• theoxygentimes@gmail.com

Blog


दौरा सुरुवाल (आत्म कथा)

                                                                                                                                                                                                                                                                                                                                                                                                                        चुडामणि पौडेल,

उर्लाबारी,मोरङ,नेपाल,  

     Email: poudelc296@gmail.com

 

".......प्रितीभोज एवं वर वधुलाई आशिर्वाद दिनको निमित्त सपरिवार हार्दिक निमन्त्रणा छ । असमर्थता का निमित्त सम्पर्क नं. 98...... " । कतैबाट आएको निमन्त्रणा पत्रलाई अर्काई फर्काई रामरी नियालेर हेरेँ ।खर्चको हिसाब राम्रै झल्कियो । वैवाहिक कार्य तालिकाहरु समेत प्रष्ट थिए । जन्ति जानेहरुका निम्ति नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल अनिवार्य तोकियो । उफ ! जेठ महिना र तराईको गर्मिको त कुरै नगरौ ।" महँगो कार्ड महँगै सर्तमा आएछ । " - सोचेँ । जो भएका आफ्ना सुटबुटको पनि काम सकिएछ । जन्तिमा असमर्थता जजाउँ त यत्रो सम्मानको अपमान , जाउँ त दौरा सुरुवालको सवाल । फेरि दौरा सुरुवाल को स्थान मा अन्य केहि लगाउन पाएको भए गर्मिमा टण्ठै साफ - एक मनले सोच्यो ।

सुटको कोट र गोहिको थुतुनो झैं पसारिएका जुत्ताले दौरा सुरुवाल मा सुहाउने छाँट थिएन । अझ जुत्ता समेत अर्कै चाहियो । आफु बडो बिलखबन्धमा परियो । त्यसो त दौरा सुरुवाल नभएको चाँहि होइन । तर, कारण वस सिलाउन भने बाँकी नै रह्यो । विवाह, भोज तथा अनेकौ सभाहरुको पहिरन । अझ आफ्नो त राष्ट्रिय पोसाक, यसको महत्वह के कम ? त्यसैले पुर्ख्यौली घरबुना खाँडी र अल्लाको कोट समेतको कपडा जोहो बेलेमा नगरेको होइन । तर , रह्यो कुरा सिलाउनमा । " एक जोर राम्रा दौरा सुरुवाल सिलाएर लगाउनु त हजुर । यो पुल्टुक्क भुडीमा कति सुहाउँदो हो ? " -उता उनीको रहर पनि छँदै थियो । जेनतेन राम्रै कपडा किनियो । तर, सिलाउन नमिलेको भने पक्का हो । त्यसो त वालापनमै दर्जीले सिलाएका दौरा सुरुवाल कत्ति लगाइयो कत्ति ।

दशैमा हातेकल लिएर घरमै आएर दर्जीले सिलाएका नयाँकोट र ढाका टोपीले कत्ति सुहाउँदथ्यो हगि ? अहो ! कहाँ बिर्सन सकिदो रहेछ र नयाँ नानाको मगमगी मिठो वासना। पाठशाला नगइ नगइ ढुक्कै रुँगेर बसियो, सिलाई सकिने बित्तिकै लगाइयो । अनि कोटका गोजी भरि अम्बा र सुन्तोला, अनि दौराको फेरमा भुटेका मकै भट्मास थापेर बोकिन्थ्यो । असाध्यै मिठो मानी चपाएको स्मरण ताजै छ । हरेक दशैमा , कस्का नाना राम्रा हौ ? भनेर एक आपसमा जचाइन्थ्यो । " यति नाना फाट्यो, मुसुरीले काट्यो ..." भन्दै दौराको फेर उचालेर, नलगाइएको नयाँ कट्टुको ईलाष्टिक तानेर देखाउँदा भने " कुरी ! कुरी ! " भनेर अरुले गिज्याउँदाको बखत भने आफ्नो आब्रुक कस्तो भयो होला ? यो सबै आब्रुक खोलिएको वृतान्त आफुले लगाइएको दौरा सुरुवालको प्रमाण होइन र ? अब यता तर्फ, उचाइको आधारमा शरीरको तौल सन्तुलन मिलाउनु योगको सिद्धान्त नै रहेछ । आफु सिद्धान्तनमै चल्ने भइयो ।

