त्याग र आत्मबलिदानकी जाग्रत प्रतीक : सती जयमती
कल्पना देवी आत्रेय,कलियाबर, नगाउँ, असम
जम्बुद्वीप भरतखण्ड भारतवर्ष आर्यावर्त देशको प्राचीन शाश्वत इतिहासका पृष्ठमा महिमामयी तथा वीराङ्गना नारीहरूको नाम सुनौलो अक्षरमा लेखिएको पाइन्छ। अखण्ड भारतको भूभाग र रत्नगर्भा धरित्री माताको कोखमा जन्म ग्रहण गरेका सौभाग्यवती नारीहरूको वर्णन गर्न कुनै पनि कलमकारलाई त्यति सजिलो हुँदैन। त्यो चाहे प्राचीनकालका विदुषी नारी अथवा ऋषि-मुनिहरूको वर्णन होस् अथवा मध्यकालका वीराङ्गनाहरूको वर्णन नै किन नहोस्। समयसमयमा उनीहरूले देखाएको साहसिक कदमले नारी जातिको कदलाई धेरै नै उच्चा पारेको छ। त्यसैक्रममा पूर्वोत्तर भारतका नारीहरूको योगदान पनि इतिहासमा नटल्किएको होइन। त्यो चाहे आक्रमणकारीहरूको विरोधमा आवाज उठाउने कार्य होस् अथवा देशहित सर्वोपरि मानी देशभक्तिसहित राष्ट्रधर्म पालन गर्ने कार्य नै होस् अथवा परतन्त्रबाट मुक्ति पाउनका लागि उनीहरूले गरेको सङ्घर्ष नै किन नहोस्। माथि भनिएको समग्र महामानवीय गुणले परिपूर्ण भएकी पूर्वोत्तर भारत असम राज्यकी वीराङ्गना सतीजयमतीको नाम नारीहरूमध्ये कहिल्यै बिर्सन नसकिने नाम हो। यस्ती स्वाभिमानी नारी, जसले आफ्नो पति र देशका निम्ति गरेको बलिदान तथा उनको गौरवमय इतिहास-गाथालाई हामी प्रत्येक भारतवासीले हृदयङ्गम गर्न र उनका विषयमा जान्न जरुरी छ।
माता चन्द्रदारु र पिता लाइथेपेना बरगोहाञीकी पुत्री जयमती धेरै दिदी - बहिनी र दाजु-भाइ मध्येकी भए तापनि उनी परिवारका सबैबाट धेरै माया पाएर हुर्केकी हुन्। लाइथेपेना बरगोहाञीका पुर्खाहरू र आहोम राजाहरूमा परम्परागतरूपमा पूर्वदेखि नै अति राम्रो र घनिष्ठ सम्पर्क रहेको हुँदा लाइथेपेनाको पनि आहोम राजासँग सम्बन्ध घनिष्ठ नै थियो। राज परिवारको छत्रछाया र आफ्नो परिवारबाट स्नेह प्राप्त गरेकी दक्ष दुहिता जयमती सानैदेखि नै कर्तव्यपरायण र दायित्वशील अनि अत्यन्त बुद्धिमती थिइन्।
त्यो समयमा आहोमका राजा थिए गोबर राजा। गोबर राजाका तृतीय पुत्र थिए गदापाणि। उनी धेरै शक्तिशाली र साहसी थिए। प्रायश: राजकुमार गदापाणि जङ्गलमा सिकारका लागि जाने गर्दथे। त्यसरी नै एकदिन सिकार खेलेर फर्किंदा भोक उनी तिर्खाले आकुल हुन्छन् र जयमतीका घरमा पुग्छन्। अतिथि परायण-गुणसम्पन्ना जयमती फुर्ति र जाँगरिली थिइन्। भोक र तिर्खाले आतुर भएका गदापाणिलाई राम्ररी अप्यायन गराइन्। उत्तम आतिथ्यबाट प्रभावित भई राजकुमार गदापाणि जयमतीलाई आफ्नी अर्धाङ्गिनीको रूपमा प्राप्त गनर्ï चाहन्छन्। लावण्यमयी जयमती पनि सुन्दर सुदक्ष तथा शक्तिशाली राजकुमार गदापाणिदेखि प्रभावित हुन्छिन्। परिवारको सहमतिमा दुवैको आहोमको चकलङ्ग विवाह पद्धतिअनुसार विवाह सम्पन्न हुन्छ। 