• theoxygentimes@gmail.com

Blog


अव्यक्त अनुराग
ड. देवेन सापकोटा 
प्राध्यापक. असम कृषि बि. बि.
खानापारा,गुवाहाटी 

अन्तर्राष्ट्रिय पोषण सम्मेलन, चेन्नई।
मुख्य अतिथिको रूपमा स्थानीय गार्हस्थ विज्ञान महाविद्यालयकी डिन तथा प्रख्यात विज्ञानी डा. बि. जयन्ती। उनलाई मञ्चमा उपविष्ट हुन अनुरोध गरी घोषणा भयो। यो नाम डा. चन्द्र प्रधानलाई कता सुने सुने जस्तो लाग्यो। ती विदुषी महिलाले आसन ग्रहण गरिन् ।चन्द्रलाई त्यो मुहार कतै परिचित जस्तो लाग्यो। उनले नियालेर हेरे। तिनी के एक समयमा हाइदारबाद पढ्दाकी सहपाठी त होइनन्? महिलाले जब आफ्नो भाषण राख्न शुरू गरिन चन्द्र झस्के। उनी जयन्ती नै रछिन! उनको मुटु ढुक्ढुक गर्न लाग्यो। श्वासको रफ्तार बढ्यो। उनी भावुक हुन पुगे, प्राय: बीस वर्ष अघिको कुरो सोचेर। के जयन्तीले उनलाई देखिन होली? सायद छैनन। किनभने उनी पेक्षागृहका पछिल्ला पंक्तिमा बसेका छन्। जयन्तीलाई एक्कासी त्यसरी भेट्दा चन्द्रलाई बितेका दिनहरूले बिथोल्न लागे।
**
अन्ध्र प्रदेश कृषि विश्वविद्यालय। चन्द्रले बायोकेमिस्ट्री विषयको परीक्षामा सर्वोच्च अङ्क प्राप्त गर्नेछन्। कक्षामा प्राय: सबैले उनलाई सराहना गरे। उनी भेटेनरीका छात्र भएपनि त्यो  कृषि र गार्हस्थ विज्ञान, सबैको साझा कक्षा थियो। दक्षिण भारतका प्रायः सवै  महिलाले शिरमा सुवासित फूलको माला  सिउरिने गर्छन्।  जयन्तीले पनि त्यसै गर्थिन्।चन्द्र सधैं कक्षाको अघिल्लो पंक्तिमा बस्ने गर्थे। जयन्ती कक्षामा पस्ने साथसाथ   वातावरण मग्मगाउँथ्यो। मुन्टो नफर्काइ चन्द्रलाई थाहा भई हाल्थ्यो पछिल्ला पट्टी उनी कक्षामा प्रवेश गरिन् भनी। दक्षिण भारतका केटीहरू स्वभावैले शान्त प्रकृतिका हुन्छन्। उनीहरू केटासित सार्है घुलमेल गर्न खोज्दैनन्। एकदिनको कुरो। चन्द्र कक्षा सकेर बाहिर निस्कदै थिए। "एक्स्कयुज मी, चन्द्र प्रधान। तिम्रो क्लास नोट्स मलाई एक दिनको लागि देउन। गए  हप्ता म कलेज आउन  भ्याइन"। एक्कासी पछिबाट आएको बोलीले  चन्द्र झस्के। जयन्ती आशिला आँखाले अर्ध मुस्कान मुद्रामा छेउमै खडा थिइन्। चन्द्रको मुटुको धड्कन बढेको थियो अनि जमेका थिए निधारमा मसिना पसिनाका बिन्दुहरू। केटीहरू गहुँ रङ्गी या नौनी सेता चाहिँ हुँदैनन। प्राय:नै साँवले रङ्गी हुन्छन् तर अनुहारमा झल्काउँछन् आफ्नै सौन्धर्य। उनले अनायासै आफ्नो नोट्स  जयन्तीतिर अघि बढाए।
**
अर्को एकदिन। चन्द्रलाई गर्ल्स होस्टेल नगई भएन। भोलिपल्ट बायोकेमिस्ट्रीको परीक्षा रहेछ। तर गए हप्ता लगेकी नोट्स जयन्तीले फर्काउन भुलिछिन्। त्यसै त गर्ल्स होस्टलमा कुनै केटा जानू एक अगतानुगतिक कुरा थियो। तर चन्द्रको लागि विकल्प थिएन। दुई चौकीदार गेटमा देखिए। चन्दले उनी त्यहाँ गएको उद्देश्य सङक्षेपमा व्यक्त गरे। एउटाले सूचना बोकी होस्टलको फलामे ग्याट भित्र अल्पियो। त्यहाँ खडा रहेकालाई टुटेफुटेको तेलुगुमै कोशिश गरे- 'एम पेरू' (नाउँ के हो)? 'प्रेम बहादुर गुरुङ्ग'। 'हजुर नेपाली हो? तर अनुहार मतवालीको जस्तो छैन त'? 

