Blog

अञ्जन बासकोटाको ‘दृष्टि’ निबन्ध सङ्ग्रहमा: मेरो दृष्टि

Blog Image

अञ्जन बासकोटाको दृष्टिनिबन्ध सङ्ग्रहमा:  मेरो दृष्टि
गणेश शर्मा, ढेकियाजुली, शोणितपुर, असम

ग्रन्थ परिचय: 
ग्रन्थको नाम: ‘दृष्टि’ निबन्ध सङ्ग्रह
ग्रन्थकारको नाम: अञ्जन बासकोटा 
प्रकाशक: भारतीय साहित्य प्रकाशन, तेजपुर,  असम
प्रकाशन वर्षः २०१६ 
विधा: निबन्ध ( नेपाली )
मूल्य:१५० /-

ग्रन्थ आलोचनाः
असमको  विश्वनाथ  जिल्लाको सोटिया  नागशङ्करको समारदलनीमा जन्मिएर वर्तमान पुर्वोत्तर भारतको असमीया, नेपाली तथा अङग्रेजी  भाषा साहित्यमा कलम चलाउने युवा प्रतिभाहरु मध्ये  अञ्जन बासकोटा एक अन्यतम  हुन् । अङग्रेजी १९८५  सालमा सोटियाको समरदलेनीमा  जन्मिएर नेपाली तथा अङग्रेजी  साहित्य र नेपाली साहित्यमा पनि स्नातकोत्तर शिक्षा हासिल गरेर शिक्षाकतालाई आफ्नो पेसा बनाउनको   साथसाथ भाषा संस्कृतिको विकाशमा समाजलाई  अघि बढ़ाउने प्रयासमा व्यस्त छन् उनी। सन् २०१६ मा  प्रकाशित भएको र नेपाली भाषाको २०२० को साहित्य अकादमी  ‘युवा  पुरस्कार’प्राप्त ‘दृष्टि’ निबन्ध सङग्रहमा सर्वमुठ १७ वोटा निबन्ध समावेशित छन् ।
यस पुस्तकमा समावेश गरिएका निबन्धहरू अङग्रेजी २०१३  देखि विभिन्न पत्र-पत्रिकामा प्रकाशित भएको जानकारी पुस्तकबाट पाइन्छ । कृतिका रुपमा यो उहाँको दोस्रो मौलिक कृति हो । यसअघि २०१४  मा असमीया भाषामा प्रकाशित भएको ‘निवारिता  मानवता आरु  निबन्ध विचित्रा’   उहाँको पहिलो कृति हो । ‘दृष्टि’ निबन्ध सङग्रहमा निबन्धरकार बासकोटाले नेपाली समाजमा विद्यमान कतिपय सामाजिक संस्कार –संस्करण, आचार- संहिता, विश्वास र परम्परा, समाज व्यवस्था, रीति-नीति लगायत नारी शिक्षा, भाषा साहित्य आदिमा आलोकपात  गरेको पाइन्छ ।
‘विश्वायन र बदलिदो दुनियाको मझोरिमा हाम्रो संस्कृति’ नामक उहाँको निबन्धमा गोर्खालीहरुको संस्कृतिका विभिन्न विधाहरु जस्तै संस्कारकार्य, शुभकार्य,  नृत्यगीत, चाडपर्व, हातेसीप, धामीझाँक्री, वेशभूषा, आ-अलङ्कार, वाद्ययन्त्र, गाइने आदि माथि चर्चा अघि बढ़ाएको पाहिन्छ। असममा गोर्खाहरुले यहाँको विभिन्न जति जनजातिसँग मिलेर उनीहरुको संस्कृतिलाई अङ्कमालगर्दै आएका छन् र याहाँका रैथानेहरुले पनि गोर्खाली संस्कृतिलाई अपनाएको देखिन्छ। जस्तै प्रत्येक नेपालीहरुको घरमा असमीया संस्कृतिको स्वाभिमान स्वरूप खराई, जापी, गाम्छा आदि देखिन्छ भने, असमका प्रत्येक असमीया र बड़ो मानिषको घरमा गोर्खाली संस्कृति स्वरूप खुकुरी पनि भेटिन्छ। साहित्य जसैगरि एक जतिको दर्पण सरह हो त्यसैगरिनै संस्कृति पनि जाति र समाजको कलेजो हो भन्ने कुरो निबन्धमा पाहिन्छ। लेखक बासकोटाले भनाई छ "विश्वायनको भूवँरीमा परेर ह़ाम्रो सोचाईमा फराकिलोपन देखा परेको छ.... न चाहिने कतिपय कुरालाई संस्कार गरेर परिवर्तित समाजसँग कदम मा कदम मिलाएर हामी हिन्नुनै पर्दछ , तर यसको अर्थ यो नहोस कि हामी आफ्नो पहिचान  बिर्सी दिऊ..." (पृ.१८)।
