• theoxygentimes@gmail.com

Blog


                                           “रातो धागो

जनार्दन उपाध्याय, तेजपुर, असम

                हालैमा कछाड़ जिल्लाको लाला थानाबाट हाइलाकान्दी थानाको प्रभारीको दायित्वभार लिएर सरुवा भएको थिएँ। बिहान ६ बजे बेलामा आफ्नै काममा व्यस्त थिएँ त्यतिकैमा सिपाहीहरूले कौयाबगानको मेनेजर, उनकी पत्नी र उनीहरूको भात पकाउने भान्सेलाई कसैले हत्या गरेको खबर सुनाए। म लाला थानाको प्रभारी छँदा उनीहरूबीच मधुर सम्पर्क रहेको हुँदा त्यो हत्याकाण्डको हृदयविदारक खबरले मलाई सारै नै दु:खित पार्यो। मेरा आँखा अगाडि बगानको त्यो दृश्यपट झलझली आउन थाल्यो। उनीहरू असम बाहिरका मानिस सारै नै अतिथिपरायण थिए। मेनेजर पूजा गरी लामो टीको लगाई सेतो हाफपेन्ट र ‘सर्ट’ लगाएर बाहिरपट्टि वरन्डामा आएर बस्थे। पान भने निकै चपाई रहन्थे। उनकी पत्नी त्यही बगानकी डक्टर थिइन्। होची, मोटी, मृदुभाषी, पाहुनाको सेवा-सत्कारको आदत भएकी एक सुशील आदर्श नारी थिइन्।

                टेलिफोनको घण्टी बज्यो। मैले केडेल उठाउँदा डि. आई. जी. साबको आदेश पाएँ- म तुरन्तै कौया बगानमा जानुपर्ने भयो। मेरो थानाक्षेत्रमा नपरे पनि तीनजना व्यक्तिको हत्याकाण्ड भएको ठाउँमा जाँदा आफ्नो ‘इनभेस्टिगेसन बक्स’ लान जरुरी सम्झी धेरै दिनसम्म अव्यवहृत रहेको ‘इनभेस्टिगेसन बक्स’ मालखानाबाट ल्याउन हुकुम दिएँ। बक्स खोलेर हेर्दा ‘म्याग्निफाइङ ग्लास’ र बटलमा रहनु पर्ने कालो, सेतो पाउडर खाली रहेछ। मैले तुरन्तै कोइला पिसेर कालो पाउडर (धूलो) र मैदालाई सेतो धूलो सोची दुवै शीशीमा भराइ जान तत्पर भएँ।

                हुकुमअनुसार म आफ्ना अङ्गरक्षकलाई लिएर घटनास्थलतर्फ अग्रसर भएँ। जाँदा बाटामा सुनारकोमा पसी ‘म्याग्नीफाइङ ग्लास’ (उनीहरूले व्यवहार गर्ने) सङ्ग्रह गरें। हाम्रो गाडी मेनेजरको बङ्गलासमक्ष आइपुग्दा डि. आई. जि. पि. साहब, मजिस्ट्रेट साब, एस. डि. पि. ओ. मेनेजरको बरान्डामा बसिरहेको पाएँ। बगानका अरू आम जनताको पनि भीड़ थियो। मैले बसिरहेका सबैलाई सलाम दिएँ। डि. आई. जि. पि. साबले मैले ‘इनभेस्टिगेसन बक्स’ साथमा लगेको देखेर मलाई बधाई दिनु भयो। असलमा त्यो बक्स लगेको थिएँ डि. आई. जी. पि. साहाबलाई आँखामा छारो हाल्न मात्र। अघि आएको लाला थानाको प्रभारीले बक्स नल्याउँदा नमीठो बचन सुन्नुपर्यो अरे भन्ने कुरा पछि थाहा लाग्यो। मलाई उहाँले हत्याकाण्ड भएको कोठामा गएर फिङ्गार प्रिन्ट, फुटप्रिन्ट पाइन्छ कि अनुसन्धान गर्न हुकुम दिनुभयो।

