Blog

प्रयात जनार्दन उपाध्याय को "पुलिसको डायरी"बाट: "साँढे गोरू"

Blog Image

प्रयात जनार्दन उपाध्याय को "पुलिसको डायरी"बाट: "साँढे गोरू"

                त्यस दिन मेरो  ‘राउण्ड ड्यूटी’ थियो। राति १० बजेदेखि बिहान ४ बजेसम्मको। त्यो रात मेरो कर्तव्य हुन्छ टाउनमा भएका सबै ड्यूटी पोस्टहरू परिदर्शन गर्नु। शहरभित्र स्थापित गरेका जम्माजम्मी २० वटा स-साना चौकीहरू छन्। जस्तै बैंक, ट्रेजेरी, मन्त्रीहरूको वासभवन आदि। त्यहाँमाथि टाउनमा विभिन्न ठाउँमा  ‘पेट्रोलिङ’ गर्ने सिपाहीहरूलाई पठाइएको हुन्छ। उक्त स्थानमा गएर आफूमाथि आइपरेको कर्तव्य सही तरीकाले गरेका छन् कि छैनन् जाँच गर्नुपर्छ। म दुईजना सिपाहीलाई लिएर सरकारी गाड़ीमा प्रस्थान गर्छुु। उक्त स्थानमा गएर सिपाहीहरूका स-साना गल्ती आँखामा परे सुधार्नु, सिकाउनु अरू ठूलो गल्ती देखे ऊपरवालाको दृष्टि आकर्षण गराउनु। यसरी नै तोकिदिएको समय पचाउन कुनै कुनै ठाउँमा दुईपल्टसम्म पनि जानु पर्दथ्यो। शहरमा बिजुलीबत्तीको प्रकाशले रात दिनझैं उज्यालो थियो। मैले हर ‘ड्यूटी पोस्ट’मा गएर परिदर्शन गर्दा सबैलाई नै होशियार भेटाएँ। एकै ठाउँमा हरदमै रहन पनि सकिँदैन। कुनै ‘ड्यूटी पोस्ट’मा भएका सिपाहीहरू आफैलाई चलाख भनिटोपल्छन्। अफिसर आएर ड्यूटी बहीमा  ‘ठीक पाएँ’ भनी सही गरेर गाड़ीमा चढ्दा-नचढ्दा लम्किएर खुट्टा उचालेर गाड़ीको पछाडिपट्टिको बत्ती आँखाले भ्याउञ्जेल हेरेर नदेखिने भएपछि सुटुक्क खाटमाथि लमतन्न तेर्छिन्छन्। कुनै कुनै अफिसरहरू  पनि सिपाहीहरूको स्वभावसँग मिल्दा-जुल्दा पनि नभएका होइनन्। कुनै सुरत ‘ड्यूटी’ बहीमा सही गर्न पाए मुक्त भन्ने सोच्तछन्। हामी विभिन्न पोस्टमा निरीक्षण गरेर एसबीआई अघि आइपुग्यौं। त्यहा ‘ड्यूटी पोस्ट’का लागि मोर्चा लगाएको छ। त्यहाँ पुग्न निकै खुड्किला पार हुँदै उँभो चढ्नु पर्ने हुँदा आफू त्यहाँ नगएर सिपाहीलाई बोलाउन ड्राइभरलाई गाड़ीको हर्न बजाउन भनें। ड्राइभरले हर्न बजायो तर केही असर छैन। फेरि ड्राइभरले तीखो स्वरमा उसलाई बोलाउन प्रयास गर्यो त्यही पनि केही प्रतिक्रिया नदेखेर म आफैँ गाड़ीबाट ओर्लिएर त्यहाँ जाने प्रयास गरें। तर यत्तिकैमा एसबीआईको सम्मुखमा