‘वधूशिक्षा र आधुनिक नारी समाज: एक चर्चा’ निबन्धमा बासकोटाले आदिकवि भानुभक्त आचार्यको ‘वधूशिक्षा’, वर्तमानको परिप्रेक्षमा यसको महत्वको बारेमा चर्चा अधिबढ़ाएको पाहिन्छ। वधु अर्थात् बुहारी एउटा घर तथा एक समाजको मान र सन्मान हुन्। ‘वधु शिक्षा’ मा बुहारीहरुलाई आदर्श, नैतिकता र कर्तव्यवोधको शिक्षा दिएका छन्। एउटा घर परिवारमा सुख-शान्तिको माहोल बनाउनमा एउटी नारी तथा बुहारीको महत्तपूर्ण भूमिकाको बारेमा यसमा वर्णन छ। निबन्धकार बासकोटाले आदिकवि भानुभक्त्तको समयको बाल विवाह र सती जाने  वधुसँग वर्तमान समाजका आधुनिक बुहारीहरुको  शिक्षादीक्षा तथा कार्यहरुमा धेरै फरकको बारेमा विस्तृत चर्चा गरेको पाहिन्छ । ‘मुलत: बुहारीहरुको शिक्षाको खाँचो आदिकविको समयमा पनि थियो र आजको आधुनिक समयमा पनि छ’ भन्ने निबन्धकारको भनाई छ ।
     ‘साम्प्रतिक समयमा धर्मको प्रासङ्गिकता’ निबन्धमा बासकोटाले वर्तमानको आधुनिक युगको मानिसहरूको बिचारधारा र सोचहरुसँग मध्ययुगीन पौराणिक र अघोरी मानवहरुको सोच र चिन्ताको बारेमा आफ्नु मत राख्नु  भएको   छ । धर्मले कसरी एउटा समाज गठन गर्नुमा सघाँउ अगिबढ़ाउदछ  र धर्मको  आधारमा समाज प्रतिष्ठा कसरीहुन्छ आदि विषयहरुमा यस निबन्ध आलोकपात गरेको पाइन्छ । यसबारेमा उहाँले इस्लाम धर्म र क्रिस्तान धर्मका धर्मग्रन्थले समाजलाई बताएको मार्गकोबारेमा जानकारीदिँदै धर्ममा आधारित देशहरूको विकाश र गठनकोलागी एक  अघोषित प्रतियोगिता चलेको कुरा र समग्र परिवेशको बारेमा बताउनु भएको पाइन्छ । लेखकको भनाइ छ धर्मको उद्दस्य अन्तर दर्शन हो । सन्त्रासले जर्जरित आजको विश्व सम्प्रदायको बिचमा  सबै धर्मले भातृत्ववोध, विश्व कल्याणको  धारणा जागरुक गर्न सक्षमभएमा धर्मको प्रासङ्गिकता देखिन्छ र धर्मको प्रसङ्गले विश्व कल्याण गर्नु समयको आह्वान भन्ने निबन्धकारको भनाइ छ ।
‘विश्व परिवेश दिवस, समाजिक वृक्षरोपण र हामी’ निबन्ध मानिसमा परिवेशप्रतिको करणीय र कर्तव्यवोध जगाउने लेख जस्तो लाग्दछ । जनसमूदायलाई परिवेशको संरक्षण गर्नुमा ध्यान दिनु, प्रकृतिको सुरक्षा गर्नु , प्रकृतिको जगेडागरी जीवजन्तुको रक्षा र संरक्षण गर्नुको साथै रूखपातको संरक्षण गर्नुमा ह़ाम्रो करणीयबारेमा लेखक बासकोटाज्यूले जोड दिएको देखिन्छ । 
