• theoxygentimes@gmail.com

Blog


मैले उ.के.वि.वि.मा खुट्टा टेक्ने अघि नै त्यहाँ गई बसोबासो गर्ने एउटा भाडाघर निश्चित गर्नु थियो। यसका लागि मैले कतिपय मापदण्ड राखेको थिएँ। जस्तै, मेरो घर मैले काम गर्ने प्रयोगशाला भन्दा धेरै टाढा नहोस्, तर यो स्थान एकान्तमा पनि नहोस्, किनभने अमेरिकामा कतै कतै एक्लो दुक्लो मानिस बाटो हिँड्दा एक विशेष श्रेणीका लुटाहाले पैसा थुतेर लान्छन् भन्ने बदनाम सुनेको थिएँ। दोस्रो, भाडा पनि धेरै चर्को नहोस्। किनभने एउटा सानो घरलाई पनि प्राय: $ ८००-९०० (प्राय: रू ५६,०००-६०,०००) मासिक भाडा पर्छ रे। यसका लागि उ.के.वि.वि.को वेबसाइट हेरें, किसिम किसिमका अपार्टमेन्टहरू रहेछन्, तर ६ महिनाका लागि नपाइने रे, न्यूनतम एक वर्षका लागि चाहिन्छ रे। विकल्पको रूपमा कसैसँग साझा गरी बस्ने पनि सोच नआएको त होइन, तर जन्मै नदेखेको, नजानेकोसँग कसरी साझेदारी गर्नु ? कतै जँड्याहा, चुरोट पिउने या राति सुत्दा घुर्ने फेला पऱ्यो भने? मेरो त निद्रै हराउँछ।

सौभाग्यवश उ.के.वि.वि.को अपार्टमेन्टको एउटा भाग भाडामा उपलब्ध छ भन्ने कुनै बिल रबिन्सन नाउँको मानिसले इन्टरनेटमा राखेको पोस्ट पढन पाएँ । त्यो पोस्ट अमेरिका वासी साथी नन्दी नेपाललाई फरवार्ड गरें, पछि थाहा लाग्यो ती बिल उ.के.वि.वि. कै भौतिक विज्ञानका अध्यापक रहेछन्, आफू एक्लै हुनाले र खर्चको आवश्यकता हुँदा यसो गरेका रहेछन्। नन्दीको मघ्यस्थताले यो काम भयो। मैले भाडाका रूपमा प्रति महिनामा $ ४३०+बिजुली बिल+वाई फाई बिल तिर्नु पर्ने बन्दोबस्त भयो। ईश्वरलाई लाखौं लाख धन्यवाद टक्र्याएँ ।

अपार्टमेन्ट

म बस्ने अपार्टमेन्टका तीनवटा कोठा थिए। पस्दा पस्दैको ठुलो कोठाको दाहिनेपट्टि अध्ययन कक्ष र देब्रेपट्टि भान्सा घर थियो। यो कोठाको बिचबाट सोझै अघि बढ्दै जानु हो भने शौचालयमा पुगिन्छ। शौचालयको आकार सानै भएपनि भित्र ठुलो नुहाउने टब थियो। शौचालयलाई बिचमा राखी दुबैपट्टि दुइवटा सुत्ने कोठा थिए। मेरो चाहिँ देब्रेपट्टिको थियो, उनको चाहिँ दाहिने पट्टिको। मेरो सुत्ने कोठामा उघार्न सकिने एउटा झ्याल थियो जसको तल्लो भागमा बातानुकुल मेसिन राखिएको थियो। पस्ने बित्तिकैको कोठाबाट मेरो कोठातिर लाग्ने अघि नै तल्लो भागमा एउटा ब्लोवर भित्तामा टाँसेर राखिएको थियो जहाँबाट जाडाका बेलामा तातो हावा निस्केर सारा घरलाई नै न्यानो पारी राख्दथ्यो। भान्सा घरमा होस् या शौचालयमा, तातो र चिसो दुबै प्रकारका पानी २४ घण्टै उपलब्ध हुन्थ्यो। विशुद्ध रूपमा भएकाले गर्दा हामी यी नलका पानी सोझै खाने गर्थ्यौ। अमेरिकाका घरका झ्यालहरूमा हाम्रा उताको जस्तो फलामका ग्रिल हुँदैनन्, न त घरका चारैपट्टि सीमाहरूमा बार नै हुन्छन्।

