नेत्तिफुङको बास्ना - मा म्यासोकिस्ट आनन्द
निमा शेर्पा, दार्जिलिङ
Read from a distant star, the majuscule script of our earthly existence would perhaps lead to the conclusion that the earth was the distinctively ascetic planet, a nook of disgruntled, arrogant creatures filled with themselves, at the earth, at all life, who inflict as they possibly can out of pleasure in inflicting pain which is probably their only pleasure.
- Friedrich Nietzsche, On the Genealogy of Morality.
कविता कोर्नु/पढनु भनेको एकप्रकारले अथाह पीडाको दहमा स्वेच्छाले हाम्फाल्नु हो । आम मानिस असामान्यबाट सामान्य मनोस्थितिमा फर्कन विभिन्न युक्तिजुक्ति अवलम्बन गर्दछन् । कवि/पाठक चाहिँ सामान्यबाट असामान्यतिरको जटिल यात्रा स्वेच्छाले हिँडछन् । किनभने उनीहरू पीडामा नै शिवत्व पाउँछन् । पीडासित मुखामुख नगरी आनन्दको दर्शन सम्भव छैन भन्ने मान्दछन् । वास्तवमा पीडाबाट निसृत आनन्द नै उनीहरूको अभीष्ट हो । यसैर उनीहरूलाई प्रिय छ पीडा । आधुनिक मनोविज्ञान र चिकित्साशास्त्रले त कविताप्रेमलाई पेरिफिलिया डीसर्डरअन्तर्गत मेटरोफिलिया नाम दिएर मानसिक रोगकै श्रेणीमा राखेका छन् ।
परपीडक वृत्ति/प्रवृत्ति/मनोवृत्तिका मानिसहरूको जगजगी भएका आजका समय सन्दर्भमा त्यसर्थ निलकण्ठरूपी मानिस/कविहरू सभ्यताका टर्च बिएरर हुन् । सालाखाला मतले उनीहरू रोगी, जोगी, पागलको कित्तामा दरिए तापनि मानवताका बत्तीलाई बडाम्मे हावाबुण्डरीबिच जोगाएर राख्ने हरक्युलस उनीहरू नै हुन् । छोटकरीमा भन्नपर्दा सभ्यता/मानवतालाई अजिङ्गरको मुखमा धकेल्ने एउटा कारकतत्त्व मानिस स्वयमको परपीडक मनोवृत्ति पनि हो । स्वपीडक, अझ तिनबाट सिङ्गो सभ्यताको पुनरूद्धारपरक गीत गाउने कविहरू मानवताका पृष्ठपोषक नै हुन् ।
जोहनी डिप, प्रिन्सेस डायना, निर्मल बाबा प्रभृति म्यासोकिस्टहरूका कुरा अहिले नगरौँ । इत्रु-इत्रु दुख, समस्या र विषमतामा आफैलाई अनौठो किसिमको शारीरिक-मानसिक यातना दिने प्रेमी-प्रेमिकाहरूको कुरा पनि अहिले नगरौँ । तिनीहरूको म्यासोकिज्मको आफ्नै स्वरूप होलान, अहिले त्यता नजाऔँ । अहिलेलाई केवल कविकर्ममा नीहित म्यासोकिस्ट गुणहरूमा फरर घुमघाम गर्दै कवि मनप्रसाद सुब्बाको नेत्तिफुङको बास्ना कविता सङ्ग्रहमा परिलक्ष्यित म्यासोकिस्ट पत्रदलहरूमा मात्र सीमित बनौँ । थपनीमा सुब्बाजीका म्यासोकिस्ट पीडानन्दनुभूतिलाई पेरिफिलिया डिसर्डर, मनोवैज्ञानिक वा सेक्सुएल म्यासोकिस्टको व्यापक र विस्तृत फाँटबाट होइन प्रेमविभावनको सामान्य सन्दर्भबाट हेरौं,
आह
यति मीठो हुनसक्छ पीडा पनि
कहीँ थाहै नपाई म म्यासोकिस्ट त भइसकिनँ ?