बासकोटाज्यूले ‘बर पिपलको बिहे र हामी’ निबन्धमा सभ्य समाजको प्रत्येकजानाको कर्तव्यवेधको बारेमा आफ्नो सोच हामीमा व्यक्त गर्नु भयको पाइन्छ । यसबारेमा नेपाली समाजको आदिकालदेखि चलीआएका परम्परा, बर-पिपलको विबाहकोबारेमा लेख्नु भएको छ । नेपाली समाजले आदिकालदेखि नै बरलाई बिष्णु र पिपललाई लक्ष्मीको रूपमा पूजागर्ने चलन छ ।  नेपाली समाजमा बर-पिपलको पूजागर्ने मौका पाउनु परम भाय्ये हो भन्ने विश्वास छ ।  बासकोटाज्यूको भनाइ छ, ‘यस जन विश्वासले गर्दा मानिसहरूलाई सामाजिक वृक्ष रोपणगर्नमा आकर्षित गराउद छ र वृक्ष रोपणले म़ानिषहरूलाई प्रकृतिप्रति आफ्नो   कर्तव्यवोध र प्रदुषण नियन्त्रणमा वृक्ष तथा तरूतृणको भूमिकाकोबारेमा  भान गराउछ ।’
‘जन्मजयन्ती उपलक्षमा किव हरिभक्त कटुवालप्रति सम्झना’ शीर्षक निबन्ध मार्फत् प्रतिभाधर असम सन्तानप्रति श्रद्धा सुमन अर्पण गर्दै कविका विशेष गुण-गरीमाको व्याख्या गरेको देखिन्छ । साथै कवि हरिभक्त कटुवालज्यूका अप्रकाशित कृतीहरूले प्रकाशनको मुख देख्न पाउन भन्ने आसा व्यक्त गरेको देख्न पाइएको छ । चर्चाको क्रममा कविका विशेष केही कविताको काव्यिक रसस्वादन गरेको देखिन्छ । 
‘अन्तर्राष्ट्रिय नारीदिवस र नेपाली नारी’ एक प्रगतीशील लेख हो । यस निबन्धमा नारीसत्ताको समस्या र प्रासङ्गिकताको झलक पाइन्छ । नारीहरूलाई मर्यादादि, उनीहरुलाई शिक्षितपारि एक उच्च समाज गठन गर्नुको सपना यो नारीवादी लेखबाट पाइन्छ । मानव समाजमा सृष्टिको बुनियाद हुन् नारी । यस लेखमा बासकोटाज्यूले वैदिक युगमा भारतीय नारीको स्थान र स्थिति देखि शुरूगरेर पछि मोगल युगको शासनको समयसम्म हाम्रा नारीहरूको स्थान र मानकोबारेमा  आफ्नो भाव र मत  राख्नु भएको पाइन्छ। यस सन्धर्भमा निबन्धकारले १९७८ मा सुरुगरेको यो ‘अन्तर्राष्ट्रिय नारीदिवस’ पालनको महत्त र गुरूत्वकोबारेमा पनि आफ्नो पक्ष राख्दै भन्नुहुन्छ  " नारीको उन्नति भनेको  एउटा घरको प्रगति , समाजको प्रगति,  देशको  प्रगतिलाई बुझिन्छ, नारीको जय हवोस् ।"
"विस्तिर्ण मानव समाज र विपन्न भँगेराहरू" निबन्धमा लेखकले आधुनिक समाजको कार्यकलाप तथा कार्यपद्धतिलेगर्दा विपन्न र छरपट्ट परेका बिचरा भँगेराहरूको स्थिति र अवस्तालाई अम्लाउनु भएको छ । आजको वर्धित जनासंख्याको कार्यकलापलेगर्दा जीवकुलप्रति गहिरो सङ्कट ल्याएको छ । यसबारेमा लेखकले मान्छेको प्रकृति र जीवकुलप्रतिको उदासीनतालाई दोष दिनु भएको छ । लेखक बासकोटाज्यूले  हामीलाई जीवकुलप्रति  जिम्मादर हुनु पर्ने कुरामा जोड़ दिनु भएको पाइन्छ । लेखकको भनाइ छ  "आफु बाच्नुको साथसाथै अरुलाई आफ्नो समसर्गामा बाच्नदिने  सुस्थ वातावरण बनाउन सक्षम हुनु मै हाम्रो जीव श्रेष्ठताको प्रमाण हुन्छ ।"