'त्याग नारी जीवनको अलङ्कार हो अनि पति आफ्ना देवता हुन्’- भन्ने आप्तवाक्य शिरोधार्य गरी जयमती आफ्नो वैवाहिक जीवनमा कदम राख्छिन्। सासूआमाबाट पनि असीम माया पाएकी जयमतीको गदापाणिसँगको युग्म जीवन सुख-शान्तिमा बित्न थाल्छ। उनीहरूको वैवाहिक जीवनका साक्षीस्वरुप दुई सुन्दर पुत्र सन्तान जन्मन्छन्।
गोबर राजाको मृत्युपछि उनका तृतीय पुत्र गदापाणि राजा हुन्छन्। त्यतिखेर राजसत्ता र सिंहासनको लालसामा राजअधिकारीहरूका बिचमा घमासान गृहयुद्ध सुरु हुन्छ। गुवाहाटी र तल्लो असमका आहोम राजप्रतिनिधि लालुकखोला बरगोहाञीले कुटनैतिक कुचक्र गरी ७ दिनमै गदापाणिलाई राजसत्ताबाट हटाए अनि चुलिकफा भन्ने १४ वर्षीय बालकर्ला आफ्नो निजी स्वार्थ सिद्धिका निम्ति राजा बनाए, सन् १६७९ मा। सानो उमेरमा राजा भएका हुनाले उनलाई 'लरा रजा’ पनि भनिन्थ्यो। चतुर लालुकखोलाले कौशलपूर्वक आफ्नी पाँच वर्षकी छोरीलाई सत्तासीन लरा रजासँग बिहे गराई शासनको मूलभार आफ्नो हातमा ल्याए र अनेक प्रकारका षड्यन्त्र रच्न थाले। आहोम राज्यमा एउटा के नियम प्रचलित थियो भने अङ्ग क्षत भएका कुनै पनि युवक राजा हुन सक्ने छैनन्। लालुकखोलाले यो नीतिको गलत फाइदा उठाउँदै राज्यमा राजा हुन योग्य भएका युवकहरूको अङ्गक्षत गर्ने आदेश दिए। जयमतीका पति गदापाणि नै लालुकखोला बरफुकनका प्रधान शत्रु थिए, किन भने राजा हुनसक्ने सबै गुण र योग्यता उनमा विद्यमान थिए। 'लरा रजा’को अनैतिक क्रियाकलापले गर्दा गदापाणि आफ्नी पत्नी तथा दुवै छोरा लिएर अन्तै गई लुकेर बस्न थाले। राजाका मानिसहरू गदापाणिलाई खोज्दै त्यहाँ पुग्छन् जहाँ उनी लुकेर बसेका थिए। आफ्ना पतिलाई शत्रुबाट बचाउन र देशलाई सुशासन प्रदान गर्ने उद्देश्यमा जयमतीले गदापाणिलाई त्यहाँबाट भागेर अन्तै गई लुक्ने परामर्श दिइन्। पहिले त गदापाणि भाग्न राजी भएका थिएनन्, तर जयमतीले बारम्बार गरेको अनुरोध टार्न सकेनन् र उनी भागे। अनि आफ्ना दुई पुत्रलाई पनि मावलमा लगेर सुरक्षित राखे। त्यसपछि जयमतीलाई उनको पतिका विषयमा लालुकखोलाका मान्छेहरूले धेरै सोधखोज गरे तर उनले पतिका