साढे पाँच फुटको उचाई लाई साठी देखि पैसठ्ठी के जी तौल ठिक हुँदो रहेछ । तर, थियो मेरो असी माथि। त्यसैले त दैनिक , तौल सन्तुलन तिरै लागिएछ । नभन्दै दश केजी तौल को ब्यास्थापन आफैं गरियो । फेरि आगिल्लो सालको सडक दुर्घटना । बिना योग साधना दुइ महिना त्यसै सुतिएछ । बरु जडीबुटी, मह र दुधमा बल गरियो । यताको सुताई भने उता दुधमा महको मिश्रण । वस, के निहुँ पाँउ झैं , सुगर लाई पो सुटुक्क मौका मिलेछ । अब भने शरीर घटाउने चिन्ता रहेन । बरु शरीर आफै पो ओर्हालो लागेछ । फेरि अल्सर र हेमोग्लोविनको समस्याले त झन तौल साठीबाटै ओर्हालो लाग्यो । फेरी पनि शरीरको समस्या त ज्युँ का त्युँ रह्यो । रहरहरु आफै परिबर्तन भएर वाध्यता बने । कहिले घट्ने रहर त कहिले बढ्नै पर्ने बाध्यता । लगाएका कपडाहरु सबै ठुला भए । आफै सर्लक्क पेन्टहरु झर्न थाले । बच्चा झै , हातले पेण्ट तान्दै हिडियो । तैपनि तरारी कपडा घटाउने मन भएन । बरु बेल्टमा नयाँ प्वालहरु छेडियो । यता खिपहरु हरिस का आँतर घटाए झै गरी घटाएरै लगाइयो ।

 भित्र लुकाउने सर्टलाइ बाहिरै छोडियो। बरु हल्का पोसाक को बाहनामा कुर्थामा पेण्ट लगाइयो । तैपनि घटाइएन किन ? - पिताजीका ठुला हाडहरु, सर्लक्क मैमा थिए । एक दिन अवस्य सिकारले भरिन के बेर ? - मनमा लागिरह्यो । हो , आज हतारोमा सिलाउँदा भोलि साँगुरो हुने डर । फेरि खकुलो सिलाउँदा मागेरै लगाए झैं , ऊफ ! सुखै रहेन यो दुनियाँमा । उता सगै कपडा किनेकाहरु , चटक्क सजिएरको देख्दा, दराजमा थन्किएका कपडाको याद आइ रहेछ । बेला बेला दराज खोलेर हेर्छु । अझ माउबाट जोगाउन कपुर राखेको छु ।   " बरु सिलाएर लगाउने हरुका पुराना भए आफ्ना त नयाँका नयै " - फेरि मन बुझाउछु । कोरोना महाँमारीबाट बाँची रहेमा अवस्य आफ्नो शरीर सन्तुलन कायम रहला । हो, त्यहि नाप अनुसार सिलाइएला । अनि एक दिन दौरा सुरुवाल लगाइ दिदा रमाइदिने मेरी उनीको रहर अवस्य कसो पुरा नहोला ? - सौखिन नारीहरुका झै, यो हरेक दिन फेरिने फेसन होइन , यो त मेरो राष्ट्रियताको सवाल पो त । खै कति बाँचिएला कुन्नि ? तर, लोभीएको पापी मन भने अझै दौरा सुरुवाल कोट र ढाका टोपी मा आफुलाई पुन: सजाउने सपना सोची रहेछ      अस्तु ।

 

                                                              ________________________

Post a Comment