"बिस्मृतिको गर्भमा नेपाली जनगोष्ठीय संस्कृतिको अभिन्न अंग दाइँगीत" निबन्धमा लेखकले नेपाली जनगोष्ठीय संस्कृतिको अभिन्न अंग दाइँगीतको बारेमा  लेख्दै आफ्नु चिन्ताको  पिटारो खोलनु भएको छ । दाइँगीत भन्नाले दाइँगर्दा गोठालाले अल्छिपन आउदा तो आलाश्यपन हटाउनलाई गाउने गीतलाई बुझिन्छ । आँगनमा धान दाइँगर्दा गोठालाले गोरु धपाउदा गाउने गीतलाई दाइँगीत भनिन्छ ।"तर आज आधुनिकताको हुडीमालागी कामहरू छिटो र सहज रुपमा हुनु र गर्नु परेकालेगर्दा धान दाइँ गर्ने कामचाहिँ ट्रकटर  र मेशिनले  गर्ने व्यवस्था सुरु भयो र बिस्तारोगरि यो दाइँगीतको प्रचलन पनि ह़ाम्रो समाजबाट हराउदै गएको छ भने दाइँगीतको प्रसङ्गिकता काहाँ छ र  भन्ने लेखकको भनाई  छ ।" 
निबन्ध "नेपाली जनजीवन र दुना-टपरा: एक झलक" एउटा संस्कार-संस्कृति र चिन्तन-मनन सम्मन्धिय निबन्ध हो । दुना-टपरा नेपाली जनजीवनको एउटा अभिन्न अंग हो र यसको महत्त असीम छ । निबन्धकारको भनाइ छ, दुना-टपरा गास्नू अथवा बनाउन जान्नु ह़ाम्रा चेलीबेटीको मान र सन्मान हो भनिन्छ र दुना-टपरा गास्नू नारीको एउटा कलाको नमुना भनि ठानिन्छ । छोरी बुहारीले यस कामलाई समाधागर्दा गौरव गरेको पनि देखिन्छ । तर आजको आधुनिक र विश्वायनलेगर्दा बिस्तारो बिस्तारो  यी दुना-टपराको सट्टा  कृतिम हिसावले प्रस्तुत गरेका डीस, प्लेट आदिको प्रचलन ह़ाम्रो समाजमा  सुरू भएको छ ।  सायद ह़ाम्रो  व्यस्तता, गास्न जान्ने सीपालु मानिषको कमि र वजारमा उपलब्ब्द भएका  तथा वैकल्पिकरूपमा  भेटिने समानहरुले गर्दा हामीमा  दुना-टपराको व्यवहार कामदै गएको छ । निबन्धकार यस विषयमा चिन्तित हुँदै भन्नु हुन्छ, ‘‘निबन्धको उद्देश्य यो होइन कि नारीहरू दुना-टपरामा मात्र व्यस्त रहुन । उद्द्यश्यचाहिँ यो हो कि नारीहरूले  आधुनिकतालाई अँगालेर कृतिम हिसावले प्रस्तुत गरेका डीस, प्लाट आदिको प्रचलन नगरी प्रकृतिप्रदत्त बिरुवाका पातले दुना-टपरा  गाँसीदिए संस्कृतिको  जगेडा पनि हुन्थ्यो, अन्यथा  हाम्रै छोरा नातीले दुना-टपरा भनेको के हो भन्दै सोधिहिड्ने छन् ।"

