नानीहरूलाई मीठो कोसेली (बाल कविता सङग्रह)
कृष्णष्णप्रसाद भट्टराई, ठेलामारा, शोणितपुर, असम
बाबा म खेल्न जान्छु
बाबा म खेल्न जान्छु
नाइ नभन्नु ल?
खेल्न दिनु भएन भने
पढदिन म त।
सधैँ खेल्ने बानी भए
स्वास्थ्यमा सुधार हुन्छ
गुरू पनि कक्षामा
त्यही भन्नु हुन्छ।
'हुन्छ जा “ भन्दिनु न
म त खुसी हुन्छु
जान दिनु भएन भने
पढ दिन म रून्छु।
यति भनि सकेपछि
जा भने बाले
साथी का हूलमा गई
म त खेल्न थालें।
दसैँ आयो भन्छ नानी
दसैँ आयो भन्छ मेरो
सानो पुन्टे नानी
खाने मात्रै कुरा गर्छ
कस्तो त्यसके बानी।
मीठो मीठो चीजहरू
धेरै मनपर्ने
मीठो खान नपाउँदा त
साह्रै पिरोल्ने।
दसैँका दसैदिन उ
दही, चिउरा भन्छ
'बा’ टिको कल्ये लाउने?
भन्दै औँला गन्छ।
टिको लाउँदा उसलाई धेरै
चाचा दिनुपर्छ
चाचा धेरै नदिदा उ
भैँमा डड्गै लढ्छ I
तै पनि बालखलाई
खुसी पार्नै पर्छ
खर्च धेरै नगरे त
काहाँ दसैँ टर्छ।
वर्षदिनको रमाइलो चाड
सधैँ आउँने छैन
बच्चासँगै फूर्ति गरौँ
गुम्सेर हुँदैन।
मलाई तारा मन पर्छ
मलाई तारा मन पर्छ
अकाशमा चम्किने
नीलो अकाशलाई राति
उज्यालो पार्दिने।
अकाशका ताराहरू
गन्न सकिँदैन
अड्केका छन कसरी
भन्न सकिँदैन
ए तारा तिमी किन
राति मात्रै टलकिन्छै ?
दिनमा पनि टल्किदेउ
लुकि किन छल्छौ।
मलाई तिम्रो महिमा त
असाद्दे मन पर्छ
तिम्रो तथ्य खोज्नमा
विज्ञान व्यस्त छ।
म पनि ठूलो भई
तिम्रो देशमा जान्छु
अन्वेषणका कुरा टिप्न
कापी, कलम लान्छु।
मलाई तारा मन पर्छ
भनिहालेँ मैले
छेउमा भए कुदेर गई
माया गर्थें अहिले।
मेरो भाइ
मेरो भाइ सानै छ
रामे उसको नाम
आमासँगै गर्न खोज्छ
घरमा धेरै काम।
काम नगर भाइ भन्छु
धुरूधुरू रून्छ
काम गर्न नपाएमा
चक चक शुरू हुन्छ।
माया गर्दै बोलाएर
सँगै बसाउँछु
पापा दिन्छु भाइलाई भन्दै
धेरै फकाउँछु।
पापा खान नपाउँञ्जेल
मान्दै मान्दैन
लेखौं पढौं भन्दापनि
कुरो सुन्दैन ।
बालख को बुद्धि न हो
कुरो बुझ्दैन
खुसी गर्न नपाउँदा
नरिसाको छैन ।
विद्या माग्छु म त
गर्छु भक्ति ईश्वरलाई
साँझ बिहान म त
ईश्वरसँग माग्नु परे
विद्या माग्छु म त।
सरस्वतीको पूजा गर्छु
सधैँ घरमा म त
उनीसँग माग्नु परे
विद्या माग्छु म त।
गुरूआमा, गुरूबालाई
गर्छु भक्ति म त
दुवैसँग माग्नु परे
विद्या माग्छु म
पूज्य पितृ-मातृलाई
सम्मान गर्छु म त
कतै केही माग्नु परे
विद्या माग्छु म त
समाजका ज्येष्ठजनलाई
आदर गर्छु म त
विन्ती अगि सार्दैसार्दै
विद्या माग्छु म त।
गौ मातृ लक्ष्मीको
पूजा गर्छु म त
उनका शिरमा हात राखी
विद्या माग्छु म त।
आमासँग मन्दिर गई
भक्ति गर्छु म त
मन्दिरका द्यौतासँग
विद्या माग्छु म त।
तेत्तीसकोटी द्यौतालाई
सम्झिरन्छु म त
