Blog

यता न उता जाईफलका झुत्ता

Blog Image

यता न उता जाईफलका झुत्ता

                त्यो बेला हाम्रो प्रोबेसन चल्दै थियो। अफिस, अड्डा, थानामा तीन-तीन महिनासम्म काम सिक्नुपर्छ। मेरो वर्तमान थानामा काम सिक्ने अवधि चल्दैछ। मैले आज जोरहाट सर्किट हाउसबाट एकजना इङ्ल्यान्डको भि.आई.पि. एकजनालाई ‘एस्कट’ गरेर गुवाहाटीसम्म लानु पर्ने थियो। यो मेरो प्रथम ‘एस्कट’  ड्यूटी थियो। मेरा ज्येष्ठहरूले मेरा कर्तव्यका लागि केही पनि सुझाउ दिएका थिएनन्। मसँग राइफलधारी तीनजना सिपाही अनि एउटा जिप गाड़ी। ड्राइभरले गाड़ी हाँकेर ‘सार्किट हाउसमा ल्याएर राख्यो। मलाई अनभिज्ञ भनेर होला उनीहरू भन्नथाले यस्ता कर्तव्य हामीहरूले धेरै गर्यौं तपाईं मात्र गाड़ीमा बसिरहे हुन्छ, बाँकी काम हाम्रो। उनीहरूको हेराई, सोचाई, कर्तव्य गर्ने ढंग देखेर उनीहरू यस विषयमा परिपक्वछन् भन्ने कुराचाहिँ मलाई विश्वास लागेन। सर्किट हाउसको मैदानमा स-साना अनगिन्ती गाड़ी शोभायमान पारेर मिलाएर राखेका छन्। कोही आउँदा छन् कोही जाँदा छन्। सबै व्यस्त छन अडि़एर बातमार्ने फुर्सदै नभएको। हामीले लाने भि.आई. पिको प्रतीक्षामा हामी बाहिरै छौं। बेला बेला म सिपाहीलाई सोध्छु कतिबेर भि. आई.  पि. निस्कन्छन्। हामी त्यहाँ आएको पनि दुईघण्टा बितिसक्यो। उनीहरूको उत्तर थियो तपाईं  ज्यादै चिन्ता गर्नु हुँदोरहेछ हामीहरूले यस्तो ड्यूटी धेरै गर्यौं। यतिबेरै एउटा अग्लो रातो-सेतो वर्णको बलियो रातो केश भएको मानिस आएर एउटा थोत्रो थोत्रो खालको सेतो रङ्गको एम्बासेडर गाड़ीमा चढ्यो। गाड़ी अघि बढ्यो। हामी सबै तैनाथ छौं। हाम्रो गाड़ी उसकै पछाड़ी छ। मैले भि.आइ.पि ‘एस्कट’ क्या हो क्या हो भन्ने सोचेको थिएँ यही पो रहेछ भन्ने थाहा पाएँ। हामी गुवाहाटीतिर जाँदैछौं। काजिरंगा अभयारण्य पुग्दा नपुग्दा भि.आइ.पि को गाड़ी दुई चोटि रोकियो। भि.आइ.पि. ओर्लिएर यसो जङ्गलमा छेलिएर पिसाब फेर्छन। यतिबेर भएको भए म निश्चय सोच्दथिएँ भि.आई.पि लाई मधुमेह रोगले सताएको रहेछ। तर त्यो समयमा मधुमेह भन्ने शब्द कसैका मुखबाट सुन्न पाएको थिएन। यसरी नै हामी जोराबाट आइपुग्यौं। भि.आइ. पि. को यस्तो अवस्थादेखेर म तीनछक्क परें। मलाई मन-मनै तातो लाग्न थाल्यो। हामीले ल्याउनुपर्ने मानिस यो हो कि हैन? तर मेरा सहकर्मीहरूलाई सोधपुछ गर्दा त्यही हो भनेर डम्फु बजाउँछन्। मेरो उपाय थिएन।