"आधुनिकता र नेपाली नारी" निबन्ध  मार्फत लेखकले ह़ाम्रा गोर्खाली  समाजका नारी र छोरी चेलीहरूको  शिक्षा-दीक्षा र  उहाँहरुको जीवन शैलीकोबारेमा आलोकपात गर्नु भएको छ ।  लेखक भन्नु हुन्छ, आधुनिकता, विश्वायन र परिवर्तित समाज व्यवस्थालेगर्दा हाम्रा समाजका नारीहरुको शिक्षामा योगात्मक  असर पारेको देखिन्छ । समाजमा शिक्षाको प्रभावलेगर्दा नारीहरूले पनि पुरुष सरह शिक्षादीक्षा प्राप्त गरेका छन् र यो योगात्मक प्रभावको  असर समाजमा परेको देखिन्छ जसले गर्दा  उनीहरू  पनि उच्च शिक्षित भै शिक्षक, अध्यापिका, शोधकर्ता, चिकित्सक, प्रशासनिक अधिकारी आदि भएका पनि छन् भन्ने बिचार निबन्धकार बासकोटाज्यूको छ । यस निबन्धमा लेखकले आदि कवि भानुभक्त आचार्यको "वधु शिक्षा" कोबारेमा उल्लेखगरी त्यसवेलामा यो "वधु शिक्षा" ले नेपाली समाज मा छोरीचेली र बुहारीहरूलाई दिएको नीति शिक्षाकोबारेमा दुईकुरा उल्लेख गर्न्नु भएको पाहिन्छ । यस निबन्धबाट बासकोटाज्यूले  नारीहरूको शिक्षाको खाँचोबारेमा लेख्दै भन्नु हुन्छ, " नारी पछाडिनु भनेको एउटा परिवार पछाडिनु र एउटा परिवार पछाडिनु भनेको एउटा समाज पछाडिनु र एउटा जाति पछाडिनु हो ।"
‘पत्रकारिता र ग्राम्य पत्रकारहरू’ निबन्धमा लेखकले संवाद पत्रको ह़ाम्रो  समाजमा दायित्व, कर्तव्य र समाजको उत्थानमा यसको भूमिकाकोबारेमा आफ्नो अभिमत राख्नु भएको पाईन्छ । संवाद पत्रलाई गणतन्त्रको चौथो स्तम्भ हो भनिन्छ ।  एक ग्रामीण परिवेशमा सीमित सुविधा र परिधीभित्र वसोवास गरि देशहित र समाजहितकालागी संवाद परिवेशन गर्ने संवाद कर्मीकोबारेमा लेखक बासकोटाज्यूले आफ्नो पक्ष दर्बिलो चालले राखेको देख्न पाइन्छ । ग्रामीण परिवेशबाट संवाद परिवेशन गर्नजाँदा आइपरेका मूल रूपमा समस्या जस्तै ईन्टरनेटको उपलब्धता, विजुलीवत्तीको समस्या, दुरभाष र बाटोघाटोको असुविधाको चर्चाको साथै ग्रामीण संवाददाताहरूको आफ्नो लगन, चाहत, देश र जाति प्रेमको निदर्शनकोबारेमा यो निबन्धमा चर्चा  गरेको  पाइछ ।
‘असारे गीत र नारीको मर्म वेदाना: एक अवलोकन’ निबन्धमा नेपाली संस्कार-संस्कृति सम्बन्धित विषयहरूलाई चर्चामा ल्याएको पाइन्छ । असारे गीत नेपाली समाज र संस्कृतिको एक अभिन्न अंग हो । असारे गीतको कृषि कर्म सँग प्रतक्ष्य सम्बन्ध छ । रोपाह़ारहरूले रोपण कर्म सम्पादन गरेको बेलामा आफ्नो मनको बह, मर्म-बेदना, कष्ट आदिलाई लिएर माइती घरको यादमा, स्वामी घरमा पाएको याताना आदि  आफुसँग रोपण कार्यमा सहयोगीहरूको साथमा गाएको गीत लाई नै असारे गीत भनिन्छ । निबन्धकार भन्नुहुन्छ असारे गीतहरूलाई  राम्रोसँग केलाएर हेर्दाखेरि तो समयको शिक्षा- दीक्षा, सामाजिक परिवेश, वाल्यविवाह, नावालिकामाथि  गरिएको सामाजिक शोषण र घरेलु दमनमुलक नीतिहरुको झलक पाइन्छ । नारी विशेष र नारीहरूको मनको भावना