'के ढाँट्नु हजुर? हुनत म पौडेल बाहुन हुँ तर यतातिर थापा, गुरुङ, मगर आदि थर लेख्दा मात्र जागिर पाइन्छ'। प्रेमलाई भेटेर चन्द्रलाई गर्ल्स होस्टल आई रहने भरपर्दो लिस्नो पाए जस्तो भयो। 
**
 प्रयोगशालामा। सबै विद्यार्थीहरू प्र्याक्टिकल गर्नमा व्यस्त थिए। कसो कसो गर्दा जयन्तीले टेस्ट ट्यूब समाउँदा चिप्ल्याइछिन। भित्रको जम्मै एसिड चन्द्रको एप्रोनमा घोप्टियो। हत्त र पत्त साथीहरूले पानी त खन्याए। तर सेतो एप्रोनमा दुलै दुला परे। त्यस तल धन्न जिन्सको प्यान्ट लाएका रहेछन्, रङ मात्र खुइलियो! रसीला आँखाले निन्याउरी जयन्ती कामी रहेकी थिइन्।चन्द्रको छेउमा गएर बिस्तारै भनिन् --'आइ एम सरी । मलाई क्षमा गर'। परिवेशलाई सामान्य बनाउन चन्दले बोलेका थिए - 'ठिकै छ। म ठिकै छु। न सुर्ताउ' ।
**
एकदिन चन्द्रले जिस्क्याउँदै बोले -'जयन्ती, तिम्रो हाइदराबाद सहर डुलाउँदिनौ? तिमी काठमाडौं गएकी भए म कत्ति डुलाउँथिए होला'। 'ठिकै छ। त्यसोभए भोली आइतवार डुल्न जौँ नत। तर मेरा कतिपय शर्त छन्'। चन्द्र कौतुहलमा अल्मलिए- 'कस्ता शर्त'?
'हाम्रा समाजले महिलालाई तिमीहरूको जस्तो खुला वातावरणमा घुलमेल गर्न मन पराउँदैन। त्यसैले तिमी र म भिन्नै सिटीबसमा जान्छौँ ता की कसैले सन्देह नगरुन। त्यसपछि हामी एउटै बसमा अरु तिर जान्छौं। तर  सकेसम्म टाढा बस्छौं, आपसमा वार्तालाप गर्दैनौँ। गन्तब्य स्थानमा पुगेपछि मात्र हामी एकअर्कालाई भेट गर्छौँ। अब हामी भोली बिहान आठ बजे नेहरू जुलोजिकल् उद्यानमा भेट हौंला'।
**
 हैदराबादको यो उद्यान गोही प्रजननका लागि प्रख्यात छ। बिहान गोहीहरू मासु खान व्यस्त देखिए।   चाकरीदारले मासुका चोक्टाहरू हुत्याउँदै गए। तिनीहरू पोखरीका डिलमा बसेर कुपुकुपु खाँदै गए।चन्द्रलाई रहर लाग्यो। आँफैलाई सम्हाल्न सकेनन।उतै ताम्से।काँडाको बार बीचबाट हात पसाएर जिस्काउन थाले। तर उनका खुट्टा चिप्लिएछन्। लडे। गोहीको छाउरो छेउमै रहेछ!