                मेनेजरको सुत्ने कोठा रहेछ घटनास्थल। मेनेजर सिरानीेपट्टि टाउको पारेर लडिरहेको रहेछन्। अर्कापट्टि टाउको पारेर डक्टरनी लडिरहेकी रहिछिन्। दुवैका छेउमा इण्डिया टुडेको ‘म्यागाजिन’ छरपट्ट भएर रगतपच्छे भई लडिरहेको रहेछ। भान्साघरमा सुतिरहेका भात पकाउने भान्सेलाई पनि त्यसरी नै हत्या गरेका रहेछन् केही लाग्ने हतियारले। जताततै काटी हत्या गरे जस्तो लाग्छ। उभयलाई मैले ‘इनभेस्टिगेसन बक्स’ निकाली कालो धूलो स्प्रे गरी भित्तामा, मझेरीमा खुट्टा या हातको छाप पाइन्छ कि भनि हेर्न थालें। धेरैबेर नियालेर हेर्दा पनि कोठामा कुनै प्रकारको छाप पाइएन। हत्याराले कुनै प्रकारको सन्देहस्पद सामग्री छाडेको रहेनछ। म्याग्निफाइङ  ग्लासले सुरागको अनुसन्धानमा व्यस्त रहेको बेलामा डि. आई. जि. पि. साहाब कोठामा आएको मैले मुहार हेर्न ऐनाबाट नै देखिरहेको थिएँ। उहाँले मेरो व्यस्तता देखेर केही नभनी फर्किनुभो। कोठामा केही सुराग नपाउँदा मलाई बङलाका सबै कोठाको निरीक्षण गर्न मन लाग्यो। डि. आई. जि. पि. साबका छेउ पुग्दा उहाँले जिज्ञासावश हत्याकाण्डको केही सुराग मिल्यो कि सोध्नुभयो। मैले घटनास्थलको कोठामा केही अनुसन्धान नपाएको कुरा आदरपूर्वक जान्न दिएँ अनि साथै सम्पूर्ण बङला निरीक्षण गर्नेअभिप्राय व्यक्त गरें।

उहाँले अनुसन्धानको जम्मै जिम्मेवारी मलाई नै सुम्पिनु भयो, मैले ना भन्ने उपाय थिएन। म भान्सा घर र सबै कोठा निरीक्षण गर्दै थिएँ। एस. डि. पि. ओ. साहाबले मौका पाएर मलाई तत्परताको साथ घटनास्थलमा ‘इनभेस्टिगेसन बक्स’ लगेको देखेर प्रशंसा गर्नुभयो। त्यतिबेरै घटनास्थलमा पुुलिसको कुकुर लिएर ‘मास्टर’ले बङलाको चारैतिर निरीक्षण गर्न थाल्यो। लाला थानाको प्रभारीलाई झपाराइको स्वरमा डि. आई. जि. पि. साहाबले कुकुरको पछि दगुर्नहुकुम दिनु भयो। म आफ्नै धुनमा भान्साघरमा सुरागको खोजीमा व्यस्त थिएँ। त्यतिकैमा राता धागाले बाँधेका दुइवटा बिँड़ीका ठुटा फेला परे। मेनेजरको भान्सेले बिँड़ी पिउँदैन भन्ने कुराको जानकारी मलाई थियो। डि. आई. जि. पि. साहाब भान्सा घरमा आउँदा मैले दुईवटा बिँड़ीका टुक्रा भेटेको सन्देश दिएँ साथै यिनै दुई ठुटे बिँड़ीको सहारामा हामीले अपराधी पक्राउ गर्न सक्षम हुन्छौं होला भन्ने कुरा मैले उहाँलाई जनाएँ। मैले एस. डि. पि. ओ. साहाबसँग सल्लाह/ परामर्श लिई त्यहाँ जमघट भएका मानिसहरूसँग सोधपुछ गरें तर उनीहरूले केही जाने पनि पुलिसको चेपारोमा पर्ने डरले हत्याकारीको बारेमा केही सूचना दिन इच्छा गरेनन्।

                भोलिपल्ट म मेरा अङ्गरक्षकलाई  लिई कौयाबगानका श्रमिक संस्थाका सम्पादकलाई भेट गरें। सम्पादकहरूको मेनेजरहरूसँग भित्री घनिष्ठ सम्पर्क रहन्छ। मेनेजरले उनीहरूलाई आफ्ना हातमा राखेका हुन्छन्। सम्पादकलाई हत्याकाण्डको बारेमा सोधपुछ गर्दा उहाँले घटनाक्रम जाने पनि भन्न नखोजे जस्तो उहाँको अनुहारबाट पत्तो लाग्छ। त्यहाँ पछि अनुसन्धान कार्यलाई यात्रा प्रदान गर्न बगानभित्र रहेको मारवाड़ीको दोकान र स-साना चारवटा दोकानतर्फ लागें। मारवाड़ीको दोकानमा गएर एकछिन बसी एकमुठा बिँड़ी मागें। उनले मुसुक्क हाँसेर एकमुठा बिँड़ी दिए। बिँड़ीको मुठो खोलेर हेर्दा सेतो धागाले बाँधेको बिँड़ी देख्न पाएँ। मैले सँगसँगै अर्को कम्पनीको बिँड़ी माग्दा आपूर्ति नभएको कुरा व्यक्त गर्छन्। त्यहाँ पछि सुरागको खोजीमा अरू अरू दोकानतर्फ जाँदा एउटा वृद्धले टेबुलमा तामुल-पान, बिँड़ी, सिगरेट लिएर बाटाकै छेउमा एउटा पसल थापेको रहेछ।