( यो मीठो पीडा )
नेत्तिफुङको बास्ना पढ्दै जाँदा सामुएल बेकेटको वेटिङ फर गोदोत मानसमा ताजा भएर आउँछन् । अर्को उल्लेखनीय, भवानी भिक्षुको के त्यो फेरि फर्केला ? मानसपटलमा आलो भएर आउँछन् । गोदोतको अनन्त प्रतीक्षा र सानीको पर्खाइ पीडाको समानान्तर छन् सुब्बाको प्रेमपरक पीडानन्द । तर गोदोतको म्यासोकिज्ममा फलागमको काम्यता छ भने सानीको म्यासोकिज्ममा आनन्दभङ्गको उत्कर्ष-आधिक्य छ । सुब्बाको म्यासोकिज्म चाहिँ कृष्ण उक्ति अथवा कर्म गर फलको प्रतीक्षा नगर - को सहोदर छन् ।
म्यासोकिज्मको सामान्य अर्थ हेरौ - a persons who finds pleasures in self-denial submissiveness. थाहै नपाई आफू म्यासोकिस्ट त भइसकिनँ कवि प्रश्न गर्छन् । प्रश्नको आधारस्वरूप संसारका सारा पीडाहरू काँधमा बोकेर कल्वेरीको उकालो हिँडन तयार रहेको आफ्नो आत्मविश्वास, संकल्प वा प्रतिबद्धतालाई अघि राख्छन्,
यसबेला,
संसारका सारा पीडाहरू
काँधमा बोकेर
कल्वेरीको उकालो हिँडन पनि तयार छु म।
(यो मीठो पीडा)
सुब्बाजीका कन्ट्रयास्ट एक गीत का कवितांश पनि हेरौ-
ओहो पीर पनि कोही त जिब्रोभरि खेलाईरहूँ लाग्दोरहेछ
जलन पनि कोही त पोलिँदै बसिरहूँ हुँदोरहेछ
तिमी केही नभन
म पीरको स्वाद मीठो चाटिरहन्छु
जीउभरि पोले पनि शीतल भिजिरहन्छु
मलाई पीरभित्रको खुशी छामिरहन देऊ
मलाई आगोभित्रको पानी उघाईरहन देऊ
दुरत्वले हुर्काएको सामीप्य समाइरहन देऊ
आखिर यात्रा न हो
मलाई यत्तिकै हिँडन देऊ
( कन्ट्रयास्ट एक गीत)
प्रेम के हो ? यसको उत्तर ता जति मुख त्यति नै कुरा भनेजस्तो होला । सन्त अगस्तिनको कवितानिबद्ध कन्फेसनलाई अलिकति बङ्ग्याउँदै प्रेमजस्ता निगूढ तत्त्वलाई चिन्ने/जान्ने मान्छेको अभिवृत्ति अनि उसको अभिव्यक्तिगत सीमालाई यसरी अघि राखौँ – प्रेम के हो, कसैले सोधेन भने म भन्न सक्तछु तर सोध्यो भने म भन्न सक्तिनँ । तर मानिस जिज्ञासु प्राणी हो, आफ्नो अभिव्यक्ति सीमालाई सदैव थरी थरीका थाक्रो दिएर शक्तिमा रूपान्तरण गर्ने उद्यमशील प्राणी हो । त्यसर्थ प्रत्येक निगूढ अनि रहस्यलाई चिरफार गर्ने कोसिस मानिसबाट भइरहन्छ । तर कविता-कथामा होस् अथवा वाङमयका अन्य कुनै पनि विधामा होस्, सालाखाला अर्थ, परिभाषा, टिका-टिप्पणी वा धारणा त आयो-गयो हुन्छ, विशेष छाप र प्रभाव त त्यसले छोडने हो, जसको पर्गेलाइमा केही बेग्लोपन, आफ्नोपन र नयाँपन छचल्किएको हुन्छ, जस्तै- रिल्केको प्रमपत्र, शेक्पपियरको रोमियो-जुलियट, देवकोटाको मुना-मदन, रहीमको दोहा, पारिजातको लाहुरेलाई रोगी प्रेमिकाको प्रेमपत्र आदि ।
