ड. देवेन सापकोटा
प्राध्यापक. असम कृषि बि. बि.
खानापारा,गुवाहाटी
चलभाष: 9435309235
प्रकाशको ध्यान कम्युटरको पर्दामा केन्द्रित छ। दुवै हातका औंलाहरू की बोर्डमाथि नाचिरहेका छन्। भोलि बीस जुन। विश्व शरणार्थी दिवस। यस उपलक्ष्यमा गुवाहाटी विश्वविद्यालयमा एक राष्ट्रिय सेमिनार आयोजन गरिएको छ। त्यहाँ उनको एउटा भाषण राखिएको छ। विषय: आन्तरिक बिस्थापित व्यक्तिहरू। यहाँ बोल्न पाउनु उनको लागि एक सौभाग्य हुनेछ। यसका लागि उनी दिलोज्यानले प्रस्तुत गरिरहेका छन्। राष्ट्रसङ्घले यो दिवस पालन गर्नुमा विशेष तात्पर्य छ। आज विश्वभरि बर्षेनी साडे छ करोड भन्दा बढी मानिस शरणार्थी हुँदै गएका छन्।अफ्रिका, मध्यपूर्व एसिया, इथियोपिया, सिरिया आदि देशका त कुरै छाडौँ। हाम्रो र छिमेकी देशमा पनि उही हालत छ। कश्मीरबाट लखेटिएका पण्डितहरूको चित्कार अझै म्लान भएको छैन। युगौंदेखि बसोबास गरिआएका भूटाने नेपाली त्यहाँबाट लखेटिएर अन्यत्र जानु पर्यो। वर्माका लाखौं रोहिङ्गिया मुसलमान बङ्गलादेशमा आश्रित छन्।
यसका कारण विभिन्न छन्। पारिसाङ्खिक तथ्यहरू प्रकाशले तयार पार्दै छन्। विस्थापित मानिसहरूका दर्दनाक चित्रण संलग्न तस्वीरहरू त छन् नै।यी मानिसहरूले आफ्नो जन्मिएको गुँड छाडी अन्यत्र भाग्नु पर्दा कति दु:ख झेल्नु परेको होला! इन्टरनेटबाट सङ्ग्रह गरेका तथ्यहरू उनी कम्प्युटरमा हाली बन्द गर्दै थिए रुक्मिणी स्वा: स्वा: गर्दै कोठाभित्र पसिन्। "अस्ति त आएको थिइस्। गइहाल्ने बेला भयो र? अलिक अबेर निस्किए पनि त होला। गुवाहाटी तीन घण्टामा पुगिहाल्छस नि।" हल्का गला सफा गरे जसरी ठसठस् कन्दै रुक्मिणी बोल्छिन्, बिसाइबिसाई। उनको बोलिमा छोराले अझ अलिकछिन् भएपनि साथ दिने आग्रह लुकेको थियो। प्रकाशको मनमा पनि आमा छेउ केही क्षण अझ बिताउने इच्छा प्रवल थियो। तर उनी सक्दैनन्। समयको खाँचो छ।प्रसङ्ग बदलाएर उनी बोल्छन्-
"तपाईलाई अहिले कस्तो छ, आमा?”
"खोइ ठिकै छु जस्तो लाग्छ। तीन बोतल स्लाइन चढाई सकेपछि अहिले तङ्ग्रिएकी छु । पखाला चलेर निकै हलुका भएकी थिएँ"। एक क्षण बिसाएर अनुहारमा फिस्स हाँसो टसाउँदै थपिन्- "चारचार ओटा छोराकी आमा पो हुँ त, दुर्बल कहाँ छु र"?