बोकीहिड़ने असारे गीतहरूको मध्यममा नारी मनस्तत्वको झलक देख्नपाइन्छ  भन्ने निबन्धकारको भनाइ छ । बासकोटाज्यूको भनाईमा, ‘आजको आधुनिक नारीहरूले असारे गीतहरूलाई ताच्छिल्यको दृष्टिले नहेरेर ह़ाम्रो संस्कृतिको एउटा अभिन्न  अंगहो भनेर  यसको संरक्षण र संवर्धनको क्षेत्रमा ठोस कदम चाले हामी शिक्षित र सही अर्थमा आधुनिक बनेको सावित हुने थियो ।’
‘जनै : एक प्रसंग’ निबन्ध एक संस्कार संस्कृति र परम्पराको विषय बस्तुलाई सँगालेर लेखेको उहाँको अनुपम सृष्टि हो भन्न सकिन्छ । यस निबन्धमा जनैको प्रयोजनीयता, जनैको प्रस्तुति र सुद्धीकारण, जनै लगाउने नीति नियम र संस्कार विधिको बारेमा लेखक बासकोटाज्यूले विस्तार रुपमा यहाँ चर्चा गर्नुभएको पाइन्छ । लेखकले कलमको धारबाट वर्तमान काल र आदि कालका दिनहरूमा यस जनैको महत्त र प्रासङ्गिकताको बारेमा आफ्नो मत छर्लङ्ग पार्नु भएको छ । कसरी आधुनिकता, परिवर्तनशील समाज व्यवस्था र विश्वायनले गर्दा यो ह़ाम्रो जनै संस्कृतिलाई असर पारेको छ यस विषयमा आफ्नो पक्ष्य लेखकले राख्नु भएको देखिन्छ । आजको समाज व्यवस्थामा जनै परम्परालाई अघि बढाउनको निम्ति उहाँले युवावर्गमा जनैको आकर्षण बढाउनलाई सीपालु र अभिज्ञ व्यक्तिद्वारा जनै प्रस्तुतिको  कर्मशाला आयोजन गर्नको निम्ति आफ्नो सुझाउ अघिबढाउनु भएको छ । यस निबन्धबाट लेखकले आधुनिकताको होढमा हामीले आफ्नो संस्कृति परम्परालाई विलीन हुनदिनु हुँदैन भन्नुमा जोड दिएको देख्न पाइन्छ । निबन्धकार बासकोटाज्यूको भनाइ अनुसार, ‘जनैलाई जात-पात छुट्याउने  जरियाको हिसावले नहेरेर यसलाई एउटा पूर्खोंदेखि परम्परागतरूपले पाएको देन हिसावले ग्रहण गर्नु पर्दछ । जनैको ख्वकीयतालाई बचाएर राख्नु पर्दछ ।’
बासकोटाज्यूले निबन्ध ‘साहित्य चर्चामा सोटिया र यहाँका नेपाली साहित्यकाहरु’ मा लेखकले सोटिया अञ्चलमा भएका नेपाली साहित्यकारहरूको साहित्यिक गतिविधि र साथमा तो  अञ्चलमा भएका  जातीय अनुष्ठानहरूको भूमिकाको बारेमा छर्लङ्ग पार्नुभएको पाईन्छ । सोटिया अञ्चलमा भएको साहित्यिक गतिविधि जस्तै  नाटक रचना, फिल्म निर्माता, अनुवाद साहित्य, व्यंग साहित्य, आदिको बारेमा यस लेखेबाट थाहा पाईन्छ । शोणितपुर जिल्लाको गोर्खालीहरूको पुरानो थलो सोटिया अञ्चलमा साहित्य चर्चा गर्नको निम्ति  कुनै पनि दर्विलो सामाजिक मञ्चको खाँचोको बारेमा र साथै जनप्रतिनिधिहरूको यस बारेमा उदासीनताको झलक पनि यस निबन्धबाट थाहा लाग्छ । 