भएको एउटा दुई तलाको आरसीसी दलानमाथि हाई-हल्ला सुन्नपाएँ। यसैले एसबीआईको माथि नचढेर दुई तला दलानमा जान मुनासिव सम्झेर त्यहाँ भनेर लामा-लामा पाइला चाल्दै अघि बढें। त्यहाँ पुग्दा ‘पेट्रोलिङ पार्टी’ आइसकेका रहेछन्। त्यो घरमा चोर पसेको रहेछ तर हल्ला हुँदा चोर भागेछ। त्यो घरमा मारवाडी व्यापारी पति-पत्नी बसोबास गर्दा रहेछन्। त्यो कोठो मारवाडी श्रीमती सुत्ने रहेछ। घरको सम्पूर्ण बनावट नभएकोले भेन्टिलेटर खुल्ला रहेछ त्यहींबाट चोर भित्र पसेको रहेछ। चोरले अगाडिको ढोका खोलेर माथिबाट नै तल हाम फालेछ। माल-पत्र केही लगेनछ। त्यो ‘भेन्टिलेटर’बाट श्रीमतीका कोठामा हलुकै पस्न सकिने कुरा जोसुकैले जान्दैनन्। त्यो चोर जाने-बुझेको हुनुपर्छ भनेर सोच्तै चोर खोज्न गाड़ीमा शहरतिर लागें। म शहरको माझै-माझ जाँदैछु, ‘पेट्रोलिङ पार्टी’हरू तैनात छन्। शहरको माझमा भएको पोखरीको छेउमा पुग्दा सडक़को माझबाट एउटा कालो बलियो साँढेगोरू उफ्री-उफ्री दगुर्दै छ, त्यसमाथि एउटा मानिस गोरूका कानमा समातेर आफ्नो स्थिति मजबुत पारेर बस्न कोसिस गरेको छ। न त साँढेगोरू रोकिन्छ न त पिठ्यूँमा बस्ने मानिस ओर्लिन सक्छ। साँढे र माथिको मानिसलाई हेर्दा यस्तो लाग्छ साँढे सोच्तो हो किन आज यस्तो पीर खप्नु परेको अनि पिठ्यूँमा बस्ने मानिसले चाहिँ किन यस्तो आपद झेल्नु परेको? मलाई यो देखेर मस्तिष्कभित्र एउटा सहीनसक्नु अनुभव हुन्छ। सुस्त मानिसले त यसरी कहिल्यै साँढेलाई घोड़ा बनाउँदैनन्। मैले अघि न त यस्तो देखेको थिएँ न त सुनेको थिएँ। त्यो पिठ्यूँमा बस्ने मानिस निश्चय पागल हुनुपर्छ। मैले गाड़ी अघाडि लगेर घुमाई  ‘हेडलाइट’ को प्रकाश साँढेगोरूको आँखामा लाउन भनें। हुकुम अनुसार काम।  ‘हेडलाइट’ को प्रकाश उसका आँखामा पर्नेबित्तिकै उसले आँखाले केही नदेख्ने भयो र मुन्टो हल्लाएर ठिङ्ग चौबाटामा उभियो। मौका पाउने साथै पिठ्यूँको मानिस हत्तपत्त ओर्लियो। ड्राइभरले गाड़ीको लाइट निभायो। साँढेगोरू पार पाएँ भनेर पुच्छर उठाएर आत्तिँदै भाग्यो। साँढेगोरूको पिठ्यूँबाट ओर्लिने मानिसलाई देख्ने साथै बिजुलीको करेन्ट जस्तो शरीरभरी अनुभव भयो। त्यो त हाम्रै विभागको सिपाही गनी पो रहेछ।