नेत्तिफूङको बास्नाअन्तर्गतका प्रेमपरक अभिव्यक्तिहरू प्रेम अनुभावहरूको अनौठो र बेग्लो धारले तरङ्गित छन् । विप्रलम्भ ऋङ्गार रसको निक्खुर प्रागभूमिमा उम्रिएका यी अभिव्यक्तिहरूमा तर प्रेम निराशा, हताशा, कुण्ठा, रोदन, क्रन्दनहरूको हुस्से पाइँदैन । यसमा प्रेम प्रतिबद्धताको आदर्शपरक कुराहरू पाइंदैन न ता प्रेम आसक्तिको आलप-विलापपरक व्याख्या-विश्लेषण नै पाइन्छ । त्यसको विपरीत त्यस्ता वियोगहरूको डटेर सामना गर्दै प्रेमको दियोलाई आफूभित्र जगमगाइराख्ने प्रतिबद्धताको जियालोपन पाइन्छ । आनन्द भन्ने कुरो मिलनमा मात्र होइन विछोडमा पनि साक्षात्कार गर्न सकिन्छ, प्रेमको सिद्धि फलमा होइन कर्ममा नीहित हुन्छ अथवा प्रेमको साफल्य कर्ताको साधरणीकरण क्षमतामा निर्भर पर्छ – जस्ता कविनिबद्ध प्रेम भावनाहरू सङ्ग्रहभरि नाँचिरहन्छन् ।
सारांशत: सङ्ग्रहका कविताहरूले एकमुष्ठ भएर गुनगुनाउँछन् – प्रेम शक्तिशाली भाव हो । यसमा तमाम प्रकारको प्रतिकूलताहरू बेहोर्ने क्षमता हुन्छ । यो परपीडक नभएर स्वपीडक प्रवृत्तिको हुन्छ । स्वपीडनबाट पाइने परमानन्दको तुलना अर्को कुनै भौतिक आनन्दसँग गर्न मिल्दैन । यस्ता भिन्न गुनगुनाइपनको बाटो भएर सङ्ग्रहले प्रेम कविताहरूको बाक्लो बस्तीबिच आफ्नो मौलिकताको घडेरी बसालेको छ । तिनलाई चिटिक्क परेको आकर्षक र मनोहारी घर बनाउने काम गरेको छ शिल्पको सबैलाई मनपर्दी कारीगढताले ।
केही अभिव्यक्तिहरू हेरौँ –
एक दिनभरिको यो
यात्रा
एम्बुस/ एम्बुस/ एम्बुस/ ठाउँठावै !
तर बासी सुरक्षाको जूभित्र हाइ काढँदै बसिरहनु
र खतराको बर्खे र्ऱ्याफ्टिङ खेल्नुमा
कुन बढी जीवनमय हुन्छ, ऐले बुझ्दै छु ।
(जोखिमकै छात्तीमा)
अनि
अनि त मैले
मेरो छात्तीको देब्रे पटुकोभित्रबाट
टलक्क टल्किने युप्पारूङ निकालेर
तिम्रो मजेत्रोको एक कुनामा बाँधिदिए ।
युप्पारूङ के बाँधे र !
मैले त आफैलाई बाँधै नि !