बासकोटाज्यूको "विधवा विवाह र केहि समसामयिक सोचहरु......" निबन्धमा नारीसत्ताको समस्या,  नारीहरूको आत्मसन्मान र  यस विषयको  प्रासङ्गिकता आदि विषय बस्तुलाई चर्चामाल्याएको पाईन्छ । विधवाकोहरूको विवाहको बारेमा लेखकको भनाइ छ कि कम्ति उमेरका विधवाहरूको पुनर्विवाहको बारेमा ह़ाम्रो समाजले सोच्नु पर्दछ । विधवाहरूको पुनर विवाह एक चर्चित सामाजिक विषय हो । बासकोटाज्यूको  विचार विधवाहरूको पुनर्विवाहबारेमा अर्थात् कम्ति उमेरका विधवाहरूको पुनर्विवाहबारेमा ह़ाम्रो समाज अरुअरु समाज भन्दा केहि कदम पछि छ । कम्ति उमेरका विधवाहरूको जीवनबाट रंग , रहर, चाहनाहरु, नखोसियोस् भनेर यस विषयमा सोच विचार गर्नु जरुरी छ भन्ने मत निबन्धकार बासकोटाज्यू राख्नुहुन्छ । विधवाहरूको मत सापेक्ष पुनर्विवाहको चलन  कानुनी तरहले लागु हुनुहो भने कम्ति उमेरका विधवाहरूले जीवन सम्पूर्ण रुपले जोउन पाउने थिए भन्ने लेखकको विचार छ । निबन्धकार बासकोटाज्यू नारी समाज प्रति चिन्तित देखिनु हुन्छ । नारीलाई मयार्दा दिनु, उनीहरुलाई शिक्षित तुल्याउनु द्वारा एक परिवार र एउटा समाज शिक्षित बन्ने छ निबन्धकारको भन्ने विचार प्रस्तुत लेखबाट थाहा लाग्दछ ।
निबन्ध सङ्ग्रहको अन्तिम निबन्ध हो ‘गणेश शर्मा : विज्ञान जनप्रियकरण कर्ता’ । यो निबन्धमा शोणितपुर जिलाको ढेकीयाजुकी निवासी शिक्षक गणेश शर्माले आम जनताबिच विज्ञानलाई लोकप्रिय पार्न तथा विद्यार्थीबिच  विज्ञान विषयका परियोजना आदि बनाउने शिक्षा दिने उद्देश्यले आर्यभट्ट विज्ञान केन्द्रको गठन गरेर राज्यभरमा एउटा जागरूकता ल्यानु लर्तरो कुरा होइन । प्रस्तुत निबन्धमा विज्ञान लोकप्रियकरणकर्ता गणेश शर्माज्यूको जीवन र कर्मबारेम सबिस्तार उल्लेख पाइन्छ।
छोटकरीमा भन्नु हो भने, दृष्टि निबन्ध सङ्ग्रह एकोहोरो पढेर बसीरहुँ जस्तै छ । समाज-संस्कृति, पर्यावरण, नारीवाद, नारीमुक्ति, विज्ञान-प्रविधि, लोकसाहित्यका विविध पाटालाई एकै ठाउँ राखेर निबन्धकारले हामीलाई थप चिन्ताको खुराक पस्कि दिएका छन् । निबन्धकारले संस्कार-संस्कृति, खासगरी लोकसाहित्य र लोकसंस्कृतिका मासिन लागेका विविध पाटालाई मासिनेबाट जोगाउने चेष्टा गरेको देखियो । निबन्धकारले समस्याको बारेमा मात्र यहाँ उल्लेख नगरेर उनीहरूलाई कसरी उकास्न सकिन्छ अथवा कसरी मासिनेबाट जोगाउन सकिन्छ त्यसको पनि सही मार्ग देखाएको पाइन्छ । सम्पूर्ण लेखहरूमा कताकता एउटा प्रगतिशील सोचको महक महसुस हुन्छ ।

                                   --------------------------------------------------------

 


Share this post
Comments

Please login or register to comment.

No comments yet.

Facebook Comments