'आय्योय्यो.....'। जयन्ती आफ्नो भाषामै चिच्याउन पुगिछन्। आत्तिँदै चन्द्रलाई बाहिर तानिन । सन्तुलन हराएर उनी चन्द्र माथि उभिन्डीन पुगिन्। दुवै केही क्षणलाई किङकर्तव्यविमूढ भए। दुवैका  स्पन्दन बढेका थिए, मुटु छेउ मै थिए, सायद अबुझ भाषामा  कुरा साटी रहेका थिए। शरीरमा मृदुको विद्युत् सञ्चार भएका थिए।
उनी हत्तपत्त उठिन्। जयन्ती लाजले राति- पीरी भइन्। लुगा टक्टकाइन् र यताउति पल्याकपुलुक हेरिन्। कसैले त देखेनन्? धन्न कसैको नजरमा परेनछ! अवश्यम्भावी दुर्घटनाबाट जोग्गिएपछि 

चन्द्रलाई वास्तविकताको थाहा लाग्यो। उनले जयन्तीलाई बोलेको 'धन्यवाद' शब्दमा धेरै कृत्तज्ञतापन, थोरै औपचारिकता लुकेको थियो। एकछिनको विराम पछि जयन्तीलेनै बोलिन। अब हामी गोलकोण्डा दुर्ग जान्छौँ। 
**
प्राय: ३५० वर्ष पुरानो गोलकोण्डा दुर्ग  बिशालको थियो। यो पहाडमाथि भए तापनि चढ्नमा अप्ठ्यारो परेन। ४०० फुट जति अग्लो यसमा तलबाट  थप्पडी हानी दुश्मन आएको  संकेत माथी पठाउने तरिकाको त्यहाँको गाईडले प्रदर्शन गर्यो। दुवैले चाखमानेर उपभोग गरे। यति  गरिसक्दा बेला फर्केछ। 
**
 विशाल हुसेन सागरको डिलमा बसी दुवैले दृश्य उपभोग गरे। नीला तरङ्गका ताल र छाल हेर्दै गाफिए। अनि आफूबीचमा रहेको सङ्कोचको पर्खाललाई बिस्तारै हटाउँदै गए। त्यसपछि उनीहरू चारमिनार गए। त्यहाँ भारत विख्यात मोतीको बजार रहेछ। चन्द्रले सत्यनारायण पर्लस पसलबाट एक जोडी कानका लुर्का सुटुक्क किने। त्यसलाई जयन्तीका हातमा थमाउँदै जिस्काए -'मेरी गाइडलाई यो मेरो सानो सौगात'। यसरी अप्रत्याशित भेट आएकोमा जयन्ती अप्रस्तुत भइन्।लाज र सङ्कोचले भिजेर पानी पानी भइन् । एक पाइला पछि हटीन्। तर ग्रहण नगरी उपाय थिएन।
 **
 सलरजङ्ग म्युजियम प्रदर्शन गराउँदै जयन्तीले भनिन- 'यो विश्वप्रसिद्ध मूर्ति भित्रको एउटा हो'। चन्द्रलाई यस म्युजियमको प्रख्यात भित्ते घडीको कुरो पहिल्यै थाहा थियो। तर रेबेक्का भन्ने पत्थर  मूर्तिको सुन्दरता देखेर उनी दङ्ग परे। श्वेत नग्न महिला। उन्निसौँ शताब्दीका इटालियन मुर्तिकारले स्वच्छ वस्त्रले ढाके जस्तो गरी भित्रका अङ्गहरू स्पष्ट देखाईएका थिए। पुष्ट छाती।  मजेत्रो भित्र तिखा स्तन छर्लङ्ग देखिन्थे, पुर्णिमाका चन्द्रमालाई हल्का बादलले छोप्न वृथा प्रयास गरे जस्तो। शिला वस्त्र शरीरमै टाँस्सिएको। कुनै नारी स्नानगृहबाट भर्खरै निस्किएर  लजालु मुद्रामा उभिए जस्तै। 