 सुराग पाउने आशाले तामुल खाने स्वाङ पारि म त्यो पसल छेउ पुगें र एउटा तामुल र एक मुठो बिँड़ी मागें। बिँड़ीमा राता धागाले बाँधेको आँखा परे। सुराग पाएँ भनेर होला आनन्दले मन फुल्न थाल्यो। त्यही पसलेबाट नै सुराग प्राप्तिको आशाले उसँग मित्रता स्थापन गर्न भरसक कोसिस गर्न थालें। मैले थानाका बगानमा रहेका तामुल उसलाई दिने आश्वासन दिएँ। मैले उसलाई भोलिपल्ट थानामा बोलाई पठाएँ। भोलिपल्ट पसले थानामा हाजिर हुँदा एक झोला तामुल दिएँ र आफ्ना सरकारी बासभवनमा लगेर चिया पियाएँ। शुरूमा मसँग भेट हुँदाको भन्दा धेरै मुक्त भावलेपसले वार्तालाप गर्न थाले। मैले सोधेका कुराहरू निसङ्कोच भन्न थाले। मैले उनको गोजीमा 300 रुपियाँ भराइ दोकानमा अरू सामान भराउन परामर्श दिएँ अनि आवश्यक परे फेरि पनि मदत गर्छु भनें। उसको पसलबाट ल्याएको एउटा बिँड़ी मुठाबाट निकालेर सल्काएँ र भनें- मैले पिउने बिँड़ी तिम्रो पसलमा मात्र पाइँदो रहेछ। सबै मानिसले यो मार्काको बिँड़ी पिउँदैनन् र बगानका कतिपय श्रमिकले मात्रै बिँड़ी पिउँछन् भन्ने कुरा उसका भनाइबाट छर्लङ्ग हुन्छ। बगानका श्रमिक चन्द्र माझी, लिगुवा माझी, शुक्रा माझीहरू यो बिँड़ी पिउँछन्। उसले फेरि भन्यो- चन्द्र बङलाको माली, लिगुवा र शुक्रा गेट चौकीदार। उनीहरू सबै नै  अस्थायी श्रमिक रहेछन्। मैले नजानिदो तरिकाले ती श्रमिकहरूको मेनेजरसँगको आपसी सम्पर्कको बारेमा वृद्धबाट जान्न खोज्दा उनीहरूको बीचको आत्मीयता नभएको कुरा थाहा पाएँ। उनीहरूले विभिन्न संस्था-सङ्गठनमार्फत् उनीहरूको जागिर स्थायीकरणको निम्ति दिनहुँ दवाब दिई रहेका थिए। तर मेनेजरले उनीहरूको आवेग अनुभूतिप्रति कुनै प्रकारको सहानुभूति नरहेको कुरा प्रष्ट भइसकेछ कारण मेनेजरले उनका गाउँबाट ल्याएको भात पकाउने भान्सेलाई 2/3 महिनामै जागिर स्थायी गरिदिएछन्।

                राति 9 बजे मैले मेरा सहकर्मीहरू साथै बगानका श्रमिक संस्थाका सम्पादकलाई लिई चन्द्र, लिगुवा, शुक्राहरूका घरमा गएर घर खानतलासी गर्दा प्राय सबैका घरमै रातो धागाले बाँधेको बिँड़ी फेला परे। ती बिँड़ीहरू जफत गरेर म हर्षित भएँ अब नाटकले अन्तिम रूप भेटेछ भनेर। तर अपराधीहरूलाई पक्राउ गर्न बाँकी छ। अर्कापट्टि फेरि एकजना पनि शङ्का लागेका दोषीहरू घरमा नपाउँदा निराशा लाग्यो। हामी बगानबाट थाना फर्कि आउँदा राति अबेर भएकाले गर्दा आँखामा निद्राको लाली किरण छाएको मात्र थियो। ड्राइभरले गाड़ीको हर्न सारो गरी बजाउँदा झल्यास ब्यूँझिएर आँखा खोल्दा एउटा साँढ़े गोरूले बाटाका माझमा उभिएर उग्राई रहेको रहेछ। दुई कान पड्काउँदै पुच्छर हल्लाउँदै आँखा झिम्काई टाउको हल्लाई उग्राई नै रहेको छ। उसको हेराइमा प्रष्ट झल्किएझैं लाग्छ उ हामी भन्दा धेरै खुशीमा छ। उ आफ्ना मनमर्जिको मालिक। मलाई एकक्षणको लागि त्यो पशुको ठाउँमागएर मानसिक दवाबबाट मुक्त हुन मन लाग्यो तर के गर्नु आफ्नो वास्तविकता आफ्ना काँधमा छ। छि: म के पो सोच्तै रहेंछु। हामीलाई उसले बाटो छोड्ने कुनै लक्षण नदेख्ता ड्राइभरले पक्के बाटोबाट आफ्नो गाड़ी अर्को बाटो पछ्याउँदै थानातर्फ लाग्यो।

