन्छ। त्यसर्थ राष्ट्रको अर्धाङ्ग महिला समाज शिक्षित हुन अति आवश्यक छ। एउटी शिक्षिता र संस्कारित नारीले एउटा परिवार शिक्षित र संस्कारित पार्न सक्छिन्। भनिएको छ, -“सशक्त नारी नै सशक्त समाजको आधारशीला हुन्”। यस्तै अनेक परोक्ष र प्रत्यक्ष प्रमाणहरूलाई केलाएर हेर्दा दृढताका साथ भन्न सकिन्छ --- परिवार-समाज र राष्ट्र निर्माणमा नारीहरूको भूमिका अग्रगण्य शिक्षाप्रद रहन्छ । मातृशक्तिको भूमिकाले नै राष्ट्रिय चेतना अहर्निश देदीप्यमान हुँदै सबैको साथ सबैको विकास हुनेछ, यही नै परम सत्य र यथार्थ हो ।

                                   ___________________


Share this post
Comments