Blog

प्रकाशोन्मुख पुस्तक: “परिश्रान्त पृथिवी” : भारतीय नेपाली कवितामा एउटा माइलस्टोन

Blog Image

प्रकाशोन्मुख पुस्तक: “परिश्रान्त पृथिवी” : भारतीय नेपाली कवितामा एउटा माइलस्टोन                                       

श्री ज्ञानबहादुर छेत्री, चान्दमारी, तेजपुर, असम

सन १९७९ मा दरङ कलेजमा स्नातकको पढाई सकेर भारत सरकारको दूरसञ्चार विभागमा जागीर पाउनाले तेजपुरमै बसियो। तेजपुरमा त्यतिखेर नेपाली साहित्य चर्चा गर्नेहरूमा पुष्पलाल उपाध्याय, दुर्गा घिमिरे, खड्गबहादुर कौशिक र दिलीप सुब्बाको नाम सुनेको थिएँ। तरङ्ग नामको पत्रिकाले त्यतिखेर तेजपुरमा साहित्यको परिवेश सिर्जना गरेको थियो। यही समयमा देवेन सापकोटाले राम्रा कविता लेख्छन भन्ने कवि कौशिकबाट सुनियो। अध्ययन सकेर देवेन सापकोटाले गुवाहाटी भेटेनरी कलेजमा जागीर पाए, गुवाहाटीकै निवासी भए। उनको ह्रदयमा कविको बास थियो, सिर्जनाको तिर्सना छँदै थियो। तेजपुरबाट प्रकाशित हुने साप्ताहिक देशवार्ता र गुवाहाटीबाट प्रकाशित मासिक पत्रिका हाम्रोध्वनिमा उनका कथा र कविता समय समयमा भएका हुन। यतिखेर उनी साहित्य क्षेत्रमा समर्पित भएर लागेका छन। तीन वर्षमा लगातार तीनोटा पुस्तक प्रकाशित गराएर उनले ह्याटट्रिक गरे। सन २०१९  मा उऩको नियात्रा विधाको 'यता हुँदा उताको झझल्को' प्रकाशित भएको थियो भने २०२०  मा उनी आफ्नो कथा स‌ङ्ग्रह 'मनोराग'  लिएर देखा परे। यस वर्ष (२०२१) उनको मास्टरपीस काव्यकृति पाठकका हातमा परेको छ। कवि यतिखेर पृथिवी परिश्रान्त स्थितिमा रहेको सूचना दिँदै परित्राणका लागि गुहार माग्दै छन। सिर्जना कर्म जिम्मेदारीपूर्ण बौद्धिक कर्म हो। जिम्मेदारीका पनि धेरै तह हुन्छन। यो जिम्मेदारी आफ्नो घरदेखि नै शुरु भएर स्वजाति, स्वराष्ट्र हुँदै सारा विश्वलाई समेट्न पुग्छ। साहित्य कुनै एउटा निर्दिष्ट भाषामा रचित भए पनि यसको स्वरूप विश्वजनीन हुन्छ। यसले जाति, धर्म, राष्ट्रका पर्खालहरू भत्काउन सक्छ, भत्काएको छ। आजको विश्वसाहित्यमा पर्यावरणलाई  धेरै महत्व दिइएको छ। परिवृत्तीय साहित्य नामले यो धेरै झ्याङ्गिएको पनि छ। पृथ्वीलाई बचाउनु यसको प्रमुख उद्देश्य रहेको छ। पृथ्वी नै रहेन भने केही रहने छैन। अनि केका लागि साहित्य गर्ने। मान्छेले आफैलाई जीवश्रेष्ठ घोषणा गर्यो तर कर्मले त्यसको ठिक उल्टो