 **
त्यस पछि पहाडमाथिको गीता मन्दिर दर्शन। दक्षिण भारतका मन्दिरहरू सुन्दर हुन्छन्। अकाश ताकेका गजुरमा अनगन्ती देवी देवतालाई विभिन्न मुद्रामा सजाएर राखिएका हुन्छन्। गणेश र कार्तिकको धेरै पूजन हुन्छ। मानिसहरू बेलुका ढुक्क दर्शन गर्न भिड गर्छन्। उताको जस्तो भोक भोकै व्रत लिएर होइन।
अरुले गरे सरह उनीहरूले छेवैको पसलबाट बोक्रो ताछेको नरिवल किने । मन्दिर सामु उभिएको  चन्दने धोतीवाला पण्डितको हातमा थमाइदिए। उनले मन्त्र उच्चारण गरी त्यहाँको ढुङ्गामा प्याट्ट फूटाए। अनि आधा फालो फर्काइदिए। प्रदक्षिण गरिसकेपछि दुवै चौपायामा बसे। नरिवलको प्रसाद चपाउँदै मीठा मीठा गफमा तल्लिन भए। एकक्षण पछि रेलिङ समाएर उभिए। तल धेरै टाढा बक्राकार अलकत्रे सडकको समानान्तर बिजुली बत्तीहरू पिल् पिल् गरी रहेका थिए। कुनै युवतीको गलामा टल्केका मोतीका बिन्दुहरू जसरी नै। 'नेकलेस रोड'को यो अपूर्व सुन्दर दृश्य थियो! एक्कासी चलेको हल्का 
हावाले जयन्तीको केशको टुप्पोले चन्द्रको गालामा सप्को हानिदियो। उनी झल्याँस्स भए।जयन्तीले सतर्क भएर कपाल सम्हालिन्। चन्द्रलाई गाला सुमसुम्याई दिएको भान भयो। केशले मृदु सुवास छाडेको मात्र होइन साथमा मादकता पनि उद्रेक पारेर गएछ। टङ् टङ् टङ् । मन्दिरको घण्टी बज्दा उनीहरू झस्झकिए। लौ समय बितेछ! थाहा भयो दुवैका पेटभित्र भोकले मुसा कुदिरहेका रहेछन्। होटल नगइ भएन। हैदराबादको प्रख्यात परिकार बिर्यानी चन्द्रलाई खूबै मन पर्छ। तर जयन्तीले आफ्नो प्रिय दक्षिण भारतीय खाना इड्ली, डोसा, साम्बार, रसम आदिसँग रमाई रमाई खाइन्। गर्ल्स होस्टलमा ढिलो पस्न मनाही हुनाले उनीहरू आत्तिए। हत्तपत्त सिटिबस खोज्न तर्फ लागे।
**
 सधैंझैँ चन्द्र बेलुका पढ्ने टेबुलमा बस्दै थिए। एक-एक गरी कक्षामा प्रयोग भएका नोट-खाताहरू ब्यागबाट निकाल्दै गए। बायोक्यामिस्ट्रीको कापी  निकाल्दा एउटा कागजको टुक्रो भूमिमा झर्यो। चन्द्रले त्यसलाई टिपेर नियाले। 
'भोलि आइतबार बिहान ८ बजे हाम्रो होस्टलमा आउनू । म पर्खि बस्छु'। फेद न टुप्पाको यो चोइटो जयन्तीले नै लेखेकी रहिछिन्। चन्द्रले हस्ताक्षर चिनी हाले।कथङकाल अरूको हात परेमा जोग्गिन यसो गरेकी होलिन्। उनी कुर्सीमा बसे, आँखा चिम्लिए अनि त्यो टुक्रालाई सुङेर आत्मविभोर भए। यो परिचित सुवास थियो, जयन्तीको अत्तरको वासना। साथसाथै उनका मनमा हज्जार प्रश्नका तरङ्गहरू उद्वेलित हुँदै गए। उनले एक्कासि यसरी किन बोलाएकी होलिन्? निश्चय पनि आउँदैगरेको परीक्षा प्रस्तुतिको सल्लाह गर्न होला। जेहोस्, भोलि बिहान जयन्तीसँग भेट हुने आशामा उनी रमाई रहे।   
