• theoxygentimes@gmail.com

Blog


अमेरिका पस्दा
अमेरिकाभित्र भविष्यमा भेट्टिने अनुभवको उत्सुकता र अतीतको रोमन्थनबिच समय व्यतीत गर्दै हाम्रो वायुयान बिहान 7.25 बजे चिकागो विमानस्थलको टर्मिनल नम्बर 5 मा पुग्यो। मैले परिचारिकाबाट इमिग्रेसन फर्म सङ्ग्रह गरी लिएँ। हुनत यसलाई अघि नै वेबसाइटबाट डाउनलोड गरी भर्ने अभ्यास गरी सकेको थिएँ। मैले गुवाहाटीमै हुँदा अमेरिकामा आउँदा के के सामान ल्याउन सकिन्छ र के के सकिँदैन यस बारेमा ठोस अध्ययन गरेको थिएँ र साथी-सङ्गीलाई पनि सोधेको थिएँ। त्यसैले आपत्तिजनक केही सामान पनि ल्याएको थिइनँ। अरू यात्रीको बिचै-बिच विमानबाट बिस्तारै बाहिर निस्कें। अमेरिकालाई 9 वटा स्तरीय समय- जोनमा भाग गरिएको छ। त्यसैले अमेरिकाको कुनै पनि ठाँउमा जाँदा स्थानीय समयसँग सामञ्जस्य राखेर घडीको काँटा मिलाउनु पर्दो रहेछ। मैले पनि हातको घडी खोली विमानस्थलभित्र झुन्ड्याएको घडी हेरी काँटा मिलाएँ। जहाजबाट विमानस्थल पस्ने अघि जोड-तोडले हावा चलिरहेको अनुभव गरेँ। चिकागोलाई हावा शहर (Wind city) भनिएको  कुराको सत्यता पाएँ।
चिसो हावाको भेललाई छिचोली म विमानस्थल भित्र पस्दै गएँ। अघि बढ्दै जाँदा दाहिनेपट्टि एउटा काउन्टरमा कतिपय अधिकारीले यात्रुहरूबाट इमिग्रेसन फर्म जमा लिँदै रहेछन्। मैले पनि अरू सरह उक्त फर्म बुझाएँ। कार्यरत अधिकारीले त्यस माथि एक छण दृष्टि लगाई सन्तोक भए पछि, मृदु मुस्कान छाडी मलाई अघि बढ्दै जाने सङ्केत दिए। मैले पनि गति टिपें। इमिग्रेसनको काम सकेर एक ठुलो सास फेरें। अघिल्तिर सुरक्षा जाँच चलिरहेको थियो। विदेशबाट अमेरिका पस्ने पहिलो प्रवेश मार्गमा यस्तो जाँच अनिवार्य रूपले गरिन्छ रे ताकि कुनै असामाजिक तत्व देशमा प्रवेश गर्न नपाओस। तर जाँच चाहीं यति तगडा हुँदो रहेछ त्यो त भुक्तभोगीले मात्र अनुभव गर्ला। यसका लागि मेरा साथमा भएका ब्यागहरू एक्सरे मसिन बिचबाट पठाई दिएँ। कर्मरत प्रहरीले शरीरमा भिरेका सबै खाले परिधान उतार्न आग्रह गरे।     
मैले यता उती दृष्टि फ्याकें, मानिसहरू जिउका सामानहरू उतार्दै थिए। मैले लगाएको टोपी, ज्याकेट, घाँटीको माले ब्याग, कम्मरको पेटी, जुत्ता, मोजा आदि सबै उतारें र एक्सरे मसिन बिचबाट छिराएँ; जिउ हलुका लाग्यो। मलाई छेवैको सिसाले घेरिएको सानो काउन्टरमा पसी दुबै हात माथि उठाउने इसारा भयो। मैले त्यसै गरें। त्यसपछि मेरा दुबै हत्केलामा केही तरलको मिश्रण घसी दिए। केही छिनमैं एक मसिन चल्यो जुन चाहीं एक प्रकारको ज्योति निकाल्दै मेरा देब्रे खुट्टादेखि दाहिने खुट्टासम्म सिसा माथिमाथि अर्धचक्रको आकारमा चर्खा जसरी गुम्यो। मैले यस्तो मेसिन  जिन्दगीमा कहिलै पनि देखेको थिइनँ। यी सबै जाँच गरी सकेपछि कार्यरत अधिकारीले सन्तोक प्रकाश गर्दै 'ओके' भनी मलाई जान दिए। म जेलबाट फुत्किएको कैदीको मानसिकता लिएर सुस्केरा हाल्दै विमान स्थलको भित्र तर्फ पसें।