गरेको छ। मान्छेमा पनि लेखकहरू दिग्दर्शक बुद्धिजीवीका रूपमा समादृत हुन्छन। त्यसैले पृथ्वीलाई बचाउने काममा लेखकको ठुलो जिम्मेदारी हुन्छ। यो रातारात रिपेयर गर्न सकिने कुरा होइन। जनजागरण सृष्टि गरेर रोकथाम गर्न सकिन्छ, अरु बिग्रनुबाट जोगाउन सकिन्छ। यी कुरा डा. गोविन्दराज भट्टराईले उहाँको 'उत्तरआधुनिक विमर्श'मा विस्तारपूर्वक चर्चा गरेका छन। कवि सापकोटाले पनि प्राक्कथनमा इको साहित्य विषयमा महत्वपूर्ण जानकारी दिएका छन। डा. देवेन सापकोटाले इकोलोजी विषयमा सिङ्गो कविता सङ्ग्रह निकालेर भारतीय नेपाली साहित्यमा कीर्तिमान स्थापित गरे। यस संकलनमा पर्यावरण विषयका एकचालीसवटा कविता समेटिएका छन। कविले उनका कवितालाई पर्या- कविता भनेका छन। लेखकले उल्लेख गरे अनुसार उनको यो योजनाको गत वर्ष ५ जुन बेल्पाली पर्यावरण एक्टिभिस्ट विजय हितानको अगुवाईमा लण्डनबाट सञ्चालित पाँचौं पर्यावरण कविता संगोष्ठीमा बीजारोपण भएको थियो। उल्लेख्य के छ भने त्यस संगोष्ठीमा बेलायतका नेपाली राजदूत दुबसु छेत्री, डा. गोविन्दराज भट्टराई, डा. खगेन्द्र लुइँटेल जस्ता वरेण्य साहित्यकारहरूका साथ यस अकिञ्चलने पनि आलोचकका रूपमा भाग लिएको थियो। स्विडेनकी पर्यावरण एक्टिभिस्ट ग्रेटा थुनबर्गको ललकार विश्वले सुनेको छ। पर्यावरण संरक्षणको विषयमा सारा विश्वले आवाज उठाएको बेलामा अरण्य-मानव आख्या पाएका असमका प्रकृतिप्रेमी जादव पायेङलाई अघि लाएर कवि देवेन मुखरित भएका छन। यतिखेर आसामबाट उठेको आवाज पनि टड्कारो सुनिँदैछ।   पृथ्वीमाथि मान्छेले अत्याचार गरेको छ, लाचार भएर सहेकी छिन धरित्रीले। कहिले काहिं रिसाउँछिन हल्लिन्छिन, कहिले रुन्छिन-- सुनामी आउँछ। मान्छेले उनी रिसाएकोलाई वास्ता गरेन, उनको आँसुले पनि कुनै असर गरेन। अर्ती, ओखति, चेतावनी केहीले काम गरेन। यतिखेर उनी नराम्रोसँग रिसाएकी छिन। हण्डर खाँदैछस्, अब पनि चेतिनस भने हे मनुवा, तेरो अन्त्य आइपुगेको छ। आगो चोरेर भागेको थिइस्---- त्यही आगोमा जलेर खरानी हुनेछस् ---कोरोनाको आकाशवाणी। कवि देवेन पनि रिसाएका छन---उनले पाप-पुण्यको कथित परिभाषा उल्टाइदिएका छन। पहाड र वन मासेर मन्दिर बनाउँदा पुण्य हुँदैन, पाप हुन्छ। अक्षम्य अपराधी मनुक्खे, पर्यावरणको खुङ्खार आतङ्ककारी —यसलाई सुलीमा चढाऊ भनेर उनी धर्मराजलाई अपील गर्दैछन।