                यही समयमा मारवाडीको घरमा भएको  ‘पेट्रोलिङ पार्टी’ अनि एकजना सह-परिदर्शक त्यहाँ आएर हाजिर भए। साथमा एउटा पुष्ट मानिस अँगार जस्तो कालो, गहिरो जङ्गल जस्तो बाक्ला दाह्री-जुँगा भएको देख्ता भूतजस्तो डरलाग्दो थियो। उसलाई कहिल्यै नदेख्ने मानिसले अँध्यारामा देख्ता तर्सिएर सातै जाने जस्तो देखिन्थ्यो। मैले सह-परिदर्शकलाई इशारामा सोधें ‘यो बेला त्यो मानिसलाई कहाँ फेला पारेको।’ इशारा बुझेर मारवडीको घरको चौकीदार भनेर परिचय दिन्छन्। चौकीदारले गनीलाई देख्नेबित्तिकै भन्यो-  ‘‘यही नै हो त्यो मानिस जो माथिबाट फाल तोडेर साँढे गोरूको पिठ्यूँमा परेको अनि साँढे पनि आत्तिँदै भागेको थियो।’’ असल कुरा केलाउन हामी सबै त्यहाँबाट थानातर्फ लाग्यौं।

                थाना आएर चौकीदारलाई सोधपुछ गर्दा थाहा लाग्यो ऊ मारवाडी घरसाथै अरू छिमेकीको रातिको चौकीदार रहेछ। ऊ चौकीदारी गर्न अर्कातिर जाँदा मारवाडीका घरमा हल्ला हुँदा त्यहाँ दगुरेर आएर माथि चढ्दा माथिबाट केही खसेको आवाज सुनेर तल हेर्दा तल सडकमा बसेर उग्राइरहेको साँढेगोरू जुरुक्क उठ्यो। त्यहाँ माथि एउटा मानिसले साँढे गोरूको दुई कान दुई हातले जोडले समातेको थियो। साँढे आत्तिँदै दगुर्दै अघि बढ्यो। यत्तिकैमा  ‘पेट्रोलिङ पार्टी’ का पुलिसहरू त्यहाँ उपस्थित भए। मालिकले थानामा फोन गर्दा दारोगा बाबू पनि आउनुभयो। हामी सबै साँढेगोरूलाई पछ्याउँदै यहाँसम्म आएका।

अब आयो गनीलाई सोधपुछ गर्ने समय। उसको भनाई यस प्रकारको थियो- ‘‘हाम्रो  ‘ड्यूटी पोष्टबाट मारवाडीको घरको दुईतले घर प्रष्ट देखिन्छ। मोर्चामा उभिएर  ‘ड्यूटीगर्दा मारवाडीकी स्त्रीले मलाई दिनहुँ हेर्छे। पनि उनलाई हेर्दथें। उनको हेराइले उप्रति मेरो ममताका ज्वालाहरू अनगन्ती कुराहरूले डेरा जमाउन थाले। ती पति-पत्नीसँग मेरो परिचय थिएन त्यहाँ जाने केही बहाना पनि निकाल्न सकिनँ। टाढाबाट नै उप्रति आकृष्ट भएँ अघि-पछि केही नसोचिकनभेन्टिलेटरबाट भित्र पस्नेबित्तिकै हल्ला भयो उपाय नपाएर माथिबाट नै तल फाल हान्दा साँढेगोरूमाथि परें। त्यहाँ पछि’’..............

                गनी बनावटी रङ्गमा रङ्गिन पुगेछ। जलाशयको जलको गम्भीरता ननियाली मरूद्यान हरियो बनाउन जाँदा गनीले आफ्नो इज्जत, मर्यादा, सम्मान साथै छँदाखाँदाको जागिर गुमाउनु पर्यो। उसलाई भारतीय दण्डविधि ऐन ४४८/३७६/५११ बमोजिम गिरफ्तार गरी अदालतमा पेश गरियो। अहिले पो थाहा लाग्यो एसबीआईमा हाम्रो गाडीको हर्न बजाउँदा किन निस्किएको रहेनछ। त्यतिखेर गनीबाबू अर्कै ड्यूटीमा पो रहेछ।

                                                           __________________

 

 


Share this post
Comments

Please login or register to comment.

No comments yet.

Facebook Comments