     जिउमा भिरेर ल्याएका प्राय: जसो सामान उतारेर होला हलुका अनुभव गरें। मलाई बालकालमा खालि खुट्टा फुटबल खेली सकेर मैदानबाट निस्किएर आए जस्तो लाग्यो।
अब म अघिल्लो गन्तव्य स्थान तर्फ़ जानेबारे चनाखो हुन थालें। मलाई राले विमानस्थल जाने युनाइटेड एयरलाइन्सको US 1907 मा चढ्ने विमान टरर्मिनस 1 को कुन प्रवेशद्वारबाट छाड्छ निधो गर्नु थियो र त्यहाँ पुग्नु थियो। यो विमानको प्रस्थान घडी अपरान्हको 1.45 बजे थियो। नाँडीमा भिरेको घडीले 9 बजेको सङ्केत दिएको थियो। यसका लागि मेरा हातमा प्राय: साढे चार घण्टाको लामो समय थियो। फेरि भएन चिकागोबाट राले जाने बोर्डिंग कार्ड गुवाहाटीमै लिएको हुनाले म ढुक्क थिएँ। त्यसैले म हतार नगरी चारैपट्टिको नौलो र अनौठो वातावरणको आनन्द लिँदै अघि बढदै गएँ। 
मेरा लागि चारै पट्टिका हरेक सामान नौला थिए। त्येतिबेरसम्म म अमेरिकाको भूमिमा एक अन्जान थिएँ। यत्रोबेर साथमा आएका भारतीय सहयात्रीहरू सबै विमानबाट निस्किएर लाखापाखा लागिसकेका थिए। चारैपट्टि कि त गौराङ्गहरू कि त अफ्रिकन मूलका कृष्णाङ्गहरू। फाट-फुट थेप्चा नाक भएका मंगोल मूलका पथचारीहरू पनि नदेखिएका होइनन्। मानिसहरूका रहन-सहन, हिँडाइ, हेराइ, कुरागराइ, खुवाइ आदि सबै मेरा लागि नौला थिए। म उक्त टरर्मिनस 1 कता रहेछ भनी प्रदर्शित इलेक्ट्रोनिक बोर्डहरूमा नजर डुलाउँदै गएँ। 
यात्रीहरूका सुबिधाका लागि जताततै यस्ता बोर्डहरू झुन्ड्याइएका रहेछन्, मलाई निकाल्न केही अप्ठ्यारो परेन। तर यो टार्र्मिनस अन्तैतिर रहेछ, त्यो बिल्डिङमा होइन। सोधी-खोजी गर्दा थाहा लाग्यो त्यहाँ जान रेलको सहयोग लिनु पर्छ रे, जुन चाहीं त्यहीँ बिल्डिङको तीनतला माथिबाट जाँदो रहेछ! मैले लिफ्टको सहयोगमा माथि चढें। रेल आउन केही समय रहेछ। यसैबिच चारैपट्टि दृश्यको रसस्वादन गरें। माथि तलोबाट चिकागो विमान स्थल अपूर्व सुन्दर देखिँदो रहेछ। यसको अर्को नाउँ थियो ओहरे अन्तर्राष्ट्रिय विमानस्थल, जुन चाहीं अमेरिकाको तेस्रो सबैभन्दा व्यस्त र विश्वकै चौथो व्यस्त विमानस्थल अरे। यो विमानस्थलले एक दिनमा सरदर 2400 वटा विमान सञ्चालन गर्छ र प्राय: 60 वटा विदेश जाने गन्तव्य स्थानमा विमान पठाउँछ। यसका 8 वटा रनवे  छन् र 182 गेट भएका 4 वटा टार्मिनलहरू छन्। मेरा आँखाले भ्याउन्जेलसम्म दूरदूरसम्म केवल जहाज नै जाहाज थिए, पङ्क्ति सजाइएका। टाढाका चाहिँ सानासाना खेलौना जस्ता देखिन्थे। ठाउँठाउँमा किसिम किसिमका फुलहरू फुलिरहेका थिए। जता हेरो उतै रमिता लाग्ने अति मनोरम दृश्य! तर मलाई त्यहाँ धेरै समय खर्चिन खट-पटी लाग्यो, किनकि मलाई अझै अघि जानु थियो। 