अमेरिकाका प्राय: मानिसहरू प्रात: आहारका रूपमा सेरियल (Cereals) खाँदा रहेछन्, जुन चाहिँ गहुँ, मकै, ओट्स आदि मिसाएर सुखा रूपमा बनाई आकर्षक पारेर राखिएका हुँदा रहेछन्। शरीरलाई चाहिने सबै पौष्टिक तत्वहरू यहाँ उपलब्ध हुन्छन् रे। प्रति बिहान यसलाई म एक बटुको तातो दुधमा डुबाई एउटा फुल र स्याउसँग सेवन गरी प्रयोगशाला जाने गर्थें। प्रत्येक प्रयोगशालामा एउटा सानो खाजा खाने कोठा हुँदो रहेछ, जहाँ एउटा फ्रिज, माइक्रोवेभ ओभन र २-४ वटा चौकीका साथमा एउटा सानो टेबल रहन्छ।

म दिउँसो प्राय: १-१½ बजेतिर अरू साथीहरूसँग मिली बिहान घरबाट साथमा लगेको खानाको डिब्बालाई माइक्रोवेभमा तातो पारी खाना खाने गर्थें। बेलुका साढे पाँच बजेतिर घर फर्की एकछिन थकाई मारी भोलिपल्टका लागि तयारीमा लाग्थें। एउटा रोचक कुरो के हुन्थ्यो भने हाम्रा तिरबाट प्रकाशीत हुने सवै खाले अखबारहरू इन्टरनेटमा उताको एकदिन अघि नै पढ्न भ्याउँथें। व्यस्तताले भरेका दिनहरू पार गर्दै जाँदा शुक्रबार बेलुका जब म प्रयोगशालाबाट घर फर्कन्थें, मन खुशीले नाचेको हुन्थ्यो किनभने भोलि र पर्सिपल्ट बिदाका दिन हुन्थे। शनिबारका कार्यक्रमका लागि साथीहरूबाट शुक्रबारै म्यासेज आई तय भएका हुन्थे। तर कुनै दिन बेलुका समेत कतैबाट पनि म्यासेज आएनछ भने आशाको त्यान्द्रो झुन्ड़ाई मोबाइलको पर्दामा पटकपटक हेरिरहन्थें कतै बाट निम्तो पो आइ हाल्ला कि भनी।

शनिबार प्राय: नै डुली हिँड्ने कार्यक्रम बन्ने गरेकाले होला कुनै दिन घरै बस्नु परेका खण्डमा मनलाई एक्लोपनको बादलले छोपेको हुन्थ्यो, अनि बोझिल हुन्थ्यो। आइतबारको दिन चाहिँ घरेलु काम मै व्यस्त हुन्थें। मेरा कोठामा एउटा ठुलो प्लास्टिकको बाल्टी थियो, जहाँ म सोमबारदेखि प्रतिदिन व्यवहार गरेका फोहोर लुगाहरू जम्मा गर्दै जान्थें। आइतवार ती सबै जम्मा भएकालाई एक ब्यागमा हाली केही परको लन्ड्री कोठामा लिएर जान्थें। त्यहाँ प्राय: २० वटा लुगा घुने र सुकाउने मेसिनहरू लाइन लगाएर राखिएका हुन्थे। यो कोठा २४ घन्टै खुल्ला भए तापनि आइतबार भने ज्यादै व्यस्त रहन्थ्यो। ती मेसिनमा फोहोर लुगाहरू भराएर बिर्कौ बन्द गरी चानचुने पैसा छिराउने दुलामा ३ वटा २५ सेन्टका सिक्का भरेर तरल साबुन भराउने ठाउँमा ३-४ चम्चा हालेर चालु गरे भइहाल्यो, ४० मिनटपछि आफैं बन्द हुन्छ। म त्यति गरी मोबाइलमा एलर्म लगाएर घर फर्की अरू काममा व्यस्त हुन्थें।

एलर्म बजेपछि पुन: त्यो लन्ड्री कोठामा गई मेसिनबाट धोइएका लुगा छेवैको सुकाउने मेसिनमा (Dryer) सारी पूर्ववत् सेन्टका सिक्का हाली चालु गरी घर फर्केर आउँथें। निश्चित समयपछि पुन: त्यहाँ गई मेसिनबाट सुकाइएका लुगाहरू बोकेर घर फर्कन्थें। जाडाका दिनमा ड्रायरबाट सुकेका लुगाहरू निकाली पट्याएर राख्दा पाएको न्यानोपन म कहिल्यै बिर्सने छैन। लन्ड्री कोठाकै पल्लोपट्टि व्यायाम घर, खेल्ने घर र कम्युनिटी हल आदि थिए। व्यायामघर भित्र मलाई मनपर्ने दुइवटा मेसिन थिए। एउटा चाहिँ डलरलाई खुद्रामा साट्ने र अर्को चाहिँ चिप्स भेन्डर। पहिलोमा चाहिँ एकापट्टि डलर छिरायो भने मेसिनले त्यसलाई पढी त्यसै गरी अर्कोपट्टिबाट टङ टङ गरी २५ सेन्टका सिक्का हिसापमा निकाल्थ्यो जसलाई लुगा धुने या सुकाउने मेसिनमा भराउन प्रयोग गरिन्थ्यो।