**
भोलिपल्ट। बिहानै देखिन चन्द्रको मन भुवा झैं उडिरहेको छ। आनन्दमा। मन खट्पटी रहेको छ। उत्सुकतामा। घडी तीन चार पल्ट हेरिसके। बल्ल ८ बज्न लाग्यो। 
**
चन्द्र जतिजति गर्ल्स होस्टल नगीच पुग्दै गए उतिउति चुम्बकले फलामलाई खिँचेसरि गोडा उतै डोरिए।होस्टल बाहिरको अतिथि गृहमा कुनै महिला उभी रहेकी टाडैबाट दृष्टिगोचर भयो। जयन्तीनै रहिछिन् । तर अनौठो परिधानमा।निधारको बीचैमा सिउँदो काढेकी। आकर्षक तरुण शरीर। काला लामा केश, खुलै छाडेकी। तर पछाडिपट्टि काँटाले फेदैमा च्यापेकी।काँटामा सुवासित सेता 'मल्लीपुष्पम्'का माला सिउरीएकी। भृकुटि बीचको सानो कालोटिको तिरबिराई रहेको। हरिणीका जस्ता आँखामा हलुका गाजल पोतिएको। लाम्चिलो अनुहार। चेहरामा पनि चित्र सिँगारेजस्तै आधुनिक श्रृंगारले पूरा काम सिध्याइसकेको थियो।गलामा छरितो सुनौलो माला। आकाशे निलो बुटे साडी परिधान गरेकी, ब्लाउज चाहिँ गहिरो रातो। कुनै उत्सवमा भाग लिन जानेजस्तै सजिएर बसेकी। दुवै कानमा केहीदिन अघि चन्द्रले उनलाई उपहार दिएका कानका लुर्का मुन्टो हल्लाउँदाका साथसाथ आन्दोलित थिए। जयन्तीको मालाको सुवासले कोठानै मगमगाई रहेको थियो।
'एम विशाषेलु'  (केहि विशेष छ) ? चन्द्रको मुखबाट अनायासै तेलुगु निस्कियो।
'आज हाम्रो तेलुगु नयाँ साल 'उगादि'को दिन हो।तिमीलाई सर्प्राइज दिन यसरी बोलाएकी'। उनी लजालु नयनले मुसुक्क हाँसेर छेउमा उभिई रहिन्। 
'अब तिमीलाई म विशेष प्याउ पिलाउँछु'। 
कमरामा दुईवटा कुर्सी थिए। उनी यन्त्रबस बसे। मेचमा एउटा आकर्षक जग र दुईवटा काँचका गिलास रहेछन्। जयन्तीले जगबाट धमिलो सर्वत् निकाली दुवै वटा गिलास भरिन । एउटालाई उनीतिर अघि सार्दै बोलीन - 'यसलाई पाच्छिपुलुसु भन्छन्। वर्षको पहिलो दिनमा यसको सेवन गरेमा रोगव्याधी केही लाग्दैन अनि दीर्घायु हुइन्छ अरे'।चन्द्रले उत्सुकताका साथ गिलास उठाए। तर एक घुड्की देखी माथी निलिएन। तीतो, अमिलो, टर्रो, मिठो आदि सवै खाले स्वाद मिसिएका। तित्रिको जस्तो भएपनि कतै रामभेडा, खोर्सानी, तिल, प्याज आदिको अस्तित्व झल्की रहेको थियो।गिलासलाई मेचमा राखेर जयन्तीतिर पुलुक्क हेरे। 