विषयमा भनिनन्। अत्याचारी लालुकखोलाले जयमतीलाई बन्दी बनाएर लग्यो र गदापाणिका विषयमा सोधखोज गर्दै राजदरबारमा उनलाई अनेक प्रकारको अत्याचार गरे तर जयमती आफ्नो सिद्धान्तमा अडिग रहिन्, पतिका विषयमा केही भनिन्। त्यसपछि जयमतीलाई जेरेङ्गा पथार भन्ने ठाउँमा लगेर एउटा काँढैकाँढा भएको रुखमा बाँधे अनि श्रीमान् ''कहाँ लुकाएकी छस्’’ भन्दै प्रश्न गरेर शारीरिक र मानसिक अमानवीय अत्याचार गर्न थाले। अति निर्दयतापूर्वक छालाको चाबुक र सिस्नोले कुट्न थाल्छन्। जयमतीलाई बारम्बार एउटै कुरो सोधिरहन्छन् -''तेरो पति गदापाणि कहाँ लुकेको छ, भन्?’’ -'राज्यशासन गरिरहेका भ्रष्ट सत्ताधारीहरूलाई गदापाणि जीवित रहे मात्र सत्ताच्युत गर्न सक्नेछन्, यदि यिनीहरूले गदापाणिको टुङ्गो पाए भने गदापाणिलाई मार्ने निश्चित छ, उनले मर्नुभन्दा बरु यिनीहरूले मलाई नै मारुन्। आफ्नो प्राण आहूति दिएर भए पनि यी दुराचारीहरूको पञ्जाबाट भावी योग्य राजालाई म बचाउँछु।‘ यस्तै सोचेर अत्याचारीहरूले फलामले कुट्ता र उम्लिरहेको तातो पानी शरीरमा खन्याउँदा पनि परम तेजस्विनी क्रान्तिकारिणी सती जयमतीले सत्यमा आधारित राजधर्मको पालन गर्दै क्रूर शासकका अघि मुख खोलिनन्। उनीहरूको अत्याचार खपिन्। सती जयमीले यस्तो असह्य अत्याचार खपिरहेका बेला त्यहाँ एउटा यस्तो दृश्य पनि परिघटित भएको थियो, गदापाणि नगापाहाडको गोपनीय स्थानमा ठाउँ सरी सरी लुक्दै गरेको बेला जयमतीप्रति भएको कठोर अत्याचारको खबर उनले थाहा पाउँछन्। अनि छद्मवेशमा आफ्नी पत्नीको अगाडि त्यतिखेर पुग्दछन् जब उनी क्रूरताको बली भइरहेकी थिइन्। उनले निजी आँखाले आफ्नी प्यारी-प्रियतमा पत्नीप्रति गरेको अत्याचार देख्छन्। निरन्तर प्रताडकहरूले -''ओइ तोर गिरियेक कोत आसे क?’’ (तेरो पति कहाँ छ भन्) भन्दै कुटेको देखेर आफूलाई रोक्न नसकी छद्मवेशधारी गदापाणि सतीलाई भन्छन्, -''ओइ तइ तोर गिरियेकर कथा कोइ निदिय किय?’’ (तेरो पतिका बारेमा तँ किन भन्दिनस्?)। आफ्ना पतिदेवको उपस्थितिको आभास हुने साथ पतिलाई चिनेर उनी तुरुन्त यो ठाउँ छोड्ने इङ्गित गर्दै भन्छिन् - ''जोर मानुह तालै नाजाय किय? मइ नकउँ, नकउँ, नकउँ!’’ (जहाँको मान्छे त्यहीँ किन जादैनस्? म भन्दिनँ, भन्दिनँ, भन्दिनँ!)