                भोलिपल्ट राति १० बजे शङ्का गरिएका व्यक्तिहरू चन्द्र, लिगुवा, शुक्रालाई खोज्नको निम्ति छेउकै अर्को बगानमा उनीहरू लुकेको ठाउँ देखाउन एकजना गुप्तचरलाई लिएर यात्रा गर्यौं। करीब १५ कि: मि: टाढ़ा छ त्यो बगान। यथा समयमा त्यो गाउँ आएर हामीहरूले माझीहरू बसेको घर खानतलासी गर्यौं। खानतलासीमा सबैलाई एउटै खाटमा तेर्छिरहेको पाइयो। उनीहरूलाई सोधपुछका लागि आफ्ना हिफाजतमा लिएर थानातर्फ अग्रसर भयौं। उनीहरू सुतेका खाटका सिरानीतल १० वटा बिँड़ी पाइयो। ती बिँड़ी पनि राता धागाले बाँधेका थिए। बिँड़ीहरू जफत गरेर आफ्ना हिफाजतमा लियौं।

                बिहान ९ बजे मैले डि. आई. जि. पि. साबलाई दोषी पक्राउ गर्न सक्षम भएको कुराको जानकारी दिँदै अहिलेसम्मको प्रगतिको बारेमा व्यक्त गरें। दिउँसो २ बजे उहाँ थानामा आई लिगुवा, चन्द्र र शुक्रालाई सोधपुछ गर्न शुरू गर्नुभयो। पहिलो अवस्थामा उनीहरूले हत्याकाण्डको कुरा अस्वीकार गरेका थिए। तर स्वयम् डि. आई. जि. पि. साहाबको हुकुम मुताविक थर्ड डिग्रीको प्रयोग गर्दा उनीहरूले अपराध स्वीकार गर्दछन्। उनीहरूको बयानमा उल्लेख गर्छन् कि यो हत्याकाण्डमा अपराधी अरु ५ जना पनि छन्। उनीहरूले केवल मेनेजरलाई मात्र हत्या गर्ने अभिप्राय गरेका थिए। तर गवाही मेटाउनका निम्ति मेनेजरसँगै सुतेकी उनकी धर्मपत्नीलाई पनि हत्या गरेको कुरा स्वीकार गर्दछन्। भान्सेलाई स्थायी जागिर भयो भनेर रिसले हत्या गरेको कुरा पनि कबुल गर्छन्। उनीहरूले आफ्नो जागिर स्थायीकरण नभएको असन्तुष्टिमै मेनेजरलाई हत्या गरेको जानकारी दिन्छन्। हत्याकाण्ड सङ्गठित भएपछि उनीहरूले मेनेजरका सिरानी तलबाट १ लाख रुपियाँ लगेको कुरा पनि व्यक्त गर्दछन्। उनीहरूले हत्याकाण्डमा व्यवहार गरेको हतियार र पैसा देखाई दिने कबुल गर्दा म मेरा सहकर्मीको साथमा चन्द्र, लिगुवा र शुक्रालाई लिएर उनीहरूले देखाएको बमोजिम परालको कुन्यू तललुकाएर राखेका असी हजार रुपियाँ उद्धार गरी जफत गर्यौं। मेरो सरुवा हुनाले गर्दा अरु २ जना अपराधीलाई पक्राउ गर्न सक्षम भइन र यो अभिभारा मैले मेरो ठाउँमा आएका सहकर्मीलाई सुम्पिएँ।

                फर्किएर थाना आइपुग्दा हाम्रा अपेक्षामा रहनु भएका डि. आई. जि. पि. साहाबले हामीले उद्धार गरेका दाउ र पैसा प्रदर्शन गरी मलाई धन्यवाद दिँदै गाड़ीमा चढ्नुभयो। मैले विभागीय सलामले उहाँलाई विदा दिएँ अनि आफ्ना टेबुलमा पुगें। म मेरा दुनियाँमा डुबुल्की मारेर तन्मय भएँ। हीरा व्यापारीले धेरै पत्थरको बीचबाट हीरा उद्धार गरेझैं सबैले लत्याएको, दलित, अवहेलित रातो धागाले बाँधेको ठुटो बिँड़ीले एउटा हत्याकारी दललाई पक्राउ पार्न पुलिसलाई अजस्र सम्भेद दिन्छ जसरी बर्खा पानीले किसानप्रति बर्सातको सन्देश दिन्छ।

                                                                             ___________________

Post a Comment