'हा हा मिठो लागेन? यहाँ थरिथरिका पुष्टिवर्धक जडीबूटी हालिएको हुन्छ... ..'। उनले बोल्दै गईन। साथमा गाजले आँखा, अनारे दाँत र गुलाबी ओठहरू हाँसिरहेका थिए। तर ती हाँसोमा कतै थिएन उत्ताउलोपन या चञ्चलता, थियो केवल स्वच्छ निर्मल आफ्नोपनको महक। उनका मुस्कानका साथ साथ दुवै गालामा खोबिल्टाका सृष्टि हुने गर्थे।।चन्द्रलाई यो दृश्य हेरिरहुँ, हेरिनैरहुँ जस्तो लाग्यो। जयन्तीप्रति उनको माया प्रगाढ भएर उम्ल्यो। आँखाभित्र नानी बनाएर राखुँ राखुँ लाग्यो।
**
 तेलुगु मानिसहरू सिनेमा भनेपछी हुरुक्क हुन्छन्। साथीको लै लै मा लागेर चन्द्रले निकै सिनेमा हेरी सकेछन्। लत लाग्यो भन्दा पनि भयो।हिन्दी, अङ्ग्रेजी मात्र होइन, तुलुगु पनि।उनलाई एक्सन सिनेमा मन पर्थ्यो। तर जयन्तीलाई भने कला सिनेमा। प्रभावमा परेर होला चन्द्रको मन पनि बिस्तारै कला प्रति ढल्कँदै गयो।
**
हेर्दाहेर्दै दुई वर्ष बितेछन्। कोर्स समाप्त हुनै बेला आएछ। चन्द्रलाई थेसिस् बुझाउन एकसाता जति धेरै समय लाग्ने पर्यो । उता जयन्तीको भने समयमै हुने पर्यो। थेसिस् बुझाए पछि विद्यार्थीहरू घर फर्कन्छन्। यसलाई जाँच गर्न एक दुई महिनाको समय लाग्छ। गाइडसँग सम्पर्क गरेर विद्यार्थीले तोकिएको समयमा फर्केर थेसिस् परीक्षा (भाइभा) दिन्छन् र डिग्री हाँसिल  गर्छन्।
**
हैदराबाद रेल स्टेसन। बेलुकी पहेँला आकाशमा सूर्य देवता बिदा लिने तरखरमा थिए। रेल भित्र जयन्ती सबार थिइन्। यसले बिस्तारै चक्का घुमाएर छुक्  छुक् आवाज निकाल्यो। जयन्तीले झ्यालबाट हात निकालिन्।  रातो रूमाल हल्लाउँदै बिदा मागिन। उता प्लेटफर्मबाट  चन्द्रले  हात हल्लाए। दुवैका आँखा रसाएका थिए, मन बोझिल।  थेसिस् परीक्षाका बेलामा फेरी भेट हुने आशा उन्दै मन बुझाए। तर नियतिको चक्का मानिसले सोचेजस्तो घुम्दो रहेनछ। दुवैको परीक्षा एकै समयमा नहुने पर्यो। भिन्नाभिन्नै समयमा दुवैले आफ्ना डिग्री समाप्त गरे। भेट हुन सकेन। तर दुवैबीच पत्रलाप भने चलिनै रह्यो। चन्द्रका हुलाकहरू काठमाडौंको भीमसेन गोलामा र जयन्तीका चाहिँ अन्ध्रप्रदेशको श्रीसाईलाममा आउँने गर्थे। 
**
परीक्षा दिएको दुई महिनामै चन्द्रलाई नेपाल सरकारको विदेशमा पढ्ने  वृत्ति प्राप्त भयो। उनी उच्च शिक्षाका लागि तत्काल अमेरिकाको प्रिन्सटन विश्वविद्यालयमा जानु पर्ने भयो। प्रारम्भिक कालमा घरको यादले, हाइदाराबादमा बिताएका सम्झनाले उनलाई निकै सताउँथ्यो। तर विदेशको रमझम् र शोधकार्यको व्यस्ततामा उनी क्रमशः भिज्दै गएँ। विगतका कुराहरू उनका मन-मस्तिष्कबाट बिस्तारै हराउँदै गए। उता परिस्थितिवश: जयन्तीका पिताजीको सरुवा भयो। उनीहरू सपरिवार अन्तैतिर जानुपर्यो। पत्रहरू दुबैंका  हुलाकमा त पुगे, तर हस्तान्तर भएनन्।