डा. देवेन सापकोटाको प्रस्तुत पर्या-कविता सङ्ग्रहमा  ओजन लेयरका प्वाल, प्लास्टिक प्रयोगको भयङ्कर परिणाम, ग्लोबल वार्मिङ, कोरल रिफ, अम्ल वर्षा, हरित गृह ग्यास, कङ्क्रीट कारागार, पहाड खनेर समतल पारेको, मौरीको सफायाले अनाज उत्पादनमा पर्ने असर, पुतली मासिँदा पराग सेंचनमा पर्ने असर,  वन मासिनाले वन्यजन्तुको विस्थापन, म्युटेन्ट कोरोना, विलुप्त प्रजाति, नदीको गहिराईमा कमीले हुने बाढी र भूकटाउ जस्ता विषय कवितामा समेटिएका विषय छन। कविले आफु बसोबास गरेको स्थानीय सन्दर्भलाई पनि विश्वसन्दर्भमा जोडेर हेरेका छन। असमको दिहिङ पाटकाइको निर्बाध कोइला खननले  जैव वैचित्र्य विध्वस्त पारेको, खागका लागि काजिरङ्गा अभयारण्यका गैंडाको हत्या गरिएको, बोनसाई गरेर रूखलाई बढ्न नदिनु जस्ता  कुरालाई कविले पर्या-कविताको कलात्मक रूपमा सजाएका छन। शिङग्रीको  सितलमारी बिलदेखि काजिरङ्गा-दिहिङ पाटकाई हुँदै कविले पुरै ग्लोबको सेरोफेरोमा विचरण गरेका छन। कविले दिएका केही समाधानका उपायमा वृक्षरोपण, जैविक खादको प्रयोग, मौरी पालन, मत्स पालन, वर्षातमा परेको पानीको सद्व्यवहार आदि हुन। मेलेरिया निर्मूल गर्ने उद्देश्यले विषाक्त कीटनाशक डीडीटी छर्किँदा माटाको स्वाभाविक उर्वरा शक्तिनै समाप्त हुन्छ। सट्टामा मत्स पालन समीचीन हुनेछ। भानुजयन्ती मोतीजयन्ती मात्र किन भालु-जयन्ती माटो-जयन्ती पनि मनाउनु पर्छ भन्ने कुरा पर्यावरणसँग जोडिएका छन। परिभ्रमी चरा महासागर पार गरी निर्दिष्ट ठाउँमा पुग्छन तर मान्छेलाई पल्लो शहर पुग्न जीपीएस चाहिने भयो। काफ्काको मेटामोर्फोसिसमा मान्छे कीरामा परिवर्तित हुन्छ भने कवि देवेनका कवितामा एक युग पछि ब्युँझदा मान्छे रोबोटमा परिवर्तित भएको हुन्छ गाउँको संस्कृतिलाई शहरी भौतिक सभ्यताले निल्दै गरेका डरलाग्दा प्रसङ्ग कवितामा समेटिएका विषय हुन। आत्तिएका छन कवि, पाठकलाई पनि सन्त्रस्त तुल्याएका छन। गाउँको मुटु बोकी शहर पसेको खरको छानो थियो कङ्क्रीटको बनायो झस्किन्छ मन गल्ती पो गरियो --- यसरी कवि झस्किन्छन। पाप-पुण्य, पोथी बास्ने जस्ता परम्पराका कुरामा पनि विमति जताउँदै यतिखेर तिनको परिभाषा उल्टिएको, अवधारणामा परिवर्तन आएका कुरा गरेका छन। इकोलोजी विज्ञान हो। यसले पृथ्वीका प्राकृतिक रूपमा रहेका जीव-जड वस्तुहरूको एकार्कासँग अनोन्याश्रित सम्पर्कलाई यथावत राख्ने प्रयास गर्दछ। विज्ञानका अध्येता कवि डा. देवेन सापकोटाले यही कुरालाई ध्यानमा राखेर काव्य सिर्जना गरेका छन। यस पर्या-कविता सङ्ग्रहमा कविले निकै प्राविधिक शब्दहरू प्रयोग गरेका पाइन्छ। यसलाई स्वाभाविक मान्नु पर्छ। कतिपय पाहुना शब्दको अर्थ फुटनोटमा खुलाएका छन भने केही विज्ञानका जटिल टर्मको व्याख्या पनि गरेका छन। कवि देवेन सापकोटाले विश्वसाहित्यको नवीन उत्तरआधुनिक धारलाई पक्रेर कविता सिर्जना गरेका छन। कविको उच्च विचारले आजको समयलाई समातेको तर कलापक्षमा भने तदनुरुप उत्तरण हुन नसकेको अनुभव हुन्छ। पाठक तथा समालोचकले मर्म पर्गेल्ने नै छन। कवि डा. देवेन सापकोटाको यो काव्यकृति पाठक समाजमा समादृत होस, उऩका कलमबाट अरू पनि स्तरीय कृति आइरहुन्---- यही शुभकामना छ।


Share this post
Comments

Please login or register to comment.

No comments yet.

Facebook Comments