यत्तिकैमा रेल गाडी आयो अनि म अझ विलम्ब नगरी त्यस भित्र चढें। एकछिन रोकेपछि रेल पुनः दगुऱ्यो, तर हाम्रो उताको जस्तो हल्ला गरेर होइन। दिल्ली, कोलकताको म्याट्रोमा देखाए जसरी यहाँ पनि रेलले अतिक्रम गर्दै जाने टर्मिनलहरूका नाउँहरू प्रदर्शन बोर्डमा देखाइँदो रहेछ। केही छिन पछि म तार्मिनल 1 मा पुगी सकेंछु। रेल रोकेपछि साथमा ल्याएका ब्यागहरूलाई सम्हाल्दै म बाहिरिएँ। अब मलाई युनाइटेड एयर लाइन्सको विमान US1907 का लागि प्रवेशद्वार खोज्नु थियो। अघि बढ्दै जाँदा दुबैपट्टि टाँगिएका ठुलाठुला इलेक्ट्रोनिक बोर्डहरू पढ्दै गएँ। 
बोर्डको तलतिर गएर मेरो नजर अडियो- प्रवेश द्वार 15A रहेछ। मनमा ढुक्क लाग्यो एक ठुलो सास फेरें। अब म 15A कता हो खोजिगर्दै हिँडें। अलिक अघि खोज्दै जाँदा टक्क एक प्रदर्शन बोर्ड नजरमा पऱ्यो! काकाकुल चरीले प्यासमा आकुल भएको बेला पानीको मुहान पाए जस्तो लाग्यो। म अघि नै निकै मानिसहरू त्यहाँ छेउछाउ कुर्सीहरूमा बसिराखेको देख्दा उनीहरू मेरै सहयात्री हुन जस्तो लाग्यो। म पनि यत्रो बेर शरीरमा झुन्ड्याई ल्याएका ब्यागहरू ओरालेर छेवैको मेचमा टुसुक्क बसें। हातमा घडी हेरें, दिउँसोको ११ बजेको रहेछ। नौलो ठाउँ, नयाँ वातावरणलाई जान्ने उत्सुकता मेरो मनमा पलाई रहेको थियो। चारैपट्टि दृष्टि घुमाएँ। धेरै जसो मोबाइल मै व्यस्त थिएँ; केहि किताप पढी रहेका, केहि नानी केटा-केटी खेलाएका, केहि एक-अर्कासँग कुरा गरिरहेका आदि। छेवैको पसलमा चिया-चमेना, कफी, फलफुल, खाजा आदि आकर्षक पाराले सजाइएका थिए र मानिसहरूले पनि त्यहाँ घुइंचो लगाएका थिए। अरूले खाएको देख्दा मलाई पनि भोक जाग्यो। मेरा लागि सुहाउने केही पाइन्छ कि भनी आफ्ना पोका पत्यौरालाई सम्हाल्दै म हल्का चमेनाको खोजिमा निस्कें। 
केही पर एउटा पसलमा निकै मानिसहरू पङ्क्तिमा उभिएका नजरमा परे। छेवैमा गई विचार गरें कुखुराको मासु हालेको नुडुल्स खाँदै रहेछन्। मैले पनि एक थाल किनेर छेवैको मेचमा बसेर पेट पूजा गरें। स्वाद भेनेजस्तो नभए पनि पेट चाहीं भरियो। लामो समयसम्म पेटमा चारो नपरेर होला थाल सक्न कति समय पनि लागेन। म तुरुन्तै आफूले छोडी आएको प्रवेश द्वार 15A तिर वापस फर्किएँ। तर फर्कँदा बाटामा देखिएको दृश्य रोचक थियो। एउटा मानिस उँचा बेदी जस्तामा बसेको अनि अरू एक मानिसले सामु राखिएको कुर्सिबाट उसलाई आफ्नो खुट्टा अघि सारी दिएको। एकछिन निहालें। बल्ल थाहा लाग्यो त्यो माथि बसेको मानिस चाहीं जुत्ता पालिस गर्ने मोची रेहछ र तल कुर्सिमा बस्ने चाहीं ग्राहक। मलाई हाम्रा देशका आर्थिक र सामाजिक रूपमा दुर्वल मोचीहरूको अवस्था सम्झी यो सुट-बुट लगाएर ठाँटमा बसेकोको मोचीलाई लाल सालाम ठोक्न मन लाग्यो।