**
सम्मेलनको बेलुका भव्य भोजन पार्टीको आयोजन गरिएको थियो। त्यहाँ देशविदेशका अतिथिहरूको समावेश थियो। चन्द्रका प्यासी आँखाले कसैलाई खोजिरहेका थिए। तर उनले धेरैबेर पर्खनु परेन। हलको अर्को कुनामा जयन्ती कसैसँग उभिएरै कुरा गर्नमा व्यस्त देखिइन्। चन्द्रका पाइलाहरू यन्त्रवत् उतैतिर तानिदै गए। उनी जतिजति छेउ पुग्दै गए उतिउति मुटुको धड्कन बढ्दै गयो। नजिक पुगेर उनले सास रोक्तै सुस्तरी बोले - "क्षमा गर्नुहोला,हजुर जयन्ती होइन"? 
"अनि हजुर चाहिँ....." जयन्तीले मुन्टो फर्काइन् । केही बोल्नै आँटेकी थिइन्। तर उनको स्वर घाँटीमै अड्कियो। उनी अवाक भइन्। टाउको भनन्न गर्यो।आफैंलाई सम्हाल्न नसकेर उनी सोफामा थ्याच्च बसिन्। एक्कासी आएको हर्षका लहरले उनका आँखा भरिएछन्। द्रृष्टिमा बादल छायो। आत्तिँदै बोलिन् -'आम्माम्मै । तिमी चन्द्र होइनौं? यत्रो दिन कहाँ हराएका थियो? कस्तो छ तिमीलाई'? 
.... त्यस पछि एक अर्कालाई आफूले बिताएका पलका पोकाहरू खोल्न लागे। हैदराबादमा बिताएका मधुर क्षणका रोमन्थन गरे। माथि खुला आकाशमा ताराहरू पील् पील् गरिरहेका थिए। अनि भूमिमा चखेवा-चखेवी एक अर्कामा समर्पित थिए प्राय: दुई दसक पछि। त्यतिबेला घडीका काँटाहरू मानौँ कुद्न छाडेर बिरामले अडिएका थिए।
**
डिनर सकेर अतिथिहरू फर्केर गएछन्। हल सुनसान देखिन्थ्यो। चन्द्रले यत्रो बेर छोपेर राखेको कौतुहलको बिर्को उघारे - 'अनि तिम्रो परिवार'? 
'घरमा वृद्ध मुमा-बूबा मात्र'।
'श्रीमान चाहिँ'?
'बिहा नै गरिन'।
'किन'?
'तीन तीन ओटी बहिनीको बिहे दानको दायित्व पालन गर्दा गर्दै समय काहाँ फुत्किएर गएछ पत्तै पाइन। तिमीलाई त थाहै होला हाम्रो समुदायमा छोरीलाई बिहे दिँदा कत्रो मारकाटनम् (दाइजो) दिनुपर्छ! त्यसै बीच पिताजी सेवा निवृत्त हुनुभयो'। 
जयन्तीले यति भनेर खुइया गरी ठुलो सास फेरिन्। बिचरी जयन्ती! घर र परिवार प्रति दायित्व निभाउँदा निभाउँदै आँफै खिइएर गएकी रहिछिन्। उनी प्रति चन्द्रको सहानुभूति प्रगाढ भएर आयो। 
'ला, मैले त यत्रोबेर आफ्नै महाभारत सुनाइ रहेकी रहीछु! अब तिम्रो भन त चन्द्र, परिवार अमेरिकामा राखेका छौ, नेपालमा,  कि साथमा ल्याएका छौ'? 