"प्रेसरको गोलिचाहिँ नियमित लिई राख्नु होला। बिसञ्चो लाग्यो भने तुरुन्त फोन गर्न नबिर्सनु है। म हाजिर भई हाल्छु नि।"
"ल त नि। तँ कान्छो छोरो। छेउमा छस र त मेरो आँट छ" ।
"आउँदो हप्ता तपाईलाई लिन आउँदैछु । यसपल्टचाहिँ लामो बसी दिनुहोला"।
"हो त नि । उता जेठाले मुम्बई, माइलाले बंगलोर र साईँलाले हैदराबाद बोलाइरहेका छन् । लिन आउँछु पनि भनेका छन्। खोइ कहाँ जौँ, कहिले जौँ, भएको छ। तर तिमीहरू बस्ने घरचाहिँ मलाई परेवाको गुँडजस्तो कुचुक्क परेको लाग्छ। भूँई टेक्नै पाइँदैन। यसैलाई 'फ्लाट' भन्छन् अरे। धुमधुम्ति दिनभरि के गरेर बस्नु? टिभी कति हेर्नु? बस्दाबस्दै निसास्सिएजस्तो लाग्छ। बुहारीहरू पनि जागिर गर्न जान्छन्। कोसँग समय बिताउनु?" ठुलो सास फेर्दै रुक्मिणी कोठाबाट बाहिरिन्छिन्।
छोराहरूको महानगर भन्दा उनलाई आफ्नो गाउँनै प्यारो लाग्छ। उनको सानो चिटिक्क घर, घडेरी । अगाडी पट्टि ढकमक्क फूल फुलेको बगैंचा। पछाडिपट्टि कोठेबारी। आडैको ढिकुटी। सानो गुहाली। प्रति बिहान नुहाएर जप गर्ने तुलसाको मोठ। वरिपरी इष्टमित्रसँग गफ नगरी उनको चित्तै बुझ्दैन। बीचबीचमा पूजा-व्रत लिएर छरछिमेकीलाई मीठोमसिनो खुवाउन पाउँदा मात्र उनको धोको पुग्छ। परम शान्ति अनुभव हुन्छ। यो बुढो घरको परिवेशमा उनले स्वर्गवास भएका श्रीमानको उपस्थिति पलपल अनुभव गर्छिन।नितान्त।...
बाहिर गाडीले हर्न बजाउन लाग्यो। प्रकाश निस्कन हतारिए। बाहिरिए। सुटकेसलाई डिकीमा भराउन लागे। उनका दुवै नलीखुट्टा माथि कसैले हल्का सुमसुम्याएजस्तो लाग्यो। उनी झस्किए। नियालेर हेरे। घरमा पालेकी रानी बिराली पो रहिछे। ङ्वारङ्वार गरी आफ्नो जिउ एकनासले प्रकाशको नलीखुट्टामा दल्दै थिई। मानौ प्रकाश जाने कुरो उसलाई थाहा भइसकेको छ।
दृश्य रुक्मिणीको नजरमा पर्यो। उनले माया मिश्रित स्वरमा हप्काइन - "ए रानी, प्रकाश आउँदो हप्तामा फर्किहाल्छ नि। अहिले जान दे"। रानी फनक्क फर्की । रुक्मिणीको साडीमा फेरो मार्न लागी। रुक्मिणीले फोस्रो मुस्कानले हात हल्लाउँदै प्रकाशलाई बिदा गरिन्। साथै मुटुको भित्री कुनामा रिक्तता अनुभव गरिन्। उदास मनले उनी घरभित्र पसिन्। ओछ्यानमा थ्याच्च बसिन्। खुई.. ई.. ई या । ठुलो सास फेरिन। चारैपट्टी निस्तब्धता विराजमान थियो। मन पनि रित्तै। यस्तो रित्तोपनलाई उनले बारबार झेली आएकी छिन्। छोराहरूलाई घरबाट बिदा दिई सकेपछि। प्रति पल्ट।आज झैं। हिजोआज कतिपय प्रश्नले उनलाई सताई रहेका हुन्छन्। सुख, आनन्द, खुशी आदिका बीचको फरक के हो?
चौंरासी वसन्त कटाई सकेकी उनले जीवनमा सुख: पाइन् त? मुम्बई, बंगालुरु, हाइद्राबाद र गुवाहाटीमा छोराहरूका परिवारलाई भेट्दा अनुभव गरेको खुशीयाली कति दिनसम्म समाएर राख्न सकेकी छिन्? के उनी आनन्दित हुन सकेकी छिन्? उनी आफ्नो जिन्दगी लिएर खुशी छिन्? उनी कहाँ खुशी हुन सक्छिन् ? यो बुढो घरमा एक्लै कि छोरा नातिनीहरूसँग? यस्तै प्रश्नका भुमरीमा रुक्मिणी रुमलिदै गइन्...