वापस फर्किएर बस्नका लागि छाडी गएको कुर्सि खोज्न लागें। तर त्येतिबेरसम्म निकै मानिसहरू आई पुगेका हुनाले केवल कुनामा एक ठाउँ खालिरहेछ। मैले हत्त-पत्त गई ओगटी हालें। पेटमा चारो हाली अब म सन्तोष मुद्रामा एक सोफामा आरामका साथ बसेको थिएँ। 

चिकागोबाट राले
एक नानीको रुवाईले म झल्यास्स भएँ। ला, म त विमानस्थलको कुर्सीमा पो निदाई रेहछु! हत्तपत्त उठेँ। अघिल्तिरको प्रदर्शन बोर्डमा प्रवेश द्वार 15A हटेर अर्कै विमानको बारेमा देखाइएको रहेछ! छेउछाउका यत्रोबेर देखिएर केही परिचित अनुहारहरू केहि रहेनछन्, फेरि नयाँ अनुहार थपिएछन्। मन एक्कासी चिसो भएर आयो। जाहाज उम्किएर गएछ भन्ने चिन्ता लाग्यो। डराई डराई त्यहाँ काउन्टरमा बसेकी एकजना महिलालाई मेरो विमानको बारेमा सोधेँ। उनले मुसुक्क हाँसेर विमान US १९०७ को प्रवेश द्वार बदलिएर 25B भएको सूचना दिइन्। मनमा खुशीको लहर कुद्यो। ईश्वरलाई धन्यवाद दिएँ। मैले भिरेको घडीतिर दृष्टि फ्याकेँ। म संग केवल डेढ घण्टा मात्र बाँकी रहेछ। अब मैले प्रवेश द्वार 25B खोज्नु थियो; त्यस बारे पनि तिनै महिलालाई सोधेँ। उनले यही बिल्डिङको अर्को पट्टि छ भनी सङ्केत गरिन्। मैले उतैतिर फड्का हानेँ। 
नयाँ ठाउँ, गन्तव्य स्थान छेउमै भए पनि निकाल्न गाह्रो पर्दो रहेछ। केही बेर अघि गएपछि सिँढीतल झर्नु पऱ्यो, त्यसैले केही अन्यौलमा परेँ। विमानस्थल भित्र ब्यटारीचालित सानासाना गाडी कुद्दा रहेछन्। त्यस्तै एउटा गाडीमा चडी एक जना मानिस केही कम गतिमा मतिर आई रहेकाले प्रवेश द्वार 25B बारे सोध्ने मौका पऱ्यो। जवाफमा उनले गाडी राखेर मलाई त्यहीं चढाए। मलाई ‘के खोजछस् काना, आँखो’ जस्तो लाग्यो। केही क्षंण पछि नै उनले मलाई प्रवेश द्वार 25B छेउ लगी ओरालिदिए। म खुशीमा गद् गद् भएँ। उनलाई कसरी आभारी प्रकट गर्नु त्यसको भाषा खोजेर पाइनँ। 'धेरै धन्यवाद' भनी हात हाललाई उनीबाट बिदा मागेँ। हातमा केही समय पाएकाले मेरा गुवाहाटीमा बुकिङ गरेका दुबै सुटकेसको बारेमा जानकारी लिन मन लाग्यो। मैले आफ्नो टिकट देखाएर यो कुरा काउन्टरमा सोधेँ। चिकागो विमानस्थल मेरो अमेरिका पस्ने पहिलो द्वार भएकाले त्यहाँ आफ्ना सामानहरू मैले प्रमाणीकरण गर्नु पर्ने बाध्यता रहेछ। तर गुवाहाटीको काउन्टरमा त सामान सोझै राले विमानस्थलमा पुग्छ भनेको थियो। धन्न सोधेँछु! नत्र भने मेरा सुटकेसहरू एकातिर अनि म अर्कातिर हुने रहेछन्। काउन्टरमा दिइएको दिशानिर्देशनलाई अनुसरण गरी कार्गो कार्यालयमा गई मेरा सुटकेसहरू प्रमाणीकरण गरेँ। यति गरी सके पछि त्यहाँका अधिकारिले मेरो बोर्डिङ पासको पिठ्यूमा एक टिकट टाँसी दिए। म ढुक्क भएँ। 
