• theoxygentimes@gmail.com

Blog


सम्झनाको गोरेटोमा जनार्दन उपाध्यायको ‘पुलिसको डायरी’

अञ्जन बाँसकोटा,

समार दलनि, सोटिया, विश्वनाथ, असम

सन् २००८-०९ को कुरा हो। आफूले शिक्षक शिक्षण महाविद्यालय, तेजपुरमा नाम दर्ता गरेको थिए। उही महाविद्यालयमा ढेकियाजुली, शोणितपुरका एकजाना सक्रिय र मिलनसार शिक्षक श्रीमान गणेश शर्माज्यू डेपुटेड शिक्षकको रूपमा आउनु भएको रहेछ। पछि हाम्रो भेट भो, परिचय साटियो। हाम्रो साइनो-सम्बन्ध गहिरो बन्यो। उनै गणेश शर्माज्यूको मोटर साइकिलमा चडेर बिदाका दिनहरूमा हामी रमाइलो तेजपुर सहरका कुना-कोप्चा आदि धुम्दै, आफन्त आदिको खोज-तलास गर्दै जाने आदि काम गर्दथ्यो। एकदिन, अचानक गणेश शर्माज्यूसित वहाँको तेजपुर चान्दमारीस्थित दाजु घर पुग्यो। दाजु बिदाको कारण घरमै हुनु हुँदो रहेछ...। भेट भयो, आफ्नो परिचय साटेर कुरा-कानि आदिको पर्व सकियो। भाउजु र छोरी बिन्दुसित पनि भेट भयो। गणेशज्यूको दाजु घरमा छँदा आफूलाई आफ्नै कोही पुरानो आत्मीयको घरमा गएझै भान भएथ्यो। एक वर्षको आफ्नो विद्यार्थी जीवनामा दाजु प्रयात जनार्दन उपाध्यायको घरमा अनगन्ती आइ-जाइ भयो। हाम्रो आउने-जाने क्रमको कुनै साँध-सीमा हुँदैन थियो। ता-पनि दाजु घरमा भएको बेला हामीले कहाँबाट आएका, किन गएका थिउ....आदि अनेक प्रश्नको सोझो जवाब दिनुनै पर्दथ्यो। एकजाना पुलिस अधिकारीको बानीले होला सायद.....प्रत्येक कुराको सोध-खोज वहाँ गर्नु हुन्थ्यो। हामी पनि स्वाभाविक रूपमै जवाब दिने गर्दथ्यो। सेवा निवृत्त भएपछि स्व. उपाध्यायलाई साहित्य चर्चामा तल्लीन हुने जाँगर चलेको रहेछ। टाडा-टाडाबाट नेपाली भाषा-साहित्यका पुस्तक, शब्दकोषादि मगाएर, अध्ययन गरेको आफैले प्रत्यक्ष गरेको थिए। आफू साहित्यको विद्यार्थी भएको एवम् साहित्य निर्माणको घरातलमा लागी परेका एउटा युवाको नाताले दाजुको नेपाली साहित्यप्रति रहेको झुकाउलाई मर्यादा दिँदै केही सर-सल्लाह दिए। दाजुको नेपाली साहित्यको ढुकुटीलाई केही दिने मनसाय बुझेपछि दाजु लामो समयदेखि पुलिस प्रशासनमा सक्रिय रूपले जुडित भएको हुनाले पुलिसको जीवन कालमा घटेका साना-तिना अनेक घटनालाई समेटेर एउटा सिङ्गो पुस्तक प्रकाश गर्ने सल्लाह दिए। असमीया साहित्यमा पुलिस अधिकारी खबिर अहमदले ‘आरक्षीर डायरी’ नामक धारावाहिक कथाको शृङ्खला दैनिक पत्रिकामा निरन्तर रूपले लेखने गर्दथ्ये। पछि उनै लेखहरू एकत्रित पारेर पुस्तकको प्रकाशन पनि भयो। असमीया साहित्यको सरह हाम्रो नेपाली साहित्यमा यो खाले साहित्य देखा नपरेको हुँनाले दाजुलेनै यो कामको श्रीगणेश गर्ने पर्दछ भन्ने सल्लाह दिएथ्ये....। सायद दाजुका अरु शुभ-चिन्तकले पनि यो खाले सल्लाह दिनु भएको होला....। आफूले दिएको हौसलाले दाजुलाई अझ उर्जावान तुल्याएको भान भयो। पछिका क्रममा दाजुले लेख्दै गरेका लेखौटहरू पुनः लेखेर दैनिक र साप्ताहिक पत्रिकादिमा पठाउने क्रममा आफू पनि संलग्न थिए। यसो गर्नाले दाजुको कलमले रफ्तार लिएको थियो। ‘पुलिसको डायरी’ले यसै क्रममा प्रकाशको मुख देखेको थियो। सन् २०११ मा  २४ बोटा लामा-छोटा भिन्ना-भिन्नै स्वादका, पुलिस प्रभारी भएर प्राप्त गरेका विभिन्न अभिज्ञताहरूको कोसेली पाठक वर्गलाई पस्केको थियो। पुलिस प्रभारी भएर असमको विभिन्न ठाउँमाकर्तव्य सम्पादन गर्नु पर्दा आईपरेका स-साना तर गहकिला, गतिला कथाहरूको विषय-बस्तुलाई कथाको मूल विषय बनाएर साहित्यको परिपाटिमा लेखिएका कथानकले पाठकलाई एउटा भिन्दै दुनियासित परिचय साट्ने अवसर दिएको थियो। एकजाना पुलिस अधिकारीको जीवन के-कस्तो खाले हुन सक्छ, दायित्व र कर्तव्यबोधको भूँवरीमा घर-संसार र आफ्नो समाज जीवन कता रहन्छ आदि विषयलाई पाठक सामु यथावत् उतार्ने लेखकले जमर्को गरेको देखिन्छ। ‘पुलिसको डायरी’को प्रथम खण्डले बहुल लोकप्रियता पाएपछि वर्ष २०१३ मा कुल १९ बोटा साना-छोटा कथानकको संगालो दोस्रो खण्डको रूपमा प्रकाशनमा आएको हो। दुवै खण्डको भाषा, साहित्य, विषयको उठान आदि परिपक्क देखिन्छ। पाठकलाई आफ्नो हात परेका कृती पढि नसकुन्जेल बाँधेर राख्ने सक्षमता ‘पुलिसको डायरी’मा हर पन्नामा छ नै भन्नु पर्दछ।