(नेत्तिफूङको बास्ना)
अविष्कार गरेको छु यौटा सत्य
जसलाई तर यो दुनियाँले
झूटमात्र होइन, अधर्म नै ठान्छ
मेरो अन्तर्मनको भित्री कोठामा
यो एक बत्ती बल्छ झलमल्ल शान्त
कहिले यो आफै फुलिदिन्छ
यौटा जङ्गली फूल
अनि मेरा कोटको बटनहोलमा
सिउरिदिन्छु यसको त्यो जङ्गली मुस्कान
लम्बिँदै गइरहेको हिउँदमा चाहिँ
म आफ्नो गलामा बेर्छु
त्यसको न्यानो सासको ऊनी मफलर
(यौटा यस्तो प्रेम)
प्रेम आन्तरिक र अमूर्त भाव भए तापनि प्रायश यो विभिन्न रङ्ग-रूप, बोली-भाका र आकार-प्रकारहरूमा समाजमा प्रतिबिम्बित हुने गर्दछन् । थोरैले मात्र यसलाई आफूभित्र मात्र सीमित राखेर एकतर्फी वा अनकन्डिसनल प्रेम गर्न सक्दछन् । प्रेमको यस्ता ब्राह्य रूप अनि प्रमिल अनुभावहरू समाज विशेषको नीति-नियम, प्रेमविषयक धारणाहरू अनि प्रेमको आदर्श मोडलको प्रतिकूल भए त्यहाँ धारणागत वैपरीत्य, तनाव अनि सङ्घर्षको स्थिति सिर्जना हुँदछ । यस्तो स्थिति र परिवेशलाई कर्ताले कसरी आत्मसात गर्छन् भन्ने कुरा पनि धेरै महत्त्वपूर्ण हुन्छ । संसारमा चलिआएको अन्तर्जातीय प्रेम, अन्तर्वर्गीय प्रेम, अन्तर्वय प्रेम, एक्सट्रा मेरिटिएल अफाएर अनि तिनलाई हेर्ने सामाजिक-धार्मिक मानदण्ड तथा त्यसले निम्त्याएको द्वन्द्व एवम् विषमताको छनकभनक पनि सङ्ग्रहका कविताहरूमा पाइन्छ । कविताको अभिव्यक्ति शैली नै सुत्रात्मक-सङ्क्षिप्त हुने हुँदा कविताको शब्दभन्दा अर्थ अनि अर्थभन्दा प्रभाव धेरै वाचाल हुन्छ । अर्को शब्दमा भन्ने हो भने कवितामा भाषिक विन्यासक्रमभन्दा पराभाषिक अवस्थितिहरू निकै मुखर हुन्छन् । सुब्बाजीका यो प्रेम कविताहरूको ऋङ्खलात्मक सँगालोलाई पनि यसप्रकारले कविताको आद्य स्वरूपको आधारमा विशद् रूपमा पर्गेल्न सकिन्छ ।
समग्रमा भन्ने हो भने नेत्तिफुङको बास्ना अनकन्डिसनल लभको सुन्दर नमूना कविताकृति हो । जुनसुकै परिस्थितिमा पनि प्रेम जियालो राख्ने प्रतिबद्धताको कवितातामक अभिव्यक्तिहरूको पुञ्ज हो नेत्तिफुहको बास्ना । अनकन्डिसनल लभ भनेको लभ विदाउट कन्डिसन अथवा निशर्त प्रेम हो । यस्तो प्रेमको पहिलो माइलखुट्टी नै स्वपेम हो । यस्तो प्रेमले आफूलाई प्रेम नगरी अरूलाई निशर्त प्रेम गर्न सकिन्न भन्ने मान्छ । समर्पण, त्याग, अभय, धैर्यता, क्षमाशीलता आदि यस्ता प्रेमका गुणहरू मानिन्छन् । एकप्रकारले पारिजातले भनेजस्तो – आमरण प्रेम । थोरैले मात्र यस्तो निख्लम प्रेम गर्न सक्छन् अनि अझ थोरैले मात्र यसरी निख्लम काव्यभिव्यक्ति दिन सक्छन् ।
____________
Post a Comment