अपरान्ह 1.00 मा प्रवेश द्वार 25B खुल्यो। म असीम आशाका साथ गन्त्यव्य स्थानका लागि एअरबस 320 भित्र चढेँ। यो मध्यम आकारको, सरदर १५० जति यात्रु बोक्ने विमान रहेछ। चड्ने साथ यात्रुहरूबिच यता उती नजर डुलाएँ, सबै गौराङ्गहरू र कृष्णाङ्गहरू मात्र देखिए। मेरो आँखाँले केहि भारतीय भूभाग तिरकोलाई केही छिनसम्म खोजेर निराश भएँ। 
परिचारिकाले विमानको आपातकालीन परिस्थितिमा आफ्नो सुरक्षाका लागि गर्नुपर्छ उपाय बारे प्रदर्शन गरिन्, जुन चाहिँ हाम्रा उताका सबै विमानमै देखाइन्छ। यसपछि विमानले आकाश मार्गको गति लियो। केही छिनपछि एउटी परिचारिकाले ट्रलीमा खाने कुराहरू बाँढदै आइन्। मेरो आशे नजरले मलाई दिइएको एउटा सानो प्याकेट मात्र देखी निराशाको सुस्केरा फेऱ्यो। खोली हेरेँ, भुटेका बदाम पो रहेछन्। मैले एक गिलास चिसो पानीसँग चबाएर सन्तोक लिनु सिवाय कुनै उपाय थिएन। मैले छाडदै aपूर्वोत्तर अमेरिकाको प्राय: मध्यम भूभागमा पर्दछ। तर राले शहर चाहिँ दक्षिण पूर्वतिर थियो, जुन चाहिँ उत्तर अटलान्टिक महासागरको तटबाट प्रायः २९० किलो मिटर टाढा थियो।
यतिबेर म चढेको विमान आफ्ना दुबै प्वाँख हावामा फिंजाएर बादलका बिचै-बिच आकाशमा बिचरण गरिरहेको थियो। यसको सवारी म भने कहिले किताप पढ्दै, कहिले व्हाट्स-एपका पोस्टहरू हेर्दै त कहिले दिमागभित्र भविष्य-उत्सुकताका सुनामीलाई उद्वेलित पारी विमान रोकिनलाई पर्खिरहेको थिएँ। हामी चढेको विमान प्रायः १३२६ किलोमीटर यात्रा गरी ३ घण्टा समय आकाश मार्गमा बिताएर राले-दारहाम अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिन जाँदै थियो। पुग्ने घडी, बेलुकाको ४.४९ बजे भनी टिकटमा लेखेको देखेर मनमनै उनीहरूले समयको सठिकता र सम्मान साथ चल्छन् भन्ने अनुमान लगाएँ। हाम्रो उता भए पक्कै पनि ४.५० लेखिन्थ्यो होला! मलाई लिन डा. बिल रबिन्सन आउँछन् भन्ने इमेल मार्फत् पक्का भएको थियो। तर अहिले उनलाई  टेलिफोन गर्ने उपाय थिएन। किनभने मेरो मोबाइलेमा इन्टरनेसनल कल गर्ने सुविधा थिएन। 
अमेरिकनहरू समयलाई धेरै महत्व दिन्छन् भन्ने सुनेको थिएँ, त्यसैले म उनी आउँछन् भन्ने भरोसामा थिएँ। केहीछिनपछि हाम्रो वायुयान तोकिएको समयभन्दा प्रायः१०मिनट अघि नै विमानस्थलमा उत्रनेछ भनी घोषणा भयो। म सतर्क भएँ। यति चाँडो पुगी अब मैले के गर्नु? तर त्यहाँबाट नओर्लिएर उपाय पनि थिएन। विमानबाट ओर्लिएर ब्यागेज क्लेइममा गएर दुबै वटा सुटकेस उठाएर खडा गरेँ। मेरा शरीरमा चार वटा झोला र यी दुई वटा सुटकेसले मलाई ‘उँधो न उँभो’ भएको थियो- ठेल्दा सुटकेसहरू बिपरित दिशामा जान्थे त तान्दाखेरि चटपटाउन  