                हामी जोराबाट आइपुगेपछि सडक़मा गाड़ी जाम लागेको रहेछ। यसैले हामी पनि गाड़ी लाइनमा राखेर बाटो खोल्ने समयको प्रतीक्षामा बस्यौं। यतिबेरै हाम्रो पछि एउटा माथि रातो बत्ति भएको गाड़ी रोकियो, पछि पछि एउटा पुलिस गाड़ी। म हत्तपत्त गाड़ीबाट ओर्लिएर पुलिस जिप भए ठाउँमा जाँदैछु। त्यही समयमा मेरा सहकर्मीले मलाई तीखो स्वरमा भन्न थाल्यो ‘बन्धु तिमीलाई जसको ‘भि. आइ.पि. एस्कर्ट ’ दिएको रहेछ, समयमा तिम्रो गाड़ी त्यहाँ नहुँदा मलाई त्यो अभिभारा आयो। तिमीलाई चाहिँ गुवाहाटी सार्किट हाउसमा गएर असमका सडक़ परिवहन मन्त्रीलाई ‘एस्कर्ट’ गरेर जोरहाट ल्याउन भनेर हुकुम भएको छ।’ यो कुरा सुनेर मलाई कुरी कुरी लाग्यो। हामीले जोरहाटबाट ‘एस्कर्ट’ गरेर ल्याएको भि.आइ. पि. भनाउँदो त्यो को रहेछ भनेर हेर्न जाँदा उ ता अघि नै त्यहाँबाट कसो कसो गरेर कुलेलम ठोकेछ। म सोच्न थालें, हामीले ‘एस्कट’  गरेर ल्याएको मानिसको सोचाई र हाम्रो सोचाई कस्तो थियो होला? मसँग भएका सिपाहीहरूले सबै कुरा बुझेर पनि केही असर पनि देखिन। बेल पाक्यो कागलाई हर्ष न विस्मात भनेेे झैं। मोराहरू कस्ता बाहिर रूमाले भित्र गुन्द्रुक उमाले जस्तै पो लाग्यो। यसबाजी चाहिँ मेरा सहकर्मीहरूसँग केही सल्लाह नगरी गुवाहाटी सार्किट हाउसमा गएर मन्त्री महोदयलाई गौवाहाटीबाट सही सलामत एस्कट गरेर जोरहाट ल्यायौं। मेरो काँध हलुङ्गो भयो। मेरो पहिलीको एस्कट ड्यूटी लथालिङ्ग भएको कुरा हामीमा मात्र सीमित रहेछ। माथि झोसपोल भएको रहेनछ। यसैले म पानीमाथिको ओभानो भएको थिएँ। मेरा गिदीमा लिदी पसेर होला भविष्यका लागि आँखा उघ्रिए।

                केही दिन पछि हाम्रो प्रोवेसन समाप्त भयो। म एउटा पुलिस चौकीको इनचार्ज बन्न पुगें। त्यस चौकीमा धेरै पक्राउपुर्जी (Warrant) काम नभएर लडीरहेका रहेछन्। एकदिन मेरा अधीनस्थ कर्मचारीहरूलाई ती पक्राउपुर्जी दिएर अभियुक्तहरूलाई पक्राउ गर्न पठाएँ। त्यो रात मेरा सहकर्मीहरूले चारजना अभियुक्तलाई पक्राउ पारेर चौकीमा ल्याएकोरहेछ। बिहान ‘लकअप’का मानिस मेरा सामुमा ल्याउँदा तिनीहरूभित्र एउटा चाहिँ त्यही हामीहरूले जोरहाटबाट भि.आइ.पि. भनेर जोराबाटसम्म ल्याएको मानिस पो रहेछ। उसलाई त्यसदिनको कुरा सोध्दा थाहा लाग्यो उसको एउटा ‘एम्बासेडर’ छ र त्यही गाड़ीको मालिक,अनि कहिले काहीं ड्राइभर पनि हुँदो रहेछ। त्यसैदिन ऊ ‘सर्किट  हाउस’मा भाड़ा लिएर आएको रहेछ। भाड़ाको रकम लिएर गाड़ीमा बस्ने साथै पुलिसले उसलाई खेद्दै गएको देखेर उ डरले भाग्न खोजेको रहेछ। कारण उसका विरोधमा गाड़ी कानुन विरुद्ध चलाउनाले तथा कागज पत्र ठीक नहुनाले धेरै पक्राउपुर्जा अदालतबाट आउँछन् तर त्यही चौकीको सिपाहीलाई सधैँ नै घूस दिएर छुटकारा हुँदो रहेछ। मैले पक्राउपुर्जी हेर्दा उसका नाममा पाँचवटा पक्राउपुर्जी फेला पारें। सायद अब उसले बुझ्यो होला आफ्नो खुट्टामा बञ्चराले हान्दा कति दु:ख पाइँदो रहेछ अनि मैले पनि धेरै कुराको ज्ञान पाएँ।

 

                                                    __________________

 


Share this post
Comments