 चन्द्रको हँसिलो अनुहारमा एक्कासि बादल छायो। उनी गम्भीर मुद्रामा देखिए। उनको दृष्टि टाडा कतै आकाशमा गएर अडियो। तत्काल केही जवाफ दिएनन्।चन्द्रको अनुहारमा आएको परिवर्तन जयन्तीको नजरबाट उम्केको थिएन। उनको कुममा सुस्तरी हात राखेर जयन्तीले सोधिन् - 'चन्द्र, तिमीलाई के भयो, कहाँ हराएउ'?
चन्द्रले भाबुक बन्दै बोले-'खोइ के भनु जयन्ती? मेरी श्रीमती ऊ त्यहाँ तारा भएकी होलिन्। आजभन्दा प्रायः १५ वर्षअघि मैले बिहा गरेर लगत्तै अमेरिका फर्किनु परेको थियो । उनले एक महिनापछि मलाई भेट्ने कुरो थियो। तर विमान दुर्घटनाले उनलाई मबाट खोसेर लग्यो'।
यति भनी चन्द्र निश्चुप भए। म त जेजस्तो भए पनि आफ्नै परिवारको साथमा रछु। यी बिचरा चन्द्र! फगत एक्लै, विदेशमा। कति पीडा छ होला यिनको जीवनमा? - जयन्तीले सोचिन्।
यी दुवै मित्र एक अर्काको सहमर्मिताबोधमा पग्लिँदै गएका थिए।  चारैपट्टीको वातावरण शान्त थियो। जयन्तीलेनै निस्तब्धता तोडिन्- 'म हरवर्ष उगादिका दिन तिमीले दिएका मोतीका सेट् निकालेर हेर्ने गर्छु। तिमीसँग कुनै न कुनै एक दिन भेट हुनेछ भन्ने तिनीहरूले मानौं मलाई सांकेतिक भाषामा बोल्ने गर्थे'। जयन्तीले यत्रो दिन उनको मायाको सौगात हिफाजतले राखेकी रहेछिन् भन्ने चन्द्रले कल्पना नै गर्न सकेनन्! 
'तिमीलाई मैले सोसियल मिडियामा पनि खोजेँ। तर अमेरिकातिर फड्को हानेका रहेछौ'! 
'तिमीले आफ्नो दुरविन अमेरिका तिर लगाइनौ होली। म उता मास्के नाउले प्रचलित भएँ। यो मेरो थर हो जुन चाहिँ नाउँको अन्तिममा जोडिन्छ। तर तिमी दक्षिण भारतीयहरूको नाउँको सुरुमा यस्तै थरखाले शब्द रहन्छ। जस्तै: तिम्रो नाउँको 'बि'। बि केही शब्दलाई संक्षेपमा भनिएको होला'। 

चन्द्रले भन्नुको लागि नै भनी दिए। तर भित्र भित्रै उनलाई अपराधी बोध भइरहेको थियो। सम्पर्क नराखेकोमा।जयन्तीलाई सायद उनले यसअघिनै भेटेको भए आफ्नो जीवन रेखा नै बदलिने थियो होला।
आकाशमा ताराहरूले आँखा झिम्काइ रहेका थिए। अनि यी दुई प्राणीका मुटुहरू एक-अर्काप्रति समर्पित हुन खोजिरहेका थिए। टाढाबाट हिन्दी सिनेमा  'आँधी' को गीत  'तेरे बिना जिन्दगी से कोइ सिकुवा तो नहीं... 'हावामा हुत्तिएर आइरहेको थियो। दुवैका शुन्यहृदय भित्र मीठा ध्वनिका गुञ्जन तरंगित भइरहेका थिए।

__XX__

(यो कथा मेरा हाइदराबाद पढ्दाका परम मित्र प्रयात चन्द्र कुमार प्रधान मास्केलाई समर्पित छ। तर उनको व्यक्तिगत जीवनसँग यो कथाको केही सम्पर्क छैन)

Post a Comment