मान्दैनथे। केही पर एक दुई मानिस ट्रली लिएर मतिर 'लैजानुहुन्छ?' जस्तो सङ्केत गरेको देखेँ। मलाई कसैले 'विमान स्थलमा ट्रली नलिनू, किराई चर्को हुन्छ' भनी सल्लाहा दिएका थिए। त्यसैले म सकभर आफैं प्रयत्न गरिरहेको थिएँ। तर मेरो केही चलेन। अन्त्यमा एउटालाई बोलाएँ। उनीसँग मोलाई गरी ५ डलर (रु ३५०) मा ढोका नम्बर १ को बाहिरसम्म पुऱ्याइदिने बन्दोबस्त भयो। विमानस्थलमा वातावरण शान्त थियो। ती ट्रलीवालाको प्रस्तावमा पनि भद्रता थियो। हाम्रो यतातिरको जस्तो जबर्दस्तीपन थिएन। परिस्थितिवश: मेरो निकासी केही मोहगो भए पनि टुङगैमा आई पुगेकाले ढुक्क थिएँ। अब मलाई डा. रबिन्सनलाई फोन गर्नु थियो। कसरी गरौं तरिका खोज्दै थिएँ। 
यत्तिकैमा अलिक टाढा कालो केश भएकी र सलोवार कुर्ता जस्तो परिधान गरेकी एक महिला मेचमा कसैलाई पर्खी बसी रहेकी जस्तो देखेँ। भारतीय नै हुन् कि? असीम आशाका साथ उतैतिर लम्किएँ। छेवैमा गई विनयका साथ परिचय दिएर मेरो अप्ठ्यारोलाई जाहेर गरी उनको मोबाइलबाट रबिन्सनको नम्बर मिलाई दिन अनुरोध गरेँ। उनले मुसुक्क हाँसी खुशीका साथ  नम्बर मिलाई दिइन्। उनी पनि भारतदेखि भर्खरै आई छोरीलाई पर्खिरहेकी रहिछिन्। मोबाइलमा केही छिन रिङ् गरी जवाब आयो, तर मैले स्पष्ट बुझिनँ - एक त अमेरिकन अङग्रेजी उच्चारणमा म त्यति भिजेको थिइनँ, त्यही माथि भारतका भूतपूर्व प्रधानमन्त्री मनमोहन सिंहको बोली जस्तो अस्पष्ट थियो। मैले पनि सकी-नसकी अमेरिकन अङग्रेजी उच्चारण गरी बुझाउन प्रयत्न गरी रहेको थिए। 
बल्लबल्ल 'म एक नम्बर द्वार बाहिर छु' भन्ने कुरा उनलाई सम्झाउन सकें र उनी मलाई लिन ५ मिनटमै आउने कुरा बुझ्न सकेँ। ती महिलालाई असीम धन्यवाद टक्र्याएर म आफ्ना सामान छेउ फर्किएँ। मैले बाहिर बसेर राले-दारहाम अन्तर्राष्ट्रिय विमानस्थलको स्थान, परिवेश, वातावरण, सौन्दर्य आदिलाई निर्क्योल गरे। चारैपट्टि ढकमक्क फूल, सलक्क परेका अलकत्रे बाटा,  ठुलाठुला हरिया रुखहरूले परिवेशै सुन्दर बनाएको थियो। यो विमानस्थल बागडोग्रा या गुवाहाटीको भन्दा कता हो कता ठुलो तर चिकागो-ओहारे भन्दा केहि सानो थियो। तीनवटा रनवे भएको यो विमानस्थलबाट प्रतिदिन ४१ वटा गन्तव्यस्थानलाई भनी १२५ वटा विमान चल्दा रहेछन्। यहाँबाट प्रतिदिन विमान लन्दन र प्यारिसलाई सोझै जाँदा रहेछन्।