     हाम्रो समाजका धेरैजसो मान्छे सेवा निवृत्त भएपछि आफूलाई ‘अबचाहीँ बुढो भइएछ’ भन्ने ठान्दै आफ्नो दैनिक दिनचर्यालाई अलिक खुकुलो पारेर शारीरिक उमेर भन्दा मानसिक रूपले ज्यादै बुढो भएको देख्न पाइन्छ। सेवा निवृत्त भएपछि साहित्य चर्चामा कम्मर कसेर लागीपर्ने तेजपुरे अन्य एकजाना साहित्यिक मित्रदेव शर्माको साहित्यिक योगदान यो परिपाटिमा न केवल आदर्श अपितु अनुकरणीय बनेको छ। जनार्दन उपाध्यायको पनि जागिरे जीवन समाप्त भएपछि साहित्यिक यात्रामा तल्लीन भए हाम्रो नेपाली वाङमय साहित्यमा एउटा नया आयाम लिएर लेख्नु लर्तरो कुरा होइन।

     तर विधिको विधान, जनार्दन उपाध्यायलाई हामीले हामीबिच धेरै दिन पाउन सकिनउ। आफूभन्दा ठुलो रोग लागेकोले, वाहाँ ७ जुलाई २०२० को दिन स्वर्गलोक जानु भयो। छोरा-छोरी, नाति-नातीना आदिले झरझुट्ट सुनौलो संसार छाडेर परलोक जानु भयो। हामी वहाँको स्वर्गगत आत्माको चिरशान्ति कामना गर्दै ‘The Oxygen Times’ मार्फत् जनार्दन उपाध्यायको ‘पुलिसको डायरी’का दुवै खण्डमा रहेका जम्मै लेख आगामी दिनहरूमा पाठकवर्ग बिच सातादिनको अन्तरालमा एउटाको दरले पुनः प्रकाश गर्नै आग्रब गर्दछौं। ‘The Oxygen Times’ ले यो जमर्को लिए पाठकवर्ग उपकृत हुनेवाला छन्। हामीलाई लाग्छ, वाहाँका लेख, रचना एवम् साहित्य सृजनामा रोमलिएर युवा साहित्यिकवर्गले केही सिक्नेछन्....।

                               (समार दलनि, सोटिया, विश्वनाथ, असमः 7002702268)

Post a Comment