। आफ्नी पत्नीको यस्तो दृढ सङ्कल्प र कठोर निर्णयका अगाडि नतमस्तक भएर अत्यन्त दु:खित हृदयले मर्माहत भई वेदनाले विह्वल हुँदै मनले नमाने पनि पत्नीबाट पृथक हुन्छन्। यो पृथकता नै यी प्रेमीयुगलको सम्पूर्ण जीवनको नै अन्तिम पृथकता बन्यो। अर्थात् विरहको यो बिछोड नै थियो उनीहरूको प्रेममय जीवनको अन्त्य र उनको पत्नी जयासँगको अन्तिम भेट पनि! जेरेङ्गा पथारमा, निरन्तर १४ दिनको अमानवीय अत्याचार खपेर पनि आफ्ना पतिको ठेगाना ''म कदापि भन्दिनँ’’ भन्दै र यातना भोग्दै रुखमा बाँधेर प्रहार गरिएकी सती जयमतीले त्यहीँ १६७९ सन् २७ मार्चको दिन प्राण त्याग गर्दछिन्।
सती जयमतीको महान् त्यागले 'लरा रजा’ र लालुकखोलाको अन्याय र अत्याचारबाट असमवासीलाई जयाको मृत्युको दुई वर्षपछि गदापाणिले उद्धार गर्न सक्षम भएका थिए। सन् १६८१ देखि १६९६ सम्म यी गदापाणि नै गदाधर सिंह नामले आहोम राजा हुन्छन्। त्यसपछि जयाका ठुला छोरा रुद्रसिंह सन् १६९६ देखि १७१४ सम्म राजा हुन्छन्। सतीका पुत्र रुद्रसिंहले केही कालपछि आफ्नी मातृले अमानवीय अत्याचार खपेर मृत्युवरण गरेको ठाउँमा 'जयसागर’ नामको एउटा ठुलो पोखरी खनाउँछन् र त्यसैको छेउमा 'जयदौल’ निर्माण गर्दछन्। सन् १७१४ देखि १७४४ सम्म जयमतीका साना छोरा शिवसिंह राजा हुन्छन्। यसप्रकार राजसत्ता परिवर्तन गर्न सक्षम भएकी अत्यन्त निडर दृढनिश्चयी भारतीय क्रान्तिकारिणी नारी जयमतीको नाम इतिहासका पन्नामा स्वर्णाक्षरले लेखिएको छ। सती जयमतीको चरित्रले समग्र नारी जातिलाई नै गौरवान्वित पारेको छ।
हुन त इतिहासका पृष्ठहरूमा हजारहजार बलिदानीका गाथाहरू हामीले सुन्न पाएका छौँ। सबै बलिदान नै आआफ्नो क्षेत्रमा अति महत्वपूर्ण छन्। आत्मबलिदानको परिसीमा अधिकतम् अथवा न्यूनतम् कहिले पनि हुँदैन। आखिर बलिदान बलिदान नै हो, यो सधैँ महानतम् हुन्छ। तर सती जयमतीको बलिदान नारी जगत्का लागि विशेष महत्वपूर्ण, अपरिसीम अनि राष्ट्र धर्मसँग संलग्न र सुयोग्य प्रशासकका निम्ति पतिरूपी सुयोग्य राजाको चयन र नियुक्तिको मोहर हो। चौदह दिनको क्रूर तथा भीषण प्रहार खपेर पनि भावी सुयोग्य राजधर्मपालक राजाको सपना सँगालेर मृत्युलाई अँगालो हाली सतीले भारतीय सनातनी नारीको पतिधर्म पनि उत्तिकै पालन गरिन् जति उनले सुयोग्य राजालाई बचाउन गरेकी थिइन्। यस्ती महिमामयी त्यागी नारी सती जयमतीको महान् त्यागलाई स्मरण गर्दै प्रतिवर्ष २७ मार्चको दिन असममा 'जयमती दिवस’ मनाइन्छ। महासती जयमतीको असीम त्याग, उनले देखाएको आदर्श र उनको स्मृति सधैँभरि हाम्रो बीचमा सजीव भएर रहने छ।
__________________
Post a Comment