एकछिन यता-उताको सौन्धर्य उपभोग गर्दै थिएँ, एउटा कार आई अल्लि पर खडा भयो। त्यहाँबाट एक सेतै दारी र केश भएका सुकुटे, गोरा मानिस लौरो टेकी दाहिने हातमाथि उठाउँदै केके जाति भन्दै मतिर आएको देखेँ। मैले दायाँ-बायाँ हेरेँ- केहि थिएनन्। तिनले मलाई नै केहि भने जस्तो लाग्यो। छेवैमा आई 'हाई दिबेन' भनी करमर्दन गर्न दाहिने हात अघि बढाउँदा पो अड्कल गरे–रबिन्सन भनी। मेरो अनुमान सही रहेछ। उनलाई मैले गुवाहाटीबाटै मेरो तस्वीर इमेल गरेको थिएँ, तर उनको चाहीं मसँग थिएन। त्येसैले उनले चिने, तर मैंले चिनिनँ। उनलाई हृष्ट पुष्ट जेन्टलम्यान भनेर धारणा गरी रहेको थिएँ। जे होस्, म अरू विलम्ब नगरी आफ्ना सर सामान उनका कारमा राखी अघिल्लो आसनमै बसेँ। रबिन्सनले गाडी हाँके। उनी देब्रेतिर चालकको स्थानमा थिए जुन चाहिँ मलाई अनौठो लागिरहेको थियो किनकि हाम्रातिर  चालक दाहिनेतिरको स्थानमा बस्छन्। गाडी जबजब चौबाटोमा पुग्दथियो त्यो दाहिनेतिर मोड लिन थियो जुन चाहीं हाम्रो तिर भने देब्रेतिर मोड लिनु पर्ने। यस कुराले मलाई गन्तव्य स्थान नपुगुन्जेलसम्म अप्ठ्यारो लागि रह्यो। 
गाडीको गतिको साथसाथै हामी बिचको वार्तालापको आदान प्रदान बढ्दै गयो। शुरुवातमा मैले आफ्नो, परिवार र देशको बारेमा विस्तारमा उल्लेख गरेँ। उनले पनि त्यसरी नै आफ्नो बारेमा छोटकरीमा भने। उनी उत्तर करोलिना विश्वविद्यालयमा भौतिकविज्ञान पढाउँदा रहेछन्। उनी दिव्याङ्ग रहेछन् र त्यसै रूपमा उनको गाडी पनि रुपान्तर गरी प्राय: स्वयंक्रिय पारेका रहेछन्। उनी एकजना रोचक मानिस रहेछन्। उनको बारेमा अन्त कतै छुट्टै लेख्नेछु। प्राय: २० किलोमिटर बाटो अतिक्रम गरी हामी करोलिना वि.वि.को क्याम्पसमा प्रवेश गऱ्यौँ। हामी आएको बाटाको नाउँ जनसन स्ट्रिट रहेछ। दाहिनेपट्टि इँट जस्ता डिजाइन गरी आकर्षक डुप्लेक्स आकारका घर भवनहरू देखिए। रबिन्सनले गाडीको वेग कमाई देब्रेतिर घुमाए। सामुन्ने भुइ टाइल्स लगाएर गाडीहरू राख्नका लागि घेरेर बनाइएको ठुलो  क्षेत्र रहेछ। त्यहाँ दिव्याङ्गको चिन्ह टाँसेको एउटा खम्बा देखियो। 'लौत अब हामी क्याम्पास आइपुग्यौं' भन्दै उनले गाडी त्यस ठाउँमै राखे। स्टियरिङको छेउमा अडकाइएको एक निश्चित ठाउँबाट छ्डी निकाली उनी बाहिरिए, अनि म अर्को ढोकाबाट। उनले रिमोटले पछाडीको ढोका खोले। मैले अघि सरी आफ्ना सर-सामानहरू निकालेँ अनि सुटकेस बोकेंl उनी अघि बढे; मपछि लागेँ। 
प्राय: एक मिनेट जति हिँडेपछि उनी दाहिनेतिर मोडी एक ढोकाको छेउ उभिए। कम्मरमा झुन्डाईएका साँचोका झुत्ताबाट एउटा निकाली ढोका खोले। मैले ध्यान दिएर हेरेँ, उनले साँचो उल्टो हालेका रहेछन्। पछि थाहा लाग्यो, अमेरिकामा साँचो हाल्ने तरिका यस्तै रहेछ, हाम्रो देशको भन्दा उल्टो! उनी कोठामा पसी मलाई मुसुक्क हाँसी स्वागत गर्दै भने, ‘ डा. दिवेन, तपाईलाई यो घरमा हार्दिक स्वागत छ, आगामी पाँच महिनाका लागि यो तपाइकै हो’। यही थियो करोलिना वि.वि.मा मेरो अस्थायी घर, सम्पूर्ण ठेगाना--अपार्टमेन्ट नम्बर ३८३०, E.S. किंग्स भिलेज, जकसन स्ट्रिट। १३, राले, NC 270607.
 

Post a Comment