आमालाई यसरी एक्लै छोडेर निस्कनुपर्दा प्रकाशको मन पनि अमिलिएको छ। अपराधी मानसिकतामा पौरँदै उनी गाडीभित्र पसे। गाडीले पछि धुवाँ उडाउँदै बिस्तारो ठाउँ छोड्यो। बाटो पल्लापट्टी खडा एउटी महिलाले अर्कीलाई कटाक्ष गर्दै प्याच्च बोलिन..”चारचार जना छोरा पाएर, पढाएर,विद्वान बनाएर के भो र? आखिरमा बूढी आमै बिचरा एक्ला कि एक्लै। त्यो बुढोघरमा धुमधुम्ती। मर्ने बेलामा अब पालेको भतिजाकै भरोसा"। इञ्जिनको शब्दलाई छिचोलेर आएका वाक्य बाणले प्रकाशको मानौ मुटु नै छेडेर गए। उनलाई भित्रबाट नमिठो लागेर आयो।
गाडी तत्काल रोकाए । ढोका खोली फुत्त बाहिरिए। फनक्क आफ्नो घरतिर फर्के। हानिएको काँड भएर कोठाभित्र पसे। ओछ्यानमा थ्याच्च बसे अनि घोत्लिन लागे....मातापिताले अत्यन्त कष्ट झेली आफ्ना छोराहरूलाई स्वाबलम्बी बनाए। जागिरको खाँचो पूर्ति गर्न उनीहरूले जन्मथलो छाड्नुपर्यो। चारै भाई एक एक गरी प्यारो गाउँबाट टाढिँदै गए। यो कस्तो बिडम्बना! के विकासको चङ्गामा समाएर उड्नु गलत हो? उनी जस्तै लाखौ शिक्षित नौजवान जागिर खोज्दै आफ्नो प्यारो गाउँथलो छाडी शहरमुखी हुनुपरेको छ।सन्तानले आफ्ना बाबुआमाको मायावात्सल्यबाट वञ्चित हुनुपरेको छ। अर्कापट्टि बाबुआमाले पनि आफ्ना सन्तानलाई टाडा पठाउनुको पीडा सहन गर्नु परेको छ। जाडोका बेलामा अगेनाको डिलमा बसी वा न्यानो सिरकभित्र अनेकौ कथा सुन्थे उनी बूढी आमैबाट, सानो छँदा। गाउँखाने, दन्ते या हितोपदेशका चखिला कथाहरू। यिनैले उनको व्यक्तित्व विकासको घडेरी बनाउनमा प्रभाव पारेको छ। तर यो परम्परा उनले अर्को पिँढीलाई सार्न सकेनन्। यो कुराले उनी आँफैलाई कहिलेकाहीँ दोषी नलागेको पनि होइन। वास्तविकताको बञ्चरोले दुवैपक्षलाई आघात हानेको छ।चोइट्याएको छ।
प्रकाशलाई एक्कासी एक नौलो विचार आयो। भोलिको सम्मेलनमा उनले एउटा नयाँ आयाम थप्ने छन्। त्यो हो आफूले भोगी आएको वास्तविकता। उनी जस्ताको दुखेसोको कथा। जहाँ एकापट्टि बाबुआमाले सन्तान खोसिएको घुँकघुँकाईको वर्णन हुन्छ, अनि अर्कापट्टि सन्तानहरूले जन्मथलो गुमाएको व्यथाको चित्रण।यसमा दुवै पक्ष निर्दोष हुन्छन् तर दुवै पक्ष आँफै वलि भएका हुन्छन् । यस्ताखाले विस्थापित व्यक्तिहरूको बारेमा विश्लेषण र चर्चा हुन बाँकी नै छ। यिनीहरूको परिसङ्ख्या पनि कतै पाइँदैन, तर केवल अनुभव गर्न सकिन्छ। यिनीहरूको मनोकष्ट भुसको आगोजस्तो हुन्छ - भित्रभित्रै सल्कीरहने तर बाहिर प्रकाश नहुने। परिस्थिति वश: आधुनिक युगका शरणार्थी भएका छन् यिनीहरू!अर्को एउटा प्रश्नले उनको मनलाई घोची रह्यो - जसरी उनले जन्मठाउँ छाड्नु पर्यो त्यसरी नै सन्तानले पनि उनलाई छोडेर जालान्? के समयले उनलाई सन्तान गुमाएको निःसहाय टुहुरो पार्न खोजिरहेको छ त?
____________________________
Post a Comment