अर्कोमा चाहिँ, सिसाका दराजभित्र ताला लगाएर राखेका चिप्सका प्याकेटलाई आफू खुशी चुनेर कुनै एउटा स्थानमा डलर छिराई दिनु भने ती प्याकेट आँफै बाहिर निक्लन्थ्यो। यी सबै काम मेसिनले निर्मूल गर्थे। यताका कार्यालयहरूमा हाम्रा उताका जस्ता सलाम ठोक्ने चौकिदार हुँदैनन्, सुरक्षाका लागि जता ततै सिसिटिबी (CCTV) लगाइएको हुन्छ। अपार्टमेन्टहरूमा धुवाँ पत्तो लगाउने (smoke detector) मेसिन लगाइएको हुन्छ। घर भित्र धेरै धुवाँ भएमा यसको साइरन बज्छ रे। यसकै डरले मैले अमेरिका बसुन्जेल घरभित्र अगरबत्ती पनि बाल्न पाइनँ। कम्युनिटी हलमा बडादिन या नयाँसाल आदि जस्ता उत्सवका बेलामा अपार्टमेन्टबासीलाई बोलाएर विशेष कार्यक्रमहरू हुन्थे।

हाम्रा अपार्टमेन्टहरूमा विभिन्न देशबाट आएका प्राय: २०० वटा परिवार थिए। कहिलेकाहीं एकैसाथ खाने खाल्का कार्यक्रमहरू हुन्थे जहाँ हामीले आ-आफ्ना देशका बिशेष पकवानहरू बनाएर लगी एक अर्कासँग साटासाट गरी उपभोग गर्दथ्यौं।

अमेरिकामा दुध र अण्डाको मोल हाम्रा तिरभन्दा सस्तो लाग्यो। यहाँ खाने वस्तुहरूका विविधता धेरै हुँदा रहेछन्, जस्तै, दुध र कुखुराका डिम्मा ५ खाले देखिए- सम्पूर्ण दुध, ताना दुध, कमचर्बिको दुध, भिटामिन D मिश्रित दुध र जैविक दुध आदि। फुलभित्रमा, AA ग्रेडका डिम्मा, B ग्रेडका, खैरो रड्गी, खुल्ला वातावरणमा पालिएका कुखुराका अण्डा तथा जैविक डिम्मा। डा. बिल र मेरो भान्साघर एउटै भएकाले हामीले बेलुकाको खाना पकाउने समयलाई मिलाएका भियौ। अमेरिकनहरू बेलुका चाँडै (७-८ बजे) खाना खाँदा रहेछन्। त्यसैले म ८ बजे पछि मात्र भान्सा कोठामा पस्थें। मलाई सोमबारदेखि शुक्रबारसम्म प्रतिबिहान दिउँसोका लागि खाना प्रयोगशालामा लिएर जानु पर्ने बाध्यता हुन्थ्यो। बिदाका दिन बाहेक अरू दिन बेलुका मात्र भान्साघरमा काम हुन्थ्यो।

म बिहान ७:३० बजे प्रात: भोजनका रूपमा सेरियल खाई निस्कन्थें र बेलुका ५:३० बजेतिर मात्र फर्कन्थें। मलाई तरकारी पकाउन सारै झिँजो लाग्थ्यो। किनभने काँचो तरकारी किनेदेखि त्यसलाई पकाएर खाने लायकको बनाउनेसम्म निकै खुट्किलाहरू छन्, समय पनि थुप्रै लाग्ने, जुन चाहिँ भात दाल पकाउँदा छैनन्। त्यसैमाथि एकै नासे तरकारी सधैं खाँदा पनि वाक्क लाग्ने हुन्छ। त्यसैले तरकारी बनाउँदा विविधता ल्याउनु आवश्यक थियो। तुलनात्मक रूपमा दाल भात बनाउँदा यत्रा विकल्पहरु हुँदैनन्। कहिलेकाहीँ बिहान ४ बजेदेखि राति ११-१२ बजेसम्म प्रयोगशालामा काम थपिन्थे।