सबैसँग माग्नु परे
विद्या माग्छु म त।
छलकपट जान्या छैन
सानो मान्छे म त
जम्मैसँग हात जोडदै
विद्या माग्छु म त।
चञ्चले बानी
चञ्चले बानी मेरो
म त सानो नानी
सानासाना साथीसँग
खेल्छु म बिहानी।
अम्मलडम्मल खैरे पात
भन साथी भाइ
सिमसिमे पानीमा
बिहानै नुहाइ।
घाम लाग्यो घमाइलो
ताप्न रमाइलो
हेर हेर हात्तीके
कति ठूलो पाइलो।
काक काक काक गर्दै
काग कराउँदछ
कागका अगडि
फिस्टो हराउँदछ।
गाई खोले गोठालाले
आठबजि भयो
आजको हाम्रो खेला
यत्तिमै रयो।
गाली नगर्नु
भूल भए माफी पाऊँ
गाली नगर्नु
पढ्नलेख्न बस्याबेला
झर्का नगर्नु।
भन्दै मेरा कुरा मैले
सुरू गर्न थालेँ
लेखाइ पढाई सम्बन्धका
कुरा यसरी चालेँ।
गल्ती होला एक-दुई कुरा
पढदा खेरी कैल्ये
गल्ती भाको सिक्तै जान्छु
म त जहिले तहिले।
कसलेपो जम्मैकुरा
सिकेर नै आए
सबैले नै बिस्तारै
सिक्तैसिक्तै गए।
एक-दुईपल्ट जसको पनि
भूल त भैहाल्छ
भूल हुँदैमा गाली गर्दा
डर मात्रै लाग्छ।
म त सानो नानी अनि
मान्छे छु अज्ञानी
बाआमाका प्रयासले
बन्दै जान्छु ज्ञानी।
पढाउने बुझाउने गुरू
हामी पाठ बुझिहाल्छौं
गुरूले बुझाको
मनचित्त ध्यानले
हामीलाई सिकाको ।
गुरूआमा यता हामीलाई
हिसाव सिकाउने
नजानेको कुरा हामीलाई
राम्रो बुझाउने।
सङ्गीतका गुरूसधैँ
सङ्गीत सिकाउने
यति राम्रा गुरूहरू
हामी का पाउने।
एउटा राम्रो परिवेश छ
हाम्रो स्कूल घरमा
सुग्घर सफा बस्छौं हामी
सधैँ आफ्नो घरमा।
परिवेशका कुराहरूमा
ध्यान दिनु पर्छ
स्कूलमा त्यही कुराको
चर्चा हुने गर्छ।
समय सम्पद हो
म घरको सानो नानी
सबको बाबा पनि
माया गर्नु हुन्छ सबले
पढ बाबा भनी।
कुटनु हुन्न मलाई कैल्यै
माया नै जहिले तहिल्यै
त्यै मायाकै गुणले पनि
स्कूल टप हुँदैछु ऐल्ये।
अध्ययनमा एकाग्रचित्त
चाहिन्छ जहिले पनि
कहिल्यै अल्छी गर्दिन म
अगि बढनु छ अनि।
समयलाई बुझेर, समयमा गर्ने
समयलाई फाल्दै नफाल्ने
समय, सम्पद हो जानी सबले
हिसावमा पाइलो चाल्ने।
आमा
हामीलाई जन्माइ बढाइ
हुर्काउने आमा
संसारका राम्रा कुरा
सिकाउने आमा।
दूध चुसाई शक्ति दिने
यिनै हुन आमा
नानी रूँदा फकाई फकाई
फुल्याउने आमा।
घरमा क,ख सिकाउने
यिनै हाम्री आमा
हात समाई स्कूल लाने
सधैँ तिनै आमा।
सफा अनि सुग्घरको
चासो लिने आमा
नानीहरूलाई नुहाइ, धुवाइ
गर्दिने आमा।
नानी ज्ञानी, मानी बनोस
भनी सोचने आमा
सधैँ राम्रो मात्रै सोचने
संसारकै आमा। हुर्काउँदा काष्ट खप्ने
एकमात्रै आमा
पीर पर्दा आँसु झार्ने
सबैकी नै आमा।
स्कूलबाट ढिलो आउँदा
बाटो हेर्ने आमा
खुवाइ, पियाइ पेट भर्ने
प्यारी हाम्रै आमा।
बिसन्चोमा कठैबरी
भन्ने यिनै आमा
नानीहरूलाई माया गर्ने
सबैकी नै आमा।
_______________
Post a Comment