अन्तर्राष्ट्रिय सेवाको कार्यालयमा अनुभव
ड. देवेन सापकोटा
प्राध्यापक एवम् प्रमूख, पोउल्ट्री विज्ञान विभाग,भेटेनरी कलेज;
असम कृषि विश्व विद्यालय;
खानापारा; गुवाहाटी; असम l
मलाई उ.के.वि.वि.को (उत्तर करोलिना विश्व विद्यालय) अन्तर्राष्ट्रिय सेवा कार्यालय (Office of International Services) मा भिसाको म्याद बढाउनको बारेमा सुझाव लिनु थियो। मैले यस अघि त्यस कार्यालयमा कहिलै गएको थिइनँ र कता जानु पर्ने हो थाहा पनि थिएन। मेरो ल्याबमैं काम गर्ने इक्वेडरबाट आएका छात्र दोमियन लोपेजलाई 'कता जानु पर्ने हो' भनी खोजी गर्दा उनी आफैंले अघि सरी मलाई उहीँसम्म लगिदिने भए। मलाई पनि के खोज्छस् कानो आँखो जस्तो भयो। उनलाई अघि लगाई म पछि लागेँ। हाम्रो प्रयोगशालाबाट झरी हिल पुस्तकालय भवन अतिक्रम गरी न्युक्लियर भौतिकविज्ञान घरभवनको छेवैबाट अलिकति अघि जाँदा अन्तर्राष्ट्रिय सेवा कार्यालय रहेछ। मलाई ढोकासम्म पुऱ्याएर दामियन बिदा भए। मैले धन्यवाद दिदैं भवनभित्र पसेँ।
कार्यालयभित्र अघिल्तिरको टेबलमा राखिएका कम्प्युटरका पर्दामा हेर्दै काम गरिरहेका दुई जना व्यस्त महिला देखिए। छेवैमा सोफा खालि रहेकाले म थचक्क बसेँ। पिठ्यूमा भिरेको ब्याग छेवैको टेबलमा रेखी त्यहाँबाट फाइल निकाली देखाउन पर्ने कागज-पत्रहरू हेर्दै गएँ। मेरो भिसाको म्याद बढाउनको कुरा कस्ता प्रकारले उनीहरू समक्ष राखौं, मनमनै सोच्दै थिएँ।यत्तिकैमा एउटी महिलाले छेवैक्को कम्प्युटरलाई देखाएर मृदु स्वरले मलाई सोधिन् 'के तपाईँले 'चेक-इन' गर्नुभयो? उनले मलाई कम्प्युटरमा मेरो नाउँ रजिस्टर गरेको कुरा सोधेकी रहिछिन्। मलाई कार्यालयमा आई केही सानो कुरा सोध्न पनि यसरी कम्प्युटरमा नियुक्ति लिनुपर्छ भन्ने केही थाहा थिएन। जेहोस् जहाँ जस्तो नीति-नियम त्यसलाई पालन गर्ने पऱ्यो। मैले च्क्षमा गर्नुहोला, गरेको छैन तर अब गर्छु, धन्यवादज् भन्दै कम्प्युटरतिर लम्किएँ।
पर्दामा चेक-इन गर्ने कदमहरू सकेर एक फारम भर्नु पर्ने रहेछ। त्यहाँ मेरो बारेमा सामान्य कुराहरू सोधिएको रहेछ, जस्तै: नाउँ, पासपोर्ट नम्बर, डिपार्टमेन्ट आदि । मैले भर्दै गएँ। अन्त्यमा सोधिएको रहेछ 'के कामका लागि आउनु भएको र कसलाई भेट्ने ? मैले मेरो आएको उद्देश्य र 'कार्यालयको कसैलाई पनि भेटे हुन्छ' भनी जवाब लेखेँ । निचोडमा 'सबमिट' बटन दबाएँ । यसरी नै मेरो नाउँ रजिस्टर भयो । अब म आफ्नो पालोलाई कुरी बसें। मेरो अघिअघि एक नाक थेप्चा, आँखा चिम्सा परेकी मोङ्गोलीय अनुहारकीलाई कार्यालयकी महिलाले केही कुरो सम्झाई रहेकी थिइन्। यिनी सायद चिनीया महिला, हालैमा आएकी होलिन्। चिनीयाहरू जतिसुकै विद्वान् नै किन नहुन् अङ्ग्रेजी बोल्नमा त्यति सिपालु हुँदैनन्' भनी सुनेको थिएँ। मलाई यिनको कुरा सुनी त्यस्तै लाग्यो।
केही छिन कुरा गरेपछि ती महिलाले धन्यवाद भन्दै बिदा लिइन्। त्यहाँ अरू केहि आगन्तुक नभएकाले अब चाहिँ मेरै पालो आउला भनी पर्खिरहेँ। त्यो कोठा निस्तब्ध थियो। एकै छिन पछि 'हलो देवेन ' भनी एक मृदु बोलीले कार्यालयकी महिलाले बोलाइन्। म मेरा कागज-पत्र लिई उनी छेउ पुगेँ। मेरो भिसाको म्याद बढाउने अवश्यकताको बारेमा उनलाई छोटकरीमा र स्पष्ट रूपमा बताउन भरमग्दुर प्रयत्न गरेँ। उनले सबैथोक शान्त भई सुनी सजिलो पाराले मेरो काम गरिदिइन्। मैले आत्म सन्तुष्टि लिएर 'धन्यवाद 'भन्दै कोठा बाहिर निस्किएँ। मैले हाम्रो देश र यहाँको काम गर्ने तरिकाको बिचमा आकाश-पातालको भिन्नता देखेँ। कति सुव्यवस्थित रूपले काम गर्छन् यहाँ! कतै हल्ला छैन, कतै गाँठो छैन! साँच्चै, यिनीहरूको काम गर्ने शैली अनुकरणीय र प्रशंसा योग्य छ।
______________________
Post a Comment