थाकेर लखतरान भएको जिउले भान्साघरमा पसी अझ अधिक समय बिताउन मान्दैनथ्यो। कहिलेकाहीं त खिचडी खाएरै सुत्थें। धन्न घरबाटै साथमा प्रेसर कुकर लिएर आएँछु। मेरो आइतबारको दिउँसो प्राय: एक बजेदेखि रात्री ८ बजेसम्म तरकारी पकाउँदै जान्थ्यो, किनभने परिपरिका तरकारी पकाई १० वटा  भिन्नाभिन्नै डिब्बामा भराई चिनो लगाएर फ्रिजमा राख्नु पर्दथ्यो ताकि सघैंभरि फेरी फेरी खान पाइयोस्। हुन त समयको सदुपयोग गर्न भान्साघरमा काम गर्दा म कान फोनमा टेड टक (TED talk) या युट्युब सुन्ने गर्थें जसले मेरो ज्ञानको परिधिलाई अझ फराकिलो पार्नमा घेरै सहयोग गर्थ्यो।

बिहान हातमा कम समय रहेकाले भोलिपल्टका लागि अघिल्ला दिनै भात दाल पकाई फ्रिजमा राख्ने गर्थें। यी सबै चिसा पकवानहरू प्रयोगशालाको माइक्रोओभनमा मिनटमै खाने लायकको तातो पार्ने सुबिधा थियो । भान्सा कोठामा कामले चाप्दा एउटै प्रश्नले मलाई बारम्बार घचघच्याई रहेको थियोज्. च्हामीले खाना पकाउनमा आफ्नो धेरै बहुमूल्य समय खर्च गर्दा रहेछौं, के यसको विकल्प छैनज्?

म भान्साघरमा कामको व्यस्तता निसास्सिएको बेला कोठाको अर्को पट्टि आफ्ना पियानोमा कम्प्युटरमा तल्लीन डा. बिललाई देखेर मलाई मनमनै आरिस लाग्थ्यो। तुलनात्मक रूपमा हेर्ने हो भने यिनीहरूको जीवनशैली कति सजिलो! प्राय: नै प्रशोघन गरेका (Processed food) खाद्य खान्छन्। यस्ता खाद्यहरू कम्पनीले पकाएर डिब्बा या अन्य पात्रहरूमा आकर्षक पाराले प्याकिङ गरी बजारका पसलहरूमा बिक्री गर्ने गर्छन्। जस्तै: हाम्रा उता पाइने म्यागी (maggi) या टिन-माछा आदि। कुनै भने चिस्यान (Frozen) मा राखिएका हुन्छन्। यस्ता च्ततायोखायोज् खाले खाद्यहरू मिनटमै माइक्रो ओभनमा तयार पारी खान सकिन्छ। अमेरिकनहरू परिपरिका पाउरोटी खान्छन्, हाम्रो जस्तो दाल-भात होइन। तसर्थ पकाउनमा लाग्ने समय बाँच्ने भयो। तुलनात्मक रूपमा यिनीहरू घेरै उत्पादनक्षम र सफल भएको यो पनि एउटा कारण हुन सक्छ होला। हाम्रो जस्तो अनाहकमा भान्सा घरमा पकाउने र बनाउने काममा धेर समय खर्च नगरी बरू कुनै उपयोगी काममा समयलाई व्यवहार गर्दा रहेछन्।

मैले हिसाब गरी हेरेँ- मेरो तलव र वृत्तिको रूपमा घन्टाको प्राय: रू. ४७० कमाउँदो रहेँछु। तसर्थ म प्रति आइतबार खाना बनाउनका नाउँमा ८ घन्टा, अर्थात् रू. ३७६० र  छ महिनामा रू. ९०,२४० खर्च गर्दो रहेछु। प्रति बेलुका मलाई दाल, भात, सलाद आदि बनाउन औसतन डेढ घन्टाको समय लाग्दो रहेछ। तसर्थ महिनामा मैले २७० घण्टा अर्थात् प्राय: रू.१,२६,९०० खर्च गर्दो रहेछु। यस प्रकारले मैले महिनामा सर्वमूठ २,१७,१४० भा.रू. खाना बनाउनमा खर्च गरेंछु। यो एउटा ठुलो उपलब्धि मात्र नमएर सोचनीच मुद्दा पनि हो। तुलनात्मक दृष्टिमा हेर्नै हो भने मेरा सहवासी डा. बिलले बेलुका खाना बनाउनमा औसतन मात्र एक घन्टा समय खर्च गर्छन्। म त निकै खर्चिलो पो प्रमाणित भएँछु!

डा. रबिन्सन: इसाई हिन्दू

६ सेप्टेम्बर,२०१६ को बेलुका प्राय: ५:३० तिर जब म त्यहाँ पसेँ, मलाई कुनै भारतीय मानिसको घरमा पाहुना लाग्न गएजस्तो लाग्यो, किनभने अपार्टमेन्टका भित्ताहरूमा, कतै कृष्णजीका कतै दश अवतारका त कतै कृष्णजी सुदामाको, त कतै निम कारोली बाबाका तस्वीरहरू टाँसिएका थिए। पछि थाहा भयो उनी उक्त बाबाका अनुयायी रहेछन्। म अभिभूत भएँ। मनमनै डराएको थिएँ - अमेरिकन साहबसँग बस्ने परिवेशमा परें भने ? तर बिस्तारै थाहा लाग्यो उनी त मभन्दा साधु रहेछन्। गोमांश त परै जाओस सुँगुरको मासु समेत नचल्दो रहेछ। उनको कम्प्युटरको पर्दा प्राय: डेढ फुट जति अग्लो थियो, जहाँ वृन्दावनको प्रख्यात आरती गरेको रङ्गीन तस्वीरलाई स्क्रिन सेभर पारी राखेका रहेछन्।

उनी श्रीकृष्ण भक्त रहेछन्, गाडीको नाउँ नै राखेका रहेछन् श्रीकृष्ण। श्रवण दोषले गर्दा उनी दिव्याङ्ग रहेछन्, उनको विशेष तरिकाले निर्माण गरिएको छ चक्के स्कुटी जस्तो वाहन थियो। नेपालको राष्ट्रिय झण्डा जस्तो उनको छुट्टै ३ कुने झण्डा थियो, जसलाई वाहनको पछाडिपट्टि फर्काएर साथमा छालाको डफली बोकी सप्ताहान्तमा उनी मन्दिरमा भजन-कीर्तनमा भाग लिन जान्थे।

एक दिन केही काम परेकाले उनको सुत्ने कोठामा पस्ने मौका परेको थियो। त्यहाँ पूर्वीय संस्कृति र संस्कृत भाषामाथि लेखिएका किताबका ठेली देखेर छक्क परेको थिएँ। हाम्रो गायत्री मन्त्रको ओम ...भन्ने शुरु अक्षरबाट उनले वाई-फाईको पासवर्ड बनाएका रहेछन्। कतै कुरा प्रसङ्गमा भारतीय उप महादेशको कुनै ठाउँको बारेमा सोद्धा उनी निर्भूल वर्णन गर्दथिए। उनको सुत्ने बिछौना माथि च्हरे राम, हरे कृष्णज् लेखेको ओढ्ने च्यादर रहेछ। एक दिन त्यसलाई प्रदर्शन गर्दै उनलाई कुनै साथीले बनारसबाट लगी सौगात दिएको भनी मसँग गर्वका साथ घोषणा गरेका थिए। कुराकानीबाट मलाई के थाहा लाग्यो भने उनले पूर्वीय संस्कृति र हिन्दु देव-देवीका बारेमा गहिरो अध्ययन गरेका रहेछन्, साँचो भन्नु भने मैले निम केरोली बाबाको बारेमा उनीबाटै पहिलो पटक जान्न पाएँ र विकिपेडियामा गई अध्ययन गरेका थिए।

अमेरिकामा डा. बिल रबिन्सन जस्ताको एउटा ठुलो समाज रहेछ जसले श्रीकृष्णलाई श्रद्धा भक्तिसाथ मान्दा रहेछन् र हिन्दु धर्मको चर्चा गर्दा रहेछन्। यस समाजका कतिपय सदस्यका साथ मलाई परिचय गराइदिएका थिए। कतिपयले चाहिँ आफ्नो नाउँ पनि हिन्दु संस्कृति अनुसार राखेका रहेछन्। टेलिभिजनमा भारतवर्षको बारेमा केही कार्यक्रम हुनेछ भने डा. बिलले, तत्कालै मलाई इमेल पठाउँथे र तोकिएको समय अघिदेखि नै टिभी खोलेर पर्दाको अघिल्तिर अधीर आग्रहले अपेक्षा गरिरहन्थे। उनले नै मलाई पुस्तकालयबाट कतिपय भारतवर्षका पटभूमिमा बनाइएका सिनेमाका सी.सी. भाडामा ल्याइदिएका थिए, जसमध्ये रामानुजन माथि बनाइएको The man who knew infinity भन्ने अन्यतम् थियो। उनलाई जीवनमा एकपल्ट भए पनि भारतवर्ष जाने इच्छा रहेछ। बाहिर सेतो चर्मले अमेरिकन, तर अन्तरले पूर्वीय यी महानुभावलाई म जीवनभर बिर्सने छुइन ।

 

Post a Comment